यी हुन् बजेट पेश नगर्ने २० गाउँपालिका

११ असार २०७९, शनिबार १५:५२ मा प्रकाशित

काठमाडौं । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसक्नुपर्छ । तर, देशभरका २० गाउँपालिकाले उक्त समयसीमामा नीति तथा कार्यक्रम पेश गरेका छैनन् ।

यीमध्ये सबैभन्दा बढी मधेश प्रदेशमा छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपालको प्रदेश कार्यालयका अनुसार पर्साको कालिकामाई, छिपहरमाई, जिराभवानी र धोबिनी गाउँपालिकाले बजेट पेश गरेका छैनन् । यस्तै, सर्लाहीको धनकौल र विष्णु, सिरहाको विष्णुपुर र बरियारपट्टी, बाराको प्रसाैनी, धनुषाकाे औरही, सप्तरीको महादेवा, महोत्तरीको सौनमा र रौतहटको दुर्गा भगवती गाउँपालिका तोकिएको समयसीमामा बजेट ल्याउन सकेनन् ।

यसैगरी, बाग्मती प्रदेशका दुई गाउँपालिकाले पनि बजेट पेश गरेका छैनन् । ती हुन्, सिन्धुपाल्चोकको बलेफी र सिन्धुलीको गोलन्जाेर गाउँपालिका । बजेट पेश नगर्नेमा लुम्बिनीका ३ गाउँपालिका छन् । बर्दियाको बढैयाताल र बाँकेको डुडुवा र नरैनापुरले तोकिएको समयसीमामा बजेट पेश गरेका छैनन् । कर्णालीको सल्यान जिल्लामा पर्ने कुमाख र सुदूरपश्चिमको डोटी जिल्लामा पर्ने बोगटान फुडसिल गाउँपालिकाले बजेट ल्याउन नसकेको गाउँपालिका राष्ट्रिय महासंघले जनाएको छ ।

महासंघका केन्द्रीय सदस्यसमेत रहेका सर्लाहीको विष्णु गाउँपालिका अध्यक्ष जोहारलाल यादवले निर्वाचनको काम र मन्त्रालयको सेमिनारमा सहभागी हुनुपरेकाले तोकिएको समयमा बजेट ल्याउन नसकेको बताउँछन् ।
‘बजेट पेश गर्ने सबै तयारी गरिसकेका छौं,’ उनी भन्छन्, ‘असार मसान्तभित्रमा सबै गाउँपालिकाले बजेट पेश गरिसक्छन् ।’

महासंघका एक कर्मचारी भने राजनीतिक दलका नेता, गाउँपालिकाका कर्मचारी आदिका कारण बजेट पेश गर्न नसकेको दाबी गर्छन् । ‘दलका नेताहरूबीच आफ्नो ठाउँमा बजेट पार्न खिँचातानी भयो । कर्मचारीले पनि समयमा बजेट पेश गर्नका लागि तयारी गरेनन् । यसले गर्दा तोकिएको समयमा बजेट पेश हुन सकेन,’ उनी भन्छन् ।

गाउँपालिका महासंघले देशभरका ५ गाउँपालिकाले बजेट पेश गरे/नगरेकोबारे जानकारी नभएको जनाएको छ । महासंघका अनुसार प्रदेश १ को संखुवासभा जिल्लाको मकालु गाउँपालिका, कर्णालीको डोल्पा जिल्लाको काइके र शे–फोक्सुण्डाे गाउँपालिका, लुम्बिनीको अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका र सुदूरपश्चिमको बझाङ जिल्लाको साइपाल गाउँपालिकाले बजेट पेश गरे/नगरेकोबारे यकिन हुन सकेको छैन । ती पालिकासँग सम्पर्क हुन नसकेकाले बजेट पेश गरे/नगरेको यकिन हुन नसकेको महासंघले जनाएको छ ।

यसअघि शुक्रवार गाउँपालिका राष्ट्रिय महासंघले प्रेस विज्ञप्ति जारी गर्दै देशभरका १९ गाउँपालिकाले बजेट पेश नगरेको र ६ गाउँपालिका सम्पर्कमा नआएको जनाएको थियो । देशभर ४६० गाउँपालिका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

महेन्द्रनगर । पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन । भारतका

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को