राष्ट्रपतिको कदम बन्दैछ उपहासको विषय, दलहरु बिमतिको उत्कर्षमा

१६ पुष २०६९, सोमबार ०८:२७ मा प्रकाशित

जयप्रकाश त्रिपाठी/ काठमाडौं, १६ पुस । भारतमा राजनीतिक परामर्श गरेर नेपाल फर्केको भोलीपल्टै आइतबार राष्ट्रपति रामवरण यादवले दलहरुलाई राष्ट्रिय सहमतिको सरकार बनाउन सातौँ पटक म्याद दिएको सन्दर्भ यतिबेला राजनीतिक वृत्तमा उपहासको विषय बन्न पुगेको छ । चार प्रमुख राजनीतिक दलका नेताहरुले राजनीतिक सहमति जुटाउन निर्लज्जतापूर्वक फेरि समय मागेपछि राष्ट्रपतिले आगामी २० गते शुक्रबारसम्मका लागि म्याद थपिदिएका छन् । तथापि, दलहरुका बीच सरकारको नेतृत्वको विषयमा विवाद भने झन् चर्किएको छ ।  खासगरी नेपाली कांग्रेसलाई सत्ता नसुम्पने अडान प्रधानमन्त्री भट्टराईले पटक–पटक दोहोरयाउन थालेबाट सहमतिको सम्भावना पूरै अन्त्य भइसकेको अनुभूति समेत गरिएको छ ।
म्याद थप्न आग्रह गरेर राष्ट्रपति निवासबाट बाहिरिँदै गर्दा उपप्रधानमन्त्री तथा मधेसी गठबन्धनका अध्यक्ष बिजय गच्छदारले एकपछि अर्को म्यादहरु बिफल बन्नुको मूल कारण सबैको चाहना सत्ता हुनु नै रहेको खुलासा गरेबाट दलहरु देश र जनताको हितभन्दा सत्ताकेन्द्रित राजनीतिमा मरिमेटिरहेको छर्लङ्ग हुन्छ । उनले सत्तापक्ष र विपक्ष सबैलाई सत्ता नै प्यारो भएको मुखै फोरेर बताए । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनमा सहमतिनजिक पुगेको बताएका नेताहरु पछिल्लो चरणमा यही सरकारलाई नै सहमतिको स्वरुप दिएर प्याकेजमा सहमति जुटाएर मात्र नेतृत्व परिवर्तन गर्ने प्रधानमन्त्रीको अडानका कारण नै संवादहीनताको अवस्थामा पुगेका हुन् । तर, एमाओवादीका प्रवक्ता अग्नि सापकोटा यस्तो अवस्था पछिल्लोपटक थपिएको पाँचदिने म्यादभित्र टुट्न सक्ने बताउन हिच्किचाउँदैनन् । उनका अनुसार सहमति निकाल्ने नै मनसायले वार्तामा बसिदिए त अझै केही बिग्रेको छैन । तर, यसरी सहमति निकाल्ने मनसाय नराखी वार्तामा बस्ने दलका रुपमाचाहिँ एमाओवादी नै चित्रित हुँदैआएको सर्वविदित नै छ । आफ्नो दलको आसन्न महाधिवेशनको चटारोका कारण राजनीतिक छलफल र भेटघाटमा केही असर पुगेको सापकोटाले स्वीकार गरे ।
आगामी २५ गतेभित्र सहमति हुन नसके बैशाखमा चुनाव हुन नसक्ने निश्कर्ष दलहरुले निकालेको परिवेशमा यसरी संवादको चरण नै अवरुद्ध हुनु र राष्ट्रपतिले अन्य विकल्पमा जाने प्रयास नै नगरी एकोहोरो म्याद थपिरहनु अत्यन्त उच्चाटलाग्दो विषय बन्न पुगेको नेपाली कांग्रेसका नेता डा. रामशरण महतको ठहर छ । राष्ट्रपतिले तत्काल बहुमतीय आधारमा प्रधानमन्त्री बनाउने प्रक्रिया सुरु गर्नुपर्ने उनको धारणा छ ।
जे होस्, गर्नुपर्ने काम या मिल्नसक्ने सहमतिका बुँदाहरुलाई लत्याएर सत्तापक्षले संविधानसभा पुनस्र्थापनाको विषयलाई फेरि उछाल्न थालेको परिवेशले अबको राजनीति सहमतिभन्दा बिमतितर्फ नै अघिबढेको महसुस गराउँछ । यसले राजनीतिक दलहरुप्रति जनतामा घृणाकै स्तरमा वितृष्णा बढाएको छ भने निराशा र आक्रोश पनि त्यत्तिकै चुलिन पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास