गैरदलीय व्यक्तिलाई प्रधानमन्त्री बनाउने चाल, कोइरालालाई रोक्न को सक्रिय ?

१८ पुष २०६९, बुधबार ०८:१५ मा प्रकाशित

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसले बुद्धिमत्तापूर्ण निर्णय लिन नसक्दा कथं प्रधानमन्त्री बाबुराम भट्टराई सत्ता हस्तान्तरण गर्न तयार भए भने पनि कांग्रेसको नभई कुनै तेस्रो व्यक्तिको हातमा सरकारको नेतृत्व जाने ‘खतरा’ बढेको छ । विपक्षीहरूले प्रधानमन्त्रीको साझा उम्मेदवारका रूपमा सुशील कोइरालालाई प्रस्ताव गरेपछि एमाओवादी नेतृत्व र मधेसी मोर्चाले विभिन्न खोँचे थाप्दै काङ्गे्रसलाई सरकारको नेतृत्व नदिने प्रपञ्च गरिरहेका छन् । एनेकपा माओवादीले ०६५ सालमा तत्कालिक संविधानसभाबाट गणतन्त्र घोषणा गरेलगत्तै नेपाली काङ्गे्रससँग प्रधान अन्तरविरोध रहेको निष्कर्ष निकाल्दै काङ्गे्रसलाई मुख्य दुश्मनको कोटिमा राखेको छ । यही निर्णय र निष्कर्षका कारण गिरिजाप्रसाद कोइराला नेतृत्वको सहमतीय सरकारलाई विस्थापित गरी प्रचण्डले आफ्नै नेतृत्वमा बहुमतीय सरकार गठन गरेका थिए । एमाओवादी दस्तावेजमा प्रमुख दुश्मन तोकिएको पार्टीलाई सत्ताको नेतृत्व दिन नहुने अवधारणाअनुरूप त्यसबेला गिरिजाप्रसादलाई पदबाट हटाइएको थियो भने अहिले त्यही कारण सुशील कोइरालालाई प्रधानमन्त्री बन्न अवरोध पु¥याइएको छ । एमाओवादी सरकारको वैशाखी बनेको मधेसी मोर्चाले पनि काङ्गे्रस र कोइरालामाथि मधेसप्रति असहिष्णु रहेको आरोप लगाउँदै काङ्गे्रस नेतृत्वको सरकार गठनमा अड्चन पैदा गरेको छ ।
नेकपा एमालेले सुशील कोइरालाको नेतृत्वमा सरकार गठन हुनुपर्ने औपचारिक निर्णय गरिसकेको भए पनि त्यस पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल ‘स्वतन्त्र व्यक्तिको नेतृत्वमा’ सरकार गठनका निम्ति भित्रभित्रै सक्रिय हुन थाल्नुभएको छ । नेपालले ‘सुशील कोइरालालाई प्रचण्डले कुनै हालतमा पनि स्वीकार नगर्ने भएकाले बाबुराम भट्टराईलाई राखिरहनुभन्दा कुनै तेस्रो व्यक्तिलाई प्रधानमन्त्री बनाएर निकास खोज्नु उपयुक्त हुने’ तर्क आफ्नो पार्टीका नेताहरूसमक्ष प्रस्तुत गर्न थाल्नुभएको छ । त्यस्तै, केही अघिसम्म स्वतन्त्र व्यक्तिको नेतृत्व अस्वीकार्य हुने बताउँदै आएका प्रधानमन्त्री भट्टराईले पनि पछिल्लो दुई सातादेखि काङ्गे्रस सहमतिमा नआए स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्न सकिने विकल्प प्रस्तुत गरिरहनुभएको छ । एमाओवादी अध्यक्ष प्रचण्ड पनि गैरदलीय व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने पक्षमा भएको बताइन्छ । अन्तर्राष्ट्रिय समुदाय पनि स्वतन्त्र चुनावी सरकार गठन गरेर आगामी जेठभित्रै निर्वाचन गराउने सोचमा रहेको बुझिन्छ । नेपाली काङ्गे्रसभित्र कतिपय नेतासमेत सुशील कोइरालाभन्दा कुनै तेस्रो व्यक्ति नै प्रधानमन्त्री बनेको हेर्न चाहन्छन् । कोइरालालाई प्रधानमन्त्री बनाउनुपर्छ भनी इमानदारीपूर्ण पहल गर्नेमा एक्ला राष्ट्रपति डा. रामवरण यादव मात्र देखिनुभएको छ । तर, उहाँको चाहनाले मात्र कोइराला प्रधानमन्त्री बन्नेमा विश्वास गर्न सकिन्न । अन्तर्राष्ट्रिय समुदाय, नेपाली सेना र बहुसङ्ख्यक राजनीतिक दलको साथ र समर्थन पाए मात्र राष्ट्रपतिले सुशील कोइरालालाई प्रधानमन्त्री घोषणा गर्न सक्ने हो । अहिलेसम्म सेना र अन्तर्राष्ट्रिय समुदायलाई सुशीलको पक्षमा ‘कन्भिन्स’ गर्न राष्ट्रपतिले सक्नुभएको छैन । अन्ततः बाबुराम भट्टराईलाई विस्थापित गर्नकै लागि तेस्रो व्यक्तिलाई प्रधानमन्त्री बनाउन उहाँ पनि राजी हुनुपर्ने अवस्था छ । खास बिन्दुमा पुगेपछि राष्ट्रपति पनि गैरदलीय व्यक्तिको नेतृत्वमा सरकार बनाउन राजी हुनुभयो भने आश्चर्य मान्नुपर्ने छैन ।
गैरदलीय व्यक्तिको कुरा गर्दा डा. देवेन्द्रराज पाण्डे र दमननाथ ढुङ्गानाको नाम सर्वाधिक अगाडि आएको छ । माओवादीको दृष्टिमा दमननाथभन्दा देवेन्द्रराज उपयुक्त छन् । दमननाथ काङ्गे्रस पृष्ठभूमिको भएकाले उनलाई प्रधानमन्त्री बनाउनु खोजिमपूर्ण हुनसक्ने ठम्याइ एमाओवादी नेताहरूको छ । त्यसैले ‘स्वतन्त्र’ सरकारको नेतृत्व डा. देवेन्द्रराज पाण्डेले पाउन सक्ने सम्भावना बढी देखिएको छ ।
तर, ‘स्वतन्त्र’ सरकार गठनका निम्ति पनि सहमति बन्न आवश्यक छ । पहिलो चरणमा दलहरूबीच स्वतन्त्र सरकार गठनमा जाने सैद्धान्तिक सहमति बन्नुपर्ने हुन्छ । दलहरू सिद्धान्ततः सहमत भइसकेपछि अर्को चरणमा पात्रमा सहमति बन्नुपर्ने हुन्छ । नेपाली काङ्गे्रस र एमाले आफ्नो पूर्वनिर्णय बदल्ने पक्षमा अहिलेसम्म छैनन् । कदाचित ‘स्वतन्त्र सरकार’ गठनमा सहमति जनाए पनि एमाओवादीले प्रस्ताव गरेकै मानिसको नाममा काङ्गे्रस–एमालेले सहमति जनाउने सम्भावना कम देखिन्छ । तर, राष्ट्रपतिले बाबुरामलाई विस्थापित गर्दै जबर्जस्त देवेन्द्रराज पाण्डे या अरू कसैको नाम प्रधानमन्त्रीका रूपमा घोषणा गर्ने हिम्मत गर्नुभयो भने राष्ट्रपतिको त्यस्तो कदमका विरुद्ध काङ्गे्रस–एमालेले सङ्घर्ष गर्ने या त्यसलाई अस्वीकार गर्नेमा शङ्का छ । एमालेले राष्ट्रपतिको ‘त्यस्तो’ कदमविरुद्ध सङ्घर्ष गर्ने कुनै अवस्था र कारण देखिन्न, काङ्गे्रस एक्लै राष्ट्रपतिविरुद्ध जान पनि मुस्किल छ । राष्ट्रपतिले सुशील कोइरालाको नाम प्रधानमन्त्रीमा घोषणा गर्ने हिम्मत गर्नुहोला भन्ने विश्वास गरिएको छैन र कदाचित त्यसो गरिएमा एमाओवादी तथा मधेसी मोर्चाले राष्ट्रपतिको कदमलाई अस्वीकार गर्दै वर्तमान सरकार नै वैधानिक दाबी गरिरहन सम्भव छ । त्यसो भएमा मुलुकमा द्वैध सरकारको अवस्था उत्पन्न हुनसक्ने देखिन्छ । त्यसैले मुलुकमा दलीय या गैरदलीय जस्तो सरकार गठन गर्न पनि दलहरूबीच एउटा सहमति बन्नैपर्ने आवश्यकता छ । सबै दलले स्वतन्त्र मानेमा मात्रै कुनै व्यक्ति स्वतन्त्र हुनसक्ने भएकाले स्वतन्त्र सरकार गठनका लागि पनि दलहरूबीच सहमतिको अपरिहार्यता छ । यदि स्वतन्त्र सरकारमा पनि सहमति बन्न सकेन भने कुनै ठोस आकस्मिक घटना नहुन्जेल वर्तमान सरकारले नै थप केही समय निरन्तरता पाउने निश्चित मानिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार