नेपालमा सहमतिकै सरकार बन्नुपर्छ :: सलमान खुर्सीद (भारतीय विदेशमन्त्री)

१८ पुष २०६९, बुधबार ०८:४९ मा प्रकाशित

० तपाईंको दृष्टिकोणमा राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमण कस्तो रह्यो ?
– महामहिम राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमण एकदमै सफल, फलदायी भएको हाम्रो निष्कर्ष छ । यो भ्रमणबाट दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको छ । दुई पक्षबीच नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका साथै सबैजसो विषयमा खुलेर कुराकानी भएका छन् ।
० कुराकानी कुन–कुन विषयमा भए ?
– पहिलो त यो उच्चस्तरीय भ्रमण हो । यसमा दुई देशको सम्बन्धकै विषयमा प्रमुखता साथ कुराकानी भयो । दोस्रो, नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा कुराकानी भयो । त्यसपछि आर्थिक एजेण्डा, ऊर्जासङ्कट, पूर्वसम्झौताको कार्यान्वयनको प्रगतिको विषयमा, खुला सिमानको विषयलगायतमा कुराकानी भए ।
० राजनीतिक विषयमा चाहिँ के–के कुराकानी भए ?
– नेपालको राजनीतिक घटनाक्रमलाई हामीले नजिकबाट नियालिरहेका छौँ । भारतको सर्वसम्मत मत छ– नेपालमा आमसहमति हुनुपर्छ । दलहरूबीचको एकता र सहमतिबाटै निकास निकाल्नुपर्छ । नेपालको राजनीतिक सङ्कट समाधानका लागि राष्ट्रिय सहमतिको सरकार अति आवश्यक छ । त्यतातिर नेपालका दलहरू उन्मुख भएका छन् भन्नेमा हामीलाई लागेको छ । राष्ट्रपतिसँग मेरो
कुरा हुँदा पनि उहाँले सहमति हुन्छ भन्ने विश्वास व्यक्त गर्नुभएको छ । त्यो राम्रो सङ्केत हो । हामी त्यही चाहन्छौँ । नेपालको लोकतन्त्रको संस्थागत विकास गर्न पनि दलहरूबीचको सहमतिमा निर्वाचनको विकल्प छैन । त्यसैले निर्वाचन भएर नयाँ संविधान जारी होस् भन्ने भारतको चाहना छ । त्यसका लागि जस्तोसुकै सहयोग गर्न हामी तयार छौँ ।
० राष्ट्रिय सहमतिको सरकार कसको नेतृत्वमा बन्नुपर्छ भन्ने भारतको दृष्टिकोण छ ?
– कसको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने कुरा हामीले भन्ने कुरा होइन । नेपाल स्वतन्त्र र सार्वभौम देश हो, कसलाई प्रधानमन्त्री बनाउने, कसको नेतृत्वमा सरकार बन्ने भन्ने कुरा त्यहीँका राजनीतिक दलले गर्ने कुरा हो । नेपालमा को प्रधानमन्त्री बन्ने भन्ने कुरा हाम्रो चासोको विषय होइन । भारतको प्रस्ट दृष्टिकोण छ– दलहरू मिलून् र सहमति निर्माण गरेर निर्वाचन गराऊन् । त्यो हाम्रो चासोको विषय हो ।
० तपाईंहरूमाथि प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारलाई टिकाइरहनुभएको भन्ने आरोप छ नि ?
– नेपालमा को प्रधानमन्त्री रहिरहनुपर्छ र को हुनुपर्छ भन्ने पक्ष र विपक्षीमा भारत छैन । हामीले कसैलाई सत्तामा टिकाइराख्ने र कसैलाई बनाउने भन्ने कुरामा भारतको कुनै भूमिका रहँदैन । सबै प्रस्ट हुनुपर्छ । नेपालको समस्या नेपालीले नै समाधान गर्नुपर्छ । सरकार पनि उहाँहरू आफैँ मिलेर बनाउनुपर्छ, त्यसमा भारतको नाम जोडेर विश्लेषण गर्नु राम्रो हुँदैन । त्यसैले हामीले पहिलादेखि नै भन्दै आएका छौँ– हामी नेपालमा राजनीतिक स्थायित्व चाहन्छौँ । दलहरूको एकतामा सम्पन्न नेपाल भएको हेर्न चाहन्छांै । अब भारतको एउटै चाहना छ– नेपालले आर्थिक प्रगति गरोस् । त्यसका लागि हामी सक्दो सहयोग गर्छौं । आज म तपार्इंमार्फत एउटा कुरा प्रस्ट गर्न चाहन्छु– अब भारत कसैको पक्ष र विपक्षमा उभिँदैन । सबैको पक्षमा एकता चाहन्छ र सम्पन्न नेपाल चाहन्छ ।
० राष्ट्रपतिले सहमतिका लागि समय दिएकोदियै गर्ने तर दलहरूबीच सहमति हुन नसक्दा भारतको नाम पनि जोडेर हेर्ने गरिन्छ नि ?
– कसले कसरी हेर्छन् भन्ने कुरा व्यक्तिको दृष्टिकोणमा भर पर्छ । नेपालको राजनीतिक घटनाको क्रममा हाम्रो चासो र जिज्ञासा छ कारण नेपाल हाम्रो असल छिमेकी हो । सदियौँदेखिको ऐतिहासिक सुमधुर सम्बन्ध छ । त्यो सम्बन्ध प्रगाढ छ र रहिरहने छ । जे कुरामा पनि नेपालको विषयमा भारतको नाम जोड्दा राम्रो हुँदैन । नेपालको आन्तरिक राजनीतिमा कुनै किसिमको हस्तक्षेप रहेको थिएन, छैन र रहँदैन पनि ।
० नेपालमा निर्वाचन होला जस्तो लाग्छ कि लाग्दैन ?
– हाम्रो चाहना हो, नेपालमा छिटो निर्वाचन हुनुपर्छ । निर्वाचन गर्ने काम दलहरूको हो । दलहरूबीच एकता भएर निर्वाचन भयो भने नेपालको लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्र बलियो भयो भने मात्रै नेपालको भविष्य उज्ज्वल हुन्छ ।
० राष्ट्रपतिको भ्रमणको उपलब्धिचाहिँ के हो ?
– महामहिम राष्ट्रपतिको यो सद्भाव भ्रमण हो । मैले पहिला नै भनेको छु फलदायी र उपलब्धि भएको छ र दुई देशलाई एक–अर्कालाई बुझ्न मद्दत पनि गरेको छ ।
० राष्ट्रपतिको प्रयासलाई तपाईंहरूको समर्थन छ अरे नि त ?
– नेपालका राष्ट्रपति डा. रामवरण यादव असल व्यक्तित्वका धनी हुनुहुँदोरहेछ । उहाँको शालीन र शिष्ट व्यक्तित्वबाट म पनि प्रभावित भएको छु । उहाँले सहमतिका लागि गर्नुभएको प्रयास प्रशंसनीय र सराहनीय छ । त्यसको हामी समर्थन गर्छौं ।
० तपाईं नेपाल कहिले आउनुहुन्छ ?
– नेपालमा छिटो सहमति भए र सहमतिमै राष्ट्रिय सहमतिको सरकार र निर्वाचनको घोषणा भएपछि म नेपाल आउँछु । मेरो नेपाल आउने चाहना छ, त्यो छिट्टै पूरा हुन्छ ।
– आर. धमला

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार