लोभी–पापीहरु बीचको साँठगाँठलाई सहमति मान्न सकिन्न :: नेत्रविक्रम चन्द ‘विप्लव’ (सचिव, नेकपा–माओवादी)

२ पुष २०६९, सोमबार २०:२५ मा प्रकाशित

० मुलुक सहमतितिर गयो नि, तपाईंलाई कस्तो लागिरहेको छ ?

– कुनै सहमति भयो जस्तो मलाई त लाग्दैन । खै कहाँ के सहमति भयो ? दुईचार जना तिनै–तिनै मानिसहरु कहिले कहाँ भेला हुन्छन्, कहिले झगडाको नाटक गर्छन्, कहिले फेरि मिलेझैँ गर्छन्, कथित केही बुद्धिजीवि तथा सञ्चारकर्मीहरु उनीहरुकै पछि लागेका छन्, तिनै बढाईचढाई र बदख्वाइँ गरिरहेछन्, एक प्रकारले यहाँ तमासा चलिरहेछ, तर देश र जनताको पीडा उहीँको उहीँ छ । अनि कसरी भन्ने सहमति भयो भनेर ? सहमतिको जो डङ्का फुकिएको छ, यसले देशको समस्यालाई निकास दिन सक्दैन ।
० नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने सहमतिमा पुगे नि प्रमुख चार दलहरु त, यसले अब संविधानसभाको निर्वाचनतिर देशलाई लैजान्छ, अनि निकास मिल्दैन र ?
– पात्र फेर्दैमा निकास निस्कने त होइन नि, कस्तो कुरो नबुझेको भन्या ? रोग एकातिर छ औषधिको स्वाँग अर्कोतिर रचेर कहिले ठिक हुन्छ ? जुन संविधानसभा निर्वाचनको कुरा गरिँदैछ, यो सब बकवास हो, ‘डमी’ संविधानसभाले केही दिनेवाला छैन । यो सबैले समयमै बुझ्दा हुन्छ ।
० संविधानसभाको चुनावले निकास दिन्छ भनेर सबैले भनिरहेका छन्, के तपाईंहरु त्यो चुनावमा भाग नलिने ?
– एउटा कुरा यो बुझौँ कि यहाँ जसले चुनावको रट लगाइरहेका छन् त्यो फाल्तु कुरा हो, चुनाव गराउने मकसदबाट यो कुरा गरिएकै होइन । अर्थात्, चुनाव नै हुनेवाला छैन भने भाग लिने या नलिने विषयमा निरर्थक कुरा अहिले किन गरिरहने ? रहे–भएको वास्तविक संविधानसभालाई विघटन गर्ने अनि डमी संविधानसभाका लागि निर्वाचनको ढोल किन फुक्ने ? नक्कली, ढोँगी, पाखण्डी कुरा हो फेरि संविधानसभाको निर्वाचन गर्ने कुरा ।
० अहिलेको अवस्थामा संविधानसभाको निर्वाचनलाई अस्वीकार गर्नु जायज र सामयिक हुन सक्छ र ?
– संविधानसभा हुनेवाला नै छैन भनेको । स्वीकार र अस्वीकार, सामयिक र असामयिकको कुरा किन गरिरहने ? भएको संविधानसभालाई किन विघटन गरेको भन्ने प्रश्नको जवाफ दिनसक्छन् यी धुन्धुकारीहरुले ? त्यसपछि कुरा गरौँला के जायज र नाजायज भन्ने ।
० तैपनि बताइदिनुस् न सुशील कोइरालाको उम्मेदवारीलाई कसरी लिनुहुन्छ तपाईं र तपाईंको पार्टीले ?
– सुशीलजीको व्यक्तिगत जीवनबाट म प्रभावित छु । उहाँले आफ्नो नीति, सिद्धान्त र विचारका लागि जुन त्याग गर्नुभएको छ त्यो अनुकरणीय छ । अहिलेका नयाँ जोगीहरुले अनुहारमा बाक्लो खरानी घसेर देश र जनतालाई ढाँट्दै हिँडेका छन्, तिनीहरुको जीवनभन्दा त सुशीलजीको जीवन कता हो कता प्रशंसनीय छ । यस हिसाबमा उहाँलाई माने पनि अन्य राजनीतिक सिद्धान्तका आधारमा त मैले उहाँको उम्मेदवारीलाई यत्तिकै स्वीकार गर्नुपर्छ भन्ने कुरा आउँदैन ।
० चाहेको के हो त तपाईंहरुले अहिलेको अवस्थामा ?
– नयाँ सहमति खोजेका हौँ हामीले । जनयुद्धका प्रस्तावहरुसँगको सहमति खोजेका हौँ हामीले । गिरिजा र प्रचण्डले गरेको सिग्नेचरको इमानदारीपूर्ण कार्यान्वयन हुने सहमति खोजेको हामीले । आजको आवश्यकता पनि यही हो ।
० एमाओवादीले अब मान्ला र तपाईंहरुको कुरा ?
– कस्को कुरा गरेको ? पतन भइसकेकाहरुको किन कुरा गर्ने ?
० कसरी पतन भयो त एमाओवादी ?
– जायज मुद्दाहरु सबै छोडेपछि के भयो भन्ने त ? माओवादको सिद्धान्त सबै छोडेपछि पनि माओवादी भइरहन मिल्छ र ?
० तपाईं प्रचण्डसँग अत्यन्त निकट रहेर काम गरेको व्यक्ति हुनुहुन्छ, किन यस्तो कुरा गर्नुभएको ?
– एकै राजनीतिबाट काम सुरु गरेकाहरु विचार र व्यवहार मिल्दासम्म निकटताका साथ एकै ठाउँमा रहनु कुनै नयाँ कुरा होइन । अब उहाँले गति छोडिसक्नुभयो, नेपाली जनता र जनयुद्धलाई धोका दिएर सत्ताको राजनीतिमा फाल हानिसक्नुभयो भने म के कुरा गरुँ त ? भगवान् मानेर पूजा गरिरहुँ ?
० बाबुराम भट्टराईको सरकार त जाने भयो नि, अब त खुशी हुनुहोला नि ?
– बाबुरामजीसँग मेरो कुनै रिसराग छैन, उहाँ गए पनि बसे पनि भन्नु केही छैन । हामीले त आम नागरिकको सुदिनका लागि उचित व्यवस्थाको कुरा गरेका हौँ । यही स्थितिमा त बाबुरामजी गए पनि बसे पनि के र ? मेरो भनाइ के भने बाबुरामजी हुँदाखेरि सहमतिको सरकार नहुने, सुशीलजी भए सहमतिको सरकार हुन्छ भन्ने होइन ।
० तपाईंहरु त बाबुरामको सरकार जसरी पनि हट्नै पर्छ भनिरहनुभएको छ नि, होइन र ?
– उहाँ हट्नुपर्छ भनेर मात्रै होइन, राजनीतिक रुपले नेपालमा राष्ट्रिय स्वाधीनताको विरुद्धमा जो कामहरु भएका छन्, जनअधिकारका विरुद्धमा जो कर्महरु भएका छन्, जुन रुपमा भ्रष्टाचार बढेको छ, महंगी र कालोबजारीले देशलाई अघात पुरयाएको छ, यो स्थितिको सरकारले जिम्मा लिन सक्दैन भने छोड्नुपर्छ भनेका हौँ हामीले, चाहे बाबुराम हुन् या अर्को कोही ।
० तपाईंहरुको चाहनाअनुसार रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्री बन्ने सम्भावना नरहेकोले विरोध गर्नुभएको पनि भन्छन् नि ?
– उहाँ भए त राम्रै कुरा हो । हाम्रो तर्फबाट अघिसारिएका एजेण्डाहरु पूरा गराउन त बादलजी भएको राम्रो हो हाम्रा लागि । माओवादीका युद्धकालीन प्रस्तावहरुलाई क्रियान्वयन गराउनका लागि हामीसँग योजनाहरु छन्, लिडरहरु छन् त भनिरहेकै छौँ नि । तर, तपाईंले लगाएको आरोपचाहिँ सत्य होइन ।
० तपाईंको पार्टीभित्र पनि जनविद्रोहमा जाने कि नजाने भन्नेमा विवाद त सुरु भएछ नि, होइन ?
– अरुले तलाउमा ढुङ्गा हानिदिएको कुरा मात्र हो यो । हाम्रो पार्टी त शान्त ढङ्गबाट अघिबढिरहेको छ । यस्ता हल्लाको पछाडि कुनै तुक छैन ।
० अध्यक्ष बैद्यले त जनबिद्रोहमा जान हुदैन भनी राजनीतिक प्रतिवेदन तयार गर्नुभएको कुरा छ त ?
– कतिपय सञ्चारकर्मी साथीहरुले लौ माओवादीले उग्र बाटो लिने भयो भनेर प्रोपोगण्डा फैलाइदिएको सन्दर्भसँग जोडिएको कुरा मात्र हो यो, यसमा धेरै टाउको नदुखाए हुन्छ ।
० जनताले दीगो शान्ति चाहेका छन्, यस्तोमा के जनयुद्धमै जानुहुन्छ त तपाईंहरु ?
– हो जनताले शान्ति चाहेका छन् । तर शान्ति त यस्तो होस् जसले जनताको जीवनलाई रक्षा गरोस्, नयाँ र समृद्ध भविष्य देओस्, देशको स्वाधीनतालाई रक्षा गरोस्, त्यस्तो शान्ति पो शान्ति त । जनताको गाँस–बास लुट्ने प्रकृतिको शासनले पनि कहीँ शान्ति मिल्छ ? मुट्ठीभर मानिसलाई स्वर्ग दिने, आमजनतालाई नरकमा धकेलिदिने, यस्तो पनि शान्ति हुन्छ ? कसले चाहन्छ यस्तो शान्ति ?
० यदि नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने भयो भने तपाईंहरु सहभागी हुने कि नहुने ?
– यो त हामीले स्पष्ट पारिसकेका छौँ नि । जब हामीलाई सहमतिको प्रक्रियामा सहभागी नै बनाइएको छैन भने ह्वात्तै त्यत्तिकै सरकारमा जाने कुरा आउँदैन । हामी के भनिरहेका छौँ त्यसको सुनुवाई नै भएको छैन । हामी आफ्नो एजेण्डामा अडिग छौँ, आन्दोलनले नै कहाा लैजान्छ, हामी त्यसैको पर्खाइमा छौँ । आजको मितिमा तीन–चरजनाले सहमतिको डङ्का जो पिटिरहेका छन्, यसको भुलभुलैयामा हामी फसेका छैनौँ भनेर बुझौँ । जुन प्रक्रियामै सहभागी हामी छेनौँ, यस्तामा मन्त्रीको गाडी चढ्न ब्रिफकेस बोकेर कुँदहिाल्छौँ भन्ने कसैले ठानेका छन् भने त्यो महाभूल हो ।
० सहमतिको विरोधि त तपाईंहरु होइन नि ?
– कसरी विरोधि हुनसक्छौँ ? तर, सहमति ‘रियल’ हुनुपरयो । वास्तविक सहमतिको बिरोधि हामी हुनै सक्दैनौँ । देखावटी सहमतिसँगचाहिँ हामीलाई घृणा छ । सहमतिको जो कुरा गरिएको छ, यसले कुनै नयाँ एजेण्डा बोकेर आएको छैन । लोभी–पापीहरुबीच कुरा मिल्दैमा त्यसलाई वास्तविक सहमति भन्न त मिल्दैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले आजदेखि चितवनमा हुन लागेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर नेकपा एमालेको दशौं महाधिवेशनमा सहभागी हुन चितवनमा छन् । महाधिवेशन आज

काठमाडौँ । चितवनमा १०–१२ मंसिरसम्म हुन लागेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । केन्द्रीय नेताहरू जिल्ला

नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवाली बौद्धिक र शालीन नेताका रुपमा परिचित छन्। चितवनमा हुन लागेको पार्टीको १० औं महाधिवेशनका एजेन्डा

आजको प्रमुख समाचार