मोक्षयात्रामा तिमी र म -मोमिला

१२ चैत्र २०६८, आईतवार २२:४७ मा प्रकाशित

मैले, मेरा परिवेशहरूबाट मुक्ति चाहेको यकिन प्रारम्भविन्दु अहिले मबाट अदृश्य भइसकेको छ; मेटिइसकेको छ यसैले कि विपरीत लागेका ती परिवेशहरू आज स्वयम् मेरो चेतनाग्रस्त आदत बनिसकेको रहेछ । भवितव्यहरू, प्रश्नरत सागर बाफिएर निर्बन्ध उडेका अमूर्त विम्बहरू, नभेटिएका अस्तित्वरत मनोदशाहरू, प्रेमका सहुलियतहरू, औपचारिक–अनौपचारिक सारा यातनाहरू, सिलसिलाहीन मृत्युका विलासिताहरू, अनुदार अफसोसहरू सम्पूर्ण सहज बनिसकेको रहेछ । भनौँ , कारणहीन बाँच्ने लत लागिसकेको छ । हुन पनि मैले बाँचेको धरतीबाट मुक्ति सोचेर आकाशको सीमाहीन उडान उड्न चाहेको थिइनँ; जहाँ कुनै वैचारिक विराम नहोस्; जहाँ कुनै नैतिक अडेसा नै नरहोस् । यसैले म आज महसुस गर्छु— यो प्रकृति, यो संसारको उज्यालो–अँध्यारो दुवै पक्षसँग मेरो अग्घोर प्रेम बसेको रहेछ । अब मलाई जीवनको प्रतिबद्धतामा मोडरेट गर्नैपर्ने अतृप्त रहर छैन ।

मरुभूमिको विस्तारमा यसै कतै योजनाविहीन ठिङ्ग उभिएको एउटा रूख— तिमी हौ ! या म हुँ स! सिमानामा उभिएर म उद्घाटित हुन सक्दिनँ । यद्यपि न त यो मेरो आत्मघाती भावको मञ्चन हो न त परपीडक प्रकाशन । कुन्नि कसरी यो प्रतिस्पर्धाहीन साँझको एन्टिलाइटमा उही रूख ठिङ्ग उभिनुजस्तै प्रयोजनहीन रमाइएछ । सम्भवतः मुक्तिको रिहर्सलमा म एक कदम सफल छु । यो ब्याचलर खुसी तिमीलाई नै सुनाउने हतारो थियो मभित्र तर रिक्तता र अँध्यारो विस्तारले मलाई एकसाथ ऐठन गरेको बेला सम्झन पुगेछु थुप्रै अभिशप्त मिथ पात्रहरू जो मेरो दृष्टिलोकमा ठूलो घाउको पीडा शमन गर्न शरीरभरि खोप्न व्यस्त छन् । यही मौकाको उपयोग गरेर मेरा उत्कृष्ट प्रतिद्वन्द्वीहरू मायावी खेल खेल्न आइलागेका छन्, मसँग यतिखेर । र म पनि प्रतिस्पर्धाहीन जितभन्दा प्रतिस्पर्धायुक्त हारकै स्वीकृतिमा सही, साक्षात् पीडा जिउनेहरूप्रति खिल्ली उडाउने र पर्दामा तिनै पीडाको पूजा गर्ने संवेदनाशून्य समाज नामको भीडबीच म लडिरहेछु; सम्भवतः धेरैको तमासा बनेको छु; मनपरी विषयवस्तु बनेको छु । हो, यतिखेर भने तिम्रो–मेरो जिन्दगीको शीर्षक नै गलत लागेको छ, मलाई । मानौँ , म यही रीतमा कलाको अवमूल्यन बाँचिरहेछु । र–पनि मेरो सम्भावनामा अवमूल्यनबाट मुक्तिको प्रयास तर्कातीत छैन ।

हुन त मानवीय तर्कहरू तत्क्षण जीवन हिँडाउन सहायकसिद्ध हुन्छन् र हुनेछन् पनि । यद्यपि तर्कहरू दार्शनिक गहिराइको अन्तिम सिमाना कोर्ने क्षमता राख्दैनन् यसर्थमा कि भोगाइसम्मत विस्तारित तर्कहरू जीवन रहेसम्म बाँकी नै रहन्छन् । फेरि यिनै तर्क, चिन्तन, भाव, अनुभूति र संवेदनाहरूको मात चढेको बेला नै मान्छेले आफैबाट आफ्नो अस्तित्वरत प्रश्नोत्तर प्राप्त गर्ने सम्भावना रहन्छ । लाग्छ, यहाँसम्म आइपुग्नुसँगै तिमीले पनि मेरो जिउनुको स्वीकृतिमा निःसङ्कोच हस्ताक्षर गरिरहेछौ । तिम्रो यही स्वीकृत श्रद्धाले त जिउनुसँग म पुलकित छु ।

सम्झंदा त जिउनुको अर्थ विपरीत परिस्थितिहरूसँगको सङ्घर्ष नै हो । लाग्छ, यही आभासमा मैले जानेरै हो कि जस्तो एकाएक पीडाको गहिरो तालमा फाल हानेछु र तत्काल मीठो भूल गरेको अनुभूतिले म रोमाञ्चित पनि भएको थिएँ तर आज तत्क्षणका निसासिँदो पीडाहरूको यादमा अनूदित हुँदै जब म कविता कोर्न बस्छु; नचाहेरै पनि सारा भावहरू उनै पीडास्रष्टाका नाममा समर्पित भइदिन्छन् । यस्तै अन्जान सुखको सुन्दर बहाना मिलेको छ, जिन्दगीलाई । तर बहानाभन्दा अझ पर एउटा सचेत अस्तित्वरत मान्छेका लागि जिउनुको अर्थ यस्तो मोक्षसँग रहेको हुन्छ; जसको चरम प्राप्तिपश्चात् सारा अज्ञानताको अँध्यारोबाट मुक्ति मिलोस्, अहम्को तिलाञ्जलिसहित ज्ञानको उज्यालोमा क्रीडामग्न हुन सकियोस् । यद्यपि यहाँ मात्र मोक्षको भ्रम बाँचिरहेछन् मान्छेहरू । यथार्थतः उन्मत्त अहम्को द्वन्द्वमा सेपको बिरुवाजस्तै मान्छेको तेस्रो अहम् यसै मुर्झाएर सेपमै चिहान बन्दै रहेको छ ।

कहिलेकाहीँ म स्वयम्तिर फर्केर हेर्ने गर्छु । फेरि पनि मेरो अन्तरमा फ्रेमिङ भइसकेको, हरेक सोचमग्न क्षणको उही निचोड हात लाग्ने गर्छ— हो, सारा कुराहरू समाप्त हुन्छन् सुरुआतसँगै । र पनि विशिष्ट समाप्तिमा सुरुआतको अर्थ खुल्ने यथार्थको पक्षमा निश्चय नै सचेत बहुमतको दाबी गर्न सकिन्छ । तर संसारको उज्यालो अनुभूत गर्न नपाउँदै अन्त्य स्वीकार गर्नुपर्छ भने, विशिष्ट समाप्तिको धुन रच्न नपाउँदै सदाका लागि पर्दा झर्छ भने जीवन–मञ्चनको के अर्थ रह्यो र ! नभएको वर्तमान नामको यिनै उद्धृत परिधिमा ठूला रूखहरूबीच अन्जानमै बनेको आँखीझ्यालभित्रको ओसिलो अँध्यारोबाट संसार उजाडिएको हेर्दै मेरो बिहान घस्रने गर्छ अनि अँध्यारोमै झ्याउँकीरीको विरक्तलाग्दो अलापसँगै मेरो साँझ बित्ने गर्छ । यसर्थमा यतिखेर म, भोग्दै रहेको आँखीझ्यालको अँध्यारोबाट सापेक्षिक मुक्ति खोजिरहेछु… ।

जब हामी बाँच्दै रहेको जीवनको सतहबाट मृत्युपछिको महाशून्यमा डुब्छौँ ; जीवन ज्यादै उकुसमुकुस लाग्न सक्छ, निराशाको घना अन्धकारले लखेट्न सक्छ तर यथार्थमा शून्यबोध, अँध्यारोबोध एवम् मृत्युबोध जीवनदेखि हार होइन बरु, ज्ञानको बीजाधान हो; उज्यालोको आमन्त्रण हो; सचेत प्रारम्भ हो । यसैले उतिखेरै मान्छे चेतनाको ढोका खुलै राखेर कर्ता र कर्मको मिलनविन्दु मुक्तिका लागि वेगवान् हुरीको प्रतीक्षा गर्दै रहन्छ; हुरीपछिको सौम्य क्षण वैशाख फुल्दै रहन्छ; प्रत्यक्ष पाउनु र गुमाउनुको सीमाभन्दा पर कोलाज रङ्गिदै रहन्छ; शब्दमा घोलिएर बर्सातमा बज्दै रहन्छ । यस्तै आरोह–अवरोहमा नै जीवन सङ्गीतबद्ध हुन्छ क्यारे !

एउटा सचेत मान्छेको पीडाग्रस्त क्षण आखिर आफैले भन्दा बढी सहानुभूति आफूलाई अरू कसले दिँदो रहेछ र सँ यस्तै–यस्तै सहानुभूतिको आफ्नै सुरताल हिँडिरहेकै बेला एक कवितामय प्राज्ञिक बस्तीमा कसैको शब्दबद्ध बाँसुरीको जीवनविरोधी धुन पनि कति मृदु लागेको थियो सँ त्यो स्निग्ध क्षण भुवन दिज्यूको भावुक बौद्धिकता र काँचुली दिज्यूको बौद्धिक कोमलताको दोभानमा उनै विरोधी धुनले मलाई नै आफ्नो बाँसुरी बनाएको आभासले त झन् मेरा आँखामा चरम तृप्तिकै चमक प्रसार भएजस्तो लागेथ्यो । त्यो टहक टाढैबाट तिमीले पनि अनुभूत गरेकै हुनुपर्छ । लाग्छ, म हरपल उही धुनमा झङ्कृत भइरहेछु । सम्झूं कि— झर्कोलाग्दो अनि पट्यारलाग्दो लामो घस्रदो दिनमा मलाई जेलबाट छुटकारा मिलेको छ । फेरि यो कल्पनातीत उन्मुक्त क्षणमा पनि कुन्नि कस्तो मुक्तिको आशा हो सँ मभित्र मरेको छैन… ।

कुनै उद्धृत समय सुन्दर विगतको बाडुली लागेर विगतमै टक्क अडिदा कस्तरी रमरम हुँदो रहेछ मन स! कति सुमधुर लाग्दो रहेछ जीवन ! यथार्थभन्दा पनि अजिब सुखको अनुभूतिमा एकाएक विगतप्रति कृतज्ञताको भाव जाहेर गर्छु । सधैँ आफ्ना पुराना कविताको कमजोरी बिझाउने मन आज कमजोरीमै अथाह आत्मीयता, पीडाको गहिरो नाता जागेको अनुभूत गरिरहेछु । नढाटिएका कमजोरीको विज्ञापन भएर पनि मेरो एकान्तमा स्नेहदीप प्रज्वलित गरिरहने मेरा विगतका रचना–संसारलाई साधुवाद !
वास्तवमा कला भन्नु नै जीवनको सुन्दर भ्रम हो; जसले जीवनलाई विशिष्ट क्रियाशीलता प्रदान गर्दछ; जसका लागि आफ्ना समयहरू आफैबाट सहिद भए नि तृप्तिको प्रभावी उन्माद मित्रवत् साथै रहन्छ, जीवनभर । अक्सर सेतो कागजको रङ्गीन सम्भावना तिरोहित हुँदै गएको अन्तिम प्रहर नीलो आकाशको असीम विस्तार कल्पेर धैर्य सँगालेजस्तै हरपल अलिखित सम्भावना कलाले सप्रेम उपहार अर्पन्छ, आवश्यकतालाई… ।

एकातिर उत्सुकता र तृप्तिको ककटेल अनुभूति, अर्कातिर नयाँपन चाहनु र स्वीकार नगर्नुको आमन्त्रित सङ्क्रमणजस्तै कुन्नि के–केसँग मिसिएर हो, जीवनको रङ्ग त बदलिरहन्छ क्यारे सँ हुन त सधैँ–सधैँ एउटै ऋतु रहेर जीवनले काँचुली नफेर्ने भए कति कुरूप लाग्दो हो, संसार सँ सम्भवतः सबैले एउटै रङ्ग चाहने भए इन्द्रेनीको रङ्ग पनि एउटै हुन्थ्यो कि सँ सधैँ वैशाख मात्र फुल्थ्यो कि सँ या त यतिखेरसम्म सभ्यतामा पूर्णविराम लागिसक्थ्यो होला; सत्य सीमाबद्ध बनिसक्थ्यो होला ! यी उफ् र आहग्रस्त चेतनाका नाममा मान्छेको एकान्त डायरीभरि कति पट्यारलाग्दो र सन्दिग्ध अनुभूतिहरू खात लागेका छन् ! अस्तित्वसम्बद्ध मान्छेका यिनै पुरातात्विक प्रश्नहरू उत्तरविहीन भएर अझ रहस्यमय पुरातात्विक मूल्ययुक्त पिरामिडमा अग्लिरहेकै छन् । र–पनि म तत्क्षणका अस्वीकृत भावकहरूको स्वीकृत दर्शनका लागि सीमावारिका आफ्नै घाउहरूमाथि उभिई नै रहेछु । सीमापारिबाट आफैतिर हुर्रिंदो अविश्वासका विश्वस्त कुल्चाइहरू पनि यी आँखाबाट ओझेल परिसकेका छैनन्… । यसरी नै म एउटा रीतमा रित्तिइदै जाँदो छु‘ पुनः उनै ककटेल अनुभूतिहरूद्वारा भरिइदै पनि जाँदो रहेछु…! खै, कहाँ भेटियो र मुक्ति !

कहीँ भेटिएन मुक्ति । खै, कहाँ र मुक्ति सँ फेरि एउटा मान्छेबाट मुक्ति मिल्दैमा प्रेमबाट मुक्ति कहाँ मिल्दो रहेछ र सँ यिनै नजुरेको मुक्तिको बन्धनजस्तै आफैसँग जुवा खेलेर आफै दाउमा फसेजस्तो छु; आफैबाट आफू बगेर आफै किनार भएजस्तो छु । तर मजस्तै एउटा मान्छेको पीडामुक्तिमा कति आवेगहरू भेल बगे होलान्, कति आँखाहरू पखालिए होलान्, कति मनहरू सङ्लिए होलान्… । बुझ्यौ होला, आफैलाई बिर्सेर मीठो कवितात्मक भ्रममा म तिमीसँग लुकामारी खेल्दै रहेछु । भ्रम नै सही पलभर भए पनि मलाई जस्तै तिमीलाई पनि मुक्ति मिलेकै हुनुपर्छ ।

बन्धन र मुक्तिको सँघारमा आधा गाग्रो पानीको पीडा साइतको घडालाई सोधे सागरमा आत्महत्या गर्लान् तर अल्पज्ञानको पीडाले रन्थनिएको मजस्तो मान्छे जिन्दगी जिउने योजना बनाउँदाबनाउँदै सकिनै आँटेको जीवनको सँघारमा पनि निभ्नै लागेको बत्तीको उज्यालो भए पनि माया मारेर जीवनदेखि सचेत भाग्न नसक्दो रहेछ । बरु, आफैमाको एकान्त विक्षिप्तताले आखिर होसविहीन एकान्तमा पु-या-र सम्भावनाहीन अँध्यारोमा फालिदिन्छ र छटपटाउँदै अर्थहीन मृत्युको कफन पर्खिरहन्छ, मान्छे ।
उनै मृत्युद्वारा जारी नाकाबन्दीमा जीवन खेप्दाखेप्दै धेरै समय सहिद भइसकेछन् मेरा लागि— आँधी–हुरीमा, बाढी–पहिरोमा, भुइचालोमा, आगलागीमा, गोला–बारुदमा, अभाव र अज्ञानतामा… अरू यस्तै–यस्तैहरूमा… ।

मेरो सुस्केराको छोटो विश्रामभरि तिमी मलाई पर्ख है ! विश्वस्त छु, मेरो मनको प्रदेशबाट कतै सुदूर भाग्नेछैनौ…!

तिम्रो अदृश्य एवम् शालीन उपस्थिति कल्पेर आफू अभिव्यक्त हुँदाहुँदै दोछायाँले लखेटेपछिको सुस्केरामा स्थगित अधुरो कागजसँग पुनः सम्झौता गर्दै रहेको यो मध्यरात, बाहिर पानी–हुरी चलिरहेछ । कोठाभित्रको सुनसान छिचोल्दै झ्यालका सिसाहरूमा उछिट्टिएका पानीका बाछिटाहरूको आवाज र असिनाको ठोक्कर एकसाथ म आफैभित्र अनुभूत गरिरहेछु । अलिकति रोमान्टिक पीडा घोलिएर म छचल्किन्छु र सामुन्नेमा धुमिल बस्तीको पर्दा हट्दै गएजस्तोसँगै आफ्नै युटोपियन साम्राज्यमा अनुभवग्रस्त भइदिन्छ मन— भोलिबाट धेरै दिनदेखिको तुँवालो हट्नेछ, दृश्यहरू सङ्लिनेछन्, नजिक हुनेछन्, आत्मीय लाग्नेछन्, रेसमी हावामा प्रेमको सुवास र सिताराहरू बर्सिनेछन् तर भोलिको यथार्थमा यो सत्य स्थापित होस् या नहोस् ईप्सास्मृतिमै सही, मैले अनुभूत गरेको आजको सुख भोलि कसै गरी फिर्ता हुनेछैन । भलै आगत समयले बुद्धजस्तैहरू जन्माउलान् तर उही बुद्ध जन्मनेछैनन् । यसैले त तत्क्षणका अनुभूत सत्य विगतको चाहेजस्तो संस्करण उही विगतलाई उपहार चढाउनु असम्भवजस्तै लागिरहेछ । फेरि यात्रामा दृश्य छुटेजस्तै आफूबाट विगतको दूरी जति नै बढे पनि, मान्यताहरूमा जति नै विगतमुक्त सोचिए पनि बिर्सन खोजिएका श्रापित विगतका छायाहरूको कालो धब्बा आफै चितामा जलिसक्दा पनि नजल्दो रहेछ । बरु, आफ्नै अस्तु बनेर यही लोकमा अस्तित्वशील रहने दाबी मभित्र यत्रतत्र प्रतिध्वनित भइरहेछ । यसरी मुक्तिका नाममा चेतना र भावनाको द्वन्द्वबीच पिल्सिनु नै पर्ने नियति कसले दियो मान्छेलाई ! उनै नियति प्रहार गर्नेकै नियति सोचेर मस्तिष्कक्रीडामा म सधैँ थकित–थकित हुँदो रहेछु… ।

सायद, मेरो विश्रामको समयमा तिमी धेरै अगाडि पुगिसकेका हुन्छौ र तिमीलाई पछाडि फर्केर हेर्ने मन हुँदैन कि ! लाग्छ, यसरी नै जीवनको हरेक मोडमा म तिमीबाट फेर पर्दो रहेछु क्यारे !

…तर, औधी थकानमा पनि सुन्दर सम्भावनाको सन्दर्भ कुल्चेरै जब निष्काम प्रयत्न हिँडिरहन्छ मान्छे; समय गुज्रनुसँगै ऊ आफ्नोपन बेरिएको रित्तोपन छाडेर जान्छ; जहाँ पुनः आगत समयले मान्छेका लागि या त स्वर्ग या त नरकको सुवास छाडेर जानेछ र क्रमशः उही रित्तोपन अर्को समयको प्रतीक्षा गर्दै रहनेछ । उही रित्तोपनमा कहिले पाठक, कहिले श्रोता त कहिले दर्शक सामु साहित्य, सङ्गीत एवम् चित्रादि कला–अनूदित मान्छे अथाहमै क्रमशः आफूभित्र यस्तो महाशून्य सिर्जना गर्छ; जतिखेर उसलाई मृत्युपछिको शून्य सम्झेर कहाली लाग्नेछैन; जतिखेर ऊ कलामा सम्पूर्णतः रित्तिइसकेर संसारकै सबैभन्दा हलुको वस्तु हुनेछ र ब्रह्माण्डको अनन्त यात्रामा उड्नेछ । योभन्दा पनि प…र अभिनेताको मोक्षयात्रा अरू के हुन सक्ला र !

आखिर तिमी पनि त आफ्नो जिन्दगीको स्वयम् अभिनेता हौ । फेरि मेरो अनुभूति–यात्रामा तिमी प्रारम्भदेखि नै समाहित छौ । के तिमीलाई मेरो मोक्ष–यात्रामा साथै छु जस्तो लागेन सँ उत्तर यात्रामै खोज्नेछौ……

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

चीनको लोङगजिङ शहरको पियान माउण्टेनमा बनाएको काँचबाट ४३० मिटर लामो पुल भाच्चिएको छ । एक युवक पुलमै अड्किएको तस्विर सामाजिक

अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको

घानाकी अभिनेत्री एक अभिनेत्रीले आफ्नो छोरासँगको न्युड तस्विर सार्वजनिक गरेको भन्दै अदालतले ९० दिनको जेल सजाय सुनाएको छ । सन्