वैभव फाइनान्सलाई डुबायो ‘गुड फर पेमेन्ट’ले

१ पुष २०६९, आईतवार १२:३४ मा प्रकाशित

काठमाडौं, १ पुस । एचएण्डबी डेभलोप्मेन्ट बैंकको एकजना मेनेजरले गरेको गलत क्रियाकलापले अर्काे फाइनान्स कम्पनीलाई डुबाएको छ । यसबाट त्यसका सञ्चालक तनावमा परेका छन् भने लगानीकर्ताहरुमा त्रास छाएको छ । ‘गुड फर पेमेन्ट’ चेकको आधारमा करोडौं ऋण प्रवाह गर्दा राजधानीको मध्यबानेश्वरस्थित वैभव फाइनान्स डुब्ने अवस्थामा पुगेको हो ।
एचएण्डबी डेभलोप्मेन्ट बैंकको कुलेश्वर शाखाका मेनेजेर निरज नेपालले केही व्यापारीको मिलोमतोमा यसरी गोप्य ढंगबाट करोडौंको ‘गुड फर पेमेन्ट’ चेक इश्यू गरेका थिए । त्यही चेकको आधारमा वैभव फाइनान्सले ६ करोड बराबरको ऋण प्रवाह गरेको छ । ‘गुड फर पेमेन्ट’ चेक नगद सटही गर्न सकिने भए पनि ऋण प्रवाह गर्न नमिल्ने कानूनी व्यवस्था भएकाले अब वैभव फाइनान्सले प्रभाव गरेको कर्जा असुल हुने अवस्था त छैन नै, दुई वर्ष अघि मात्रै सञ्चालनमा आएको उक्त फाइनान्स अब माथि उठ्ने अवस्थामा छैन । सञ्चालक समिति र कर्जा समितिलाई समेत जानकारी नगराइकनै वैभव फाइनान्सका प्रवन्ध सञ्चालक केशवनरसिंह राजभण्डारीले आफ्नो स्वार्थमा त्यत्रो ऋण प्रवाह गरेको पाइएको छ । प्रवन्ध सञ्चालक राजभण्डारीलाई बढीमा पचास लाखसम्म ऋण प्रवाह गर्ने अधिकार दिइएको र त्यसभन्दा माथिको कर्जा प्रवाह गर्दा सञ्चालक समितिको सहमती लिइनु पर्नेमा आफ्नो अधिकार प्रयोग गर्दै पचास लाखका दरले बाह्र–तेह्र चरणमा उक्त कर्जा प्रवाह गरिनुले प्रवन्ध सञ्चालक राजभण्डारी कारवाहीको दायराबाट जोगिने अवस्थामा छैनन् । वित्तिय अपराधमा उनी जोडीने निश्चित छ । करुणा गोविन्द श्रेष्ठ अध्यक्ष रहेको वैभव फाइनान्सको सञ्चालक समितिमा गणेश बहादुर श्रेष्ठ, बिजेन्द्र श्रेष्ठ, सुदर्शनधर प्रधानाङ्ग, दिपा बराल सञ्चालक छन् । त्यसमा राजभण्डारी प्रवन्ध सञ्चालक हुन् । राजभण्डारी दम्पत्तीको उक्त फाइनान्समा डेढ करोड बराबरको शेयर लगानी रहेको छ भने अन्य परिवारको पनि मोटो शेयर लगानी रहेको बताइएको छ ।
यहीबीच, कर्जा प्रकरणपछि वैभव फाइनान्समा लगानीकर्ताबीच कोलोहोलो मच्चिएको छ भने सञ्चालक समितिका पदाधिकारी कारवाहीमा तानिने भयले आतंकित बन्न पुगेका छन् । राष्ट्रबैंकको निर्देशनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी)ले वैंकिङ कसुर गर्नेमाथि धमाधम पकडधकड अभियान जारी राखेका बेला वैभव फाइनान्सले पनि ‘गुड फर पेमेन्ट’ चेक सटही गर्नु पर्नेमा त्यसैलाई आधार मानेर कर्जा प्रवाह गर्नूलाई राष्ट्र बैंकले ‘गैर कानूनी क्रियाकलाप’ भनेको छ । राष्ट्र बैंकले नै वैभव फाइनान्सको क्रियाकलापप्रति शंका व्यक्त गरेपछि त्यसको सञ्चालक समितिको आकस्मीक बैठकले प्रवन्ध सञ्चालक केशव नरसिंह राजभण्डारीलाई निलम्वन गर्नुका साथै उनी एक्लैले त्यो बद्मासी गरेकाले उनकै चलअचल सम्पत्तीबाट फाइनान्सको सम्पत्ती असुलउपर गराइदिन पनि राष्ट्र बैंकसमक्ष लिखित आग्रह गरेको खुलेको छ । स्रोतका अनुसार राजभण्डारीको नाममा रहेको थुप्रै सम्पत्ती रोक्का गर्न पनि वैभवको सञ्चालक समितिले राष्ट्र बैंकलाई आग्रह गरिसकेको छ ।
यसअघि नै आईपीओ जारी गर्नका लागि कर्जा नतिरेर कालो सूचिमा रहेका प्रमोटर शेयर होल्डर हटाउन नसक्दा अप्ठ्यारोमा रहेको वैभव फाइनान्स पछिल्लो प्रकरणपछि उठ्नै नसक्ने गरी थला पर्ने भएको छ । त्यहाँ कालो सूचीमा परेका मधुसुधन सिलवाल र उनकी साली गिता पुरीको एक करोड पैचालीस लाख बराबरको शेयर लगानी रहेकाले उनीहरुलाई नहटाएसम्म आईपीओ जारी गर्न नहुने भन्दै हालैको साधारण सभामा समेत छलफल भएको थियो । वैभव फाइनान्स सञ्चालनमा आउनु पूर्व नेपाल सहकारी वित्तिय संस्थाको कार्यकारी निर्देशक रहेका केशव नरसिंह राजभण्डारीले त्यहाँ पनि यस्तै आर्थिक बद्मासी गरेका थिए । आफूले गरेको आर्थिक बद्मासी लुकाउन उनले आफू वैभवको प्रवन्ध सञ्चालकमा स्थानान्तरण हुनू अघि नै श्रीमती रमोला राजभण्डारीलाई सहकारीको कार्यकारी निर्देशक बनाएका थिए । सहकारीकै भवनमा वैभव फाइनान्स सञ्चालनमा ल्याएर राजभण्डारी दम्पत्तीले ‘बाघको छालामाथि स्यालको रजाइँ’ गर्दै आएका थिए । स्वयम् नेपाल सहकारी वित्तिय संस्था पनि सहकारी ऐन विपरित सञ्चालन भइरहेको भन्दै सहकारी डिभीजन कार्यालयले कारवाहीको दायरामा तानिरहेको अवस्थामा छ ।
वैभव फाइनान्सभित्र ठूलै आर्थिक बद्मासी भइरहेको भन्दै यसअघि पनि अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेको थियो भने प्रमोटर शेयर होल्डरले पनि त्यहाँभित्रको आर्थिक चुहावट रोक्न दबाब दिँदै आएका थिए । लगानीकर्ताले दुई वर्षसम्म प्रतिफल पाउन नसकेको अवस्थामा त्यहाँका प्रवन्ध सञ्चालकको बदमासीले गर्दा लगानी नै डुब्ने अवस्था उत्पन्न भएपछि निक्षेपकर्ता समेत सतर्क बनेका छन् । सम्भवत नेपाल विकाश बैंक, सम्झना फाइनान्सपछि डुब्ने वित्तिय संस्थाको सूचीमा वैभवको नाम पनि पर्ने छ । बामे नसर्दै डुब्ने अवस्थामा पुगेपछि त्यसका सञ्चालक लगानी त डुब्यो–डुब्यो, प्रहरीको छिँडीमा पो पुगिने हो कि भन्ने भयले पनि आतंकित बन्न थालेका छन् । वैभव फाइनान्समा अधिकांश सहकारी संस्थामा आवद्ध व्यक्तिहरु लगानीकर्ता रहेका छन् । ६ करोड गुडफर पेमेन्टबाट कर्जा प्रवाह गरिएको र दुई करोड राष्ट्र बैंकको खातामा जम्मा गर्नु पर्ने अवस्थाले अब चौध करोड शेयर होल्डरबाट लगानी र एक करोड बराबरको आम्दानी गरेको वैभवले आठ करोड नोक्सानी बेहोर्नू परेको खण्डमा लगानीकर्ताले आधा दामासाही रकम फिर्ता पाउने अवस्था देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले नेपाल प्रहरीमा ३ वटा दर्जा (पद) थपेको छ । प्रहरी कर्मचारीको मनोवल बढाउनका लागि भन्दै सहायक तहमा

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप ल्याइएको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६०

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा