पुष्पा एक अल्लारे किसिमकी चञ्चले केटी थिई – डा. ध्रुवचन्द्र गौतम

१३ चैत्र २०६८, सोमबार २०:४४ मा प्रकाशित

मैले पनि दिल्लीमा बस्ने ठाउँ पाएँ। म जहिले दिल्ली आउँथेँ, हमदमकहाँ नै बस्थेँ। उसले निकै छिटो आफूलाई दिल्लीको रङमा रंगायो। ‘बर्सौं सदी’ बाहेक ओम ‘शब्द’ का लागि पनि रेखांकन गर्ने काम गराउन थाल्यो। साँझ फुटबल म्याच हेर्दथ्यो, त्यसपछि कफी हाउसमा गएर बस्थ्यो। मेरा तमाम लेखक मित्र उसका पनि मित्र बनेका थिए। उसको चिनजानको घेरो फराकिलो हुन थाल्यो। भारत–चीन युद्ध चलिरहेको थियो, मैले डी.ए.बी. कलेज हिसारमा लेक्चरसिप पाउँदा। हरियाणा बनेको थिएन। हिसार पञ्जाबको निकै पछौटे क्षेत्री मानिन्थ्यो। धुलो उडाउँदा बिग्रे–भत्केका सडक बाँझो धरती र हाड–करङ भाँच्ने बस सेवाहरू सम्बन्ध पहिले आतंकित गर्दथे। भन्नलाई हिसारमा दुई डिग्री कलेज थिए, तर सहर देख्दा लाग्दथ्यो, त्यहाँ कुनै हाइस्कुलसमेत छैन। म केही दिनसम्म सहरको एकमात्र होटेलको एकमात्र पाहुना थिएँ। पछि कलेजको छेउमै सजिलैसित कोठा पाइयो। रातिराति जंगली जनावर रोएको आवाज आउँथ्यो। रात गहिरिएपछि स्यालहरूको सामूहिक रोदन सुरु हुन्थ्यो र अबेरसम्म चल्दथ्यो। ती स्यालका साथ त्यहाँका मानिसले पनि विलाप गरेको भए पनि मलाई आश्चर्य हुँदैनथ्यो। अर्काका लागि रोदन गर्नेहरूको परम्परा यस्तैयस्तै वातावरणमा थालिएको होला। विलाप गर्नका लागि यो आदर्श ठाउँ थियो।
कथाकार मोहन चोपडा डी.ए.बी. कलेजमै अंग्रेजीका प्राध्यापक हुनुहुन्थ्यो। हिन्दीमा कथाहरू लेख्नुहुन्थ्यो। पछि थाहा भयो, मोहन राकेशसित उहाँको अत्यन्त आत्मीय सम्बन्ध थियो। कालान्तरमा यो सम्बन्ध यति निकट भयो कि दुवैमा संवादको सूत्र नै छिनियो। पहिली पत्नीबाट तलाक लिएपछि मोहन राकेशले मोहन चोपडाकी बहिनी पुष्पासित बिहे गर्नुभएको थियो। पुष्पा एक अल्लारे किसिमकी चञ्चले केटी थिई। ऊ हेर्दा अत्यन्त सुन्दर थिई तर उसको लेखपढसित कुनै साइनो थिएन। उमेरमा पनि ऊ राकेशजीभन्दा निकै सानी थिई र त्यसै अनुपातमा बुद्धि कम भएकी पनि थिई। तिनलाई सँगसँगै देखेर कोही पनि भन्न सक्दथ्यो, ती दुवै एकअर्काका लागि बनेकै थिएनन्। थालनीमा त राकेशजीलाई उसको अज्ञान पनि मन पर्योप, पछि मन पराउन छाड्नुभयो। छिट्टै नै पतिपत्नीको एकअर्कासित मोहभंग भयो।
हिसारमा पढ्ने–लेख्ने वातावरण थिएन। त्यो एक यस्तो सहर थियो, जहाँ न कोही पढ्नेलेख्ने सौखिन थियो, न पिउने पियाउने। यहाँ मेरो मित्रता अंग्रेजीका शिक्षक पाल र प्रशिक्षक धर्मवीरसँग भयो। सादा जीवन उच्च विचार ती दुवैको जीवनको आदर्श थियो। पाल होस्टेलका सुपरिटेन्डेन्ट पनि थियो र होस्टेलपरिसरमै उसको डि–लक्स कोठा थियो। ऊ निकै सुरुचि सम्पन्न व्यक्ति थियो। उसको पनि न पढ्नमा रुचि थियो, न पढाउनमा। ऊ राम्रो रहनसहन र भोजनको सौखिन थियो। धर्मवीर आफ्नो गाउँबाट घिउको टिन लिएर आउँथ्यो अनि छात्रहरूको भोजनपछि हाम्रो अलग्ग खानेकुरा पाक्दथ्यो। तात्तातो खानेकुरा आएपछि घिउको झानले कोठा वासनायुक्त हुन्थ्यो। हिसारमा खसीको होइन, लस्सीका नदी बग्दथे। साँझ हामी बेस्सरी टेबिलटेनिस खेल्दथ्यौं र पालसित मेरो यति गाडा सम्बन्ध भयो कि म कहिलेकाहीँमात्र जान्थेँ। खेलकुदले रातमा निद्रा पनि राम्रो लाग्दथ्यो। यहाँ कसैलाई न मदिराको आवश्यकता पर्दथ्यो न निद्राकै चक्कीको। दिनको समय कलेजमा र साँझ कमन रूपमा बित्थ्यो। एक व्यक्ति मजदुर झैं यस्तरी सुत्यो कि भोलिपल्ट बिहानमात्र निद्रा ब्यूँझिन्थ्यो।
कलेजको एउटा केटो निकै राम्रो थियो कि सह–शिक्षाको व्यवस्था थियो। केटाहरू लण्ठु खालका थिए भने केटीहरू सुसंस्कृत र शालीन थिए। पाल सधैं कोट–प्यान्ट र टाइले सजिएको हुन्थ्यो र केटीहरूबाट घेरिएको। केटीहरू जाडोमा उसका पनि स्विटर बुन्थे, घरबाट परास पकाएर ल्याउँथे, कुरा के भने उसको बजार चलेको थियो। मलाई पालसित देखेपछि केटीहरू ऊसित कुरै नगरेर जान्थे। केही–केटी उसलाई चिठी पनि लेख्दथे, ऊ मलाई दिन्थ्यो र पढेर सुनाउन भन्थ्यो। खाँदा खेरि हामी पत्रहरूको विश्लेषण गर्दथ्यौैं। तर पाल सतही किसिमको मानिस थिएन, एक सीमासम्म मात्र खेल खेल्दथ्यो। ऊ एक कुशल न त झैं केटीहरूलाई लक्ष्मण रेखाभन्दा परतिरै राख्दथ्यो। एक पटक कुनै केटीले उसलाई लेखी ऊ पालबिना बाँच्न सक्दिनँ, पालको व्यवहार ऊप्रति यस्तै रह्यो भने ऊ आत्महत्या गर्छे। पालले त्यसलाई कोठामा डाक्यो र भन्यो, जुन दिन आत्महत्याको इच्छा हुन्छ मलाई बताइदिनु, उसले विष ल्याइदिनेछ। केटी रुँदै कोठाबाट निस्केर गई। पाल प्रत्येक सेमेस्टरमा कैयौं केटीको हृदय तोड्दथ्यो। ऊ पहिले केटीहरूलाई आकर्षित गर्दथ्यो। त्यसपछि तिनको हृदय तोडिदिन्थ्यो। केही दिनपछि नै म उसलाईं ‘स्याडिस्ट’ भन्न थालेँ। कुन्नि किन, यही उसको प्रिय बानी थियो। त्यस कलेजमा म धेरै दिन बसिनँ, तर त्यस अवधिमा कुनै केटीले ममा कुनै रुचि देखाइन।
(प्रसिद्ध हिन्दी लेखक रवीन्द्र, कालियाको ग्रन्थ ‘गालब छुटी शराब’ बाट स्वतन्त्र अंश–प्रस्तुति)

प्रतिक्रिया
सम्बन्धित खवर

श्रीलङ्कामा इनार खन्दा बहुमूल्य रत्न भेटिएको छ । संसारकै सबैभन्दा ठूलो स्टार सफायर भनिने एक प्रकारको नीलमणि फेला परेको अन्तराष्ट्रिय

मानिसको फोक्सो जस्तो देखिने नेकलेसको विश्वभर चर्चा भइरहेको छ । अमेरिकन सुपरमोडल बेला हदिदले यो नेकलेस फ्रान्समा भइरहेको कान्स फिल्म

बाङ्लादेशको एउटा गाईफर्ममा निकै सानो गाईको बाछी हेर्न आगन्तुकहरुको भीड लागेको छ । २३ महिनाको सो गाईको बाछीको उचाई केवल

धादिङ । धादिङमा दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिलालाई जिल्ला वन कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ