कर्णेल लामा प्रकरण : ‘लहरो तान्दा पहरो गर्जिने’

२१ पुष २०६९, शनिबार ११:२७ मा प्रकाशित

काठमाडौं, २१ पुस । नेपाली सेनाका महासेनानी कुमार लामा लन्डनमा पक्राउ परेको घटनालाई नेपाल सरकारले गम्भीर रुपमा लिएको संकेत देखिएको छ । लामाको पक्राउ अन्तर्राष्ट्रिय कानुन र सार्वभौम मुलुकको क्षेत्राधिकारको सामान्य सिद्धान्तविपरीत भएको ठहर गर्दै सरकारले आक्रोशका साथ शुक्रबार बेलायतलाई विरोधपत्र बुझएपछि यस विषयले चर्को रुप लिनसक्ने परिस्थिति निम्तिएको हो । हिजो शुक्रबार सरकारले नेपालका लागि बेलायती राजदूत जोन टकनटलाई परराष्ट्र मन्त्रालयमा बोलाएर घटनाप्रति गम्भीर असहमति र आपत्ति जनाएको छ । विरोधपत्रमा महासेनानी लामाको तत्काल रिहाइको लागि ‘अनुरोध’ गरिएको छ । पत्रमा ‘नेपाल सरकारद्वारा शान्तिस्थापनार्थ दक्षिण सुडानस्थित राष्ट्रसंघीय मिसनमा खटिई सेवारत महासेनानी लामालाई बिनाआधार, सम्बन्धित सरकारलाई सूचनासम्म नदिई पक्राउ गरिएको कार्य अन्तर्राष्ट्रिय कानुन र सार्वभौम मुलुकको क्षेत्राधिकारको सामान्य सिद्धान्तविपरीत भएकाले हामी दुःखित र आश्चर्यचकित भएका छौं,’ भन्ने सरकारी धारणा उल्लेख गरिएको छ । नेपालमा गरिएको अधिकार हननको आरोपमा बहालवाला महासेनानीलाई बेलायतले पक्राउ गर्नु उक्त देशको सार्वभौम क्षेत्रभन्दा बाहिरको कुरा भएको प्रतिक्रिया उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दिएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत् उनले घटना तत्काल सच्याउन आग्रह गर्दै महासेनानी लामालाई तत्काल रिहा गरी सुडानस्थित राष्ट्रसंघीय मिसनमा सेवा गर्न जान दिन बेलायतसमक्ष विशेष माग गरेका छन्।
यसैबीच युद्ध अपराध आरोपमा बेलायतमा पक्राउ परेका कर्णेल कुमार लामालाई बेलायती कानुनअनुसार २० वर्षसम्म जेल सजाय हुनसक्ने धारणा कतिपय विज्ञहरुले दिएका छन् । तर, कर्णेल लामाविरुद्ध प्रमाण जुटाउन बेलायतका प्रहरी नेपाल नै आउनुपर्ने अवस्था रहने पनि सम्बन्धित विज्ञहरुको भनाई छ । मानवअधिकारवादी संस्था इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले प्रमाण जुटाउने सिलसिलामा बेलायतका प्रहरी नेपाल आउन सक्ने र त्यतिबेला नेपालले सहयोग गर्नुपर्ने बताए ।
सन् २००५ मा यही प्रकृतिको आरोपमा मुछिएका एक अफगानीलाई २० वर्षको जेल सजाय दिइएको उल्लेख गर्दै कानुनविद् डा. युवराज संग्रौलाले पनि पक्राउ परेका कर्णेलमाथि लागेको आरोप प्रमाणित भए निश्चित रूपमा कारबाहीको भागिदार बन्ने बताए । चिलीका पूर्व राष्ट्रपति पिनोसेलाई यस्तै आरोपमा बेलायती प्रहरीले पक्राउ गरी घटना प्रमाणित भएपछि उनलाई कारबाही भएको उदाहरण उनले पेस गरे ।
मानवअधिकारवादी प्याकुरेलका अनुसार नेपाल अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्य नभएकाले कर्णेल लामालाई नेपाल फर्काउन कठिन रहेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्रइन्सेकको प्रतिवेदन अनुसार कपिलवस्तुस्थित सैनिक ब्यारेकमा कर्णेल लामाको कार्यकालमा शिवगढी गाविसका माओवादी कार्यकर्ता विपिन भनिने २५ वर्षीय रेखबहादुर थापालाई बेपत्ता पारिएको थियो । उनलाई २१ मंसिर ०६१ मा गजेहडामा सुरक्षाकर्मीले कारबाही गर्ने क्रममा घाइते बनाएको थियो । नियन्त्रणमा लिइएका थापालाई ब्यारेकमा लगियो र त्यहीँबाट बेपत्ता पारियो । पछि सेनाले उनी भिडन्तमा मारिएको जानकारी दिएको थियो ।
कर्णेल लामाकै कार्यकालमा कपिलवस्तुकै अभिराव गाविसका १८ वर्षीय कान्छा थारूलाई सेनाले गोली हानी हत्या गरेको थिए । १९ मंसिर ०६१ मा मारिएका उनी दिसाबस्न खेतमा गएका थिए । उनी सर्वसाधारण व्यक्ति भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ । २७ चैत ०६० मा कपिलवस्तुकै गजेहडा गाविस–३ की १९ वर्षीया मुना भनिने लक्ष्मी परियार, दाङकी १८ वर्षीया निशा भनिने कमला थापा र बरकलपुर गाविस–२ की १६ वर्षीया बिमला दर्जीलाई नियन्त्रणमा लिई हत्या गरिएको थियो । पार्टीको काममा दुबिया गाविस जाने क्रममा सेनाले उनीहरूलाई पक्राउ गरेको थियो ।
कर्णेल लामाकै पालामा सन् २००४ मा २५ जना सर्वसाधारणलाई माओवादीको आरोपमा हत्या गरिएको प्रतिवेदनमा दाबी गरिएको छ ।
कर्णेल लामा बेलायतमा पक्राउ परेको घटनालाई लिएर अनेक अडकलबाजी चल्न थालेको छ । भविष्यमा यही प्रकरणलाई नजीर तुल्याएर तत्कालीन बिद्रोही पक्षका कमाण्डरहरुलाई पनि यही दायरामा ल्याएर पक्राउ गरी कारबाही गर्नका लागि शक्तिराष्ट्रहरुले यो चाल चलेको रुपमा अथ्र्याउनेहरु देखिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय