टनकपुर सन्धि भएको २६ वर्षपछि पानी नेपालमा

१५ असार २०७९, बुधबार ०६:५९ मा प्रकाशित

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ।

सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूलनहर निर्माणकार्य थालनी भएको थियो। नहर थालनी भएको २० वर्षभित्र नहर निमार्ण गरिसक्नुपर्ने भए पनि लामो समय नहर निर्माण ढिलाइको कारण गतिलिन नसकेको नहर आयोजनालाई २६ वर्षपछि भारतले पानी दिएको हो।

महाकाली सिंचाई आयोजना तेस्रो चरणका अनुसार भारततर्फबाट निमार्ण गरेको नहरको भागमा केही दिन अगाडिबाट परीक्षण गर्नको लागि पानी छोड्न थालेको छ।

यसैगरी नेपाली पक्षले पनि आवश्यक तयारी गरेर बुधबार पानी नहरमा ल्याउने गरी तयारी गरिरहेको आयोजना कार्यालयले जनाएको छ। लामो समय भारतले आफ्नो भूमीमा बनाउनुपर्ने मुल नहर निर्माणमा चासो देखाएको थिएन। तर, केही वर्ष अगाडिबाट नहर निर्माणमा भारतीय पक्षले तदारुकता देखाएपछि २६ वर्षपछि नहरमा पानी आएको हो।

महाकाली सिंचाई आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले तीन दिनदेखि निरन्तर रुपमा टनकपुर नहरबाट नेपालतर्फ पानी आइरहेको बताउनुभयो। उहाँले टनकपुर नहरबाट २६ वर्षपछि आएको पानीले असार १५ अर्थात् धान दिवसको दिन नहरको पानीबाट किसानले धान रोप्ने कार्यक्रमसमेत रहेको बताउनुभयो। निर्देशक बमले २६ वर्षपछि महाकालीको पानी नेपालको नहरमा बग्दा सबैमा खुसी छाएको बताउनुभयो। उहाँले नहर निर्माण पूर्ण रुपमा पूरा नभएकोले निर्माण कार्य सम्पन्न भएको क्षेत्रलाई आधार बनाएर नहरमा पानी सञ्चालन गर्ने योजना बनाएको बताउनुभयो।

आयोजना निर्देशक बमले नेपाल भारत सन्धि भएको झण्डै २६ वर्षसम्म आउँदा मुल नहरको १८.५ किलोमिटर क्षेत्रमा मात्रै मुलनहर निर्माण सम्पन्न भएको बताउनुभयो। उहाँले ब्रह्मदेव क्षेत्रबाट सन् २००१ मा मुलनहर निर्माण गर्ने भनेर अनुसन्धान थालिएको नहरको आर्थिक वर्ष ०६३÷०६४ देखि सिंचाइको मुख्य नहर निर्माण अगाडि बढाइएको बताउनुभयो।

निर्देशक बमले  मुलनहर निर्माण सुरु भएपनि नहर निर्माणको गति तीब्र भएको कारण नहरमा अहिले पानी बग्ने अवस्था आएको बताउनुभयो। ब्रह्मदेव क्षेत्रबाट १५२ किलोमिटर लामो मुलनहर, १७२ किलोमिटर लामो शाखा नहर र एक हजार २४ किलोमिटरको शाखा नहर बन्नेगरी विभिन्न चरणमा काम भइरहेको छ।

उहाँले महाकाली सन्धिको धारा ४ अनुसार नेपाली इलाकाको दोधारा-चाँदनी क्षेत्रका लागि शारदा नहरबाट पाउने पानीको लागि पनि नहर निमार्णको काम अगाडि बढाइएको बताउनुभयो। निर्देशक बमले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आवश्यक जग्गा अधिकरण गर्नको लागि प्रक्रिया अगाडि बढाइएको  बताउनुभयो।

सन्धि प्रधानमन्त्री देउवाकै पालामा 

सन् २०२२ सम्म मुलनहर निर्माण पूर्ण रुपमा सम्पन्न गरिसक्नुपर्ने भनिएपनि निर्माण पूरा हुने सम्भावना भने न्यून देखिन्छ। सन्धिअनुसार मूल नहरबाट नेपालले गर्मीमा २८.३५ क्युमेक्स पानी पाउनेछ भने हिउँदको समयमा ८.५ क्युमेक्स पानी प्राप्त गर्नेछ। मुल नहर निर्माणसँगै मुल नहरको शाखा नहर निर्माण गर्ने कुरालाई पनि अगाडि बढाइएको छ। महाकाली सिंचाई तेस्रो चरण आयोजनाका अनुसार ब्रह्मदेव क्षेत्रमा १२ वटा शाखा विस्तार गरिनेछन् भने मुसेपानी हात्तीथला क्षेत्रमा १० वटा नहरका शाखा विस्तार गरिनेछन्।

सन्धिअनुसार दोधारा-चाँदनी क्षेत्रमा भारतले १० घनमिटर प्रतिसेकेण्ड (३५० क्यूसेक) पानी उपलब्ध गराउनेछ भनेर उल्लेख गरिएको छ। यस्तै भारतले भने सन् १९२८ मा नै निर्माण गरेको शारदा ब्यारेजबाट निरन्तर भारतीय भूमिमा पानी आपूर्ति गराउने नहर करिब साढे ११ हजार क्युसेक क्षमताको छ।

नेपाली पक्षबाट समयमै नहर निमार्ण गर्न नसक्दा पानीको ठूलो हिस्सा कब्जा गरेको भारतले दोधारा-चाँदनीले पाउनुपर्ने जम्मा ३ सय ५० क्युसेक पानी पनि भारतले अहिलेसम्म दिएको छैन। सन् १९९६ मा नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि हुँदा दोधारा र चाँदनीलाई सिंचाइका लागि पानी दिनुपर्ने तथा भारतीय भूमिमा एक हजार दुई सय नहर निर्माण गर्नुपर्ने कुरा उल्लेख गरिएको थियो। २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावबीच महाकाली सन्धि भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

महेन्द्रनगर । पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन । भारतका

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को