प्रचण्डको जालो च्यात्न बाबुरामको बेग्लै तयारी, स्वतन्त्र व्यक्ति प्रधानमन्त्री बन्ने सम्भावना

११ पुष २०६९, बुधबार ०९:०३ मा प्रकाशित

जयप्रकाश त्रिपाठी/ काठमाडौं, ११ पुस । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अडान लिइदिएपछि राजनीतिक दलहरूबीचको सहमति धरापमा परेको छ । आगामी वैशाखमा निर्वाचन गर्ने, निर्वाचन गराउनका निम्ति संविधान बाधा अड्काउ फुकाएर संशोधन गर्ने र पछिल्लो चरणमा आफ्नै नेतृत्वको सरकारलाई सहमतीय सरकारको स्वरूप दिई निश्चित अवधिपश्चात् काङ्गे्रसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नेलगायतका विषयमा सहमति हुनुपर्ने अडान प्रधानमन्त्रीले दोहोरयाउनुभएको छ । यसरी सहमति नगर्ने हो भने स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाएर चुनावमा जान तयार हुनुपर्ने विकल्प पनि प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको छ । प्रधानमन्त्रीले यसप्रकारको प्रस्ताव पहिले आफ्नै पार्टीका अध्यक्ष प्रचण्डमार्फत काङ्गे्रससमक्ष पुरयाउनुभएको थियो । तर, प्रचण्डले प्रधानमन्त्रीको आशय बङ्ग्याएर आफ्नै ढङ्गले चलखेल सुरु गर्नुभएपछि डा. भट्टराईले काङ्गे्रस नेतृत्वसमक्ष सोझै आफ्नो प्रस्ताव राख्नुभएको छ । प्रधानमन्त्री भट्टराईले साँच्चै पद त्याग गर्ने मनसायले ‘सेफ ल्यान्डिङ’को उपाय खोज्न थाल्नुभएपछि प्रचण्डले ‘लौ मैले सकिनँ, तपाईंहरूले नै पहल गर्नुप¥यो भनी’ विपक्षी नेताहरूलाई भनेकोले काङ्गे्रस–एमालेका नेताहरू भट्टराईसँग थप क्रूद्ध बनेका थिए । यसरी आफ्नो आशयलाई बङ्ग्याएर प्रस्तुत गरेपछि प्रधानमन्त्रीले काङ्गे्रस नेताहरूसँग सोझै वार्ता गर्ने सोच बनाउनुभएको बताइन्छ । डा। बाबुराम भट्टराईलाई ‘बार्गेनिङ टुल्स’ बनाएर प्रचण्डले आफैं प्रधानमन्त्री बन्ने खेल सुरु गर्नुभएकोमा प्रधानमन्त्री भट्टराई निकास दिँदै विपक्षीलाई सत्ता हस्तान्तरण गर्न तयार भएपछि प्रचण्ड आत्तिएर काङ्गे्रस–एमालेका नेताहरूको मन जित्न बाबुरामविरुद्ध उभिएको झुटो सन्देश फैलाउने प्रयास गर्दै हुनुहुन्थ्यो । प्रचण्डले पार्टीभित्रको आफ्नो कित्तामा ‘सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने पक्षमा भारत नभएकोले कोइरालालाई प्रधानमन्त्री बनाएर भारतलाई पाठ पढाउने’ जानकारी गराउँदै आफ्ना निकटवर्ती नेताहरूलाई बाबुरामविरुद्ध बोल्न उकास्नुभएको थियो । प्रचण्डले आफू भारतका विरुद्ध लाग्ने र बाबुरामलाई पनि पदच्यूत गराउने बताउँदै नेकपा माओवादीका नेताहरूलाई एकतामा आउन पनि यसैबीच सन्देश पठाइसक्नुभएको थियो । तर, माओवादी नेता मोहन वैद्यलगायतले प्रचण्डको प्रस्तावमा आशङ्का गर्दै पहिले बाबुरामलाई हटाउनु त्यसपछि सोचौँला भन्ने जवाफ फर्काएका थिए । बाबुरामको अडानका कारण प्रचण्ड आफ्नो पछिल्लो चालबाजीमा पनि असफल हुनुभएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले अहिले जे–जस्तो अडान राख्नुभएको भए पनि अन्ततः उहाँले पदत्याग गर्नुपर्ने परिस्थिति बन्दै गएको छ । यदि भट्टराईको प्रस्तावमा काङ्गे्रस सहमत हुनसक्यो भने काङ्गे्रसकै नेतृत्वमा चुनावी सरकार गठन हुनसक्ने सम्भावना प्रबल बनेको छ । काङ्गे्रस आफ्नो अडानमा कायम रहेको अवस्थामा भने कुनै स्वतन्त्र व्यक्तिलाई सत्ता हस्तान्तरण गरी आफू बाहिरिने निष्कर्षमा प्रधानमन्त्री पुग्नुभएको छ । स्वतन्त्र व्यक्तिहरूमा यसअघि चर्चामा आएका पूर्वप्रधानन्यायाधीशहरू अनुपराज शर्मा र रामप्रसाद श्रेष्ठ, केदारभक्त माथेमा, पूर्वसभामुख दमननाथ ढुङ्गाना र पूर्वमन्त्री देवेन्द्रराज पाण्डेमध्ये एकले प्रधानमन्त्री बन्न पाउने सम्भावना छ । उहाँहरूमध्ये पनि डा। देवेन्द्रराज पाण्डे र दमननाथ ढुङ्गानामा एकको सम्भावना बढिरहेको बताइन्छ । अहिले ढुङ्गानाभन्दा पनि देवेन्द्रराज पाण्डे दौडमा अगाडि रहनुभएको छ । राष्ट्रपति डा। रामवरण यादव भारत भ्रमणबाट फर्कनुभएपछि सरकार परिवर्तनको प्रक्रियाले ठोस गति लिने बुझिएको छ । डा। बाबुराम भट्टराईको प्रस्तावलाई काङ्गे्रस–एमालेले अस्वीकार गरेमा राष्ट्रपति स्वयम्ले नयाँ प्रधानमन्त्रीका रूपमा स्वतन्त्र व्यक्तिको नाम प्रस्ताव गर्नुहुने र दलहरूलाई उक्त प्रस्ताव मान्न ‘बाध्य’ तुल्याउने जानकारी प्राप्त भएको छ । त्यसैले यो पुस महिनाको अन्त्यसँगै वर्तमान गठबन्धन सरकार विस्थापित हुने र माघको आगमनसँगै नयाँ सरकार स्थापित हुने सम्भावना बढेको छ । प्रधानमन्त्री भट्टराई केही अघिसम्म स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने कुराको विरुद्ध हुनुहुन्थ्यो, तर पछिल्लो समयमा प्रधानमन्त्री स्वयम्ले स्वतन्त्र सरकारलाई एउटा विकल्पका रूपमा प्रस्तुत गर्नुभएकोले उहाँ सहमति नबनेको अवस्थामा स्वतन्त्र व्यक्तिलाई सत्ता हस्तान्तरण गरेर आफू बाहिरिन तयार भएको स्पष्ट सङ्केत मिलेको छ । आफूले स्वेच्छाले पदत्याग नगरेसम्म दलहरूबीचको सहमतिबाट मात्र कुनै निकास निकाल्न सकिने प्रधानमन्त्री ठान्नुहुन्न । विधिवत् गठन भएको आफ्नो सरकारलाई विस्थापित गर्न सकिने कुनै वैधानिक आधार नभएको अवस्थामा आफूलाई ‘वाइबास’ वा निषेध गरेर वैधानिक प्रक्रिया सुचारु हुन नसक्ने प्रधानमन्त्रीको ठम्याइ छ । त्यसैले आफ्नो प्रस्ताव मानेर सरकारमा सामेल नभए काङ्गे्रस–एमालेलाई जिल्याउँदै स्वतन्त्र व्यक्तिलाई सत्ता हस्तान्तरण गरेर बाहिरिने सोच प्रधानमन्त्रीले बनाउनुभएको हो । प्रधानमन्त्री भट्टराईको यस्तो सोचले सधैं चलखेलमार्फत आफूलाई केन्द्रबिन्दुमा राख्न प्रयास गरिरहने प्रचण्डको योजना अवरुद्ध हुन पुगेको छ । सरकार परिवर्तनमा प्रचण्ड या अरू कसैको नभई आफ्नै भूमिका प्रधान बनाउने बाबुराम भट्टराईको सोच रहेको छ । प्रधानमन्त्रीको यस्तो मनोविज्ञानलाई बुझेर काङ्गे्रसले सोझै भट्टराईसँग सहमति बनाउन प्रयास गरेको अवस्थामा भने चुनावी सरकारको नेतृत्व काङ्गे्रसले नै पाउने निश्चित मान्न थालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।सानै उमेरमा कांग्रेस महाधिवेशन प्रतिनिधि बन्ने सूचीमा १९ वर्षीया करिना पुरी पनि थपिएकी छन् । करिना पुरी महाधिवेशन प्रतिनिधिका

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको निर्वाचन सम्बन्धी परराष्ट्र मत्रालयले गरेको सबै निर्णय र पत्राचारहरु कार्यान्वयन नगर्न अदालतले आदेश दिएको

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा