महेन्द्रलालको दुई करोड र धनबहादुरको आत्महत्या :: वीरेन्द्रमणि पौडेल

१९ पुष २०६९, बिहीबार १०:५० मा प्रकाशित

केही समयअघि नारायणगढका एउटा व्यापारी समाजसेवीमा परिणत भएका थिए । व्यापारीबाट वास्तविक समाजसेवीमा रूपान्तरित व्यक्तिको नाम हो– महेन्द्रलाल प्रधान । यसभन्दा अघि तिनले भिखारीलाई भीख दिएका थिए होलान्, माग्नेलाई मुठ्ठीदान गरेका थिए होलान्, मन्दिर र स्कुललाई केही हजार रुपैयाँ चन्दा दिएका थिए होलान्, राजनीतिक दलहरूलाई चुनावमा प्रतिस्पर्धा गर्न खर्च दिएका थिए होलान् । दलका भ्रातृ सङ्गठनहरूलाई अधिवेशन सम्पन्न गर्न केही हजार रुपैयाँ दिएका थिए होलान् । जनयुद्धकालमा त्यतिबेलाको सिङ्गो माओवादी पार्टीलाई केही लाख रुपैयाँ चन्दा दिएका थिए होलान्, तर महेन्द्रलालको परिचय व्यापारीकै रूपमा स्थापित थियो । जब उनले दुई महिनाअघि आँखा अस्पताललाई रु. दुई करोड रुपैयाँ चन्दा दिने घोषणा गरे तब उनको परिचय क्षणभरमै परिवर्तन भयो । उनी मानवहितमा काम गर्ने समाजसेवीको रूपमा चिनिए । उनले जुन दिनदेखि दुई करोड दिने घोषणा गरे त्यही दिनदेखि चितवन र आसपासका जिल्लामा जनस्तरबाट महेन्द्रलाल प्रधानको नाम सम्मानका साथ उच्चारण गरिएको छ । जनता भन्दै छन्, ‘दुई रुपैयाँ दान दिन त मनको गाँठो फुकाउनुपर्छ भने दुई करोड चन्दा दिनु चानचुने योगदान हुनै सक्दैन । महेन्द्रलाल जिन्दावाद †’ जनताले महेन्द्रलालको यो ढङ्गले प्रशंसा गर्नु जायज छ ।
व्याख्या अर्को कोणबाट पनि हुन सक्छ, हुनुपर्छ । महेन्द्रलालले चन्दा दिन घोषणा गरेको दुई करोड उनले जन्मँदा साथमा ल्याएका थिएनन् । न त उनले मर्दा साथमा एक कौडी नै लैजान सक्छन् । कुरा यति हो– धन हुने तमाम नेपालीले महेन्द्रलालको जत्रो हृदय बनाउन सकेका छैनन् । धन कमाउने एउटा विद्या हो, कमाएको धन प्रयोग गर्ने अर्को विद्या हो । विज्ञहरू भन्छन्– धन कमाउने विद्याभन्दा प्रयोग गर्ने विद्या कठिन छ । यो सत्य हो । आज नेपाली समाजमा धेरै–थोरै धन कमाएका मानिस धेरै छन् । तिनले जसरी–तसरी धन कमाउन जाने ।
दूध बिक्री गर्ने किसानले दूधमा पानी मिसाएर पनि केही धन कमाए । खसीको कलेजोको नाममा भैँसीको कलेजो बेचेर पनि कमाउनेले कमाए । ज्ञान दिने शिक्षकले एक पिरियडमा १५ मिनेट ढिला गरी चार पिरियडमा एक घन्टा समय चोरेर एक घन्टा ट्युसन पढाएर प्रतिविद्यार्थी १५ सयका दरले मासिक ३५ हजार कमाए ।
विभिन्नखाले तिकडम गरेर कमाउनेले थुप्रै धन जम्मा गरे तर ठीक ठाउँमा सदुपयोग गर्न सकेनन् । ‘आफ्नो दुःख संसारमा सबै प्राणीले बुझ्छन्, अरूको दुःख बुझ्ने मान्छे मात्रै हो ।’ यो मूलमन्त्रलाई आत्मसात् गर्न सकेनन् थुप्रै थुप्रै धनीले । फरक यत्ति हो– महेन्द्रलाल प्रधानले धन सदुपयोग गर्ने विद्या जानेका रहेछन् । मानव शरीर पाएर मानिसकै जस्तो बुद्धि पनि पाएका रहेछन् उनले । अरूको दुःख बुझ्ने उनमा रहेको क्षमता मात्रै हो फरक अरू र महेन्द्रलालमा ।
महेन्द्रलाल प्रधानजस्ता धनी मानिस अरू पनि छन् चितवनमा । तर, उनको जत्तिकै रकम मानवहितका लागि दान दिन सक्ने आत्मा चाहिन्छ जुन आत्मा विरलै मानिसभित्र हुन्छ । ६० वर्ष उमेर पार गरे होलान् महेन्द्रलालले । उनी कति बाँच्लान् ? ९० वर्ष ? १०० वर्ष ? वा १२० वर्ष ? १४० वर्ष नै बाँचेछन् भने पनि आखिर उनको त्यो शरीर त एक दिन अवश्य ढल्छ, खरानीमा परिणत हुन्छ । तर, उनको त्यो नाशवान शरीरको अन्त्य भए पनि ती नेपाली खासगरी चितवनका जनताबीच लामो समयसम्म बाँचिरहनेछन् । चितवनको समाजसेवा क्षेत्रमा हिमकान्त शर्मा न्यौपानेको नाम अगाडि आयो जसले दुःखी गरिबका लागि काम गरे । किशोरचन्द्र ढुङ्गानाको नाम सुवर्ण अक्षरमा लेखिएको छ । उनले आफ्नो सम्पूर्ण धनसम्पत्ति चेपाङ बालबालिकाको शिक्षाका लागि दान दिए । मैयादेवी श्रेष्ठ, विक्रम पाण्डे र गुणचन्द्र विष्टको नाम पनि समाजसेवीको रूपमा स्थापित भएको छ । स्वर्गीय चिजकुमार श्रेष्ठको परिवारले उनको सम्पत्तिलाई समाजसेवामा प्रयोग गर्दै आएको छ । छविलाल न्यौपाने नामका एक युुवकले टुहुरा बालबालिकालाई मानो–मुठी चन्दा मागेर बचाइरहेका छन्, पढाइरहेका छन् । छविलालको नाम सम्मानका साथ लिन थालिएको छ । पछिल्लोपटक महेन्द्रलाल प्रधानको नाम अगाडि आएको छ । चितवनमा करिब पाँच लाख जनसङ्ख्या छ तर समाजसेवाको फाँटमा सम्मानका साथ लिइने नाम दशजना पुग्दैन भने यो सुखद अवस्था हुँदै होइन । हुँदै नहुनुभन्दा केही मात्र हुनुलाई पनि सकारात्मक रूपमा लिनुपर्छ । एकातर्फ धन भएर आँखा अस्पताललाई दुई करोड चन्दा दिने महेन्द्रलालको नाम सम्झिँदा खुसी लाग्छ भने चरम गरिबीका कारण आत्माहत्या गरेर मानव संसारबाट बिदा लिएका धनबहादुर परियारको नाम सम्झिँदा मन रुन्छ ।
चितवनकै अयोध्यापुरी गाविसका धनबहादुर परियारले आफ्ना लालाबालालाई एकसरो नयाँ कपडा किनिदिन सकेनन् । हुने–खानेहरूले नयाँ रङ्गी–चङ्गी कपडा लगाए । तिनका भान्छामा खसी, बोका, राँगा, कुखुरा र हाँसका मासु थुप्रिए तर धनबहादुरको भान्छाले माछा मासु त परै जाओस् अन्नै पनि देख्न पाएन । धनबहादुर परियारका सन्ताले हुने खानेले लगाएका रङ्गी–चङ्गी कपडा हेरे, छिमेकीका भान्छामा पाकेका मासुका परिकारका बासना सुँघे, मुख मिठ्याए र आँखामा टिलपिल टिलपिल आँसु छचल्क्याए र धनबहादुरतिर हेरे । तिनले कलिला आँखाहरूको डिलबाट ओर्लिन लागेका ताता आँसु देख्न सकेनन् र उनले आत्माहत्या गरे ।
अब प्रश्न उठ्छ– के दुनियाँले चाडबाड मनाउँदा धनबहादुरको परिवारले चाहिँ आँसु बगाउनुपर्छ भन्ने कुनै मानवले बनाएको कानुनमा छ ? हो, निश्चय पनि संसारमा गरिब र धनी हुन्छन् । काम गर्ने र गराउने हुन्छन् । एकै नासको समानता संसारमा सम्भव हुँदैन । यदि त्यस्तो हुँदो हो त यो मानव संसार चल्न मुस्किल हुन्थ्यो । एउटै उचाइका मानिस हुन्थे भने अघिल्तिर मानिस देखिन्थे बाँकी मानिस देख्न सकिने थिएन । मान्छे कोही अग्लो र कोही होचो हुनैपर्छ । भएकै छ । तर, यदि कोही मान्छे सातफुट अग्लो हुने र कोही मान्छे एक बित्ता मात्रै अग्लो हुने भयो भने पनि मानव संसार चल्न सक्दैन । त्यसकारण त्यस्तैगरी समाज चल्न पनि लोकतन्त्र र खुला अर्थ–व्यवस्था अङ्गालेको राष्ट्रमा धनी र गरिब हुनुलाई राष्ट्र चल्ने प्रक्रिया मानि“दोरहेछ तर मानवीय गल्तीका कारण कोही खर्बपति हुने खाएर, लाएर, बाँडेर नसक्ने, कोही खान र लाउन नपाएर आत्माहत्या गर्नुपर्ने स्थिति सिर्जना गरिनु कदापि ठीक होइन ।
महेन्द्रलाल प्रधान र उनको दुई करोडको धनराशि नेपाली समाजलाई सहर्ष स्वीकार्य हुन सक्छ । तर, आउने दिनमा धनबहादुर परियारजस्ताको आत्माहत्या र उनको परिवारको आँसु कदापि स्वीकार्य हुन सक्दैन । महेन्द्रलाल प्रधानजस्ता दाताको सङ्ख्या बढ्दै जानुपर्छ । धनीहरूले मन फराकिलो बनाउनैपर्छ भने धनबहादुर र उनको परिवारजस्ताको सङ्ख्या घटाउँदै जानुपर्छ ।
हुने–खानेहरूको धन, कपडा र अन्न हुँदा खान तयारहरूको घरसम्म पुग्नैपर्छ, पुरयाउनैपर्छ । आखिर होचो रूख नभए अग्लो रूख देखिँदैन भनेजस्तै गरिब नभए धनीको अस्तित्व र पहिचान पनि त समाप्तै हुन्छ । अब कामना गर्ने विषय यही हो– हरेकको अस्तित्व हरेकले धानिदिएको यथार्थ धनी र जिम्मेदारहरूले बुझ्नैपर्छ । महेन्द्रलालहरूको सङ्ख्या बढ्दै जाओस्, धनबहादुरहरूको सङ्ख्या घट्दै जाओस् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। कुनै पनि पुरुष मन नपरेको भन्दै ३३ वर्षकी मोडल क्रिस ग्यालेराले गएको सेप्टेम्बरमा आफैंसँग बिहे गरेकी थिइन् । तर,

काठमाडौं । अहिलेको व्यवसायिक संसारमा भाडामा नपाइने चिज के पो छ र ? विभिन्न कामका लागि चाहिने औजार, उपकरणहरु भाडामा

समलिंगी जोडीहरूलाई देखेर धेरैपटक मानिसहरु छक पर्ने गरेका छन् । तर कसैले श्रीमान्–श्रीमतीलाई नै आमाछोरीजस्तो सोच्छ भने त्योभन्दा अनौठो के

एजेन्सी । बेलायतमा एउटा वैवाहिक कार्यक्रममा जाँदा आफ्नो हात भाँच्चिएपछि एक शिक्षिकाले विवाह विरुद्ध मुद्दा दायर गरेकी छिन् । विवाह