दोस्रो दर्जाको मान्छे -आन्विका गिरी

१२ चैत्र २०६८, आईतवार २२:०७ मा प्रकाशित

रातको १० बजेको थियो, ऊ कोठामा पस्दा । यसअघि ऊ यति राती मेरो कोठामा कहिल्यै आएकी थिइन । अरू बेलाजस्तो सीधै कोठामा नछिरेर ऊ ढोकामा नै उभिइराखी । बाहिर चिसो थियो । उसले लामो खैरो कोट लगाएकी थिई । त्यही कोटको ठूलठूलो खल्तीमा उसले आफ्ना दुवै हात घुसारेकी थिई । मुख मफलरले छोपेकी थिई । सधैँझैँ निरास देखिन्थी । आँखामा उही रूखोपन थियो ।

“भित्र आइज न !,” मैले बोलाएँ ।

ऊ भित्र छिरी र खाटमा बसी । मैले केही खास कुरा छ भनेर अनुमान लाउनुपर्ने भयो । किनभने, यति राती ऊ पहिलोचोटि आएकी थिई ।

“तँ अझै पढिरहेको ?,” उसले खाटमा असरल्ल परेका मेरा किताब देखेर भनी ।

भोलि मैले महिलाको सामाजिक स्थितिका बारेमा पढाउनुपर्ने थियो । क्याम्पस पढाउन थालेदेखि म खुब पढ्न थालेको छु । आफू पढ्दा सरहरूलाई खुब सताइन्थ्यो । अहिले आफ्नो पालो आएको छ, अलिकति कुरा तलमाथि पर्नुहुन्न ! विद्यार्थीले भेउ पाइहाल्छन् अनि लाजमर्नु पारिछाड्छन् ।

उसले रक्सी पिएर आइछ ।

उसको बोलीसँगै नमीठो गन्ध पनि नाकमा ह्वास्स पस्यो । यो नमीठो गन्धमा अलिकति रक्सी मिसिएको थियो र त्यसभन्दा धेरै उसले रक्सी पिउनुको पीडा ।

“मैले रक्सी पिएँ आज !,” उसले मसित आँखा जुधाएर भनी । मानौँ, उसले भर्खरै कुनै ठूलो युद्ध जितेर आएकी छ । उसको आँखामा रक्सी पिउनुको कुनै ग्लानि थिएन । आँखामा पहिलोपटक रक्सी पिउँदाको जस्तो कुनै भाव पनि थिएन । उसलाई सङ्कोच लागेजस्तो पनि थिएन, न त ऊ लजाएकी नै थिई । उसले चाहेकी भए मसँग कुरा लुकाउन पनि सक्थी, आफ्नै कोठामा गएर भोलिपल्ट केही नभएजस्तो पनि गर्न सक्थी तर अहँ उसले त्यस्तो पनि गरिन ।

“मैले थाहा पाएँ, तेरो मुखबाट गन्ध आइरहेको छ,” मैले भनेँ ।

“चिया खुवाउँछस् ?,” उसले मेरो कुरातिर वास्तै नगरी भनी । म जुरुक्क उठेर चिया बनाउन गएँ ।

“मैले आज राजीवलाई भेटेँ,” उसले भनी, “उसले मलाई लामो सास फेर्न भन्यो, मेरो छाती चेक गर्‍यो र मलाई आराम गर्ने सल्लाह दियो । अब मैले आराम गर्नुपर्छ बुझिस् ?”

ऊ हाँस्न थाली तर यस्तो लाग्थ्यो, बरू ऊ रोएको भए हुन्थ्यो । ऊ जतिजति जोडले हाँस्थी, त्यतित्यति उसको अनुहारमा पीडा रुमल्लिँदै आउँथ्यो ।

राजीव उसकै भाइ हो, आफ्नै । उनीहरूको उमेेरको अन्तर एक वर्षको थियो तर सँगसँगै पढ्थे ।

“म डाक्टर बन्छु, डाक्टर बन्न खुब पढ्नुपर्छ रे !,” ऊ भन्थी र खुब पढ्थी पनि । उसले खेल्ने खेल पनि डाक्टर र बिरामीकै हुन्थ्यो । उसले डोरीको स्टेथेस्कोप बनाएकी थिई, जसलाई कानमा घुसार्थी र साँच्चैको डाक्टरलेे झैँ चेक गर्थी । उसले भन्ने गर्थी, “लामो सास फेर्नुुस् त, खै जिब्रो हेरौँ त ?,” अरू पनि भन्थी, “तपाईंलाई कहाँ कहाँ दुख्छ, मलाई भन्नुस् त, म औषधि दिएर ठीक पार्छु ।”

हामी लाइनमा बस्थ्यौँ, उसँग चेक गराउन । ऊ पक्का डाक्टर लाग्थी, त्यसबेला । यसरी साताको एकपटक शनिबार ऊ डाक्टर बन्थी । यसले औषधि पनि थरीथरीका बनाएकी थिई । झोल भनेर पानी ख्वाउँथी । रिस उठ्यो भने सुई हान्दिन्छु भन्थी र बाँसको कर्चीले घोच्न खोज्थी । यसो गर्दा हामी डराएर आँखा चिम्म पाथ्र्यौं । ऊ मरीमरी हाँस्थी ।

एसएलसीमा उसले जिल्ला टप गरी तर पनि आईएस्सी पढ्न काठमाडौँ आउन उसले खुबै जिद्दी गर्नुपरेको थियो । उसको बुबा ऊ घरमै बसेर नजिकैको कुनै क्याम्पसमा आर्टस् पढोस् भन्ने चाहन्थे तर धेरै जिद्दी गरेपछि मात्र ऊ काठमाडौँ आउन पाई । त्यतिबेला गाउँको हालत ठीकै थियो । आट्र्स नै पढ्न हत्तपत्त राजधानी कोही आउँदैनथे तर मचाहिँ उनीहरूसँग राजधानी छिरेँ । म छोरी हुन्थेँ भने त आट्र्स पढ्न नजिकै कलेज थियो, थुप्रै केटीझैँ मैले पनि बिहान भात पकाएर कलेज गएर फेरि दिउँसो खाजा पकाउन दौडेर घर पुग्नुपथ्र्यो तर छोरा भएकाले आमाबुबाले केही सिक्नुपर्छ भनेर मैले केही भन्नुअघि नै मलाई राजधानी छिर्ने सल्लाह दिनुभयो ।

सँगै त आइयो तर डेरा अलि परपर नै भयो । उनीहरूसँग मेरो खासै भेट हुँदैनथ्यो । म कहिलेकाहीँ उनीहरूको कोठामा पुग्थेँ । सधैँ ऊ किताबमा नै अल्भिmएकी हुन्थी । आँखा जुध्दा मुसुक्क हाँस्थी अनि फेरि किताबमा नै आँखा डुलाउँथी । त्यसो त एउटै गाउँको भए पनि हामी कता हो कता, बोल्ने त होइन । उही अरूहरूझैँ म पनि बिरामी बनेर उसकहाँ जचाउन जान्थेँ अनि अरूझैँ भन्थँे, “डाक्टर भएपछि नबिर्स है ?”

राजीव उतिसारो पढ्ने होइन तर ऊ पनि विज्ञान नै पढ्दै थियो । उसको बुबा ऊचाहिँ डाक्टर बनोस् भन्ने चाहन्थे ।

१५ दिनअघि भेट्दा दिदीभाइ दुवैले महाराजगन्ज शिक्षण अस्पतालमा प्रवेश परीक्षा दिएको भनेर सुनँे उनीहरूकै मुखबाट । त्यसको १५ दिनपछि मेरो राजीवसँग भेट भयो, न्युरोडको टिपटपमा समोसा खाँदै थियो ऊ । खुब भीड थियो, ऊ बसेको टेबलमा ठाउँ खाली थिएन, त्यसैले मैले उभिएरै कुरा गरँे, “के भो रिजल्ट ?”

“दिदीले निकाल्नु भो, मेरो निस्केन,” उसले मुख बिगारेर भन्यो ।

“ए !,” मैले त्यति मात्र भनेँ । भीडमा लामो कुरा गर्ने वातावरण नै थिएन । उसको नाम निस्केकोमा म मख्ख थिएँ तर यो व्यक्त गर्दा राजीवको ननिस्किएकोमा म खुसी भएको अर्थ लाग्न सक्थ्यो । म ऊसँग चुपचाप बिदा भएर आफ्नो बाटो लागेँ ।

केही दिनपछि लगभग दौडिएको शैलीमा हिँड्दै गर्दा मैले उसलाई बागबजारको पद्मकन्या क्याम्पसअगाडि भेट्टाएँ । ऊ हतारमा देखिन्थी ।

“लौ बधाई छ !,” मैले हात दिँदै भनेँ ।

“केको बधाई ?,” उसले नबुझे पनि हात मिलाई ।

“नाम निकालिछस् नि त !,” मैले खुसी व्यक्त गर्दै भनेँ ।

“हो निकालँे, तेस्रो नम्बरमा निकालेकी थिएँ ।”

म सोध्न चाहन्थेँ, पढाइ कस्तो छ ? कलेज कस्तो छ ? अनि, जिस्काउन पनि चाहन्थेँ, “अब त साँच्चिकै स्टेथेस्कोप लगाएर जाँच्नुपर्छ नि !” तर, ऊ हतार छ भनेर हिँडिहाली ।

पछि राजीवले फोन गर्‍यो । म टाउको दुखेर डेरामा नै सुतिरहेको थिएँ ।

“म चाइना जान लागेको,” उसले भन्यो ।

“किन ?” मैले सोधँे ।

“यहाँ नाम निस्केन, अब म चाइनामा गएर पढ्न लागेको ।”

“लौ लौ तिमीहरूकै दिन आउने भयो अब, दिदीभाइ दुवै डाक्टर ! बधाई छ !”

“मैले पढ्ने भएपछि दिदीलाई पढ्न खर्च पुग्दैन नि ! दिदी पढ्नुहुन्न । यही कुराले गर्दा उहाँ रिसाएर एक्लै बस्नुहुन्छ । बरू तिमीले भेट्टायौ भने लिएर आऊ न है !,” राजीवले फोन राखेपछि म आश्चर्यचकित भएँ ।

म त्यस दिन यस विषयमा निकैबेर घोरिएँ । मेरो दिमागमा यसको कुनै रहस्य खुलेन । मेरो टाउको दुखिरहेको थियो, यसले थप दुखायो । र, मलाई सबै कुरा बुझ्न हुटहुटी भयो । म जुरुक्क उठेर राजीवको कोठातिर लागेँ ।

तर, रत्नपार्कको मोडमै ऊ भेट्टइिर् । ऊ आज पनि हतारमा देखिन्थी । तर, यस्तो हतारमा पनि मैले सोधिहालेँ, “कलेज किन ज्वाइन नगरेकी ?”

“म छोरीमान्छे हुँ, बुबाआमा छोरामान्छेबाट पालिन चाहन्छन् अनि ममाथि बेकारमा के लगानी गर्नुहुन्थ्यो ? राजीवले यहाँ नाम निकालेन त के भो ? ऊ छोरामान्छे हो, पछि बुबाआमालाई पाल्छ उसले । त्यसैले उसमाथि लगानी गर्ने हुनु भो,” उसले नक्कली नै भए पनि हाँसेर नै भनी । सायद ऊ आफ्ना पीडाहरू आफैँभित्र दबाउन चाहन्थी ।

“तिमी एक्लै…”, मलाई बीचमा नै रोकेर उसले भनी, “हो एक्लै बस्छु अब । एउटा कोठा खोजिदे है ?”

मैले हुन्छ भनेँ । हामी छुट्टयिौँ, ऊ भक्तपुर जाने बसमा चढी । मलाई बानेश्वरतिर जानु थियो तर मलाई उसका कुराले खै के असर गर्‍यो, म आफ्नै कोठा डिल्लीबजारतिर फर्किएँ ।

नभन्दै राजीव चाइना गयो । छोरी हुनुको नियती स्वीकार्दै ऊ आरआरमा भर्ना भएर बीए पढ्न थाली । ऊ आफ्नो खर्च जुटाउन एउटा स्कुलमा पढाउने काम गर्न थाली । म त्रि-चन्द्रमा पढ्थेँ, डेरा पनि मैले नजिकै खोजी दिएको थिएँ । तर, ऊ त आउन्न थिई । म भने बेलाबेलामा उसलाई भेट्न गइरहन्थेँ । ऊ सधैँ केही न केहीमा व्यस्त हुन्थी । उही हालखबरबाहेक अरू बढी गफ केही हँुदैनथ्यो हाम्रो । उसले आफ्नो सपनाको कदर बाबुआमाबाट नभएपछि घर र्फकनुको औचित्य देखिन र सबै नाता तोडेर एक्लो जिन्दगी बाँच्ने बाटो रोजी, आफ्नो अस्तित्वका लागि सम्झौता गर्न चाहिन ।

म पहिलापहिला गाउँ जाँदा उसका बारेमा नानाथरीका कुचर्चा हुन्थे तर पछि सबै थाके क्यारे ! उसकी आमाले पनि सोध्न छाडिन् । बाबुले त उहिल्यै उसलाई मृत घोषित गरिदिएका थिए ।

ऊ पटक्कै दुःख देखाउन्न थिई तर रूखो स्वभावकी भएकी थिई । दिक्क लाग्यो भन्थी र बेलाबेला बौद्धमा गएर अबेरसम्म बसिरहन्थी । यस घटनाले छ वर्ष पार गरिसकेको थियो । सुरुका केही वर्षमा उमेरको कच्चापनाले पनि होेला, ऊ लखतरान पर्थी, चिच्याउँथी पनि तर पछिल्ला वर्षहरूमा उसले सबै कुरा पचाइसकेकी थिई ।

तर, आज अचानक ऊ विक्षिप्तजस्ती भएकी थिई । मैले चिया बनाएर ल्याएँ । उसले हात नकमाईकन कप समाती ।

“चिनी कस्तो छ ?,” मैले त्यत्तिकै सोधेँ ।

“उसले सेतो एप्रोन लाएको थियो, काँधमा स्टेथेस्कोप भिरेको थियो । ऊ डाक्टर भएछ, डाक्टर !,” उसले मेरो कुरा नसुनेकी हो वा आफ्नो कुरा सुनाउन चाहेकी हो, बोलिरही, “डाक्टर हुन छोरामान्छे हुनुपर्छ बुझिस्, छोरामान्छे ! धेरै पढेर खै म डाक्टर भएँ ? मेरो सपनाको के अर्थ रह्यो । म कति उल्लु रहेछु पढेपछि त डाक्टर बन्न पाइहालिन्छ भन्ने थियो । मैले त म छोरीमान्छे, दोस्रो दर्जाको मान्छे भनेर ख्यालै गरिनछु ।” यसले राजीव फर्केको कुरा कोट्याउन खोजेकी थिई ।

ऊ चिया पिउँदै आफ्नो पीडा ओकल्दै थिई, “म छाडा भएँ रे ! मात्तिएँ रे !” मतिर अलिकति सरी र भनी, “चुपचाप बाबुआमाले भनेको मानेर बिहे गरी तिनलाई हजुरबा-हजुरमा बनाइदिएको भए मख्ख पर्थे होला तर बुझिस् म पनि आजको युगकी स्वास्नीमान्छे हँु । आमाले झैँ सधैँ दोस्रो दर्जाको मान्छे भएर आफ्नो भाग्यलाई दोष दिँदै म किन बाँचूँ ?” उसको प्रश्नको उत्तर मसँग थिएन ।

चिया सकियो, उसले कप टेबलमा राखी र हाँस्दै भनी, “यो रक्सी पनि बेइमान रहेछ बुझिस् ?”

“कसरी ?,” अबचाहिँ म पनि बोलेँ ।

“हेर् न आज मलाई बेस्सरी मातेर खुट्टा लरखराउँदै टोलमा हल्ला गर्न मन लागेको थियो । बहुलाउन मन लागेको थियो । तर, रक्सीले पनि छोरीमान्छे भनेर चिनेछ । खै मातै लागेन ! मेरो आँखा हेर त ! खै जँड्याहाको जस्तो रातो भएको ? ल हेर म ठमठम हिँड्न सक्छु,” ऊ जुरुक्क उठी र कोठाको एक चक्कर लगाई । भान्छासहितको मेरो त्यो सानो कोठामा हिँड्ने ठाउँ नै कहाँ थियो र ! “देखिस् ! मैले पाँच पेग खाएकी थिएँ । बेराले भन्थ्यो कहिल्यै नखाने मान्छे दुई पेगमा नै मात्छन् । सब बेइमानहरू !”

ऊ लगातार बोलिरहेकी थिई र म यसका कुराहरू पुराण सुनेझैँ चुपचाप सुनिरहेको थिएँ । ऊ भन्दै थिई, “म छोरा भएको भए यतिबेला मेरो नामको अघि डाक्टर लेखिन्थ्यो । बुझिस् ! मान्छेका सपना मात्र दुईथरीका हुँदा रहेछन्, एउटा छोरामान्छेका सपना, जसले सधैँ आकार पाउँछ अनि अर्को छोरीमान्छेको सपना, जो जिन्दगीभरि काँडा भएर बिझ्छ । म मेरा सपनाका काँडाहरूमाथि हिँडिरहेछु ।”

रातको १२ बजेको थियो । ऊ मेरो कोठाबाट मैले रोक्दारोक्दै हुर्रिंदै सडकमा निस्की र फत्फताउँदै हिँडी, “हामी नारीका सपनाहरू यही अँध्यारोमा विलीन हुन्छन् ।”

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार