राष्ट्रपति थाकेपछि विपक्षी दल आन्दोलनमा जान बाध्य

३ माघ २०६९, बुधबार ०१:२० मा प्रकाशित

काठमाडौं, ३ माघ । संविधान नबनाईकन संविधानसभाको अवसान भएझैं सहमतिका निम्ति राष्ट्रपतिद्वारा समयसीमा निर्धारण गर्ने क्रम पनि सहमति नै नगराई अन्त्य भएको छ । माघ २ गते मंगलबार बिहान राष्ट्रपतिभवनमा आमन्त्रित प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरूसमक्ष निकै निराश र थकित मुद्रामा रहेका राष्ट्रपतिले भन्नुभयो, ‘लौ अब समय धेरै कम छ, आगामी साताभित्र सहमति बन्न नसकेमा आउँदो जेठमा पनि चुनाव हुन सक्ने छैन, तपाईंहरू गम्भीर बनिदिनुहोस् र एउटा सहमतिमा पुग्नुहोस् ।’ बैठकमा आमन्त्रित दलका नेताहरूमध्ये सत्तापक्षकाले म्याद थप गरिरहनुको औचित्य नभएको बताउँदै प्रतिपक्षीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका थिए । सहमतिमा विपक्षीहरू नै बाधक बनेको आरोप लगाएपछि नेपाली काङ्गे्रसका नेता रामचन्द्र पौडेललगायतले त्यसको प्रतिवाद गर्नुभएको थियो । मधेसी मोर्चाको आडमा एमाओवादी सर्वसत्तावादतर्फ अग्रसर रहेको र सहमतिमा सत्तापक्ष नै बाधक बनेको प्रतिपक्षी नेताहरूले बताएपछि बैठकको वातावरण केही तातेको महसुस गरिएको थियो । सहमतिका लागि म्याद थपिरहन आवश्यक नभएको सत्तापक्षको धारणा अधिनायकवादी सोचको उपज भएको बताउँदै विपक्षी नेताहरूले प्रचण्डलगायत उपस्थित सत्तापक्षीय नेताहरूप्रति आक्रोश प्रकट गरेका थिए । अन्ततः राष्ट्रपति पनि म्याद थपको ‘सिलसिला’ जारी राख्नुको औचित्य नरहेको निष्कर्षमा पुगेपछि ‘चाँडो सहमति गरेर चुनावमा जान’ सुझाव दिँदै बैठक टुङ्ग्याइएको थियो । मंगलबार (माघ २ गते) को बैठकपश्चात् सहमतिबाट सरकार परिवर्तनको सम्भावना तत्कालका लागि अन्त्य भएको छ । नेपाली काङ्गे्रस र एमालेलगायतका प्रतिपक्षी दलहरू सरकारविरुद्ध निर्णायक सङ्घर्ष गर्ने निर्णयमा पुगेका छन् ।
यसअघि राष्ट्रपतिले पटकपटक म्याद थप गर्दै गएपछि एक न एक दिन थाक्नेछन् र सहमतिमा पुग्न बाध्य हुनेछन् भन्ने अनुमान गरिएको थियो । तर, संविधानको धारा ३८(१) अनुसार गत मङ्सिर ८ गतेदेखि राष्ट्रपतिबाट सहमतीय सरकार गठनका लागि सुरु भएको म्यादथपको क्रम माघ २ गतेसम्म आइपुग्दा एकप्रकारले अन्त्य भएको छ । यसले दलहरू नभई राष्ट्रपति डा. रामवरण यादव नै थाक्नुभएको देखाएको छ । उहाँले गत मङ्सिरमा सहमतीय सरकार गठनका निम्ति निश्चित म्याद दिँदै औपचारिक आह्वान गर्नुभएपछि बाबुराम सरकार तत्काल विस्थापित भई नयाँ सरकार गठन हुने अपेक्षा गरिएको थियो । तर, दुई महिना बित्न नपाउँदै राष्ट्रपतिले ‘मच्चियो–मच्चियो थच्चियो’को नियति व्यहोर्नुपरेको छ । सहमतीय सरकार बन्ने छाँट नदेखिएपछि राष्ट्रपतिले बहुदलीय अर्थात् बहुपक्षीय सरकार गठनका निम्ति पनि जोडदार प्रयास गर्नुभएको थियो । काङ्गे्रस सभापति सुशील कोइरालालाई सके सहमतिको र नसके बहुपक्षीय सरकारको प्रमुख बनाउन गरिएका सबै प्रयास असफल भएपछि राष्ट्रपति निराश बन्नुभएको र उहाँले मिति तोकेर म्याद थपको सूचना जारी गर्न पनि छोडिदिनुभएको छ । कतिपयले यसलाई विपक्षी दलहरूभन्दा पनि राष्ट्रपतिकै पराजयका रूपमा अर्थ लगाएका छन् । राष्ट्रपतिको ‘पराजय’ले काङ्गे्रस–एमालेलाई सङ्घर्षमै जान बाध्य तुल्याएको छ भने बाबुराम नेतृत्वको सरकारले थप केही समय निरन्तरता पाउने स्थिति सिर्जना गरिदिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार