किबी, ज्यूँदो माछा र अर्गानिक खुदोमा उपभोक्ता आकर्षित

९ पुष २०६९, सोमबार २०:३१ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही , ९ पुस । लुम्बिनी एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेलामा राखिएको ज्यूँदा माछाप्रति उपभोक्ताहरु आकर्षित भएका छन् । माछा उत्पादनमा नेपालकै नमुना मानिएको रुपन्देहीको छपियाका कृषक गणपति आचार्यले लुम्बिनी एक्स्पोमा ज्यूँदो माछा बिक्रीको व्यवस्था मिलाएका हुन् । उनले मेलास्थलमै माछापोखरी निर्माण गरी उनले चार प्रजातिका माछा बिक्री गरिरहेका छन् । “उपभोक्ताहरुले ज्यूँदो माछा साह्रै मन पराएका छन्”, फ्राई गरेकोभन्दा ज्यूँदो माछा नै बिक्री भएको अनुभव सुनाउँदै उनले भने । कृषक आचार्यले मेलास्थलबाटै दिनमा करिव ४० किलो ज्यूँदो माछा बेचिरहेका छन् । ज्यूँदो माछा खरीद गर्न उपभोक्ताहरुले तँछाडमछाड गरेका उनको कथन छ । आचार्यले लुम्बिनी एक्स्पोभित्र रहू, नैनी, कमन र सिल्भर नामक प्रजातिका माछा बिक्री र प्रदर्शनका लागि राखेका छन् । सिल्भर प्रतिकेजी २ सय ३० र अन्य प्रजातीका माछा प्रतिकेजी २ सय ६० रुपैयाँमा बिक्री भैरहेको छ । फिस ट्रेड सेन्टरमा आवद्ध कृषक आचार्यले प्रत्येक दिन ५ सय लिटरको ट्यांकीमा माछा ल्याउने गर्छन् । ज्यूँदो माछाको बिक्री छपियामा पनि राम्रो रहेको उनले सुनाए । त्यस्तै दुर्लभ मानिएको फल किबीप्रति पनि उपभोक्ताको आकर्षण बढेको छ । नौलो फल भएका कारण उपभोक्ताहरु धेरै हेर्नका लागि आएका छन्, प्रचारप्रसारको अभावले बजार पाउन नसकेको व्यवसायी शिवराज भारीले बताए । गुल्मीको भार्सेमा केबी फल उत्पादन भैरहेको छ । लुम्बिनी अञ्चलमै पहिलो उत्पादन गुल्मीको भार्सेमा सुरु भएकाले प्रचारप्रसारको खाँचो रहेको उनले बताए । भार्से गाविसका विभिन्न वडामा गरी करिब २ सय ५० वटा केबिका बिरुवा लगाइएको छ । उनले काठमाडौंको किर्तीपुरबाट बेर्ना ल्याइ आफ्नै घरको बगैचामा रोपेका हुन् । केबीलाई तुषारो पर्ने हावापानी र उत्तर मोहोडा भएको जग्गा आवश्यक पर्छ । काठमाडौंमा यसको मूल्य प्रतिकेजी ६ सय ५० रुपैयाँ छ भने गुल्मीको भार्सेमा उत्पादन गरिरहेका व्यवसायीले साढे ३ सय प्रतिकेजीमा बिक्री गरिरहेको छन् ।
पाँच वर्षअघि उत्पादन सुरु गरिएको अर्का व्यवसायी हिरा श्रीसले बताए । “बेर्ना ७–८ वर्षपछि तयार हुन्छ, यसको आयू ४० वर्ष जति हुन्छ”–उनले भने । यसको मुख्य बजार भने बुटवल नै हो । भार्सेमा उत्पादन गरिरहेका व्यवसायीले थाप्ले लेकाली बागबानी संस्थामार्फत प्रदर्शनीका लागि लुम्बिनी एक्स्पोमा ल्याएका हुन् । फागुन महिनामा फूल लाग्ने केबिको बोटले पुस लागेपछि मात्र उत्पादन दिन्छ । यो बोटमा नपाक्ने भएकाले टिपेर प्याकिङ गरी राख्नुपर्छ । खाँदा गुलियो हुने यो फल प्याकिङ गरेको ३–४ दिनमा नै पाक्ने गर्छ ।
त्यस्तै मेलामा राखिएको गुल्मी थोर्गाको अर्गानिक खुदोमा पनि उपभोक्ता आकर्षित भएका छन् । मेलास्थलमै उखु पेलेर खुदो उत्पादन गरिएकाले उपभोक्ताहरु आकर्षित भएका हुन् । कृषकहरुबाट उखु खरीद गरी व्यवसायी इश्वरी भण्डारी र शिव गौतमले खुदो उत्पादन गरेका हुन् ।
सरकारले अन्तःशुल्क लिने गरेकाले विदेश निर्यात गर्न भने नसकिएको व्यवसायीको भनाई छ । “इटाली र अष्ट्रेलियामा अर्गानिक खुदोको माग छ, तर अन्तशुल्कका कारण निर्यात गर्न सकिएको छैन”–व्यवसायी गौतमले गुनासो गरे । गुल्मीको थोर्गा, दिगाम र धरमपानी गाविसमा उखु उत्पादन भैरहेको छ ।
मेलामा राखिएको कृषि पेभेलियनले धेरै उपभोक्तालाई आकर्षित गर्ने गरेको व्यवसायीहरुको भनाई छ । लुम्बिनी एक्स्पोले कृषिको व्यवसायीकरण र बजार प्रवद्र्धनमा पनि सहयोग पु¥याउने मेला आयोजक मूल समितिका संयोजक तथा संघका अध्यक्ष टंक पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो