सत्य सावित हुँदैछ राधादिदीको बोली ! – :: सरिता अर्याल

१० पुष २०६९, मंगलवार ०९:३६ मा प्रकाशित

माओवादी आन्दोलन चुलिएको समय थियो । शहरमा भएका मानिस गाउँमा जानु भनेको एक प्रकारको ठूलै समस्या हुन्थ्यो । मार्छन् र मरिन्छ भन्ने त्रासका कारण मानिस शहरमै बस्न रुचाउँदथे । त्यही समयमा म कैलालीमा माओवादी द्धन्द्धका कारणले मरेका मानिसका विधवाहरुको जीवन गुजारा कसरी भइरहेको छ भन्ने बारेमा अध्ययन गर्न गएको थिएँ । मेरो अध्ययन सीमामा माओवादी, राज्यपक्ष वा सर्वसाधारण तीनैपक्षका विधवाहरुको बारेमा अध्ययन गर्नु थियो ।
म पहिलोपल्ट कैलाली पुगेको थिएँ । मेरो लागि जिल्ला नै नौलो भएको बेला भान्जा निरञ्जन रिमालले एकजना मोटरसाइकल चलाउने साथीको व्यवस्था गरिदिनुभएको थियो । हामी धनगढीबाट विहानै निस्कियौँ । अत्तरियाबाट पुर्व लागियो । मेरो साथी के काम गर्नुहुन्थ्यो मलाई थाहा भएन तर उहाँलाई कुन ठाउँमा मैले खोजेको जस्तो मानिस पाइन्छन् भन्ने कुरामा भने राम्रै ज्ञान थियो । उहाँले आफ्नो मोटरसाइकल पहलवानपुरमा लगेर रोक्नुभयो । उहाँले अलिक परबाट मलाई एउटा दुईतले घर देखाउँदै भन्नुभयो– सरिताजी, उ त्यो घरमा जानु, म यहिँ चिया पिएर तपाईलाई पर्खने छु ।
एकजना स्थानीय राजनितिज्ञलाई केहिदिन अगाडि मात्र माओवादीले मध्यरातमा घरबाहिर ल्याएर मारेका रहेछन् । कैलालीको पहिलो रिपोटिङ्ग गर्न म त्यो घरमा पुगेँ । एकजना महिला बाहिर खाटमा बसेर साग केलाइरहेकी थिइन् । उहाँको पहिरनले नै मलाई थाहा भइहाल्यो भर्खर सिन्दुर पुछिएको महिला यीनै हुन् । तर म अलि नर्भस भएँ उनलाई देखेपछि । भर्खर सिन्दुर पुछिएको अन्जान महिलाको अगाडि पुगेर मैले के सोध्ने अनि पिडाको बिचमा दिन काटेकी महिलाले मसित कस्तो व्यवहार गर्ने हुन् ? म विस्तारै उनको नजिक गई बसेँ र पानी खान मागेँ  । उनले आफ्नी छोरीलाई पानी ल्याइदिन अह्राइन् र मतिर हेर्दै भनिन् “मैले नानीलाई चिनीन त ?” मैले भनेँ “दिदी म पत्रकार हुँ काठमाडौबाट आएकी तपाईंलाई भेट्न ।” मैले त्यत्ति के भनेको थिएँ उनी त रुन थालिन् । उनले रोएको सुनेर घरभित्रका र छिमेकी घरबाट मानिस बरन्डाभरि जम्मा भए । एकजना बीस वर्ष जत्तिकी केटीले मलाई एक गिलास पानी ल्याएर दिइन् । मैले पानी पिएर तिनै केटीलाई सोधेँ उहाको नाम के हो ? राधा (नाम परिवर्तन )। मलाई कुरा गर्ने बाटो मिल्यो । “राधा दिदी नरुनुहोस्, आफुले आफुलाई बलियो बनाउनु पर्छ । दिदी कुन छोरी हुन् यी कि एकजना छोरी मात्र हुन् ?”  यो कान्छी छोरी हो नानी दिदी दाजुहरुको बिहे भैसक्यो । अहिले मेरो साथी यही छोरी छ घरमा । मैले घरायसी कुरा गर्दे राधा दिदीलाई सामान्य बनाइसकेको थिएँ । अब उनी मसित खुलेर कुरा गर्नसक्ने भइसकेपछि मैले आफ्नो अध्ययनका लागि चाहिने कुरा हरु सोधेँ । उनले पनि सबै जवाफ खुलेर नै दिइन् । कान्छीछोरीको पनि विवाह गरिदिने बेला भएको रहेछ । अव बरखी सकिएपछि गर्ने होला नि ? मैले विषय बदल्न खोज्दै भनेँ । यो छोरी नै मलाई अहिले आएर घाँडो भएकी छ नानी । यस्का दिदी–दाजुहरुको विवाह तीन गाउँ हल्लाएर गरेका थियौँ । यसले पढ्छु भनेकोले छोरीले पढुन्जेल पढाउँछु भन्नुहुन्थ्यो । यसका बुवा बितेपछि म एक्लै भएँ भनेर आफ्नो पढाइ छोडेर घर बसेकी छ । गाउँमा माओवादीको विगविगी छ । एक घरबाट एकजना दिनुपर्छ भन्छन् रे । जवान भएकी छोरी म बुढी रातविरात आएर केही गरिहाले भने पनि म के पो गर्न सक्छु र ? छोरीलाई कुमारी नै राखेर विवाह गर्न सक्ने हुँ कि होइन । मेरो घर नै बरवाद गरेर यस्को बुवालाई मार्ने माओवादीलाई सहयोग गर्न म कसरि छोरी दिउँ अनी बाबु मार्ने पार्टीको बन्दुक बोक्न यसले पनि कसरि सक्ली र ? प्रत्येक रात हामी आमा छोरी नसुतिकन बस्छौँ भने पनि हुन्छ । मुसा कुद्दा पनि माओवादी आए जस्तो लाग्दछ । घरको व्यवहार सवै बुवाकै जिम्मामा थियो । कोसित कत्ति लेनदेन थियो केही थाहा भएन, चोला उठीसकेपछि मेरो पैसा लिनु छ भन्दै आउनेको त धुइरो नै लाग्यो । पहिले–पहिले त आफुसित भएको पैसा र अन्नपात सुन–चाँदी बेचेर बुढाले लिएको रिन भन्दै तिरेँ । आफु सवै रित्तिए पनि पैसा लिनु छ भन्न आउनेको लाम छुटेन । अनि बिस्तारै हामी लुटिएका रहेछौँ भन्ने त थाहा भयो तर अब हामीसित केही पनि छैन । बाली नभित्राइ खान पनि धौ–धौ भएको छ । अब त छोरीलाई पढाउन सक्ने अवस्था पनि मेरो रहेन, घरमा राख्न पनि सधैं डर । जवान छोरी अन्त राख्न पनि कस्लाई भनु मेरो छोरी राखिदेउ न भनेर ? विवाह गर्न पनि बाबु मर्नासाथ एक बर्ष पनि नविती किन छोरीको विवाह गरिनँ भनेर जोरीपारी हाँस्ने । अनि मलाई मेरो छोरी नै भारी भइन त नानी ?
लोग्नेको त मरन नै त्यस्तै लिएर आउनु भएको रहेछ तर उहा बितेपछिको समस्या भई मेरै मुटुको टुक्रा कान्छी छोरी । अरु नातेदारको घरबाट बिबाह त गर्न सकिन्थ्यो होला तर छन् गेडी सवै मेरी छैनन् गेडि सवै टेढि भने जस्तै कस्ले जिम्मा लिन्छ मेरो छोरीको बिहे । म आफै केही गरुँ न भन्दा पनि कस्लाई भन्दै जाउँ म मेरो छोरीलाई विवाह गर्छस् भनेर । चुप लागेर बसुँ कुनै पनि रात यसलाई उठाउन सक्छन् भन्ने गाँइगुई सुन्नथालेको छु ।
म अब कुरालाई बिट मार्ने तरखरमा लाग्दै सोधेँ– अब यो आन्दोलन र भोलीको दिनको बारेमा तपाईंलाई के लाग्छ त ? बहिनी डरले होस या रहरले मान्छे यो पार्टीमा जादै छन् र माओवादी बढेकाबढ्यै छन् । जे–जस्तो भए पनि एकपल्ट आउने जीवन मान्छेचाँही नमारिदिए हुने थियो । तर आफ्नो पार्टीमा आइनस् भनेर पनि मान्छे मार्छन् यीनीहरु, यो रोके हुने थियो । कत्ति दिन लुकेर बस्छन् र एकदिन त बाहिर आउँछन् नै । बन्दुकको भरमा बाहिर आएपछि यो पार्टी सवैभन्दा बलियो पार्टी हुनेछ । तर हेर्नुहोला म मरे पनि मलाई त्यो बेला सम्झनु यीनीहरु ठूलो पार्टी भए पनि त्यो बेला यीनीहरुका धेरै कार्यकर्ता निरास हुन्छन् । अहिले बन्दुक बोकेको नचिनेको मान्छे चिनीइसके पछि कस्ले टेर्ने । लुटेर ल्याएको सम्पत्ति नेताले लिन्छन् तर यी डन्ठेसित केही हुदैन । नेता धनि हुन्छन् तर अहिले मार्न र मार्न हिडेका डन्ठेहरु कि चोर फटाहा हुन्छन् कि मागेर खानुपर्ने अवस्था आउँछ । अरुको आशुले जितेको राज्यमा कत्ति दिन पो चलाउलान् र आफ्नै कार्यकर्ताले विस्तारै छोड्छन् र जसरि यो पार्टी आएको छ त्यसै गरि बिलाउँछ पनि ।
आज आएर मलाई राधादिदीको सम्झना आइरहेछ । माओवादी भुमिगत भएको बेलामा उनले भनेका कुराहरु अहिले पुग्दै आएको देखिरहेको छु । लाग्न थालेको छ अझै देख्न बाँकी छ होला ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी

झापा । विगतमा महामारीकै रुपमा देखिएकोे डेङ्गु रोग यसपालि पनि जिल्लामा देखापरेको छ । जिल्लाको दुईवटा पालिकामा मात्र नौ जना

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

आजको प्रमुख समाचार