नयाँ तलबमान नदिने कम्पनीहरूलाई कार्बाही गरिने

१५ पुष २०६९, आईतवार ०५:३२ मा प्रकाशित

बिमल गौतम, साउदी अरब । साउदी अरबमा नेपाली कामदारहरूका लागि निर्धारित नयाँ तलबमान उपलब्ध नगराए कार्बाही गरिने भएको छ । साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेयले नेपाली कामदारहरूका लागि हालै निर्धारित नयाँ तलबमान नदिने, नदिलाउने नेपाली म्यानपावर कम्पनी र साउदी रोजगारदाता कम्पनी दुबैलाई कार्बाही गरिने बताउनुभएको छ । यसका लागि कामदार तथा नेपाली समुदायले आवश्यक कागजात सहित नेपाली दूतावासलाई जानकारी दिन अनुरोध गर्नुभएको छ ।

हाल नेपाल सरकारले नेपाली कामदार (सबै भन्दा तल्लो तह लेबर) का लागि न्युनतम तलबमान साउदी रियाल ८००+२०० या फ्री खाना हुनुपर्ने गरी निर्णय गरी राजपत्रमै प्रकाशित गरेको छ । उहाँले कामदारहरूको तलब सुविधा यस भन्दा कम हुनेगरी पठाएको पाइएमा ती म्यानपावर कम्पनीहरूलाई फरक परेको तलब सुविधा जरिमाना गर्नेदेखि जेल पठाउने सम्मको कार्बाही गराउन सकिन्छ भन्दै साउदी रोजगारदाताबाट नेपाली कामदारहरूको पेरोल (स्यालरी सिट) नै झिकाएर कम तलब सुविधा दिएको पाइए त्यस्ता रोजगारदाता साउदी कम्पनीहरूलाई फेरी नेपाली कामदार ल्याउन नपाउने गरी कालो सूचीमा राख्न सकिने बताउनुभयो । हालैका दिनमा रियादको बाथामा भगौडा कामदारहरूका २ जना नेपाली दलालहरूलार्इ कार्बाही गरी नेपाल डिपोर्ट (Exit) गरेको जानकारी दिंदै त्यस्ता दलालहरूका बारेमा पनि जानकारी दिन सहभागीहरूलार्इ अनुरोध गर्नुभयो ।

१६ महिनाको आफ्नो कार्यकाल मा ८५० भन्दा बढी उजुरी परेको मा सबैको समस्या समाधान गरिएको बताउँदै मृतकको लास नेपाल पठाउन लाग्ने समय घटेको दुतावासमा आउने महिलाको चाप घटेको र समस्या मा रहेका नेपाली महिलाले काम गरेको स्थान थाहा पाउँदा आँफै गएर उद्धार गरि ल्याएको प्रसङ्ग बताउदै उजुरी गर्दा प्रस्ट ठेगाना सहित गरे तुरून्त उद्धार गर्न सक्ने बताउनु भयो । केहि महिना अघि सफर जेल दम्माममा घर फर्किन चाहने भगौडा नेपाली पुरुष १००० जना रहेको मा हाल घटेर २०० को संख्यामा रहेको समेत जानकारी दिनुभयो । नेपाली कामदारहरू भाग्नुमा मुख्य कारण कम तलब सुविधा नै रहेको पाइएको हुँदा साउदी अरबमा नेपाली कामदारहरूको माग तथा नेपाली दूतावासको बिशेष पहलमा केही महिना अघि न्युनतम तलबमा बढोत्तरी गरिएको हो ।

यसै प्रसंगमा दूतावासकै श्रम सहचारी चण्डेश्वर आचार्यले हाम्रो कानूनमा पनि केही कमी कमजोरी (लुप होल) रहेकाले त्यसको गलत फाइदा नेपाली म्यानपावर कम्पनीहरूले लिएका हुन सक्छन् । जस्तो कि एकचोटी लिएको भिषाको भ्यालिडिटी (म्याद) ३ बर्षसम्म रहने हुँदा केही म्यानपावर कम्पनीहरूले पुरानै भिषा (डिमाण्ड) तथा श्रम स्वीकृति बमोजिम नै अझैपनि कामदारहरू साउदी अरबमा पठाइरहेको हुनसक्ने र त्यस्ता केशहरूमा पुरानै तलबमान रहेको हुनसक्ने बताउनुभयो ।

दूतावासकै उपनियोग प्रमुख तथा एनआरएनएका फोकल प्वाइन्ट हरिश्चन्द्र घिमिरेले पनि आफ्ना धारणाहरू राख्दै नेपाली समुदायमा बिद्धमान बिसंगति र बिकृतिहरू हटाउन सुझाव सल्लाह दिन एनआरएनएलाई आग्रह गर्दै आवश्यक परे त्यस्तो संयन्त्र (मेकानिज्म) बनाउन सकिने बताउनुभयो । नेपालि कम्युनिटी तथा नेपाली दुतावासको आज सम्मका अनुभवहरुको प्रयोग गर्दै मिलेर समस्या समाधान गरौ भन्दै वहांले महामहिम राजदुतको नेतृत्वमा नेपाली राजदुतावास निरन्तर समस्या समाधानमा लागिरहने बताउनुभयो ।
एनआरएनए साउदी अरबले दमामको दल्लाहमा शुक्रबार २८ डिसेम्बर २०१२ मा सामाजिक तथा श्रमिक सरोकारका बिषयहरूमा आयोजना गरेको बिशेष अन्तरकृया कार्यक्रममा नेपाली दूतावासबाट उपरोक्त भनाईहरू आएका हुन ।

यसै अन्तरकृयामा एनआरएनए एनसिसी साउदी अरबका प्रमुख सल्लाहकार तारा भण्डारी र अध्यक्ष धरम केसीले पनि आ आफ्ना धारणाहरू राख्नुभएको थियो भने अतिथी वक्ताका रूपमा प्रवासी नेपाली सेवा समितिका अध्यक्ष हेम कुमार खडका, मिथिला एकता समाजका अध्यक्ष रूकेश कुमार शाह र प्रबासी नेपाली एकता समाजका अध्यक्ष कमल थापा र चार्टर्ड एकाउण्टेण्ट राजेश बुढाथोकीले पनि अन्तरकृयाका बिषयहरूमा आफ्ना मन्तब्यहरू राख्नुभएको थियो । अन्तरकृयामा बिभिन्न सहभागीहरूले पनि खासगरी नेपाली दूतावास समक्ष बिभिन्न जिज्ञासा, केही समस्या र केही सुझावहरू राख्नुभयो र ती सबैलाई अन्तमा राजदूतज्युले नै सम्बोधन गर्नुभएको थियो ।

गत सेप्टेम्बरमा दिवंगत हुनुभएका एनआरएनए साउदी अरबका पञ्जिकृत सदस्य रियादको सेदर कम्पनीका तत्कालिन कामदार धनकुटा निवासी धन बहादुर लिम्बुको सम्झनामा १ मिनट मौन धारणबाट शुरू भएको यो कार्यक्रममा मृतक सदस्यका परिवारको तत्कालिन राहतका लागि एनआरएन कल्याणकारी कोषबाट एनसिसी साउदी अरबले प्रदान गरेको रू २५ हजारको चेक महामहिम राजदूत मार्फत मृतकका परिवारसम्म पुर्याउनका लागि एनसिसीका सल्लाहकार दिपक रेग्मीलाई हस्तान्तरण गरिएको थियो । साथै एनसिसी अध्यक्ष धरम केसीले सामाजिक कार्यक्रमहरूमा देखिने गरेको अनियमितताहरूलार्इ रोक्नका लागि एनसिसीको १५औं बैठकले पारित गरेको एक सुझावपत्र सभामा वाचन गर्दै राजदूत उदयराज पाण्डेयलाई बुझाउनुभयो । यो अन्तरकृयालाई आइसिसी सदस्य यास्मिन बेगमले सञ्चालन गर्नुभएको थियो ।

पिकनिक भनिएता पनि कार्यक्रमस्थलमा शुरूमै एनआरएनए साउदी अरबले आफ्नो १६औं नियमित बैठक राखेको थियो । जसमा सचिवालय बैठकका सबै निर्णयहरूलाई सर्ब सम्मतीले पारित गर्दै रिक्त एनसिसी उपाध्यक्ष पदमा पश्चिम (जेद्धा) क्षेत्रिय समितिका अध्यक्ष दिनेश सुनुवारलाई पदोन्नती गर्दै एनसिसीको उपाध्यक्षमा चयन गरेको छ । बैठकमा का.बा. महासचिव डमर यादवले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष हरि लामिछानेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई सुझावसहित पारित गरिएको थियो ।

बैठक लगत्तै सामुहिक लगानीका बिषयमा पनि छलफल भयो । सामुहिक लगानीको यो सत्रमा सामुहिक लगानी समिति साउदी अरबका संयोजक तथा आइसिसी सदस्य राजु पौडेलले लगानीको अपडेट राख्दै कमसेकम कबोल गरिसक्नुभएका सबै लगानीकर्ताहरूलाई यही जनवरी १, २०१३ भित्रै एनआरएनए इन्भेष्टमेण्ट कम्पनीको खातामा रकम जम्मा गर्न ध्यानाकर्षण गर्नुभएको थियो । तत्पश्चात एनआरएनए साउदी अरबको आन्तरिक प्रशिक्षण तथा संस्थागत अन्तरकृया भएको थियो जसमा आइसिसी तथा एनसिसीका अग्रजहरूले आफ्ना अनुभूतिहरू पस्किदै सुझाव सल्लाह र मार्गदर्शन गर्नुभएको थियो भने अन्य सहभागीहरूले आ आफ्ना जिज्ञासा तथा सुझाव र बुझाइहरू राख्नुभएको थियो । यो सत्रलाई एनसिसी सल्लाहकार बिन्ति श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

अन्तमा सहभागी स्वयमसेवी एनआरएनहरूबाटै कार्यक्रमस्थलमै तयार पारिएका नेपाली परिकार को घरेलु स्वाद पाइने बनभोजको झलक दिने परिकारहरू पश्किइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको