कुँवरले प्रचण्डलाई चड्काएपछि ‘भीआईपी’का नाममा पन्ध्रसय सुरक्षाकर्मी

११ पुष २०६९, बुधबार ०८:२५ मा प्रकाशित

रामहरि पाण्डे/ काठमाडौं, ११ पुस । भूमिका र कार्यव्यवहारले ‘भीआईपी’ नभए पनि भीआईपीको नाममा राज्यले धेरै ठूलो जनशक्ति प्रयोग गर्नुपरेको खुलासा भएको छ । राज्यले तीन सयभन्दा बढी भीआईपीका लागि पन्ध्र सयभन्दा बढी सुरक्षाकर्मीलाई ‘इन्गेज’ गराएको छ । राज्यले बहालवाला तथा पूर्वभीआईपीहरूलाई सुरक्षा दिँदै आएको छ भने अधिकांश पूर्वभीआईपीहरूको सुरक्षाका लागि सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको छ । सरकारले बहालवाला तथा पूर्वभीआईपीहरूका लागि मात्र होइन राजनीतिक दलका नेताहरूको सुुरक्षाका लागि पनि नेपाल प्रहरीका जवानहरूलाई खटाएको छ । ठूला राजनीतिक दलका नेता तथा पूर्वविशिष्टहरूको सुरुक्षामा बढी सुरक्षा जनशक्ति परिचालन गरिएको छ । नेपाल प्रहरी सुरक्षा महाशाखाका एक अधिकृतका अनुसार एमाओवादीका नेताहरूको सुरक्षामा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । एमाओवादीले गत मङ्सिर पहिलो साता राजधानीमा गरेको चियापानमा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई बाग्लुङका पदम कुँवरले चड्कन हानेपछि सरकारले एमाओवादीका नेताहरूको सुरक्षामा अझै बढी सुरक्षाकर्मी परिचालन गरेको हो । महाशाखाका अनुसार उनीहरूको सुरक्षामा सादा पोसाकका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । बहालवाला भीआईपीहरूका लागि नेपाल आर्मी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ । त्यस्तै पूर्वभीआईपीहरूका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । त्यस्तै उनीहरूको सुरक्षाका लागि सादा पोसाकका प्रहरी पनि खटाइएको छ । गृहको पत्रका आधारमा बहालवाला र पूर्वविशिष्ट व्यक्तिहरूको सुरक्षामा प्रहरी परिचालन भएका छन् । बहालवाला विशिष्ट व्यक्तिहरूका साथै पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्रीहरू, प्रमुख राजनीतिक दलका शीर्ष तथा अन्य नेताहरू, उद्योगीहरूको सुरक्षामा प्रहरी परिचालन गरिएको छ ।
गृह मन्त्रालय सुरक्षा महाशाखाका एक अधिकारीले भने, ‘विशिष्ट व्यक्तिहरूको सुरक्षामा एक हजार पाँच सयभन्दा बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।’ ती अधिकारीका अनुसार पोसाक र सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता शंकरप्रसाद कोइरालाले पनि ‘बहालवाला तथा पूर्वविशिष्ट व्यक्तिहरूको सुरक्षामा सुरक्षाकर्मी परिचालन भएको बताएका छन् । तर, कसको सुरक्षामा कति र कस–कसले सुरक्षाकर्मी लिएका छन् भन्न मिल्दैन’ भन्दै उनले थपे, ‘यो व्यक्तिको सुरक्षा र राज्यको आफ्नो नीतिअनुसार चल्ने भएकाले यसमा सोधीखोजी गर्ने कुरा हुँदैन ।’
नेपाल प्रहरीको तथ्याङ्कअनुसार विशिष्ट व्यक्तिको सुरक्षामा खटिने प्रहरीको सङ्ख्या पाँच सय चौंतीस छ भने सशस्त्र प्रहरीबाट नौ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । यसबाहेक नेपाली सेनाका सुरक्षाकर्मी पनि विशिष्ट व्यक्तिको सुरक्षाका लागि खटिएका छन् । सङ्ख्याको आधारमा राष्ट्रपति डा. रामवरण यादवको सुरक्षामा सेनाबाट सबैभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् । सैनिक प्रवक्ता सुरेश शर्माका अनुसार राष्ट्रपतिको सुरक्षामा सेनाको एक गुल्म नै खटिएको छ । यसबाहेक उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीको सुरक्षामा समेत सेनाबाट अधिकृत तहका सुरक्षाकर्मी खटिएका छन् ।
गृह मन्त्रालय सुरक्षा महाशाखाका अनुसार निजी सुरक्षाका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीबाट सबैभन्दा धेरै सुरक्षाकर्मी लिनेमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई रहेका छन् । उनले नेपाल प्रहरीको डीएसपीको कमाण्डमा ८० जना सुरक्षाकर्मी लिएका छन् भने सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा २६ जना सुरक्षाकर्मी लिएका छन् । तर, प्रधानमन्त्री कार्यालयले ६६ प्रहरीको माग गरेको थियो । त्यस्तै भट्टराईको सुरक्षामा नेपाल आर्मीबाट पनि निकै ठूलो जनशक्ति परिचालन गरिएको छ ।
यसैगरी नेपालका राष्ट्रपतिले भन्दा पनि बढी सुरक्षा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले लिएका छन् । सरकारले प्रचण्डको सुरक्षामा प्रहरी निरीक्षकको कमाण्डमा २४ सुरक्षाकर्मी खटाएको छ भने सशस्त्र प्रहरीबाट डीएसपीको कमाण्डमा १३ सुरक्षाकर्मी खटिएका छन् । यसैगरी १५ भन्दा बढी सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैगरी उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले आफ्नो सुरक्षाका लागि नेपाल प्रहरीबाट ११ र सशस्त्र प्रहरीबाट १३ सुरक्षाकर्मी लिएका छन् । गृहका एक अधिकारीका अनुसार उनको सुरक्षामा पनि सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । गृहका अनुसार उनले आफ्नो पार्टी कार्यालयको सुरक्षामा पनि प्रहरी परिचालन गरेका छन् भने पार्टीका केही केन्द्रीय नेताहरूको सुरक्षाका लागि पनि प्रहरीको प्रयोग गरिएको छ ।
राष्ट्रपति डा. रामवरण यादवको सुरक्षामा नेपाल प्रहरीबाट १० र सशस्त्र प्रहरीबाट १४ सुरक्षाकर्मी खटिएका छन् । त्यसैगरी एमाओवादीका नेतासमेत रहेका पूर्वगृहमन्त्री कृष्णबहादुर महराले १९ जना सुरक्षाकर्मी लिएका छन् । उनको सुरक्षामा सादा पोसाकका सुरक्षाकर्मी पनि परिचालित गरिएको छ । त्यस्तै काङ्ग्रेस सभापति सुशील कोइरालाको सुरक्षामा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट गरी १९ जना सुरक्षाकर्मी खटिएका छन् ।
पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिने सुरक्षाकर्मीको सङ्ख्या पनि कम छैन । उनको सुरक्षामा सशस्त्रबाट १३ र नेपाल प्रहरीबाट चार सुरक्षाकर्मी खटिएका छन् । पूर्वगृहमन्त्री वामदेव गौतमको सुरक्षामा सशस्त्रबाट १३ र नेपाल प्रहरीबाट तीन सुरक्षाकर्मी खटिएका छन् । एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा पनि सशस्त्रबाट १३ र नेपाल प्रहरीबाट तीन सुरक्षाकर्मी खटिएका छन् । एमाले अध्यक्ष झलनाथ खनाल, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा र लोेकेन्द्रबहादुर चन्दको सुरक्षामा सशस्त्र र नेपाल प्रहरीबाट गरी २१–२१ जना सुरक्षाकर्मी परिचालित छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सुरक्षामा सशस्त्रबाट १३ र नेपाल प्रहरीबाट दुई सुरक्षाकर्मी खटिएका छन् । पूर्वगृहमन्त्री केपी शर्मा ओलीको सुरक्षामा पनि १६ जना प्रहरी खटिएका छन् ।
नेपाल प्रहरीका अनुसार संविधानसभाका पूर्वसभामुख सुवास नेम्वाङ र प्रधानन्यायाधीश खिलराज रेग्मीको सुरक्षा नेपाल प्रहरीले मात्रै गर्दै आएको छ । उनीहरूको सुरक्षामा प्रहरी सहायक निरीक्षकको कमाण्डमा आठ–आठ सुरक्षाकर्मी खटिएका छन् । ‘थ्रेट एनलाइसिस’पछि गृह मन्त्रालयले निर्धारण गरेका व्यक्तिलाई तोकिएको सुरक्षाकर्मी खटाउनुपर्ने नीतिगत निर्णय नै भएकाले सुरक्षाकर्मी खटाइएको नेपाल प्रहरीका प्रवक्ता केशव अधिकारी बताउँछन् । सशस्त्र प्रहरीका एआईजी ऋषभदेव भट्टराईले पनि गृह मन्त्रालयले विशिष्ट व्यक्तिमाथिको सुरक्षा ‘थ्रेट एनालाइसिस’ गर्छ, त्यहीअनुसार हामीले सुरुक्षाकर्मी खटाइदिने हो भने । उनले कसलाई कति सुरक्षा दिइएको छ भन्नेबारेमा केही बताउन नमिल्ने बताए । उनले थपे, ‘यो भीआईपीको सुरक्षाको सुवाल भएकाले यसबारे केही बताउन मिल्दैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार