आईओसीको प्रतिबन्ध नेपाललाई पाठ

२९ मंसिर २०६९, शुक्रबार ०५:०० मा प्रकाशित

श्रीविक्रम भण्डारी/ काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले गत साता इन्डियन ओलम्पिक एसोसिएसन (आईओए) माथि प्रतिबन्ध लगाएको छ । आईओसीले ओलम्पिक चार्टरबमोजिम निर्वाचन नगरेको र आईओएमाथि सरकारी हस्तक्षेप गरेका कारण प्रतिबन्ध लगाएको हो । नोभेम्बर २५ का हुने भनिएको आईओएको निर्वाचनअघि नै सरकारले हस्तक्षेप गरी अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा सरकारी व्यक्तिहरूलाई निर्विरोध निर्वाचित गरेको थियो । भारतीय खेल ऐनअनुसार भएको उक्त निर्वाचनप्रति आईओसीले असहमति जनाउँदै ओलम्पिक चार्टरबमोजिम निर्वाचन गर्न पत्रमार्फत सुझाव दिएको थियो । यसपछि ५ डिसेम्बरमा आईओएको निर्वाचन तोकिए पनि सरकारले आफ्नो निर्णयमा कुनै फेरबदल नगर्दा आईओसीले प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्धपश्चात् अब भारतले ओलम्पिक, एसियन, कमनवेल्थ र दक्षिण एसियाली खेलकुद (साग) जस्ता प्रतिष्ठित प्रतियोगिता खेल्न पाउने छैन । त्यस्तै भारतीय खेलकुदको विकासका लागि आउने सम्पूर्ण आर्थिक सहयोग बन्द हुनेछ । जसले गर्दा यो घटनालाई भारतीय खेलकुद पदाधिकारीले ‘ठूलो धक्का’ भएको बताएका छन् ।
ओलम्पिक चार्टरअनुसार नचलेको र सरकारी हस्तक्षेप गरेका कारण आईओसीले भारतमाथि प्रतिबन्ध लगाएपछि अहिले नेपालमा यो घटनाले निकै चर्चा पाएको छ । राष्ट्रिय खेलकुद परिषद्ले ओलम्पिक विवादको समाधान ‘निर्वाचन’ मात्र भएको निष्कर्ष निकालिरहेको अवस्थामा आईओसीले भारत सरकारले गरेको निर्वाचनलाई धोती लगाइदिएको छ । यो कुराले ओलम्पिक चार्टरबमोजिम निर्वाचन नभए त्यसको कुनै अस्तित्व नहुने प्रस्ट देखिएको छ । यदि सरकारले शक्तिका दुरुपयोग गर्दै हस्तक्षेप गरी जबर्जस्ती निर्वाचन गराए त्यसले प्रतिबन्धको भागीदार हुनुपर्ने भारतमाथि लागेको प्रतिबन्धले स्पष्ट पारेको छ । ओलम्पिक गतिविधिमा सरकारी हस्तक्षेपको सदा विरोध गर्दै आएको आईओसीले पटक–पटक पत्राचार गरेर भारत सरकारलाई यो कुराको जानकारी गराउँदै आएको थियो । तर, त्यहाँको सरकारले आईओसीको चेतावनीलाई बेवास्ता गर्दा अहिले प्रतिबन्धको सिकार हुनुपरेको छ । जसले गर्दा ओलम्पिक खेलकुदमा नयाँ शक्तिको रूपमा उदाउँदै गरेको भारतलाई नराम्रो झट्का लागेको छ ।
ओलम्पिक विवादकै कारण भारतमाथि प्रतिबन्ध लागेपछि नेपालमा पनि यसको तरङ्ग फैलिएको छ । विगत लामो समयदेखि ओलम्पिक कमिटीको विवादले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो साख गुमाउँदै आएको नेपालले यो पाठलाई आत्मसात् गरेन भने जुन बेला पनि अप्रिय समाचार आउन सक्छ । भारतजस्तो शक्तिशाली र खेलकुदको हस्ती राष्ट्रलाई प्रतिबन्ध लगाउन सक्ने आईओसीले नेपालतर्फ पनि निशाना सा“ध्यो भने त्यो निकै दुर्भाग्यपूर्ण हुनेछ । यतिबेला ओलम्पिक चार्टरबमोजिम आफ्नो कार्य अगाडि बढाइरहेको ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको ओलम्पिक कमिटीमाथि सरकारी हस्तक्षेपका बादल मडारिरहेका छन् । तसर्थ सरकारले कुनै पनि कदम चाल्नुअघि आफ्नो विवेक प्रयोग गर्नुपर्ने प्रस्ट देखिएको छ । अन्यथा नेपालमाथि प्रतिबन्ध लाग्यो भने त्यो अनौठो मानिने छैन । जुन नेपाली खेलकुदका लागि दुर्भाग्य सावित हुनेछ । साथै यसको जिम्मेवारी खुद सरकारले लिनुपर्नेछ ।
‘ओलम्पिक विवाद’ सदाका लागि समाप्त गर्न सरकारको पहलकदमी नै रामवाण हुने प्रायः निश्चित छ । जसका लागि सरकारले यथाशीघ्र कदम चाल्नुपर्ने आवश्यकता भइसकेको छ । यसका लागि सरकारले सर्वोच्चको फैसलालाई सम्मान गर्दै उचित वातावरणको व्यवस्था गरिदिए पुग्छ । सरकारले दुवै पक्षलाई एक ठाउँमा राखी राखेपलाई अभिभावकको भूमिकामा उतार्नुपर्छ । यो राष्ट्रको प्रतिष्ठासँग गाँसिएको मुद्दा भएकोले दुवै पक्षलाई हदैसम्म लचिलो र त्याग गराउन सरकारले सक्नुपर्छ । एकले हामी मिल्यौँ भनेर सर्वोच्च फैसलाको सम्मान गर्नुपर्छ भने अर्कोले उनीहरूको त्यागको बदलामा ओलम्पिक कमिटीमा अटाउने वातावरण बनाउनुपर्छ । खेलकुदलाई निकास दिन आफ्ना व्यक्तिगत माग र स्वार्थभन्दा माथि उठेर सोच्नुपर्छ । यो नेपाल ओलम्पिक कमिटीको विवादको समाधानको उपाय भए पनि अहिलेसम्म यसतर्फ सरकारको ध्यान गएको छैन । तसर्थ सरकारले एनओसीको विवादलाई समाधान गर्न सर्वोच्चको फैसला र ओलम्पिक चार्टरलाई ध्यानमा राखेर उचित कदम उठाउनुपर्छ । जुन नेपाली खेलकुद र खेलाडीकोे पक्षमा हुनुपर्छ ।
सर्वोच्चको फैसलालाई च्या“खेदाउ बनाएर ओलम्पिकमाथि कब्जा जमाउने सपना देख्दै आएकाको धारणा के हो ? त्यो सरकारले मोटो चस्मा लगाएर बुझ्नुपर्ने भइसकेको छ । जसको खेलकुदमा धरातल छैन, जो राजनीतिक शक्तिलाई हतियार बनाएर खेलकुदमा भाँडभैलो र उद्दण्डता मच्चाउन चाहन्छन्, त्यस्तालाई सरकारले प्रश्रय दिनुको साटो नजिकबाट चिन्नु आवश्यक भइसकेको छ । को सही छ, को गलत ? यसकोे छिनोफानो हुन आवश्यक भएकोले सरकार ओलम्पिक विवादस“ग गम्भीर हुन जरुरी भइसकेको छ । प्रधानमन्त्री बाबुराम भट्टराई खेलकुदको संरक्षक भएका नाताले पनि उहाँले छिनोफानो गर्नैपर्छ । अझ ओलम्पिक विवादलाई सुल्झाउन राखेप र खेलाडीले विभिन्न समयमा ज्ञापनपत्र बुझाएकाले पनि यसलाई सकारात्मक दृष्टिले हेर्नुपर्छ । प्रधानमन्त्री स्वयम्ले ओलम्पिक विवादलाई क्यान्सरको संज्ञा दिँदै त्यसको उपचार गर्नुपर्ने धारणा व्यक्त गरेको लामो समय बितिसक्दा पनि समाधानका लागि कुनै पहल नगर्नु दुर्भाग्य भएको छ । प्रधानमन्त्री भट्टराईले राजनीतिक निर्णयका कारणले सिर्जना भएको ओलम्पिक विवादलाई राजनीतिक निर्णय गरेर समाधान गर्नुपर्ने देखिएको छ । यसका लागि भट्टराईले राजनीतिक आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर अर्थात् खेलकुद र खेलाडीको हितलाई दृष्टिगत गर्न सक्नुपर्छ । जसको साक्षीको रूपमा ओलम्पिक चार्टरको सर्वमान्यतालाई आत्मसात् गरे पुग्छ । त्यो सर्वपक्षीय हित र कल्याणकारी हुनेमा सायदै कसैको दुईमत होला ।
ओलम्पिक कमिटीको विवादलाई मुद्दा बनाएर अहिले झिङे र च्याँखेदाउ थाप्नेको निकै बिगबिगी बढेको छ । जो रुक्मशमशेर राणा र ध्रुवबहादुर प्रधानलाई सदाका लागि एनओसीबाट विस्थापित गर्न अग्रसर देखिएका छन् । उनीहरूको औकात खेलकुद सङ्घको सदस्य बन्नेजत्तिको नभए पनि राजनीतिक शक्तिको आडमा राखेप र ओलम्पिक कमिटीमा आफ्नो हुकुमत चलाउन चाहन्छन् । उनीहरूको त्यो अभीष्ट पूरा हुन नदिन र खेलकुदलाई राजनीतिको फोहोरी खेलबाट बचाउन ओलम्पिकको विवाद यथाशीघ्र समाधान गर्नुपर्ने देखिएको छ । मुलुकको सङ्क्रमणकालीन अवस्थाको फाइदा उठाउँदै आफ्नो दुनो सोझ्याउन उद्यत यस्ता व्यक्तिबाट खेलकुदलाई जोगाउन समयमै सही मार्गमा डो¥याउन सकिएन भने भोलि यसले अझ विकराल  रूप धारण गर्ने प्रायः निश्चित छ । तसर्थ सरकारले समयमै बुद्धि पु¥याई दूधको दूध पानीको पानी छुट्याउनेतर्फ लाग्नुपर्छ । खेलकुदलाई राजनीतिक कार्यकर्ताको नभई खेलाडीको पेवा बनाउनुपर्छ । आशा गरौँ, बुद्धिमान प्रधानमन्त्रीले बुद्धिमानी काम अवश्य गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आवेदन दिएकामध्ये अन्तिम पाँच जनाको अन्तर्वार्ता लिएको छ

काठमाडौं।सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेल भोलि (शुक्रबार) बाट सुरु हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को

काठमाडौं । चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता पुसमा आयोजना हुने भएको छ । नेपाल हक्की संघको आयोजनामा

काठमाडौं । फ्रेन्च लिग वानको खेलमा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । स्टार खेलाडी नेयमार

आजको प्रमुख समाचार