धन हुनेले भन्दा गरिबले आमा–बाबुलाई इज्जतका साथ पालनपोषण गरिरहेका छन् : प्रतिवेदन

९ पुष २०६९, सोमबार ०९:०५ मा प्रकाशित

काठमाडौँ, ९ पुस । सहरका भन्दा गाउँका, पढेलेखेका भन्दा नपढेका तथा धनीभन्दा गरिब नागरिकले आफ्ना बाबुआमालाई इज्जत सम्मानका साथ पालनपोषण गरिरहेको एक अनुसन्धानले देखाएको छ । सबैभन्दा बढी थारु समुदायका ज्येष्ठ नागरिकले आफ्ना सन्तानबाट इज्जत सम्मान पाउने गरेको अध्ययनले पुष्टि गरेको छ ।
ज्येष्ठ नागरिकको मानव अधिकार र सामाजिक सुरक्षाको पक्षमा वकालत गर्दै आएको सङ्कल्प नेपालले मुलुकका १० जिल्ला र १३ वटा आश्रम तथा वृद्धाश्रमका गरेको अनुसन्धान सर्भेक्षणबाट सो जानकारी प्राप्त भएको हो । कोही नभएका र केही नभएकाहरूले शरण लिने वृद्धाश्रम अहिले सन्तान, घरसम्पत्ति सबै भएका तर परिवार र सन्तानबाट इज्जत, सम्मान र माया नपाएर घर छाड्न बाध्य बनाइएकाहरूको आश्रयस्थल बनिरहेको छ । मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेका वृद्धाश्रममा गरिब परिवारको तुलनामा मध्यम र उच्च परिवारका ज्येष्ठ नागरिकको बाहुल्यता रहेको पाइएको छ । घरमा हेरचाह गर्ने कोही नभएको, परिवारमा कचिङ्गल हुने गरेको, स्वास्थ्य समस्या र उपचारका लागि खर्च नभएका कारणले वृद्धाश्रममा शरण लिन बाध्य भएको त्यस्ता आश्रममा बस्ने ज्येष्ठ नागरिकहरूले बताएका थिए ।
यद्यपि मुलुकका ८० प्रतिशत वृद्धवृद्धा आफ्ना सन्तानसँगै बस्दै आएको अनुमानित तथ्याङ्क छ । ज्येष्ठ नागरिकमध्ये करिब तीन प्रतिशत छोरीहरूसँग बस्दै आएको सर्भेक्षणले देखाएको छ । पछिल्लो समय १७ प्रतिशत घरका मूलीमात्र ज्येष्ठ नागरिक रहेको भेटिएको छ । खासगरी नेपाली समाजमा मौलाएको सहरी जीवनशैली र पश्चिमा मुलुकको अन्ध नक्कलले एकाघरमा सगोलमा बस्ने र ज्येष्ठ नागरिकलाई सम्मान गर्ने नेपाली मौलिक संस्कृतिलाई चुनौती दिइरहेको छ ।
सो अध्ययनका अनुसार २३ प्रतिशत वृद्धाश्रम सरकारी सहायतामा, ३८ प्रतिशत धार्मिक सङ्घसंस्थाले, १२ प्रतिशत सेवा संस्था र व्यक्तिले तथा १५ प्रतिशतलाई कर्पाेरेट कम्पनीले सहयोग गरिरहेका छन् । वृद्धाश्रममा शरण लिनेले धेरै आश्रममा निःशुल्क सेवा पाइरहेका छन् भने केही सेवाकेन्द्रमा शुल्क तिरेर पनि ज्येष्ठ नागरिक बस्दै आएका छन् । छोराले बिहे गरेपछि सँगै बस्न नमानेको र नातिनातिना बढ्दै गएपछि कोठा नपुगेर वृद्धाश्रममा आउनुपरेको धेरैले गुनासो गरेको पनि अध्ययनले देखाएको छ । सहरी ज्येष्ठ नागरिकको तुलनामा ग्रामीण भेगका ज्येष्ठ नागरिकले परिवारको काममा सघाउने भएकाले उनीहरूले निकै नै सम्मान पाउने गरेका छन् ।
आश्रममा पुगेका धेरैजसो ज्येष्ठ नागरिकसँग नागरिकताको प्रमाणपत्र नभएकाले सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता लिनबाट समेत वञ्चित रहेको पाइएको छ । पछिल्लो समय रोजगारी र अध्ययनको सिलसिलामा विदेश पुग्ने र उतैतिर बस्ने प्रवृत्ति बढ्दै गएकाले समेत बुढेसकालमा सन्तानबाट पाउने सुखबाट धेरै सहरीया ज्येष्ठ नागरिक वञ्चित हुँदै गएका छन् । गाउँको तुलनामा सहरबाट त्यसरी विदेशिनेको सङ्ख्या धेरै भएकाले सहरी क्षेत्रका ज्येष्ठ नागरिकले वृद्धावस्थामा एक्लिएको महसुस गर्न बाध्य छन् । धरानका राई, लिम्बू तथा कास्कीका गुरुङ समुदायमा विदेशी सेनामा जागिर खाने चलन भएकाले त्यतै जागिरमा गएका र निवृत्तीभरण भएकाहरू पनि त्यहीँ बस्ने क्रम बढेकाले ती समुदायका वृद्धवृद्धामात्र गाउँमा देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
– नरायण न्यौपाने

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । हाल नयाँ नेतृत्वका लागि मतगणना

काठमाडौं । राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावेन्द्र लिङ्देनलाई समर्थन गर्न वर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सार्वजनिक रूपमा आग्रह गरेका छन्