अध्यागमनमा ‘पशु’को रजाइँ भएपछि…

११ पुष २०६९, बुधबार ०८:१८ मा प्रकाशित

हेम लम्साल/ काठमाडौं, ११ पुस । उच्चपदीय हैसियत र सुखद जीवनको अवसरका लागि आवाज बोल्नु मात्र महिलावादी आन्दोलनको उद्देश्य हो कि पीडा र सकसमा परेका महिलाको न्यायका लागि केही गर्नु पनि तिनको गतिविधिको दायराभित्र पर्छ ? भोजपुरकी एक निर्दोष छोरी जसले वैदेशिक रोजगारमा गएबापत अकल्पनीय, अमानवीय र पासविक ‘दण्ड’ भोग्नुपरयो, तिनका पक्षमा बोल्न महिलावादी भनिएका सङ्घ–संस्थाहरूले कन्जुस्याइँ गरेपछि यसरी प्रश्न उठाउनुपर्ने अवस्था आएको हो ।
विदेशमा पसिना बेचेर स्वदेशको जीवन केही सहज तुल्याउन ‘जुनसुकै तरिकाले भए पनि’ मरुभूमिको देश भासिएकी भोजपुरकी छोरीले स्वदेश फर्कंदा विमानस्थलमै ढुकेर बसेका हुँडार (हायना) हरूको सिकार बन्नुपर्ला भन्ने कहिल्यै सोचेकी थिइनन् । अध्यागमन विभागको छाता ओढेर बसेका हुँडारहरूबाट नजाने देशका कति युवा–युवती यसरी प्रताडित भएका हुँदा हुन् । यदाकदा सार्वजनिक भएका घटना नै आङ जिरिङ्ग गर्ने प्रकारका छन् । अध्यागमनका माथिल्लो तहका हाकिमहरूसमेत यसप्रकारका अपराधकर्ममा सामेल भएको तथ्यहरू सार्वजनिक हुनुले अध्यागमन विभागको संरचनामा आमूल परिवर्तनको अनिवार्यतालाई उजागर गरेको छ । विदेशिनेहरूको त्रुटि ‘सूक्ष्मदर्शक यन्त्र’ लगाएर खोज्ने र फेला पर्नेबित्तिकै बार्गेनिङ गरी मोटो रकम असुल्ने काम अध्यागमनका कर्मचारीको ‘धर्म, संस्कृति र परम्परा’ बनेको महसुस धेरैअघिदेखि नै गर्ने गरिएको हो । तर, पछिल्लोपटक एउटी निरीह, निर्दोष र गरिबपुत्रीमाथि अध्यागमनका सुरक्षाकर्मी तथा कर्माचारीले जे–जस्तो व्यवहार गरे त्यसले गृह मन्त्रालयअन्तर्गत हुने घुसखोरी, भ्रष्टाचार र अत्याचारको सङ्केत मात्र दिएको छैन, प्रहरी र कर्मचारीको भेषमा अपराधीहरूको प्रवेश भएकोसमेत खुलासा गरेको छ । प्रहरी पर्शुराम बस्नेत र नायव सुब्बा सोमनाथ खनालले भोजपुरकी छोरीमाथि गरेको अत्याचार हेर्दा उल्लिखित दुवै अपराधी ‘फाँसीको सजायका निम्ति योग्य’ देखिन्छन् । तर, नेपालमा फाँसीको कानुनी व्यवस्था नभएको हुँदा निज अपराधीहरूलाई सेवाबाट निष्कासन गरी उनीहरूले हालसम्म खाइपाई आएको तलब–भत्ता सुविधा ब्याजसहित असुलउपर गरी फिर्ता लिने र २० वर्ष गोलघरमा अनिवार्य रूपले बस्नुपर्ने गरी सय वर्षभन्दा बढी जेल सजाय हुनु वाञ्छनीय देखिन्छ । त्यसैगरी लुटिएको नगदसहित निजहरूको अंशको सम्पूर्ण भाग क्षतिपूर्तिस्वरूप भोजपुरकी छोरीलाई दिलाउन सके मात्र वास्तवमा उनले न्याय पाएको ठहर्नेछ । पराइभूमिमा अन्जान मानिसको सेवा गरेर मुस्किलले बचाएको दुई लाख रुपैयाँ लुटी शरीर र आत्मसम्मानसमेत लुछ्ने पर्शुराम र सोमनाथलाई उचित सजाय दिलाउन नसके भविष्यमा यस्तै प्रकारका घटनाको पुनरावृत्ति नहोला भन्न सकिन्न । त्यसैले सम्बन्धित विभाग, मन्त्रालय, सरकार, कानुनसेवक तथा न्यायालयले उल्लिखित अपराधीहरूलाई कठोरभन्दा कठोर सजाय दिलाउन हिचकिचाउनु भनेको पनि अपराध र अपराधीलाई प्रोत्साहन गर्न खोजेको अर्थ लाग्न सक्छ, सम्बन्धित निकाय यसतर्फ संवेदनशील हुन आवश्यक देखिएको छ ।
यति विष्मयकारी आपराधिक घटना हुँदा पनि महिला अधिकारकर्मी, ती सम्बद्ध सङ्घ–संस्था तथा तिनका प्रतिनिधिहरूले पीडितमाथि न्याय र अपराधीमाथि कठोर सजाय दिलाउन आवाज नउठाउँदा महिलावादी भनिनेहरूको नियत र औचित्यमाथि शङ्का उत्पन्न भएको छ । राज्यसत्ता र राज्य सञ्चालन प्रक्रियामा ३३ प्रतिशत सेयर खोजी गर्नेहरूबाट महिलामाथि भएको ज्यादति नियन्त्रणमा पनि कम्तीमा ३३ प्रतिशत भूमिका निर्वाह हुनुपर्ने आशा राखिनु अस्वाभाविक होइन । यद्यपि भोजपुरकी छोरीमाथि भएको घटना महिलाको मात्र सरोकार र चिन्ताको विषय नभई आमनेपाली तथा विश्वभरिका मानवतावादीहरूको हो । गृह मन्त्रालयमातहतका र अन्य मन्त्रालयका कर्मचारी तथा प्रहरीहरूका लागि यो झनै चिन्ता र लज्जाको विषय हो । अपराधीहरूलाई हदैसम्मको दण्ड–सजाय दिलाई भविष्यमा यसप्रकारका अमानुषिक एवम् आपराधिक प्रवृत्तिलाई निरुत्साहित गर्न निजामती कर्मचारी तथा प्रहरीले पनि विशेष तत्परता दर्शाउनु आवश्यक छ । मानव अधिकारवादी, पत्रकार, कानुन व्यवसायी, महिला अधिकारकर्मीलगायत देशका सबै तप्का र तहबाट विशेष अग्रसरता लिनुपर्ने यस मुद्दामा सञ्चारबाहेक अन्य क्षेत्रबाट अपेक्षाकृत पहलकदमी नलिइनुले मुलुक संवेदनाहीन बनेको अनुभूत गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ।नेपाली कांग्रेस खोटाङको पदाधिकारीमा युवा नेता इवन राई सर्वाधिक मत पाएर उपसभापतिमा विजयी भएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका मेयर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

आजको प्रमुख समाचार