चम्पी -महेश विक्रम शाह

१२ चैत्र २०६८, आईतवार २२:५६ मा प्रकाशित

माघे सङ्क्रान्तिको दिनदेखि थारूबस्तीहरूमा माघीको रमझम सुरु भयो । वर्षभरि कामको बोझले ओइलाएका थकित अनुहारहरू मुस्कुराए । ‘माघी’ थारूहरूको वर्षभरिको प्रमुख तिहार हो । आजको दिन सबैले कामबाट फुर्सद पाउने दिन भनेर चिनिन्छ । गाउँगाउँमा सुँगुर–बङ्गुर काटिन्छन् र धनी होस् वा गरिब, सबैको चुलामा सुँगुर तथा बङ्गुरको मासु पाकिरहेको भेटिन्छ । यो दिनको अर्को विशेष पक्ष के हो भने सम्पूर्ण थारूका घरहरूमा भात कुहाई बनाइएको जाँडको खोलो बग्छ । बटुकाहरू जाँडको झोलले छ्याल्लब्याल्ल हुन्छन् । ससाना नानीहरूदेखि लिएर बूढापाकाहरूसमेत कोही यस बेला जाँड खाएर ‘मतवार’ हुँदै बाटामा लडिरहेका भेटिन्छन् भने कोही जाँडको नशाले मातेका आफ्ना खुट्टाहरू लरखराउँदै थारूको प्रचलित गीत सुसेल्दै हिँडिरहेका भेटिन्छन्— ‘सखिय हो ! माघक गुरी गुरी जाँड, माघक जाँड पिक मै मतवार ।’
एकातिर माघी तिहारको रमाइलोको यो सुन्दर पक्ष छ भने यसको अर्को कारुणिक पक्षले हृदयलाई झन् उद्वेलित गर्छ । माघ लाग्नेबित्तिकै जमिनदार तथा मालिकको घरमा बँधुवा मजदुरका रूपमा वर्षभरि खेतीपाती तथा घरको कामकाज गर्नका लागि राखिएका कमैयाहरूको खुजनीपुजनी सुरु हुन थाल्छ । यसअनुसार ती कमैयाहरू पहिलो मालिकको सौँकी१ चुक्ता गरी अर्को मालिककहाँ कमैया भएर बस्न सक्दछन् भने मालिकले पनि कमैया फेर्न चाहेमा अर्को कमैया राखी पहिलो कमैयाबाट उसले तिरो तिर्नुपर्ने सौखी लिई आफ्नो कमैयालाई छोड्न सक्छन् । तर एउटा मालिकसँग एकवर्षे बन्धन भए पनि कमैयाहरू कहिल्यै ऋणमुक्त र स्वतन्त्र हुन सक्दैनन् । जीवनभर मालिकको घर फेरिइरहन्छ, तर उनीहरूको जीवनले भने काँचुली फेर्न पाउँदैन । यसको ठीक विपरीत ऋणको बोझको भार भने वर्षैपिच्छे झन्झन् बढ्दै जान्छ ।
थारूहरूको बस्तीभित्र सम्पन्नता र वैभवले शिर ठाडो पारी उभिइरहेको इँटाले चिनेको मेरो दुईतले पक्की घरमा पनि आज चहलपहल छाएको छ । हामी पनि पुराना कमैया छाडेर नयाँ कमैयाहरू राख्ने तरखरमा छौँ । हामी गाउँका जमिनदार भएको हुनाले होला मालिक खोज्दै हिँडेका कमैयाहरू हाम्रो घरमा नपसी छाड्दैनथे । यसै क्रममा आज पनि एक जोडी थारूदम्पती हाम्रो आँगनमा भुइँमा घुँडा खुम्च्याएर बसेका छन् । यिनीहरू कमैया लाग्ने सिलसिलामा हामीकहाँ आएका हुन् ।
अधबैँसे थारू अशक्त देखिन्छ । ऊ मक्किइसकेको खोक्रो रूखझैँ जीर्ण र जर्जर छ । उसका झीना हातखुट्टाहरू रुग्ण र खोबिल्टा परेका गाला, करङ देखिने छातीले उसको दरिद्रता र दयनीयतालाई उदाङ्गो पारेका छन् । उसकी थरुनी आफ्नो थारूभन्दा किञ्चित् स्वस्थ देखिए पनि चाउरी परेका गाला, अद्र्धनग्न पुट्ट उक्सेको भुँडी र एकसरो कपडा नपाई खुला रहेको छातीबाट ऊ खान नपाएर सुकेनास रोगले ग्रस्त रोगीजस्ती देखिन्छे । उनीहरूका साथमा एउटी आठ–दश वर्षकी सानी नानी पनि छे । सायद त्यो यिनीहरूकै छोरी हो । उसको लिख्रिक्क परेको शरीरमा दुइटा आँखाहरू मात्र जीवित प्रतीत हुन्छन् ।
“तुहाँर नाम का हो ?” मैले मेरा अगाडि बसेको थारूको नाम सोधेँ ।
“म्वार नाम दुःखीराम हो हजुर ।” उसले आफ्नो जीउ कक्रक्क पा-यो र काँपिरहेका हातहरू करबद्ध गरी जोड्यो ।
“और तुहाँर नाम… ?” थरुनीको अनुहारको बनावट र आँखाहरू चिनेचिनेजस्तो लागेर मैले थरुनीलाई उसको नाम सोधेको थिएँ ।
आफ्नो नाम पनि सोधेको थाहा पाएपछि ऊ लजाई । धेरैजसो थरुनीहरूलाई आफ्नो नाम पनि थाहा हुँदैन । जीवनमा नागरिकता बनाउने बेलामा बाहेक अन्य कुराहरूमा तिनीहरूलाई आफ्नो नामको आवश्यकता पनि पर्दैन । उसले आफ्ना हातहरूले दायाँ–बायाँ पस्रिरहेको लेहङ्गालाई समातेर जाँघबीच च्यापी र मतिर हेर्दै मसिनो स्वरमा भनी— “चम्पी…।”
‘चम्पी’ नाम सुन्नेबित्तिकै मेरो शरीरमा अनौठो कम्पन छायो । मैले गहिरिएर त्यस थरुनीलाई हेरेँ । ऊ पनि आफ्ना भावहीन आँखाहरूमा चिरपरिचित भाव उमार्ने प्रयास गर्दै थिई । उसको हेराइबाट ऊ पनि मसँग परिचित छे भन्ने कुराको आभास मलाई भइरहेको थियो । मैले आफ्नो मानसपटलमा अतीतका यादहरूलाई ताजा गर्ने प्रयास गरेँ । चम्पी नाम गरेकी मेरी एउटी साथी थिई मेरो बालककालका बेला । ऊ पनि थरुनी नै थिई । मैले बाल चम्पी र बूढी चम्पीको अनुहार दाँज्ने प्रयास गरेँ । धेरै कुराहरू नमिले पनि उसका चम्किला आँखा र फराकिलो निधार भने धेरै हदसम्म मेरी बालसँगिनीका आँखा र निधारसँग ठ्याम्मै मिल्थे । मैले उसलाई जिज्ञासु बनेर हेर्दै सोधेँ— “कुछ बरस पहिल हमार घरम एकठो कमैया रह । वाकर छाइक नाउँ फे चम्पी रह, तैँ उइ चम्पी त नै हुइस् ?”
उसले आफ्नो लोग्नेतिर हेरी । उसको ओठमा मधुर मुस्कान नाच्यो अनि खिसिक्क दाँत देखाएर हाँसी । ऊ हाँस्दा उसका पहेँला दाँतहरू दृष्टिगोचर भए । उसको हाँसोबाट पनि मैले अनुमान लगाएँ— ऊ चम्पी नै हो ।
“हाँ, मै उह चम्पी हुँ । तु हमर मलिक्वा हो ना । मै त यि घर व तुहिन देख्ति कि चिन्लेनु ।” आफूलाई मैले चिनेकोमा ऊ हर्षविभोर भई । उसले भने पहिले नै मलाई चिनिसकेकी रहिछ । ऊ मेरी बालसँगिनी चम्पी हो भन्ने थाहा पाएपछि म उसको अनुहारतिर हेर्दै घोरिन थाल्दछु— के ऊ मेरी त्यही बालसँगिनी चम्पी हो जोसँग छुट्टिनुपर्दा म निकै रोएको थिएँ ?
“बाबू, यो हाम्रो नयाँ कमैया हो ।” एक दिन आमाले म स्कुलबाट फर्केपछि आँगनमा दाउरा चिर्दै गरेको एक जना थारू र भुइँ लिप्दै गरेकी एउटी थरुनीतिर हातले इसारा गर्दै भन्नुभएको थियो ।
“अनि यो तिनीहरूकी छोरी । यसलाई घरको कामकाजका लागि राखेकी छु । हाम्रै खाना खाली र हामीसँगै बस्ली ।” एघार–बाह्र वर्षकी एउटी केटी चियाको कित्ली र गिलासहरू सफा गरिरहेकी थिई । आमाले हातको इसाराले उसलाई चिनाइदिनुभएको थियो ।
“उसको नाम के हो आमा ?” मैले केटीतिर हेर्दै आमालाई सोधेको थिएँ ।
“उसलाई गएर सोध् न ।” आमाले मेरो जिज्ञासा देखेर हाँस्दै जबाफ दिनुभएको थियो । आमाको जवाफ सुनेर लाजले मेरा कानहरू राता भएका थिए ।
राति म पढ्ने कोठामा ऊ स्टिलको गिलासमा दूध लिएर आएकी थिई । खाना खाइसकेपछि एक–डेढ घण्टा पढ्नैपर्ने बाध्यता भएकाले म गृहकार्य गरिरहेको थिएँ ।
“मलिक्वा, यी दूध…।”
मैले फर्केर उसलाई हेरेको थिएँ । लालटिनको मन्द प्रकाशमा पनि उसको अनुहार टल्किरहेको थियो । ऊ गोरी थिई । उसको निधार फराकिलो थियो, जीउ भने पातलो । उसको छालाको रङ, उन्नत ललाट र चम्किला भावपूर्ण आँखाहरूबाट ऊ थारूकी छोरीजस्ती लाग्दिनथी । उसले बुट्टेदार लेहङ्गा र रातो ब्लाउज लगाएकी थिई । मैले पहिलो पटक कमैयाकी छोरी यति गोरी र राम्री देखेको थिएँ ।
“टेबलमा राखिदेऊ न ।” उसबाट आफ्ना आँखा हटाउँदै मैले भने र लेख्न थालेँ । दुई–तीन हरफ लेखिसक्दा पनि टेबलमा दूधको गिलास नराखिएको देखेपछि मलाई झनक्क रिस उठ्यो ।
“कसिन लौडी हो, टेबुलम दुध धरदे ना ।” मैले ऊतिर हेर्दै भनेँ । थारूबस्तीमा नै हुर्केको हुनाले होला सायद, मलाई पनि फाट्टफुट्ट थारूभाषा बोल्न आउँथ्यो ।
“कहाँ धरुँ मलिक्वा…?” उसले काँपेको स्वरले भुइँतिर हेर्दै भनी ।
“टेबुलम कलक त आव जन्ल्या ?” मैले च्याँट्ठिँदै जबाफ दिएँ ।
“मै नै जन्ठु मलिक्वा…।” उसले चारैतिर हेर्दै भनी ।
उसको जबाफ सुनेर म हतप्रभ भएँ । जमाना कहाँबाट कहाँ पुगिसक्यो, यसलाई टेबल भन्ने के हो थाहा छैन । म लेख्न–पढ्न छाडेर पेट मिचीमिची खित्का छाडेर हाँस्न थालेँ । ऊ आफ्ना सशङ्कित र त्रस्त आँखाहरूले म हाँसिरहेको हेरिरहेकी थिई । म हाँसेको सुनेर घरका सबै मान्छेहरू मतिर दौडँदै आए । मेरो हाँसो भने थामिएको थिएन ।
“हैन, पढ्न छाडेर किन पेट मिचीमिची हाँस्नुपरेको होला । दूध पनि खाएको छैन ।” आमाले मेरो कान समातेर निमोठ्नुभयो ।
“आमा, यसलाई टेबल भनेको के हो थाहा छैन रे ।” म झन्झन् हाँस्न थालेँ । अब मेरो गलाबाट हिक्का छुट्न थालिसकेको थियो ।
“तँजस्ती हो र यो जन्मनेबित्तिकै टेबल–कुर्सी देखेकी । नदेखेपछिनचिनेपछि बिचरीलाई के थाहा होस् त…।” आमाले उसको हातबाट दूधको गिलास लिनुभयो र टेबलमा राखिदिनुभयो । ऊ भने रुन्चे अनुहार लगाएर दौडँदै बाहिर गएकी थिई ।
भोलिपल्ट बिहान मुख धोइसकेपछि म फेरि पढ्न बसेको थिएँ । ऊ नास्ता लिएर मछेउ आई । ऊ आएको चाल पाउनेबित्तिकै मेरा ओठहरूमा मुस्कान खेल्न थालिसकेको थियो ।
“टेबुलम रख दे…।” मैले ऊतिर हेर्दै नहेरी भनेँ । उसले नास्ताको प्लेट र दूधको गिलास टेबुलमा राखी । मैले उसलाई हेरेँ । ऊ लजालु पाराले मुस्कुराइरहेकी थिई ।
“अब तो जन्ले ना टेबल का चीज हो ?” मैले उसको लजाएको अनुहारतिर दृष्टिपात गरेँ ।
“हाँ…।” उसले छोटो जबाफ दिई ।
“तोर नाम का हो ?” मैले उसको नाम जान्न चाहेँ ।
“चम्पी…।” आफ्नो नाम भन्दा उसका गोरा गालाहरू रक्तिम भएका थिए ।
म उसको लजालु स्वभाव र गाम्भीर्यबाट ज्यादै प्रभावित भएको थिएँ ।
चम्पी हाम्रै घरमा बसेर काम गर्न थाली । केही दिनभित्रै ऊ घरका सम्पूर्ण सदस्यहरूको मन जित्न सफल भएकी थिई । चम्पीको कामगराइ देखेर म कहिलेकाहीँ आश्चर्य चकित हुन्थेँ । हामी गद्दादार बिछ्यौनामा सुतिरहेका हुन्थ्यौँ, ऊ एकाबिहानै उठेर चुलामा आगो सल्काउँथी । चियाका लागि पानी भरिएको कित्ली ओदानमा राखेर घर बढार्न थाल्थी । उसले घर बढार्दासम्म कित्लीको पानी उम्लिसकेको हुन्थ्यो । ऊ आमालाई बोलाउन जान्थी, किनकि चिया पकाउन उसले राम्रोसँग जानिसकेकी थिइन । आमा चिया पकाउन लाग्नुहुन्थ्यो । ऊ हाँस र कुखुरालाई खोरबाट निकाल्र्थी । बुबाको खसी पाल्ने सोख थियो । वर्षैपिच्छे चार–पाँचवटा खाइलाग्दा खसीहरू हाम्रो घरमा पालेका हुन्थे । खोरभित्र हुलिएका खसीलाई बाहिर कीलामा बाँधेर ऊ घाँस हालिदिन्थी । नास्ता तयार भएपछि दौडँदै गएर मलाई नास्ता र दूध ल्याइदिन्थी । नास्ता खाइसकेपछि खाना पकाउन सुरु हुन्थ्यो । ताउलामा चामल राखेर धुने, तरकारी केलाउने र काट्नेदेखि लिएर थाल–गिलासहरू सफा गर्ने कामसमेत ऊ नै गर्थी । खाना खाइसकेपछि म र बहिनी स्कुल जान्थ्यौँ । आमा कहिले बत्ती कात्ने र कहिले छिमेकी महिलाहरूसँग गफगाफ गर्नमा व्यस्त रहनुहुन्थ्यो । ऊ भने कुवामा खरानीले जुठा भाँडाहरू मस्काइरहेकी हुन्थी । ऊ दिउँसो एकछिन मात्र फुर्सद पाउँथी, त्यो फुर्सदको क्षणको सदुपयोग पनि आमाका गोडा मिचेर गर्न खोज्थी । अपराह्नतिर म स्कुलबाट थकाइले लखतरान भएर फर्कंदा आँगनबाट मुस्कुराएर ऊ मेरो स्वागत गर्थी ।
“हजुर, हमार राजा स्कुलसे आगिनै ।” ऊ ‘हजुर’ भनेर आमालाई सम्बोधन गर्थी र मलाई ‘राजा’ भन्थी । आमाले नै उसलाई सिकाउनुभएको थियो मलाई ‘राजा’ भन्नू भनेर । यो शब्द उसलाई औधी मन परेको थियो । ‘राजा’ भनेर बोलाउँदा लामो स्वर निकालेर रा…जा… भन्थी । उसको मुखबाट ‘राजा’ शब्द सुनेपछि म पनि पुलकित हुन्थेँ ।
मलाई नास्ता खुवाइसकेपछि ऊ खसीका लागि घाँस काट्न जान्थी । करिब एक–डेढ घण्टापछि आफूलाई ठिक्क हुने चिटिक्क परेको सानो डोकोभरि घाँस लिएर ऊ आँगनमा प्रकट हुन्थी । खसीलाई घाँस हाल्थी त्यसपछि थालमा दाना लगेर आँगनको बीचमा उभिन्थी, हाँस–कुखुराको बथान उसलाई घेर्न आइपुग्थ्यो । हाँस र कुखुरालाई चारो दिएपछि उसको अनुहार तृप्त देखिन्थ्यो । त्यसपछि ऊ रातिको खाना बनाउने उपक्रममा जुट्थी । मलाई सबैभन्दा दुःख त्यति बेला लाग्थ्यो जब ऊ राति म सुतिरहेका बखत कुवामा भाँडा माझिरहेकी हुन्थी । भाँडा माझिरहेको एकोहोरो स्वर जब मेरा कानमा पथ्र्यो तब उठेर झ्यालमा जान्थेँ र कुवा भएतिर एकटक हेर्न थाल्थेँ । टुकीको मधुरो उज्यालोमा उसको गोरो अनुहार प्रस्ट देखिन्थ्यो । उसको अनुहारमा वितृष्णा र खिन्नताको भाव मैले कहिल्यै भेट्टाइनँ । ऊ कहिल्यै आफू थाकेको कुराको महसुस पनि हुन दिँदैनथी । ऊ तन्मयतापूर्वक एकनासले भाँडा माझिरहेकी हुन्थी । निस्पट्ट अन्धकार र सुनसान रातमा पनि उसलाई डर लाग्दैनथ्यो अथवा डर मानेर पनि जुठा भाँडाहरू लथालिङ्ग छोडेर जाने साहस र अधिकार उसलाई थिएन । भोलिपल्ट बिहानपख फेरि सबैभन्दा पहिला उठेर ऊ घरको कामकाजमा तल्लीन भइसकेकी हुन्थी ।
आफ्ना आमाबाबुसँग उसको धेरै कम मात्र भेटघाट हुन्थ्यो । भेटघाट गर्नुपर्ने कुनै आवश्यकता पनि हुँदैनथ्यो । सबै आआफ्नो पेटका लागि काममा जोतिइरहेका हुन्थे । आफ्नो पेटका लागि मैले आफैँ काम गर्नुपर्छ भन्ने कुराको ज्ञान सम्भवतः उसले जन्मेदेखि नै प्राप्त गरेकी थिई । कमैयाकी छोरी भए पनि ऊ हाम्रो घरकी एक सदस्यझैँ भइसकेकी थिई । त्यो स्थान उसले आफ्नै व्यवहार, मिहिनेत र लगनशीलताबाट हासिल गरेकी थिई । ऊ हामीले खाएर उब्रेका चीजवस्तुहरू खान पाउँथी र कहिलेकाहीँ फाटेका र पुराना कपडाहरू लगाउनका लागि आमाबाट बकस पाउँथी । यो सुविधा उसले आशा गरभन्दा धेरै थियो । गाउँकै अन्य घरहरूमा च्यातिएर धुजाधुजा भएका लुगाहरू शरीरमा बेरेर काम गर्नुपर्ने बाध्यता सँगालेका थुप्रै थारूका बच्चाहरूको दयनीय हालत उसले आफ्नै आँखाले देखेकी थिई । आफैँले पनि यिनै कुराहरू भोगिसकेकी थिई ।
ऊ आफ्नो सरसफाइमा पनि ध्यान दिन थालेकी थिई । कामैकाम भए पनि मौका पायो कि ऊ धारामा गएर मुख र हातखुट्टा धुन चुक्दिनथी । यसै क्रममा एक दिन उसले साबुनको बट्टाबाट साबुन झिकेर मुखमा दलेकी थिई । चम्पीले साबुन मुखमा दली, यो कुरा विस्फोटक थियो । चम्पीभन्दा सानी मेरी बहिनीले ‘हामीले लगाउने साबुन किन मुखमा दलिस्’ भनेर चम्पीलाई जगल्ट्याउँदै भुइँमा लडाई । जमिनको धूलोमा मुख जोत्दै चम्पी रुन थाली । आफ्नी छोरी रोएको देखेर के कारणले रोएकी हो भनेर सोध्न सक्ने हिम्मत उसका आमाबाबुहरूमा थिएन । रोइरहेकी चम्पीलाई हातले उठाउँदै मैले भनेको थिएँ— “चम्पी, ना रो… मै तुहिन लाग काल बजार से एक्ठो साबुन लान्देम…।”
“राजा, मै यहाँ नहीँ बैठम्, बाबक बुक्रम चलजैम्…।”
‘म यहाँ बस्दिनँ, बाबाको झुपडीमा जान्छु’ भन्ने चम्पीलाई यो कुरा प्रस्ट थाहा थियो— ऊ चाहेर पनि बाबाको झोपडीमा जान सक्ने स्थितिमा थिइन । ऊ पनि वर्षभरिका लागि नै हाम्रो घरको कीलोमा बाँधिइसकेकी थिई । उसका बाआमाले हामीबाट चम्पीलाई कम्लरी राखेबापत लिएको सात बोरा धान फर्काउनु उनीहरूका लागि दुःसाध्य कुरो थियो ।
“तैँ अपन बाबक बुक्रम जाक का करवे ? तुँहिन कौन पाली ? बता तो…।” मैले आफ्नो प्रश्नले उसको आँसुले पोतिएको अनुहारलाई भावपूर्ण बनाइदिएको थिएँ । ऊ भुइँतिर हेर्दै घोरिइरहेकी थिई ।
“तोर लाग मै काल साबुन लान्देम् ।” मैले साबुन ल्याइदिन्छु भन्ने कुरा फेरि दोहो-याएर भनेँ । उसको अनुहारमा मुस्कान नाच्यो । ऊ रुन छाडेर काम गर्न गई ।
हाम्रो घरमा प्रशस्त गाई–भैँसीहरू थिए । दुहुना बस्तुभाउबाट दिनको करिब छ–सात लिटर दूध आउँथ्यो । म सधैँ दूध पिउँथेँ, अब मलाई दूध–दही खान पनि बाध्यताझैँ लाग्थ्यो । तर चुलामाथि ठूलो कराहीमा दूध उमाल्ने चम्पीले कहिल्यै दूधको स्वाद चाख्न पाएकी थिइन । एक रात सधैँझैँ म पढिरहेको बेला दूधको गिलास ल्याएर उसले मेरो टेबलमा राखेकी थिई ।
“चम्पी, अर्को गिलास लिएर आ त ।” मेरो आदेशात्मक स्वर सुनेपछि ऊ तुरुन्त अर्को गिलास लिएर आई । मैले आधा दूध अर्को गिलासमा खन्याएर उसको हातमा दिँदै भनेँ— “चम्पी, आज तैँ फे दूध खा ।”
“नहीँ राजा, मैँ नहीँ खैम् । मैँ दूध खाके का करम् ? तु दूध खइवो तो बहुत पहर्वो ना ।”
हातमा दूधको गिलास समातेर ऊ किंकर्तव्यविमूढ भएर उभिइरहेकी थिई । उसका हातहरू बिस्तारै कामिरहेका थिए । ‘काम गर्नेले दूध खाएर के गर्ने ? पढ्ने मान्छेले पो दूध खानुपर्छ’ भन्ने उसको अभिव्यक्तिबाट म झन् द्रवित हुन पुगेको थिएँ ।
त्यस दिन मैले उसलाई जबर्जस्ती दूध खुवाएको थिएँ । दूध खाँदा ऊ ढुङ्गा चपाउनुपरेझैँ अप्ठ्यारो मानिरहेकी थिई । आमाको दूधबाहेक उसले पहिलो पटक भैँसीको दूध चाखेकी थिई ।
हामी अब धेरै नजिकिइसकेका थियौँ । मैले उसलाई नोकर्नीका रूपमा नभई साथीका रूपमा हेरेको थिएँ । ऊ पनि त्यही चाहन्थी, तर ऊ मसँग खुलेर मित्रवत् व्यवहार गर्न सक्दिनथी । मेरो प्रत्येक चाहना तथा क्रियाकलापमा ऊ सामेल हुन्थी । मेरो मुखबाट शब्द झर्न नपाउँदै ऊ कामका लागि दौडिसकेकी हुन्थी । मकैबारीमा सुगा हकाउन होस् वा वर्षायाममा खेतमा रोपाइँ गर्न होस्, ढिकीमा धान कुट्न होस् वा वनमा गाई–भैँसी चराउन होस्; ऊ कुनै काममा पछि पर्दिनथी । राम्रो आहार र कडा परिश्रमले होला सायद, उसको स्वास्थ्य पनि राम्रो हुँदै गइरहेको थियो । बाह्र–तेह्र वर्षमा उसको फक्रन नसकेको बैँस, बलजफ्ती कोपिलाका पुष्पदलहरू च्यातेर फक्रन आँटेझैँ देखिन्थ्यो । मलाई ऊ साह्रै राम्री लाग्न थालेकी थिई । हामीहरूबीच मौन आकर्षण थियो । तर त्यो आकर्षण शारीरिक थियो वा मानसिक, यसको अनुभूतिबाट भने हामी धेरै टाढा थियौँ ।
जाडो धेरै बढिरहेकाले माघ महिना नजिकै आउँदै छ भन्ने कुराको आभास मलाई हुन लागेको थियो । माघ लाग्नेबित्तिकै कमैयाहरूको एक घर छाडेर अर्को घर जाने प्रक्रिया सुरु हुन थाल्थ्यो । प्रायः मालिकहरू एउटै कमैयालाई धेरै समयसम्म राख्न चाहँदैनथे र कमैयाहरू पनि आफू बसेको मालिकको घरभन्दा राम्रो मालिक र घर भेट्टाएका खण्डमा पहिलो घर छाड्न चाहन्थे ।
नभन्दै माघ महिना पनि लाग्यो । थारूहरूको माघीको रमझम सुरु भयो । हाम्रो घरमा पनि पहिलेकै कमैया राख्ने कि नयाँ ल्याउने भन्नेसम्बन्धी कुराहरू चल्न थाले । चम्पीका कारणले आमा यो वर्ष पनि पुरानै कमैया राख्ने पक्षमा हुनुहुन्थ्यो भने बुबा राख्न तयार हुनुहुन्नथ्यो । बढी सौँकी भएको कमैयालाई लामो समयसम्म राख्दा आफ्नो रुपियाँ उकास्न गाह्रो हुन्छ र भागेर जान पनि सक्छन् भन्ने बुबाको भनाइ थियो । हामीले तिनीहरूलाई पाँच हजार रुपियाँ सौँकी तिरेर ल्याएका थियौँ । बुबाले नयाँ कमैयाको खोजी गरिसक्नुभएको थियो जसलाई हामी चार हजार सौँकी बुझाएर प्राप्त गर्न सक्ने थियौँ । बुबाको आशय बुझेपछि चम्पीको बाबु पनि नयाँ मालिकको खोजी गर्न गयो र दुई दिनपछि नयाँ मालिक खोजेर फक्र्यो ।
अब चम्पी यो घर छोडेर जाने भई । मेरो हृदय चम्पीसँगको बिछोडको पीडाले व्यथित हुन थाल्यो । आफू यो घर छाडेर अर्कै मालिकको घरमा कमैया बन्न जान लागेको कुरा चम्पीले पनि थाहा पाइसकेकी थिई । उसको कामगराइमा अब कुनै जोस, जाँगर र उत्साह थिएन । ऊ नुन खाएको कुखुराझैँ दिनभर झोक्राइरहन्थी । चम्पीले यो घर छाडेर जानुपरेकोमा हामीहरू दुःखी छौँ भन्ने कुराको महसुस दुवैले गरेका थियौँ । यस कुराको अनुभूति हामी दुवैलाई भए पनि समस्या समाधानका लागि विचारविमर्श गर्न सक्ने उमेरको सँघारमा हामीले टेकिसकेका थिएनौँ । चुपचाप एकअर्काको दुःख बुझेर झन् दुःखी बन्नुसिवाय हामीले केही पनि गर्न सकेनौँ ।
भोलि चम्पी यो घर छाडेर जाँदै छे । उसका आमाबाबुले आफ्नो भएभरको सरसामानको पोको तयार पारिसकेका थिए । त्यो रात चम्पीका लागि हाम्रो घरमा काम गर्नुपर्ने अन्तिम रात थियो । ठीक समयमा ऊ मेरो ओछ्यानमा दूध लिएर आई । म पढ्न छाडेर उसलाई नै प्रतीक्षा गरी बसिरहेको थिएँ । मेरो हातमा दूधको गिलास थमाउँदा उसका आँखामा आँसु टलपलाएको थियो ।
“चम्पी, तैँ काल हमन छोडके चल जाइवे ना…?” मेरो स्वरमा बिछोडको पीडा मिसिएको थियो ।
“हजुर…।” उसले आफ्नो मलिन अनुहारलाई अझ मलिन पार्दै भनी ।
“हमार घरमेँ बैठना मजा नि लागठ चम्पी ।” मैले उसको भावना बुझ्न चाहेको थिएँ । उसले मुन्टो उठाएर मलाई हेरी । उसका आँखाहरू सिकारीको जालमा परेको मृगका झैँ निरीह र निष्प्राण देखिन्थे । उसका आँखाका तलाउमा बाध्यता र विवशताका ज्वारभाटाहरू उठिरहेका थिए ।
“मै यिह घर बैठम् ! दाइ बाबक संग नै जिम् । मही रोक सेकवो राजा ?”
‘म यहीँ बस्छु, आमा र बासँग जान्नँ, मलाई जानबाट रोक्न सक्छौ राजा ?’ भनेर उसले मेरो हृदय झकझकाइदिएकी थिई । हर्षातिरेकले मेरा आँखामा आँसु भरिएको थियो ।
‘उसका लागि केही त गर्नैपर्छ’ भन्ने सोचेर म चम्पीको हात समातेर दौडँदै आमाको कोठामा गएँ ।
“आमा, चम्पी यहीँ बस्छु भन्छे ।” म बरबराइरहेको थिएँ ।
आमाले मेरो मनको कुरो बुझिसक्नुभएको थियो । उहाँले मलाई आफ्नो अँगालोमा बेर्दै रुन्चे स्वरमा भन्नुभयो— “बाबू, चम्पी काम गरी खाने मान्छे । जहाँ गए पनि उसले काम गरेर नै पेट पाल्नुपर्छ । हामीले राख्न चाहे पनि चम्पीलाई कति दिन, कति वर्षसम्म राख्न सकिएला र ? एक दिन त यसले यो घर छाड्नैपर्छ ।”
“तर चम्पी त यहाँ बस्छु भन्छे नि आमा ।” मैले हताश हुँदै आमासँग चम्पीको भावना व्यक्त गरेको थिएँ ।
“यिनीहरू जहाँ गए पनि यस्तै हो बाबू । पेट पाल्नका लागि जुनसुकै ठाउँमा पनि काम गरेर बस्न सक्छन् । अर्को घरमा गएपछि चम्पीले तँजस्तै अरू राजाहरू भेट्टाउली । तँ पनि अरू चम्पीहरू देख्न नसक्ने होइनस् । थुप्रै साथीहरू पाइहाल्छस् नि….।”
आमाका अगाडि मैले बाँकी बोल्न सकिनँ । चम्पीलाई हेरेँ— उसको अनुहारमा अघि पलाएको आशा अब निराशामा परिणत भइसकेको थियो ।
‘चम्पीले एक न एक दिन त यहाँबाट जानैपर्छ ।’ आमाले भन्नुभएको वाक्य मैले मनमनै दोहो-याएँ तर चम्पी यो घर छाडेर जाँदै छे भन्ने कुरा विश्वास गर्न सकिरहेको थिइनँ ।
चम्पी जाने दिन पनि आयो । नयाँ मालिकका गाडाहरू आफ्नो कमैयालाई लिन आइसकेका थिए । चम्पीको बाबुको नयाँ मालिकले मेरा बुबालाई दस हजार रुपियाँ सौँकी बुझायो । सौँकीको पूरा रकम प्राप्त गरेपछि बाबाले कमैयालाई जाने अनुमति दिनुभयो । चम्पीका आमाबाबुले मेरा आमाबाबुलाई ढोगभेट गरे । तिनीहरू गएर गाडामा बसे । चम्पी भने त्यहाँ थिइन । खोज्दै जाँदा ऊ बाख्राको खोरमा लुकेको अवस्थामा भेट्टिई । उसको बाबुले ‘बाहिर आइज’ भनेर कति पटक बोलायो, तर उसले निस्कन मानिन । ऊ रुँदै आफ्ना हातका नङले खोरको भित्ता कोतरिरहेकी थिई । अन्तमा हार खाएर उसको बाबुले खोरभित्र पसी उसलाई तानेर बाहिर ल्यायो र घिसार्दै लगेर गाडामा बसाल्यो ।
“मैँ नै जिम्… मैँ नै जिम… ।” चम्पी रुँदै ‘म जान्नँ’ भनेर कराउँदै थिई । उसकी आमा उसलाई सम्झाउन थाली । उसको रुवाइ सुनेर गाउँलेहरू बाटामा आएर रमिता हेर्न थाले । हामीहरू पनि मन थाम्न नसकेर बाटामा आयौँ । मेरा आँखाबाट आँसु बर्सिरहेको थियो । आमाले चम्पीको कपाल मुसार्दै भन्नुभयो— “चम्पी, नरो । बाँचिरहे अर्को वर्ष हाम्रो घरमा आएस् ।” आमाले कम्मरमा बाँधेर राखेको पचास रुपियाँको नोट चम्पीको हातमा राखिदिनुभयो । चम्पी मलाई निरीह नजरले हेरिरहेकी थिई । उसको हेराइमा पीडा, विछोड र निरीहता समाहित थियो । उसको अनुहारमा मानौँ यी भावनाहरू प्रतिबिम्बित भइरहेका थिए— ‘राजा, आपन चम्पीह रोक नै सेक्लो ना, तुँ त महिसे फे कायर निकरलो ।’
चम्पी बसेको गाडा चुइँचुइँ गर्दै आफ्नो बाटो लाग्यो । चम्पीविहीन मेरो घरमा बाँकी रह्यो केवल शून्यता ।
त्यो रात सिरकभित्र मुख छोपेर म खुब रोएको थिएँ । त्यसपछि हाम्रो घरमा कति कमैया आए र गए, मैले चम्पीजस्ती मन मिल्ने साथी प्राप्त गर्न सकिनँ ।
ड्ड
मेरा अगाडि बसिरहेकी चम्पी थरुनी जो बूढी भइसकेकी थिई, आफ्ना भावशून्य आँखाहरूले एकोहोरो मलाई नै हेरिरहेकी थिई । उसको अनुहारमा आशा र विश्वासका भावहरू थिए । मैले आफूलाई अतीतबाट वर्तमानमा फर्काएँ ।
“ऊ कौन हो चम्पी ?” मैले सानी केटीतिर इसाराले देखाएँ । ऊ पातली थिई, तर उसको हेराइ र अनुहारको बनावट भने चम्पीसँग ठ्याक्कै मिल्थ्यो ।
“म्वार छाई (छोरी) हो हजुर… गुल्फी ।” ऊ आफ्नी छोरीतिर हेरेर मुस्कुराई ।
हामी कुरा गर्दै थियौँ । यहाँबाट गएको चार–पाँच वर्षपछि उसको विवाह एक जना विधुर थारूसँग भएको रहेछ । उसको लोग्ने कमैया भएकाले तिनीहरूले यतिका वर्षसम्म थुप्रै मालिकका घरहरू चहारिसकेका रहेछन् ।
“अब हमार थे सम्पत्तिके नामम एक्ठो तथिया फे नै हो हजुर ।” यो वाक्य पूरा हुन नपाउँदै चम्पी हिक्कहिक्क गरेर रुन थाली । चम्पी रोएको देखेर मलाई दुःख लाग्यो । म उसको लोग्नेतिर फर्कें ।
“तुहाँर सौँकी कत्रा बा दुःखीराम ?”
“पच्चीस हजार बा हजुर ।” दुःखीराम झन् कुप्रियो । उसको कुप्राइले उसको दयनीयता र दरिद्रतालाई प्रदर्शित गथ्र्यो ।
“पच्चीस हजार… ।” म तीनछक्क परेँ— “कसिक अत्रा सौँकी हुइल दुःखीराम ?” मैले चम्पी र उसको लोग्नेतिर निराश भएर हेर्दै भनेँ । चम्पी आफ्नो आँसु पुछिरहेकी थिई । दैवसंयोगले धेरै वर्षपछि घरमा कमैया बस्न आएकी मेरी बालसखी चम्पीलाई म पच्चीस हजार रुपियाँ तिरेर घरमा कमैया राख्न सक्ने स्थितिमा थिइनँ ।
“पाँच बरस पहिले पाँच हजार रुपियाँ रह हजुर । पाँच बरस पाछ पच्चीस हजार हुइगिल । हमरे का जानी हजुर । काला अक्षर भैँस बराबर । जत्रा मालिक कही वत्रह विश्वास करना परठ । नहीँ मानके फे का कर सेक्वी हजुर । हमार अत्रा सौँकी देखक कुइ फे हमन कमैया रखना नहीँ मन्ठ हजुर । हम्र सक्कु ठाउँ घुम सेक्ली ।”
दुःखीरामले मेरा अगाडि आफ्नो दुःख पोख्यो । सौँकीको यति ठूलो रकम देखेर तिनीहरूलाई कोही पनि कमैया राख्न तयार थिएनन् । तिनीहरू धेरै गाउँ चहारिसकेछन् । पाँच वर्षपहिले पाँच हजार रुपियाँ मात्र भएको दुःखीरामको सौँकी अब पच्चीस हजार भइसकेको थियो । मालिकहरू फेर्ने क्रममा सौँकीको रकम पनि बढ्दै जान्थ्यो । दुःखीरामले पच्चीस हजार सौँकी उल्लेख गरिएको तमसुक मलाई देखायो ।
त्यो तमसुक हेर्दै म उनीहरूको कहालिलाग्दो जीवन प्रत्यक्ष आफ्ना आँखाअगाडि देखेर निराश भएँ । जीवनपर्यन्त मुक्त हुन सक्ने कुनै विकल्प तिनीहरूसँग थिएन । तिनीहरूको मृत्यपश्चात् पनि तिनका सन्तानहरूले सौँकीको ऋणे बोकिरहनुपर्ने हुन्थ्यो ।
मैले गहिरो निःश्वास छाडेँ । ठीक त्यसै बेला घरभित्रबाट मेरो आठवर्षे छोरो सानो साइकल घिसार्दै आँगनमा आइपुग्यो । चम्पीकी छोरी गुल्फी आँगनमा माटोसँग खेलिरहेकी थिई । आमाबाबुको दुःख र समस्याबाट ऊ पूर्णतया अनभिज्ञ छे । मेरो सानो छोरोले आफ्ना साना हातले गुल्फीलाई बोलायो । बच्चा चढ्न सक्ने सानो साइकल देखेर गुल्फी पनि रमाउँछे । गुल्फी साइकलको क्यारिएर समात्छे र मेरो छोरो साइकलको काठीमाथि चढेर घण्टी बजाउँदै आँगनमा साइकल कुदाउन थाल्यो । म र चम्पी तिनीहरू खेलिरहेको हेरिरहन्छौँ । सायद हामी दुवैको हृदयमा अतीतका दृश्यहरू सजीव भए होलान् ।
“हमन् कमैया रखवो हजुर ।” दुःखीरामको करुण स्वरले म झस्कन्छु । म ऊतिर हेर्छु । ऊ झन् कुप्रिरहेको छ । पच्चीस हजार सौँकी तिरेर म तिनीहरूलाई कमैया राख्न सक्ने स्थितिमा थिइनँ । एउटा कमैयाका लागि पच्चीस हजार हाल्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नुजत्तिकै थियो । खोजेका खण्डमा यही रकमले दुई–तीन कमैया राख्न सकिन्थ्यो । तिनीहरूप्रति मेरो सहानुभूति भए पनि म विवश थिएँ ।
“मैँ मजबुर बाटु दुःखीराम । पच्चीस हजार तिरके कमैया रखना मोर वशके बात नै हो । मैँ तुहाँर दुःख बुझले बाटु तर कुछ नै कर सेकम् ।”
मेरो कुरा सुनेर दुःखीरामको अनुहार एकाएक उदास भयो । ऊ अत्यन्त निराश देखियो । चम्पीका आँखामा दयाको याचना थियो । हिजो चम्पीलाई मैले आफ्नो घरमा राख्न चाहेको थिएँ, तर सकेको थिइनँ । आज चम्पी आफैँ मेरो घरमा बस्न आएकी थिई, तर आज म फेरि उसलाई राख्न सक्ने अवस्थामा थिइनँ । उसको दयनीय र कारुणिक अवस्थालाई मनन गरेर पनि म तिनीहरूका लागि केही सहयोग गर्न असमर्थ थिएँ ।
मेरो जबाफ सुनेर दुःखी भएको दुःखीराम बिस्तारै आफ्नो ठाउँबाट उठ्यो । चम्पी लेहङ्गाले आफ्नो आँसु पुछिरहेकी थिई । मेरो छोरो र उसकी छोरी आँगनमा अझै साइकल घुमाइरहेका थिए । चम्पीले आफ्नी छोरीलाई पुकारी— “गुल्फी… ।” गुल्फीले एक पटक आफ्नी आमातिर हेरी र फेरि खेलमा नै मग्न भई ।
“गुल्फी ।” चम्पी जोडले बोली । आमाको चर्को स्वर सुनेर होला, गुल्फी खेल्न छाडेर आमा भएतिर आई । चम्पीले आफ्नी छोरीको हात समाती । उसले अश्रुप्लावित आँखाले म र मेरो छोरातिर हेरी । ऊ हतास र निरास देखिएकी थिई । दोस्रो पटक पनि आफ्नो ‘राजा’ ले आफूलाई सहारा दिन नसकेकोमा उसको मनमा आफ्नो बालसखाप्रतिको अटुट विश्वास र आस्था भत्किसकेको थियो ।
“अच्छा मलिक्वा, अब हमरे जाइटी ।” यति भनेर दुःखीराम हाम्रो आँगनबाट बाहिरियो । उसको पछिपछि चम्पी र गुल्फी पनि लागे । म उदास र विवश आँखाले मेरो आँगनबाट चम्पी बाहिरिएको हेरिरहेको थिएँ । पच्चीस हजार रुपियाँ सौँकी भएका चम्पीका लोग्नेस्वास्नीलाई सम्भवतः कोही पनि कमैयाका रूपमा राख्न तयार हुने छैनन् । तिनीहरूको जिन्दगी एउटै मालिकको घरको छिँडीमा नै समाप्त हुनेछ । सायद यो मेरो चम्पीसँगको अन्तिम भेट हुनेछ ।
“बुबा, उसलाई बोलाउनोस् न । हामी साइकल घुमाउँछौँ ।” मेरो छोराले हातले गुल्फीतिर इसारा गर्दै मसँग आग्रह ग-यो । ऊ त्यसरी नै मसँग अनुनय–विनय गरिरहेको थियो जसरी मैले तेह्र–चौध वर्षको ठिटो छँदा ‘चम्पीलाई घरमा राख्नोस् न’ भनेर आमालाई भनेको थिएँ । हिजो मलाई चम्पीलाई राख्न सकिँदैन भनेर आमाले फकाउनुभएको थियो भने आज मैले पनि आफ्नो छोरालाई ‘गुल्फी खेल्न आउन सक्दिन बाबू’ भनेर सम्झाउनुपरेको थियो ।
“किन खेल्न आउन सक्दिन बुबा ? तिनीहरू को हुन् ?” मेरो छोराले जिज्ञासा प्रकट गरेको थियो । ऊ खेल्न आउन सक्दिन भन्ने कुरा उसलाई अस्वाभाविक लागेको थियो ।
“तिनीहरू कुनै गाउँ–ठाउँ नभएका, बाँचुन्जेल टेक्ने धरती र मृत्युपश्चात् पनि चिहानका लागि एक टुक्रो जमिन नभएका यस देशका अनागरिक नागरिक हुन् बाबू । अनि हामीले नै तिनीहरूलाई नागरिकबाट अनागरिक बन्न बाध्य बनाएका हौँ ।”
मैले आफ्नो छोरालाई समातेर काखमा राखेँ । मेरा आँखा चम्पीलाई हेर्दै रोइरहेका थिए भने ऊ मेरो जबाफ सुनेर ट्वाल्ल पर्दै कहिले मलाई र कहिले गन्तव्यहीन यात्रामा हिँडिरहेका ती तीन प्राणीहरूलाई पालैपालो हेर्दै थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो