मागेर खाने, चोरेर खाने र ठगेर खाने :: वीरेन्द्रमणि पौडेल

२९ पुष २०६९, आईतवार १२:११ मा प्रकाशित

संसारका सबै मुलुकमध्ये प्रकृतिले असाध्यै सुन्दर बनाएको मुलुक नेपाल हो, यो कुरामा कसैले शङ्का नगर्दा हुन्छ । कुनै मुलुकमा ढुङ्गा र बालुवा मात्रै छ र मरुभूमिको देश कहलाएको छ । कुनै देशमा जङ्गल मात्रै छ । कुनै देश पहाडैपहाडले भरिएको छ । कुनै देशमा पानी मात्रै छ, जमिन थोरै छ । कुनै देशमा जमिन मात्रै छ पानी छैन । नेपाल मात्रै त्यस्तो भौगोलिक विविधता भएको देश हो जहाँ पानी प्रशस्त छ । जङ्गल र जनावर छन् विश्वमा कहीँ कतै नपाइने खालका । विश्वमा कतै नपाइने यार्सागुम्बालगायतका जडीबुटी यही देशमा पाइन्छ । विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा पनि यही देशको पोल्टामा पारिदिएकी छिन् प्रकृतिले । अन्न र फलफूल उत्पादनका लागि उर्वरभूमि यही देशमा उपलब्ध छ । संसारका धेरै देशमा नपाइने एकसिङ्गे दुर्लभ गैंडा यही देशमा पाइन्छ । यी सबै कोणबाट हेर्दा नेपाल संसारको सबैभन्दा सुन्दर देश हो तर जब यस देशका मानिसको विषयमा चर्चा हुन्छ तब लाजले शिर निहुरिन्छ । अब जतिसुकै लाज लागे पनि भन्नैपर्ने भएको छ, लेख्नैपर्ने भएको छ कि नेपाली बहुसङ्ख्यक नागरिक काम गरेर खान रुचाउँदैनन् । कामलाई ठूलो–सानो भनेर व्याख्या गर्छन् र काम गरेर खानेलाई काम नगरी खानेले हेप्छ र गरिखाने वातावरण बिथोलिदिन्छ ।
घुमाइफिराइ भन्न जरुरी छैन जसलाई जिम्मेवार ठानिन्छ उसैले बेइमानी गर्छ । कुल मिलाएर बहुसङ्ख्यक नेपालीमध्ये कोही चोरेर खान पल्किएका छन्, कोही मागेर खान रुचाउने छन् भने बाँकी ठूलो हिस्सा लाजै नमानी ठगेर खान पल्किएका छन् । आजका दिन दुःखका साथ हाम्रा यिनै चोरेर खाने, मागेर खाने र ठगेर खाने विभिन्न पेसाका मनुवाबारे चर्चा गर्ने प्रयास गरिएको छ ता कि कर्तव्य र धर्मछाडाहरू सुध्रिन सकून् र आउने नेपाली पुस्ताले विश्वसामु आफ्नो शिर निहुराउन नपरोस् ।

चोरेर खानेहरू ः आम्दानी एक सुका र खर्च एक मोहर गर्नेहरूलाई स्वाभाविक रूपमा आर्थिक सङ्कट पर्दै जान्छ र ‘मर्नभन्दा चोर्न निको’ भन्ने सिद्धान्त अपनाएर तीमध्ये कोही पाकेट मार्न बस र मिनीबसभित्र छिर्छन्, कोही ताला फोरेर घरभित्र छिर्छन्, कोही पूर्वमा पार्किङ गरेको मोटरसाइकल पश्चिममा लगेर सस्तोमा बेच्छन्, कोही बूढाखाडा महिला–पुरुषलाई ‘आमै म तपार्इंको छोरीजस्तै वा नातिजस्तै हुँ’ भनी बेहोस हुने औषधि सुँघाएर धनमाल लुटी फरार हुन्छन्, कोही कसैको गोठबाट खसीबाख्रा फुकाएर बजार लगी बेच्छन् । कोही नयाँ साइकल चोर्छन् र सस्तोमा बेच्छन् । यस्ताखाले चोरहरू छन् जसले आफू त दुःखी भएभए समाजका अन्य मानिसलाई पनि सुखले बा“च्न दिएका छैनन् ।

अर्काथरी छन् मागेर खानेहरू ः उमेर छ ४० वर्षको । काम गर्ने जाँगर छैन । शरीर तन्दुरुस्त छ । आत्महत्या गर्न डर लाग्यो । चोर्न आँट आएन । यस्ता मानिसहरू थुप्रै सङ्ख्यामा छन् जो बसपार्क, सिनेमाहल, पेट्रोलपम्पलगायत जहाँ मानिसको भीड हुन्छ त्यहाँ हात फैलाएर मागिरहेका छन् । यी माग्नेहरूको सङ्ख्याले दुनियाँका सामु बाँकी नेपालीलाई ‘लाज’ उपहार दिइरहेका छन् ।

अब अर्को तप्का छ ठगेर खानेहरूको ः यो सङ्ख्या सबैभन्दा बढी छ र यसैले नेपाललाई सखाप पारेको छ दुनियाँको अगाडि अनुहारै देखाउन नहुनेगरी बेइज्जत गरेको छ । अब आउनुस् खुलेर चर्चा गरौँ कुन–कुन जिम्मेवार भनिएकाहरूले कसरी–कसरी भ्रष्टाचार गर्छन्, ठग्छन् ।

राजनीतिज्ञ :  नेपालका बहुसङ्ख्यक राजनीतिज्ञको जागिर छैन, व्यापार छैन, उद्योगमा लगानी छैन, भाषण गर्ने र झोला बोकेर वल्लो भित्तादेखि पल्लो भित्तासम्म कुद्नेबाहेक कुनै काम छैन तर तिनैको महँगो गाडी छ, अग्ला घर छन्, तिनकै सन्तान विदेशका महँगा कलेजमा पढ्न गएका छन्, तिनका बेरोजगार नातेदारहरूसमेत मालामाल भएका छन् । कुरा प्रस्ट छ– हाम्रा राजनीतिज्ञहरू जनताको विश्वासलाई तिलाञ्जली दिएर कानुन तोडेर ठग्छन् । अनुमति दिन नमिल्नेलाई अनुमति दिन्छन् । अयोग्यलाई योग्यताको प्रमाणपत्र बेच्छन् र नजरानास्वरूप कुतत्वबाट ठगीस्वरूप नजराना लिन्छन् र भौतिक सुखमा रमाउँछन्, रमाइरहेका छन् ।

प्रशासक : नेपालका प्रशासन सेवामा संलग्न हाकिमहरू छपाइकार्यदेखि पाएको मोटर सुविधाको दुरुपयोग गरेर ठग्छन् । छापाखानालाई छाप्न दिएबापत कमिशन माग्छन् भने प्रयोग नगरी पेट्रोल र डिजेलको बिल पेस गरेर रकम ठग्छन् । यस्ता ठग्ने प्वालहरू यिनका अनगिन्ती छन् ।

मालपोतका हाकिम र अन्य कर्मचारीहरू : लटरपटर गरेर मालपोतका कर्मचारी ठग्न खप्पीस छन् भन्ने कुरा तमाम सेवाग्राहीले चिच्याइचिच्याई भनिरहेका छन् । पैसा दिनेको काम छिटो गर्ने नदिनेको काम भोलि आउनुस् भन्ने । पैसा दिए फाइल सर्ने नदिए उस्तै परे फाइलै हराउने । कित्ताकाटमा ठगी, मोठ भिडाउनेमा ठगी, मिल्ने जग्गा खरिद–बिक्रीमा सीधा ठगी, नमिल्नेमा घुमाएर ठगी ।

डाक्टरको ठगी ः तोकिएको समयमा अफिस नगएर ठगी, बच्चा पाउन सक्ने स्त्रीलाई तर्साएर अप्रेसन गर्ने र त्यसबापत मोटो रकम लिएर ठगी, औषधि कम्पनीहरूसँग कमिशन खाएर जनतालाई भार थपेर ठगी ।

इन्जिनियर ः कमसल कामलाई असल र भरपर्दो भनेर प्रमाणित गर्ने र निर्माण व्यवसायीसँग कमिसन खाएर ठगी, नमिल्ने विषयलाई मिलाएर कालो रकम लिएर ठगी ।

निर्माण व्यवसायी : कच्चा पदार्थ कमसल प्रयोग गरेर पुल र बाटो निर्माण गर्ने इन्जिनियर, सरकारी कार्यालयका हाकिम र बलिया पाखुरालाई घुस दिएर काम तमाम गर्ने, कम्तीमा दश वर्ष टिक्नुपर्ने पिच बाटो तीन महिनामा भत्किने खालको बनाउने र ठग्ने ।

किसान : दूधमा पानी मिसाएर बेच्ने र दूधकै मूल्य लिने ।

प्राध्यापक : कक्षामा १५ मिनेट ढिला जाने, अर्को कक्षाबाट १५ मिनेट चाँडो निक्लने र दैनिक एक घन्टा ठग्ने, २० जनालाई ट्युसन पढाउने, १५ सय रुपैयाँका दरले मासिक ३५ हजार रुपैयाँ ठग्ने ।

पुलिस : अपराधीसँग घुस मागेर ठग्ने, निरपराधीलाई तर्साएर ठग्ने ।

व्यापारी : एक लिटर पेट्रोलमा एक सय एमएल कम दिने, एक किलो स्याउ किन्दा नौ सयग्राम दिने, बासी भातलाई ताजा भनेर बेच्ने, खसीको नाममा भैंसीको कलेजो बेच्ने, तीन सय खरिदको जुत्तालाई चौध सयमा बेच्ने ।

वकिल : यो मुद्दा लडेबापत यति रकम लाग्छ भनी कसैलाई कहिल्यै नभन्ने, मनलाग्दी रकम लिएर ठग्ने, उस्तै परे वादी–प्रतिवादी दुवै वकिल मिलेर झगडियाहरूको गाँडगर्दन जोडिदिने र ठग्ने ।

छापाखाना सञ्चालक : यो सामान छापेबराबर यति मूल्य पर्छ भनेर ग्राहकलाई कहिल्यै नभन्ने, जानकारी नदिने, लागतभन्दा आठ गुणासम्म बढी रकम असुल्ने, ग्रहकलाई चुँसम्म बोल्न नदिने, सोध्दा गाँजेमाँजे जवाफ दिने र ठग्नसम्म ठग्ने ।

ड्राइभर  : यात्रीलाई आफूले गोप्यरूपमा सम्पर्क गरेको एकान्तको होटलमा लगेर खाना खान बाध्य पार्ने, आफू ज्वाइँसाहेबजस्तो गरी भित्री कोठामा सक्कलीमासु भात खाने, होटलवालासँग कमिसन लिने र यात्रीलाई बढी मूल्य तिराएर ठग्ने ।

गाडीसाहु : साविकको मूल्यभन्दा चाडबाडको नाममा तीन सय पर्ने टिकटलाई पाँच सयदेखि ६ सयसम्ममा बेच्ने र ठग्ने ।

बैंक सञ्चालकहरू  : ऋण लगानी गर्दा ग्राहकसँग एउटा ब्याजदरमा सहमति गर्ने र लगानी गर्ने । आफूलाई अलिकति मात्रै अप्ठ्यारो पर्लाजस्तो हुँदा आफूखुसी ब्याजदर बढाएर ग्राहकलाई जानकारी नै नदिई ठग्ने ।
माथि चर्चा गरिएका केही मात्र पेसा र व्यवसायमा आबद्धहरूको ठगीकार्यहरूबारे चर्चा गर्दा चर्चा गर्नेलाई रिंगटा लाग्छ भने ठगहरूद्वारा प्रताडित जनताको छाती कति भत्भती पोल्ला ? सम्झिँदा मन अमिलिन्छ । आज बालबालिकाहरू कुनै भूमिकामा छैनन् । वृद्धवृद्धाहरू आराम गर्ने उमेरका छन् । जो काम गरिरहेका छन् ती कोही चोरिरहेका छन्, कोही लाज पचाएर मागिरहेका छन् भने ठूलो सङ्ख्याका नागरिक दुनियाँलाई हँसाएर ठगिरहेका छन् । एकले अर्कोलाई ठगेर बाँच्ने संस्कारको विकास भएको छर्लङ्ग देखिन्छ । आवश्यकता यो अवस्थाको अन्त्य हो । जबसम्म यो अवस्थाको अन्त्य हुँदैन तबसम्म कुनै पनि नेपालीले शान्तिसँग बाँच्न पाउने छैन । यसउपर कसैले शङ्का नगर्दा हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। ५२ वर्षकी अमेरिकी महिलाले ११ पटक ९ जना फरक फरक पुरुषसँग बिहे गरिसकेकी छिन् । अब उनी फेरि बिहे

काठमाडौं। कुनै पनि पुरुष मन नपरेको भन्दै ३३ वर्षकी मोडल क्रिस ग्यालेराले गएको सेप्टेम्बरमा आफैंसँग बिहे गरेकी थिइन् । तर,

काठमाडौं । अहिलेको व्यवसायिक संसारमा भाडामा नपाइने चिज के पो छ र ? विभिन्न कामका लागि चाहिने औजार, उपकरणहरु भाडामा

समलिंगी जोडीहरूलाई देखेर धेरैपटक मानिसहरु छक पर्ने गरेका छन् । तर कसैले श्रीमान्–श्रीमतीलाई नै आमाछोरीजस्तो सोच्छ भने त्योभन्दा अनौठो के

आजको प्रमुख समाचार