मलेसियामा रहेका लाखौं नेपाली मजदूर संगठित

७ पुष २०६९, शनिबार १२:५३ मा प्रकाशित

कोपिला गौतम, क्वालालाम्पुर, ७ पुस । । मलेसियामा कार्यरत आप्रवासी श्रमिकहरुको साझा संगठन प्रगतिशील प्रवासी श्रमिक मञ्च मलेसियाको पाँचौं राष्ट्रिय सम्मेलन डिसेम्बर १६ का दिन राजधानी क्वालालाम्पुरमा भब्य रुपमा सम्पन्न भयो । सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि एमाओबादीका जनबर्गीय संगठन ईन्चार्ज जनादर्न शर्मा ‘प्रभाकर’ ले सम्मेलनलाई सम्बोधन गर्नु भयो । मलेसियामा रहेका लाखौं मजदूरहरुको समस्याहरुकोवारेमा आफूले प्रत्यक्ष रुपमा पहिलो पटक बुझ्न पाएको बताउँदै नेता प्रभाकरले भन्नुभयो ‘यति धेरैको सँख्यामा मजदूरहरु उपस्थिति हुन्छन् भन्ने अनुमान गरेको थिईन, यो सम्मेलनबाट मैले मलेसियामा रहेका मजदूरहरुको धेरै समस्याबारे पनि जानकारी पाएँ ।’ प्रभाकरले थप्नुभयो ‘श्रमिकहरुको एकताले नै श्रमिकहरुका अधिकार प्राप्त हुन्छन् । अबैधानिक हुन पुगेका मजदूरहरुलाई बैधानिक बनाउन के के पहल गर्नुपर्छ, त्यसको प्रक्रियामा आफूले खेल्नपर्ने भूमिका खेल्नेछु ।’ आप्रवासी मजदुरहरुको बारेमा पार्टीको धारणा ब्यक्त गर्दै नेता प्रभाकरले भन्नु भयो, ‘लाखौं नेपाली किसानका छोरा छोरी आज आप्रवासी मजदुरको रुपमा रुपान्तरण भएका छन् । यो बिषयमा अगामी माघमा हुने हाम्रो सम्मेलनमा बहसको बिषय बन्नेछ । नेपाली कम्युनिष्ट आन्दोलनमा र अन्तर्राष्ट्रिय मजदुर आन्दोलनमा यी श्रमिकहरुको बारेमा बैचारिक संश्लेषण गर्नु जरुरी छ ।’
प्रगतिशील प्रवासी श्रमिक मंचका सम्मेलन मूल तयारी समिति संयोजक रमेश तुफानको अध्यक्षता र कोपिला गौतमको संचालनमा सम्पन्न सम्मेलनमा प्रमुख अतिथि शर्माले जोडदिदै भन्नुभयो ‘संगठनले उठाएको १३ बुँदे मागलाई सरकारले अविलम्ब पुरा गनुपर्छ । त्यसका लागि हाम्रो पार्टीले पहल गर्नेछ । तपाईहरुले उठाएको जोखिम र परिश्रम केवल तपाईको लागि मात्र होईन, देशकै लागि हो । तपाईहरुको सुरक्षा र रोजगारीको सुनिश्चित हाम्रो राज्यले गर्नु पर्दछ । यसका लागि तपाईहरुले मात्र चुनौतीको सामना गरिरहने होईन ।’
एकीकृत नेकपा माओवादीको महाधिवेशन आयोजक समितिका सदस्य तथा विदेश विभाग एसिया प्रशान्त क्षेत्रीय इन्चार्ज युवराज चौलागाईले मलाय स्वतन्त्र बनाउन हाम्रा पूर्खाहरुले रगत बगाएको र अहिले मलेसिया बनाउनको लागि पनि नेपाली श्रमिकहरुले पसिना बगाइरहेका छन् भन्नु भयो । उहाँले अवका दिनमा श्रमिकहरुलाई नेपालमै रोजगार सृजना गर्नको लागि राजनीतिकदल कटिवद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफ्नो पार्टीले यस क्षेत्रमा बिशेष चासो दिएर अगाडि बढ्ने पनि जानकारी दिनु भयो । कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय मजदुर संयोजक बावुराम गौतमले मलेसिया लगाएत विश्वभर ५० लाख भन्दा बढी नेपाली श्रमिकहरुले काम गर्ने बताउदै उनीहरुका समस्या जर्जर भएको विचार व्यक्त गर्नुभयो । उनीहरुमाथी विदेश र स्वदेश दुवै देशका दलालहरुबाट नयाँ–नयाँ प्रकारका ठगी, शोषण र असुरक्षा बढ्दै गएको उहाँले बताउनु भयो । श्रमिक नेता गौतमले विदेशी भूमिमा दोश्रो दर्जाको नागरिकको रुपमा अपमानित भएर श्रम गरिरहेका दर्जनौं घट्नाले आफूलाई असैह्य पीडा हुने गरेको विचार व्यक्त गर्नुभयो । उहाँले अखिल नेपाल ट्रेड यूनियन महासंघले श्रमिकहरुको समस्या पहिचान गर्दै उनीहरुका समस्याहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दा बनाएर समाधान गर्न आवश्यक परे जस्तोसुकै आन्दोलन गर्न पनि पछि नहट्ने उद्घोष गर्नु भयो ।
करिव १ हजार भन्दा बढीको संख्यामा मलेसियाभरबाट प्रतिनिधिको रुपमा सहभागी श्रमिक अगुवाहरुको जुझारु एकतालाई सलाम गर्दै तानागानिताकी निर्देशक डा. आइरिन फर्नान्डेजले भन्नुभयो – ‘तपाई श्रमिकहरु एक्लै हुनुहुन्न, हामी छौं, कसैले पनि शीर झुकाएर काम गर्नुहुन्न । स्थानीयहरु भनेको सबै तपाईहरुलाई दुःख दिने र शोषण गर्ने दलाल र ब्यबस्थापकजस्ता मात्र हुँदैनन् । स्थानीयहरु तपाईहरुको अधिकार अरुले खोस्न हुन्न भन्ने र तपाईहरुको अधिकार प्राप्तिका लागि सँगै साथ दिने पनि हुन्छन् । तानागानिता तपाईहरुसँग नेपाल श्रमिक संगठन (एनएलओ) मार्फत सहकार्य गर्दै आएको छ । एनएलओको सही आन्दोलनका कारण नै आज यो बृहत एकता प्रदर्शन भएको छ । अब प्रगतिशील प्रवासी श्रमिक मंचमा रुपान्तरण भएको एनएलओले श्रमिक अधिकारको सुनिश्चित गर्नेछ ।’ साझा एकताप्रति जोड दिँदै फर्नान्डेजले भन्नु भयो– ‘मलाई बिश्वास छ, तँपाईहरुको यस्तै एकता अगाडि बढिरह्यो भने मालिक र दलाल मात्र होईन, शोषण र दमन मच्चाईरहेको कुनै पनि राष्ट्रको सरकार र सत्ता पुरै झुक्न बाद्य हुन्छ । यो ताकत श्रमिकहरुसंग छ ।’
विहान १०.३० बजेबाट शुरु भएको सो सम्मेलनमा एकीकृत नेकपा माओवादी प्रचार राज्यसमितिका सदस्य तथा समावेशी मासिकका सम्पादक खिलबहादुर भण्डारीले मलेसियाका गगनचुम्बी घरहरु बनाउन नेपाली मजदूरुहरुको पसिना बगेको विचार व्यक्त गर्नुभयो । सुन्दर र बिकसित यो आधुनिक मलेसिया निर्माणका अभियानमा लागेका नेपाली श्रमिकहरुको आर्थिक सामाजिक अवस्था दयनीयस्थिति देखेर भने आफुलाई अत्यन्त भावविह्ल बनाएको बताउनु भयो । अर्का स्थानीय अतिथि मलेसिया वार काउन्सिलका आप्रवासी कामदारहरुको वकालत गर्ने दातो रामाचेल्भमले कानुनी अधिकार बुझ्न यतिधेरै श्रमिकहरु एकै ठाउँमा भेला भएको देखेर अचम्मित भएको बताए । उनले श्रमिकहरुको कानुनी अधिकारका लागि वार काउन्सिल मलेसिया सधै तयार रहेको धारणा व्यक्त गरे । यसै गरी क्यारम एसियाका संयोजक मोहम्मत हरुणले आप्रवासी श्रमिकहरुको आन्दोलन साझा भएकोले नेपाल जस्ता श्रमिक पठाउने मुलुकहरुका मलेसियामा रहेका आफ्ना राजदुतावासहरुले सक्रिय भूमिका खेल्नु पर्ने बताउनु भयो । दुतावासको निस्क्रियताले श्रमिकहरुले एक्लो महसुस गर्नु परेको घटनाहरु आफूले पाएको बताउँदै हरुणले नेपाली दुतावासले श्रमिकहरुको समस्या सुनुवाई नगरेकोमा चर्को आलोचना गर्नु भयो । त्यसै गरी कार्यक्रममा सहभागी नेपाली राजदूतावासका कार्यवाहक राजदूत लेखनाथ भट्टराई, गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष शंकरबहादुर पौड्याल, मलेसिया नेपाली ब्यापारी समाजका अध्यक्ष राजेश श्रेष्ठ, नेपाल वायु सेवा निगम मलेसिया ब्यबस्थापक श्रीमती रस्सु कार्की, लेखा अधिकृत धर्मसुन्दर शाक्य, स्थानीय समाजसेवी पदम बाबा, लगायतले सम्मेलन सफलताका लागि शुभकामना मन्तब्य राख्नु भयो ।
सम्मेलन आयोजक समितिका तर्फबाट मंचका सेक्रेटरी मानसिंह गोयलाले स्वागत मन्तब्य, सम्मेलन आयोजक समितिका संयोजक इश्वरी ढकालले सम्मेलनको जानकारी तथा सहयोगी, सहभागीहरुलाई धन्याबाद मन्तब्य तथा सहसेक्रेटरी प्रेम पाण्डेले सम्मेलनको तयारीको जानकारी दिएका थिए । सम्मेलनमा श्रमिक साँस्कृतिक परिवारको दोहोरी गीत तथा कृष्ण परियारको एकल लोक गीत एवम अग्नी लिम्बुको बाँसुरी धुनले स्वागत गरिएको थियो । सम्मेलनबाट मानसिंह गोयलाको अध्यक्षतामा ३५ सदस्य प्रगतिशील प्रवासी श्रमिक मंच मलेसिया गठन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको