एच एण्ड बी बैंक ठगी धन्दामा !

१२ पुष २०६९, बिहीबार ०८:२३ मा प्रकाशित

काठमाडौं, १२ पुस । कसैले कुनै व्यक्ति या संस्थालाई झुक्याएर ठगी गर्ने गरेको घटना त बेलाबखतमा हुने गरेकै हो, तर अब बैंकजस्तो संस्था खोलेर पनि व्यक्तिलाई ठगी गर्ने धन्दा सुरु भएको छ र यस्तो धन्दामा एच एण्ड बी डेभलपमेन्ट बैंक आफैँ संलग्न रहेको पाइएको छ ।
प्राप्त जानकारीअनुसार उक्त बैंकले दर्जनौँ व्यक्ति र केही सहकारी तथा फाइनान्स कम्पनीले नगद जम्मा गरेपछि सम्बन्धित व्यक्ति र संस्थाका नाममा उपलब्ध गराएको ‘गुड फर पेमेन्ट’ चेक नसाटेर सत्तरी करोडभन्दा बढी रुपैयाँ ठगी गर्ने प्रयास गरेको छ । एच एण्ड बी डेभलपमेन्ट बैंकको कुलेश्वर शाखाका एक कर्मचारीले जनाएअनुसार उक्त बैंकमा रहेको जयकुमार यादव र मनोजकुमार चौरसियाका नाममा रहेको खाता नं. क्रमशः ०१२९ ०००१ ०००००२८४ र ०१ ८०१८११००००४३४७२०००००१ मा व्यवसायीहरू सीता थापाले रु. २० लाख, देवनारायण श्रेष्ठले ४० लाख, कमल पराजुलीले ४० लाख, जंगबहादुर अनामनी श्रेष्ठले ६५ लाख, बद्रीनारायण अनामनी श्रेष्ठले ८५ लाख, अञ्जु शाक्यले २० लाख, पुनम प्रधानले २० लाख, सुनिल शाहीले २० लाख, जयन्ती जोशी कायस्थले १० लाख, विश्वमोहन कायस्थले ५० लाख, विष्णु भण्डारीले ७० लाख, ज्ञानेन्द्र केसीले ८८ लाख, शङ्कर भण्डारीले ९२ लाख, कविता ढकालले २० लाख, सरितशमशेर जबराले एक करोड २० लाख, मधुकरशमशेर जबराले ५० लाख, लक्ष्मी राईले एक करोड र उमेश बर्तौलाले ४० लाख रुपैयाँ नगद जम्मा गरी निश्चित मितिमा रकम निकाल्ने गरी ‘गुड फर पेमेन्ट चेक’ लिएका थिए । उल्लिखित व्यक्तिबाहेक अन्य केहीले पनि खातामा नगद जम्मा गरी ‘चेक’ लिएको बताइन्छ । यसरी जयकुमार यादव र महेशकुमार चौरसियालगायतको खातामा पटकपटक गरी सर्वसाधारणको मात्र बीस करोडभन्दा बढी रकम जम्मा भएको थियो । आ–आफ्ना चेक साट्न पुगेका सर्वसाधारणलाई बैंकले मङ्सिर २६ गतेदेखि नगद नदिई रित्तो हात फर्काउने गरेको छ । यसैबीच उक्त शाखाका प्रमुख नीरज नेपाललाई रकम हिनामिना गरेको आरोपमा बैंक सञ्चालकहरूले प्रहरी लगाई गिरफ्तार गराएका छन् भने खातावालहरू जयकुमार यादव र महेशकुमार चौरसिया फरार छन् । मनोज चौरसिया म्याक्स मोबाइल तथा नयाँ सडकमा साडी पसलका मालिक हुन् भने यादव पनि व्यापारी नै भएको बताइन्छ । व्यापार विस्तारका लागि आफ्नो खातामा ठूलो रकम ‘शो’ गर्नुपर्ने अवस्था आएको भन्दै चौरसिया र यादवले विभिन्न व्यक्तिहरूलाई अग्रिम बीसदेखि चौबीस प्रतिशत ब्याज दिई खातामा रकम जम्मा गर्न लगाएका थिए । रकम जम्मा भइसकेपछि बैंकले प्रमाणित गरी उनीहरूलाई विभिन्न मितिका ‘गुड फर पेमेन्ट चेक’ उपलब्ध गराएको थियो । दर्जनौँ व्यक्ति अहिले बैंकद्वारा उपलब्ध गराइएको ‘गुड फर पेमेन्ट चेक’ लिएर भौँतारिइरहेका छन् । उनीहरूमध्ये कतिले त बैंकबाट ऋण लिएरसमेत रकम जम्मा गरेका थिए । ज्ञानेन्द्र केसीले एच एण्ड बी बैंकको न्युरोड शाखाबाट ४० लाख रुपैयाँ ऋण लिई त्यहाँबाट प्राप्त चेक नै कुलेश्वर शाखामा लगी बुझाएका (जम्मा गरेका) थिए । अल्पकालका निम्ति कसैलाई ब्याजमा रकम उपलब्ध गराउँदा नाफा हुने र गुडफर पेमेन्ट चेक पाएपछि आफ्नो रकम पनि नडुब्ने भएकोले राजधानीमा तीन सयभन्दा बढी व्यक्तिले त्यसप्रकारको कारोबारमा आफूलाई संलग्न गराउने गरेको पाइएको छ । उल्लिखित व्यक्तिहरू पनि विगत एक वर्ष अघिदेखि नै यसप्रकारको कारोबारमा संलग्न हुने गरेका र यस अवधिमा अनेकौँपटक रकम राख्ने र चेक लिने तथा निश्चित समयमा साट्ने गर्दै आएका थिए ।
एच एण्ड बी डेभलपमेन्ट बैंकको अध्यक्षमा श्रवणकुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा जसुदा सैंजू रहेका छन् । पुष्पज्योति ढुङ्गानालगायत केही व्यक्ति सञ्चालक रहेको उक्त बैंकमा राजनीतिक रूपले एमाले निकटस्थहरूको वर्चश्व रहेको बताइन्छ । स्वयम् ढुङ्गाना पनि आफूलाई एमालेको वफादार कार्यकर्ताका रूपमा चिनाउने गर्छन् । नेपाल राष्ट्र बैंकको नेतृत्वमा समेत एमालेको हालिमुहाली कायम रहेका बेला पुष्पज्योति ढुङ्गानाले बैंकको दुरुपयोग गरी सर्वसाधारणलाई ठगी गर्ने प्रयास गरेका हुन् कि भन्ने आशङ्का गर्न थालिएको छ । सर्वसाधारणको निक्षेप भुक्तानी गराउनेतर्फ राष्ट्र बैंकले कुनै तत्परता नलिनुले पनि थप आशङ्का पैदा गराएको छ ।
आ–आफ्ना चेक लिएर साटिनुपर्ने माग गर्दै एच एण्ड बी बैंकको प्रधान कार्यालय कमलादीमा पीडितहरू जाँदा उनीहरूलाई ‘हामी अनुसन्धान गर्दै छौँ’ भनी फर्काउने गरिएको छ भने राष्ट्र बैंकका उच्चाधिकारीसमक्ष आफ्नो पीडा राख्दा पनि ‘अनुसन्धानपछि मात्र हुने’ भन्दै गैरजिम्मेवारपूर्ण जवाफ दिने गरेको बुझिएको छ । एच एण्ड बी डेभलपमेन्ट बैंकमा भएको घटना र केन्द्रीय बैंकका पदाधिकारीहरूको व्यवहारले नेपालका निजी क्षेत्रबाट सञ्चालित बैंकहरूको विश्वसनीयतामा गम्भीर धक्का पु¥याएको छ । कुनै कर्मचारीले गल्ती गरेका छन् भने तीमाथि अनुसन्धान गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अपनाइनु एउटा पाटो हो, तर बैंकमा जम्मा हुन आएको नगदबापतको चेकसमेत नसाट्नाले निजी क्षेत्रका विकास बैंकहरू कतिसम्म गैरजिम्मेवार र अविश्वसनीय हुन्छन् भन्ने सन्देश प्रवाहित हुन पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति

सर्लाही।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको