याद राखेस्, काइँला ! -एस्पी कोइराला

१२ चैत्र २०६८, आईतवार २२:४२ मा प्रकाशित

याद राखेस्, काइँला !
(मलाई सुनाइयो—
तिमी धनी भयौ रे
खुसी लाग्यो,) २
तर याद राखेस्, काइँला
करोडपति भएँ भन्दैमा
के तिमी एक सर्को भोक किन्न सक्छौ र !
अरबपति भएँ भन्दैमा
के तिमी एक अर्को लोक चिन्न सक्छौ र !
(किन्ने त आखिर खाने बेलाको एक घान भोजन त हो नि !
चिन्ने त आखिर जाने बेलाको एक थान ओछ्यान त हो नि !२
होइन र !
चाहे तिम्रो होस्
या मेरो !
मलाई सम्झाइयो—
तिमी सम्पन्न भयौ रे
हर्ष लाग्यो, २
तर याद राखेस्, काइँला
हुने–खाने भएँ भन्ने ठान्दैमा
के तिमी एकैचोटि दुई जोर जुत्ता भिर्न सक्छौ र !
सम्पन्न भएँ भन्ने मान्दैमा
के तिमी एकैचोटि दुई जोर खुट्टा हिँड्न सक्छौ र !
लगाउने त आखिर त्यही एक जोडी जुत्ता त हो नि !
हिँडाउने त आखिर त्यही एक जोडी खुट्टा त हो नि ! २
होइन र !
चाहे तिम्रो होस्
या मेरो !
मलाई बुझाइयो—
तिमी ज्ञानी भयौ रे
आनन्द लाग्यो,२
तर याद राखेस्, काइँला
ज्ञानी भएँ भन्ने लाग्दैमा
के तिमी एकैचोटि दुइटा निद थेग्न सक्छौ र !
महाज्ञानी भएँ भन्ने लाग्दैमा
के तिमी एकैचोटि दुइटा सपना भेट्न सक्छौ र !
देख्ने त आखिर त्यही एक सर्को सपना त हो नि !
भेट्ने त आखिर त्यही एक धर्को बिपना त हो नि ! २
होइन र !
चाहे तिम्रो होस्
या मेरो !

मलाई देखाइयो—
तिमी सुखी भयौ रे
गर्व लाग्यो,२
तर याद राखेस्, काइँला
सुखी भएँ भन्ने भ्रम पाल्दैमा
के तिमी एकैचोटि दुइटा ओछ्यानमा सुत्न सक्छौ र !
खुसी भएँ भन्ने अहम् पाल्दैमा
के तिमी एकैचोटि दुइटा चिहानमा अट्न सक्छौ र !
प्रारम्भ त आखिर उही माता–पितामा त हो नि !
अन्त्य त आखिर उही आफूजत्रो चितामा त हो नि ! २
होइन र !
चाहे तिम्रो होस्
या मेरो !

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा