प्रहरीको बढुवा प्रकरणमा दलालको दवदवा बढेपछि न्यायमूर्ति नै शंकाको घेरामा

१० पुष २०६९, मंगलवार १२:०८ मा प्रकाशित

काठमाडौं, १० पुस । सरकारले गत बुधबार गरेको डीआईजी बढुवा तत्काल कार्यान्वयन नगर्न सर्वाच्च अदालतले अंकुश लगाइदिएको छ । आईतबार बढुवा नपाएका असन्तुष्ट प्रतिस्पर्धीले सर्वाेच्च अदालतमा रिट दायर गरेपछि सोमबार सर्वाेच्च अदालतका न्यायमूर्ति वरिष्ठ न्यायाधीश दामोदर शर्माको एकल इजालसले रिटको प्रारम्भीक सुनुवाईका क्रममा सरकारलाई आगामी पुष १६ गतेसम्मका लागि उक्त बढुवा कार्य यथास्थितिमा राख्न आदेश दिँदै छलफलका लागि दुबै पक्षलाई पुष १६ गते उपस्थित हुन समेत आदेश गरेका छन् । न्यायमूर्तिको आदेशसँगै दुबै पक्षसँग ‘लविङ’ गर्न दलालले चासो जनाएको बुझिएको छ भने दलालको दलालीले गर्दा न्यायमूर्ति नै शंकाको घेरामा तानिएका छन् ।
प्रहरी नियमावलीमा बढुवाको मापदण्ड वरिष्ठताक्रम उल्लेख भए पनि कनिष्ठ प्रतिस्पर्धीलाई सरकारले बढुवा गर्दा आफूहरु अन्यायमा परेको भन्दै उक्त बढुवा कार्य बदर गर्न माग गर्दै एसएसपीहरु रविप्रताप राणा, पूर्णसिंह खड्का, मनोहर प्रसाद रिमाल, रामकुमार खनाल, ज्ञानोदराज वैद्य र राजबहादुर विष्टले सर्वाच्च अदालतमा रिट दायर गरेका थिए । सरकारले वरिष्ठताक्रमअनुसार श्याम बहादुर खड्काको बढुवा गरे पनि पछिल्लो व्याचबाट नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीलाई बढुवा समितिको सिफारिसका आधारमा बढुवा गरेको थियो । गृहमन्त्री गच्छदारले चौथो नम्बरमा बढुवामा परेका जयबहादुर चन्दलाई एक नम्बर र पछिल्लो व्याचको छ नम्बरमा रहेका हेमन्त पाललाई पनि बढुवा गर्न दबाब दिएका थिए । तर, पाल बढुवा सिफारिसमा पर्न सकेनन् ।
असन्तुष्ट पक्षले दायर गरेको रिटको सुनुवाई वरिष्ठ न्यायाधीश दामोदर शर्माको इजलासमा परेपछि चर्चित दलाल नारायण दाहालले ‘चलखेल’ गर्न थालेको बुझिएको छ । दलाल दाहालले हिजैदेखि बढुवा पाउने र बढुवाबाट वञ्चित दुबै पक्षसँग छुट्टाछुट्टै ‘लविङ’ गरिरहेको खोजतलासले पत्तो पाएको छ । दाहाल निकट स्रोतका अनुसार उसले दुबै पक्षका प्रहरी अधिकारीलाई ‘कस्तो फैसला गराइदिने ?’ भन्दै छुट्टाछुट्टै लविङ गरिरहेका छन् । रिट निवेदन न्यायाधीश शर्माको इजलासमा तोकिएपछि नै नारायण दाहालको ‘दलाली’ सुरु भएको थियो । उसले आफ्नै मोवाइल फोन ९८५१०२१५०० बाट बढुवा पाइसकेकालाई मात्रै नभएर बढुवा पाउन नसकेर मुद्दामा गएकाहरुलाई समेत फोन गरेर आफूले मुद्दाको फैसला चाहेअनुसार गराइदिन सक्ने दावी गरेको स्रोतले जानकारी गराएको छ । न्यायाधीश शर्माको नाम बेच्दै विगतदेखि नै ‘दलाली’ गर्दै आइरहेका दाहालले प्रारम्भीक सुनुवाइकै क्रममा स्वयम् न्यायमूर्तिलाई समेत सम्पर्क गर्न भ्याएको बताइन्छ । स्रोतका अनुसार दाहालकै आग्रहमा न्यायमूर्ती शर्माले पुष १६ गते छलफलका लागि दुबै पक्षलाई डाक्न आदेश दिँदै त्यतीञ्जेल बढुवा कार्य यथास्थितिमा राख्न आदेश भएको हो । भावी प्रधानन्यायाधीशको रोलक्रममा रहेका वरिष्ठ न्यायाधीश शर्मालाई नारायण दाहालले आफ्नै खर्चमा विभिन्न स्थलमा घुमघाम तथा तिर्थाटनमा समेत लैजाने गर्दै आएका छन् । ६ दिने म्यादमा दाहालले कसकसबाट के के लाभ लिएर कसको पक्षमा मुद्दा छिनाइदिने हुन्, त्यो समयले नै देखाउला । तर, त्यतीञ्जेल उनलाई भेट गर्नेको लर्काे अन्नपूर्ण कफीसप, नाङ्लो रेष्टुरेन्ट र याक एण्ड यती होटलको लबीमा प्रशस्तै देख्न पाइने छ ।
यता, सर्वाेच्चको आदेशले प्रहरी हेडक्वाटर भने तनावमा परेको छ । दज्र्यानी चिन्ह (फूली) समेत लगाएर जिम्मेवारी समेत पाइसकेका नवनियुक्त डीआईजीलाई पुरानै जिम्मेवारीमा फिर्ता गर्ने कि नयाँ जिम्मेवारीमै अडाउने भन्ने समस्या खडा भएको हो । नयाँ जिम्मेवारीमै राखिराख्दा सर्वाेच्चको मानहानी भन्दै अर्का पनि मुद्दा पर्न सक्ने र पूरानो जिम्मेवारीमा फूली लगाइसकेकाले फिर्ता गर्न नमिल्ने अवस्था उत्पन्न भएको छ । यद्यपि, यसअघि सर्वाेच्च अदालतले गरेको दुई फरक फैसलाको नजिर अनुसार प्रहरी हेडक्वाटर अघि बढ्ने देखिएको छ । पहिलो, नेपाली सेनाका सहायक रथी राजु बस्नेतको बढुवामा पनि यस्तै फैसला भएको थियो तर त्यो आदेश जंगी अड्डाले कार्यान्वयन गर्न चाहेन । दोस्रो, यसअघि वरिष्ठताक्रम मिचेर कनिष्ठलाई बढुवा दिँदा आफू अन्यायमा परेको भन्दै तत्कालिन डीआईजी दिनकर शमशेर राणाले एआईजीद्वय नवराज ढकाल र भिष्म प्रसाइँको बढुवा बदरको माग गर्दै दायर रिटमा सर्वाेच्च अदालतले प्रहरीको कुनै पनि पदमा बढुवा गर्दा लोकसेवासँग परामर्श लिनु पर्ने आदेश गरेको थियो । त्यही आदेशलाई टेक्दै प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालय मार्फत् लोकसेवा आयोगको परामर्शकै आधारमा वरिष्ठताक्रमसँगसँगै कार्य दक्षता र कार्य मुल्याङ्कनलाई समेत आधार मान्दै बढुवाको सिफारिस गरेको र त्यही सिफारिसका आधारमा सरकारले बढुवा गरेकाले आगामी १६ गते सर्वाेच्चले असन्तुष्ट पक्षको माग बमोजिम बढुवा बदर गर्ने अवस्था देखिन्न । तर, त्यतीञ्जेल नारायण दाहालको ‘दलालीपूर्ण लविङ’ भने रोकिने छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा शिर्ष नेताका छोराछोरी नयाँ कमिटीमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न एकता महाधिवेशनबाट

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय

पोखरा । शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको

काठमाडौं । कमल थापा राप्रपाको मात्र होइन नेपाली राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान पनि थिए कुनै बेला । राप्रपा राजनीतिमा लामो

आजको प्रमुख समाचार