अब पाँच एसएसपी र ३२ डीएसपीको बढुवाको पालो, लाखौंको प्रस्तावसहित शक्ति केन्द्रमा दौडधुप सुरु

६ पुष २०६९, शुक्रबार ०९:४४ मा प्रकाशित

काठमाडौं, ६ पुस । तीन सातादेखि रिक्त नेपाल प्रहरीको पाँच डीआईजी पदमा गत बुधबारको मन्त्रिपरिषद् बैठकले पदपूर्ति गरेपछि रिक्त हुन आएको एसएसपी पदमा बढुवा हुन चर्का प्रतिस्पर्धा शुरु भएको बुझिएको छ । प्रहरी महानिरीक्षकमा कुवेर सिंह रानाको बढुवा होस् या पाँच एआईजीको बढुवा नै किन नहोस्, वरिष्ठताक्रमलाई नै मान्यता दिइकोमा एसएसपीबाट डीआईजी सरुवा गर्दा कार्यदक्षताको आधारमा बढुवा गरिएपछि अन्य पदका प्रत्यासी तनावमा परेका छन् भने बढुवा नपाएकाहरु असन्तुष्ट र अब के गर्ने भन्ने अन्योलमा परेका छन् ।
बढुवा नपाएर असन्तुष्ट रहेका सात एसएसपीलाई पछिल्लो व्याचका केही चलाख एसएसपीले ‘राजीनामा गर्न’ उक्साइरहेको बताइन्छ । उनीहरुले राजीनामा गरेको खण्डमा रिक्त पदमा आफ्नो बढुवा हुने स्वार्थ पछिल्लो व्याचकामा रहेको बताइन्छ । तर, बढुवा नपाए पनि शान र मान तथा गाडी, गार्ड सुविधा हुने भएकाले असन्तुष्टि जनाएरै भए पनि जागिरमा टिकिरहने अवस्थामा उनीहरु छन् भने राजनैतिक दलका नेता र मन्त्रीलाई पैसाको बिटो बुझाउनुभन्दा आफ्नै अग्रज सहकर्मीलाई केही रकम उपलब्ध गराएर राजीनामा गराउन सके उनीहरु पनि खुसी हुने र आफ्नो पनि स्वार्थ पूरा हुने योजनामा पछिल्लो व्याच सक्रियताका साथ लागि परेको बुझिन्छ ।
हाल बढुवा भएका पछिल्लो व्याचका चारमध्ये एकले प्रहरी महानिरीक्षकको पच्चिसौं नेतृत्व पाउने अपेक्षा गरिएको छ । त्यसैले पनि एसएसपीको पछिल्लो व्याचले अघिल्लो बढुवा पाउन नसकेको व्याचकालाई राजीनामा गराउन लागिपरेका हुन् ।
प्रहरी उच्च स्रोतका अनुसार दुईचार दिनभित्रै पाँच एसपीको एसएसपीमा बढुवा गर्न प्रहरी प्रधान कार्यालयले तयारी अघि बढाएको छ । उक्त पदपूर्तिमा बढुवा पाउन खासगरी बीस प्रतिस्पर्धीले ज्यानै छाडेर आफ्नो बढुवा गराउन लागि परेका छन् । प्रतिस्पर्धी मध्येका केही कनिष्ठले मनी र मसलको समेत प्रयोग गर्न ठाउँ ठाउँमा प्रस्ताव गरेको जानकारीमा आएको छ ।
यसअघि सात एसएसपीलाई कार्यक्षमतामा कमजोर तथा विभिन्न प्रकरणमा नसियत पाएको आरोपमा बढुवा नदिइएपछि एसपीबाट एसएसपीमा बढुवा हुनेहरुमा पनि तनाव बढेको छ । हाल वरिष्ठता क्रममा ठाकुरराम बर्ताैला एक नम्बरमा रहेका छन् । उनको जागिरे अवधि आठ महिनामात्रै रहेको अवस्था छ । २०४० भदौ १ गते प्रहरी सेवामा प्रवेश गरेका उनको ०६३ भदौ ८ गते एसपीमा बढुवा भएको थियो । उनको व्याचका मात्रै नभएर त्यसपछिको व्याचका पनि थुप्रैको यसअघि नै एसएसपीमा बढुवा भइसकेको छ । आफ्नो व्याचमा बढुवा हुनबाट छुटेका बर्ताैला एक्लो हुन् ।
त्यस्तै, २०६४ साउन १ गते बढुवा हुने समुहका बलराम शर्मा पौडेल यसअघि भरतपुर तालिम केन्द्रमा रहँदा प्रहरी भर्नामा खुलेआम घूस खाएको आरोपमा विवादीत मानिन्छन् । उनी एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल निकट हुन् । त्यस्तै पुष्पचन्द्र रंजित काठमाडौंका नेवार समूदायले च्यापेका प्रतिस्पर्धीमा पर्छन् । त्यस्तै, २०४६ माघमा प्रहरी सेवा प्रवेश गरेका धीरु बस्नेत प्रहरी संगठनभित्र अलग सन्काहा अफिसरका रुपमा चिनिन्छन् । उनले यसअघि विभिन्न शक्तिकेन्द्रलाई प्रभावमा पारेर आफ्नो बढुवा छिटो र सूचीमा अघि पार्न सफल भएका बताइन्छ । रुकुममा प्रजीअसँग परेको भनाभैलो र विभागले नसियत दिएको अवस्थाका उनलाई भावी आईजीको हल्लामा रहेका डीआईजी राजेन्द्र सिंह भण्डारीले च्यापेका कारण त्यो नसियत समेत गुपचुपमै फुकुवा भइसकेको बताइन्छ ।
त्यसैगरी ज्ञान विक्रम शाह पनि प्रतिस्पर्धीमै देखिएका छन् भने श्याम खड्का धनुषा र हेटौंडा जेलकाण्डमा विवादीत एसपीमा दर्ज भएका छन् । कृष्णप्रसाद गौतम नवलपरासीमा रहँदा निलम्वनमा परेको भए पनि पछि उक्त काण्डलाई सामसुम पारिएको थियो भने शरद चन्द कपिलवस्तु जेलकाण्डमा विवादीत हुन् । पवन प्रसाद खरेलमाथि इन्स्पेक्टर र डीएसपी हुँदा सवारी लाइसेन्स बिक्री गरेको आरोपले अहिले पनि छाडेको छैन । प्रेम चन्द, श्यामबहादुर खड्का २०४५ व्याचका हुन् भने मनोज न्यौपाने र दिपक कुमार थापा २०४६ को व्याचका हुन् । २०६४ साउन १ गते डीएसपीबाट एसपी भएको यस समुहमा कार्य दक्षताअनुसार हाल प्रतिस्पर्धाको ११ नम्बरमा रहेका श्याम बहादुर खत्री सबैभन्दा उत्कृष्ठ मानिन्छन् । उनले कार्य दक्षताकै आधारमा दुई पटक ग्रेड थप र कयौं पटक नगद पुरस्कार पाइसकेका छन् भने विभिन्न विभूषण पनि हातापारेका छन् ।
यसबाहेक ०६४ पुष ३० गते बढुवा पाएको पाँच जनाको समूह पनि एसएसपीका लागि प्रतिस्पर्धामा रहेको छ । जसमा हालका प्रहरी महानिरीक्षक कुवेर सिंह रानाका निजी सहयोगी पुष्कर कार्की, बिक्रमसिँह थापा, शुशील कुमार भण्डारी, भुपाल कुमार भण्डारी र गुप्तबहादुर श्रेष्ठ रहेका छन् । विक्रम, भूपाल र गुप्त २०४३ व्याचका भए पनि पुष्कर र शुशील भने ०४६ ब्याचका हुन् । कार्यक्षमताकै आधारमा बढुवा गरिए विक्रमसिंह थापा एसएसपीमा एक नंबरमा पर्ने सुत्रको कथन छ ।
स्रोतका अनुसार प्रहरी महानिरीक्षक रानाका निजी सहयोगी रहेका पुष्कर कार्कीले आफ्नो जसरी पनि बढुवा गराउनु पर्ने भन्दै विभिन्न शक्तिकेन्द्रबाट समेत महानिरीक्षकलाई दबाब दिइरहेको बुझिएको छ । महानिरीक्षकमाथि हावी भएको आरोप समेत एसपी पुष्करमाथि लागिरहेको अवस्था छ । कुवेर सिंह राना महानिरीक्षक भएपछि गरिएको पहिलो काज सरुवा उनै एसपी पुष्करको थियो । काँग्रेसका शिर्ष नेतालाई जसरी पनि नजिक राख्ने विश्वास आईजीपी रानालाई एसपी पुष्करले दिलाएको बताइन्छ । हेरौं, पाँचवटा मात्रै रिक्त एसएसपी पदमा वरिष्ठताका आधारमा पन्ध्रौ नम्बरमा रहेका उनी कुन अवस्थाले एसएसपी बन्लान् ?
हाल पाँच एसएसपीको दरवन्दी रिक्त छ भने त्यो पूर्ति गरिएपछि हाल रिक्त २६ तथा १ महिला कोटा र बढुवापछि हुने ५ रिक्त पद गरी बत्तिस डीएसपीको एसपीमा बढुवा हुँदैछ । जसका लागि महिला कोटामा हाल प्रहरी परिसर, ललितपुरमा कार्यरत डीएसपी पुजा सिंहको करिव करिव कन्फर्म जस्तै देखिएको छ भने रिक्त एकतिस पदमा यसअघि ५८ सालमै डीएसपी भएर आफ्नो व्याचमा एसपी बढुवा हुन छुटेका अजय भट्टराई र प्रकाश अधिकारी सहित ०६२ जेठ र साउनमा डीएसपी भएका चार दर्जन बढी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार