जनताको निक्षेपमा खेतानको मस्ती

५ पुष २०६९, बिहीबार ०६:३७ मा प्रकाशित

काठमाडौं, ५ पुस । जनताको पैसामा उद्योग–व्यवसाय गर्ने र कारणवश क्षति पुगेमा जनताकै पैसाबाट असुलउपर गरी लिने धन्दा अपराध हो कि व्यवसाय, अब प्रश्न उठेको छ । सरकार तथा नियमक निकाय नेपाल राष्ट्र बैंक व्यापारीहरूप्रति ‘नतमस्तक’ भएका कारण यसप्रकारको ठगी धन्दा गर्नेहरूले मस्तीको मौका पाइरहेका छन् । नेपालमा लामो समयदेखि एउटै व्यक्ति बैंकमालिक, उद्योग व्यवसायको लगानीकर्ता र बिमा कम्पनी सञ्चालक रहँदै आएका छन्् । उद्योगी घरनाका नाममा प्रख्यात रहेको र सरकारले आर्थिक अपराधअन्तर्गतको कालोसूचीमा राखेका व्यक्तिहरूको लगानी यी तीनवटै क्षेत्रमा प्रसस्तै रहेको छ । यस्ता व्यापारीहरूले आफ्नो व्यवसायमा कृत्रिम क्षति देखाएर बिमा कम्पनीबाट मोटो रकम असुलिरहेका छन् ।
बिमा कम्पनी तथा बैंकमा सर्वसाधारणले पैसा जम्मा गर्ने गर्छन् । तर, जनताले जम्मा गरेको पैसामा नेपालमा व्यवसाय गरिरहेका तथा व्यापारको नाममा अन्य धन्दामा संलग्न रहेका व्यक्तिहरूले मस्ती गरिरहँदा पनि सरकार तमासे मात्र बनेको छ । उसले कसैलाई कारबाही गर्न सकेको छैन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली पनि नेपालमा एकै व्यक्तिले धेरै क्षेत्रमा लगानी गरिरहेको बताउँछन् । ‘बैंक तथा  इन्स्योरेन्समा समेत लगानी गर्नु नेपालका उद्योगीका लागि पहिलो ध्येय बन्ने गरेकाले एउटै ग्रुपले धेरैतिर होल्ड गरिरहेको देखिन्छ,’ ज्ञवालीको भनाइ थियो, ‘साना–ठूला सबै व्यापारीले बैंक तथा इन्स्योरेन्स कम्पनीमा लगानी गरेका छन्,’ उनले थपे, ‘एकै व्यक्तिले धेरैतिर लगानी गर्न पाउने–नपाउने भन्ने कुनै नीतिनियम नभएकोले यस्तो देखिएको छ ।’ उनले यसबारेमा निकैतिरबाट कुरा उठे पनि केही गर्न नसकिएको बताए ।
अर्थ मन्त्रालयका सहसचिव राजन खनालले पनि एकै व्यक्तिले धेरैतिर लगानी गरेको र यसलाई नियन्त्रण गर्नुपर्ने कुरा उठेको बताए । एकै व्यक्तिले बैंक, इन्स्योरेन्स तथा उद्योगमा लगानी गर्दा सबैतिर प्रभावमा पारेर आफ्नो स्वार्थ पूरा गर्न सजिलो हुने भएकोले धेरैले सबैतिर लगानी गरेको देखिन्छ । ‘अहिले त्यस्तै देखिएको छ,’ उनले भने, ‘सर्वसाधारणको रकममा सीमित व्यापारीले फाइदा उठाइरहेको देखिन्छ ।’
यसरी जनताको पैसामा मस्ती गर्ने ठगी धन्दाका सबभन्दा ठूला खलनायकका रूपमा राजेन्द्र खेतान देखिएका छन् । उनले खेतान समूहका नाममा जनताको पैसामा मस्ती गरिरहेका छन् । खेतान कर छलीमा पनि अगाडि नै रहेका छन् । उनको बियर कम्पनीले कर छलेपछि सरकारले दुई वर्षअघि दश करोड तिराएको थियो । तर, उनको कम्पनीले ९० करोडभन्दा बढी कर तिर्नुपर्ने अवस्था रहेको बताइन्छ ।
नेकपा मालेलाई मोटो रकम चढाएर सभासद्समेत बनेका राजेन्द्र खेतानले लक्ष्मी बैंकमा लगानी गरेका छन् । उनले बैंक अफ काठमाडौंमा करोडौँको सेकेन्डरी सेयर किनेर आफ्नो लगानी भित्र्याएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार कुनै पनि एउटा बैंकमा १५ प्रतिशतभन्दा सेयर छ भने अन्य बैंकमा एक प्रतिशतभन्दा बढी लगानी गर्न पाइँदैन । तर, खेतानलाई त्यो नियमले छोएको छैन । खेतान प्राइम लाइफ र एभरेस्ट इन्स्योरेन्सका पनि मालिक हुन् । उनले ती दुबै इन्स्योरेन्सबाट सङ्कलन भएको जनताको पैसामा रजाइँ गरिरहेका छन् । खेतानले केही समयअघि बनेपास्थित मायोज चाउचाउको कारखानामा आगलागी भएको भनी नक्कली क्षतिको विवरण बनाएर आफ्नै इन्स्योरेन्स कम्पनीबाट चार करोडभन्दा बढी रकम लिएका थिए । यसमा राजेन्द्रसँगै प्रेमप्रकाश खेतान, गोपीकृष्ण सिकरिया, कुमारकिशोर विष्ट, नारायण बजाजलगायतका व्यापारी पनि सहभागी भएका छन् ।
यस्तै, त्रिवेणी ग्रुप, अग्रवाल समूह, माडवारी समूह, एनबी ग्रुप, चौधरी ग्रुप, दुगड, केडिया, ज्योतिलगायतका व्यापारी घरनाहरू रहेका छन् । यी ग्रुपमा आबद्ध व्यापारीमा चौधरीबाहेक सबैले बैंकबाहेक इन्स्योरेन्समा समेत लगानी गरेका छन् । नेपालमा सरकारी लगानीका जम्मा तीनवटा बैंक छन् । राष्ट्रिय वाणिज्य बैंकमा सरकारको पूर्ण लगानी छ भने नेपाल बैंकमा लगभग ५० प्रतिशत र कृषि विकास बैंकमा त्यसभन्दा केही कम र बाँकी निजी क्षेत्रको लगानी छ ।
यसरी एकै व्यक्ति, ग्रुप वा ग्रुपमा आबद्ध व्यक्तिहरूको परिवारले बैंक, इन्स्योरेन्स तथा अन्य व्यापारिक कम्पनीहरूमा लगानी गर्न नदिने हो भने मात्र सर्वसाधारणको रकम सुरक्षित हुने देखिन्छ । त्यसैले सरकारले यसबारे तत्कालै कानुन बनाएर लागू गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार