बाबुरामलाई नजिकबाट नियालेपछि… :: शोभा त्रिपाठी

२९ पुष २०६९, आईतवार १२:०२ मा प्रकाशित

कुनै ठाउँमा एउटी सुन्दरी महिलाको निकै चर्चा र चासो बढेको रहेछ । ती सुन्दरीको सलक्क परेर मिलेको अग्लो र पुष्ट शरीर, नितम्बसम्म लहरिएको लामो कालो कपाल, आकर्षक चालढाल, सुनिरहुँ जस्तो लाग्ने आकर्षक बोलीले गर्दा धेरै मानिस उनीतिर आकर्षित थिए । यी नौली सुन्दरी को होलिन्, यिनीसँग चिनजान र सङ्गत गर्न पाए कस्तो हुँदो होला भनेर सबै भुतुक्कै भएका रहेछन् । यत्रो चासो र चर्चा हुँदा पनि ती सुन्दरीको अनुहार भने कसैले देख्न पाएका थिएनन् । उनीहरू सबै पछाडिबाट हेरेरै मुग्ध बनिरहेका थिए । उनको सुन्दरताको बखान टाढा–टाढासम्म फैलिँदा पनि अनुहार नदेखेका कारण सबै झन्झन् लठ्ठ पर्दै गएका थिए । सबै उनको मुहारको एक झलक पाउन लालायित थिए । तर, ती सुन्दरी भने आफ्नो अनुहार लुकाइरहन नै प्रयत्नशील भएजस्तो देखिएपछि मानिसहरूले एक दिन जबर्जस्ती भए पनि तिनको अनुहार हेरेरै छाड्ने निर्णय गरे । सबैको मिलेमतो भएपछि अनुहार लुकाइरहन तिनी सफल भइनन्, अन्ततः मानिसहरूले उनको घुम्टो उघारेर हेरिछाडे । तर, जब कथित सुन्दरीको वास्तविक अनुहारको दर्शन भयो, पहिले मुग्ध बनेका मानिसहरू घीन मानेर तर्सिंदै छीःछीः भन्न थाले । वास्तवमा पछाडिबाट हेर्दा मोहिनी रूप भएकी ‘सुन्दरी’को अनुहार त अत्यन्तै कुरूप रहेछ । सुन्दरीको वास्तविक रूप उजागर भएपछि मनिसहरू परपर भाग्न थालेछन्, त्यत्तिका दिनसम्म कत्ति न मोहिनी रूपवती भनेर बेकार उसको पछि लागिएछ भन्दै पश्चात्ताप गर्न थालेछन् ।
यो कथा हाल्नुको अर्थ के हो अर्थात् कथाको मर्म यतिबेला कोसँग मेल खान्छ भन्ने कुरा सचेत व्यक्तिलाई छिचोलेर बताइरहनु नपर्ला । थोरै मात्र माथापच्ची गर्नेले पनि ठम्याउन सक्छ कि प्रधानमन्त्री बाबुराम भट्टराईको नियत वा नियतिसँग यो कथा मिल्दोजुल्दो छ । के पक्ष के विपक्ष, के बुद्धिजीवी के साधारण, सबै पक्ष र तह–तप्काका जनताको समर्थनबाट उनी प्रधानमन्त्रीको कुर्सीमा आसिन बनेका थिए । बाबुरामजस्ता सरल, साधारण र बौद्धिक व्यक्तिलाई प्रधानमन्त्री बनाउन पाए रातारात देशको कायापलट हुन्थ्यो भन्ने जमात सानो थिएन । तर, जतिजति उनी र उनका तौरतरिकासँग देश र जनता साक्षात्कार हुँदैछन्, जति नजिकबाट उनलाई नियालिँदै छ, त्यति नै उनको वास्तविक स्वरूप र शैली कुहिएको फर्सीसरह देखिँदै छ । छिचोलेरै भन्नुपर्दा सरल र साधारण भनिएका बाबुरामसमेत आखिर बाहिरबाट सही–सलामत तर भित्रभित्रै कुहिएको फर्सीजस्तै रहेछन् । उनका थुप्रै काम–कारबाहीले यस्तो भन्न बाध्य तुल्याएको छ र उनी सर्वसाधारणले ठानेजस्तो सरल–साधारण व्यक्ति होइन रहेछन् भन्नका लागि पछिल्लो ताजा उदाहरण बनेको छ– ‘त्रिशूली थ्री–ए’ विद्युत् आयोजनाका ठेकेदारले चाहेअनुसार मुलुकको ढुकुटीबाट आयोजनाको क्षमता वृद्धि गर्न दिएको स्वीकृति प्रकरण ।
कुनै पनि कोणबाट मुलुकका लागि हितकर नहुने भनी विज्ञ–विशेषज्ञहरूले औँल्याइरहेको, चौतर्फी विरोध भइरहेको विषयलाई आँखा चिम्लिएर स्वीकृति दिनुको सोझो अर्थ त्यसबाट करोडौँ कमिशन कुम्ल्याउने दाउ नै हुनुपर्छ । जुन प्रधानमन्त्रीले मितव्ययिताको नाममा मुस्ताङ गाडी चढेको छ, उसले राष्ट्रको ढुकुटी रित्याउने आयोजनामा दुर्नियतको अँगालो हालेपछि उनको मितव्ययिताको भाषण फगत ढोंग रहेछ भनेर भन्ने कि नभन्ने ? लाजशर्म भन्ने कुरा अर्काले अनुभूत गराइदिने विषय होइन, आफै“ले महसुस गर्नुपर्ने कुरा हो, तर कत्ति लाज मानेनन् प्रधानमन्त्री भट्टराईले यस्ता हर्कत गर्नलाई । आफ्नो अस्तित्व नै छरप्रष्ट भइसक्दा पनि लाजशर्म नमानेपछि के भन्ने ? दुःखको कुरा यो छ कि यो देशका हामी जनताले कहिल्यै पनि के असल के खराब भन्ने सही पहिचान गर्न नै सकेनौँ र जहिले पनि धोका खाइरहनुपरेको छ । बाबुराम नामको धोका पनि यसैकारण व्यहोरिँदै छ ।
जहाँ ढल नै छैन र पनि ढलको पैसा तिरिरहेका हुन्छौँ हामी, जहाँको धारामा पानी नै आउँदैन त्यहाँ हावाको मोल चुकाइरहेका हुन्छौँ हामी । सडक फराकिलो पार्ने यत्रो ऐतिहासिक काम सम्बन्धित मन्त्रालयले ठूलो जोखिम लगाएर गरिरहेको छ, जसले गर्दा वातावरण धुलाम्मे भएर मानिसहरूलाई असुविधा भइरहेको छ, तसर्थ छिटोभन्दा छिटो सडक निर्माण कार्य सम्पन्न गर्नु अत्यावश्यक छ । तर, बीचबाटोमा ठडिएको बिजुलीका पोल ऊर्जा मन्त्रालयले समयमै नसारिदिएकोले सडक पिच गर्ने कार्य समयमै सम्पन्न हुन नसकेकोप्रति विचार पु¥याउने कोही छैनन् । ऊर्जामन्त्री यतिबेला को छन् कुन्नी यो गृहिणीलाई हेक्का छैन, तर भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयले गरिरहेको सडक विस्तारको काममा नियतवश अवरोध ल्याउनकै लागि बिजुलीका खम्बा सडकबीचबाट उखेलेर छेउमा सार्ने काम ऊर्जा मन्त्रालयले नगरिरहेको छर्लङ्गै देख्न सकिन्छ । जुन काम रातारात सम्पन्न गरेर जनतालाई सुविधा दिनुपर्ने प्रकारको छ त्यसमा भाँजो हाल्ने, तर आफ्नो झोला भरिन्छ भने गर्नुहुँदैन भनेर औंला उठिरहेको कामलाई पनि जबर्जस्ती पास गर्ने प्रधानमन्त्रीको यो के चाला हो ?
राजा वीरेन्द्रलाई एकपटक त्यतिबेलाका चाटुकारहरूले बाँझो बारीमा रातारात ढकमक्क काउली फलाएर ‘पञ्चायती विकास’ देखाइदिएका थिए रे । हुँदै नभएको ‘खेती’ देखाएर खाने देशमा बाबुराम भट्टराईले ढोंग प्रदर्शन गरी–गरी वरत्र–परत्र पोस्नु के आश्चर्यको विषय भयो र ? जनता नै सुस्त भएपछि शासकले मनपरी गर्नु के ठूलो कुरा ठान्नु र ? कथित सुन्दरीलाई पछिल्तिरबाट हेरेर लठ्ठिँदासम्म त ठिकै थियो, तर अघिल्तिरबाट छर्लङ्ग भइसक्दा पनि लठ्ठिरहने प्रवृत्ति विकसित भएपछि के भन्ने !?

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। ५२ वर्षकी अमेरिकी महिलाले ११ पटक ९ जना फरक फरक पुरुषसँग बिहे गरिसकेकी छिन् । अब उनी फेरि बिहे

काठमाडौं। कुनै पनि पुरुष मन नपरेको भन्दै ३३ वर्षकी मोडल क्रिस ग्यालेराले गएको सेप्टेम्बरमा आफैंसँग बिहे गरेकी थिइन् । तर,

काठमाडौं । अहिलेको व्यवसायिक संसारमा भाडामा नपाइने चिज के पो छ र ? विभिन्न कामका लागि चाहिने औजार, उपकरणहरु भाडामा

समलिंगी जोडीहरूलाई देखेर धेरैपटक मानिसहरु छक पर्ने गरेका छन् । तर कसैले श्रीमान्–श्रीमतीलाई नै आमाछोरीजस्तो सोच्छ भने त्योभन्दा अनौठो के