कोइरालाको नेतृत्वमा सरकार गठनको सम्भावना टाढिँदै, किन छेकियो सुशीलको बाटो ?

२७ मंसिर २०६९, बुधबार ०७:५० मा प्रकाशित

काठमाडौं, २७ मंसिर । नेपालका सर्वाधिक निष्ठावान एवम् इमानदार मानिएका नेता सुशील कोइरालालाई प्रधानमन्त्री स्वीकार गर्न एमाओवादीका अध्यक्ष प्रचण्ड र मधेसी मोर्चासम्बद्ध नेताहरू तयार भएनन् । उनीहरू सुशीललाई स्वीकार नगर्ने मात्र होइन कुनै हालतमा पनि प्रधानमन्त्री बन्न नदिने सोचमा रहेको बुझिन्छ । प्रचण्ड र मधेसका सत्तारुढ नेताहरूले काङ्गे्रसलाई अस्वीकार गरेका हुन् या सुशील कोइराला या निष्ठा र इमानदारीलाई, यो अध्ययन र विश्लेषणको विषय हुनसक्छ, तर दुवै थरीले कोइरालाको नेतृत्वलाई सतप्रतिशत अस्वीकार गर्ने स्पष्ट अभिव्यक्ति दिएका छन् । सुशील कोइरालालाई अस्वीकार गर्नुको कारण सत्तारुढ मधेसी नेताहरूले उहाँ मधेसप्रति सकारात्मक नरहेकोले बताउने गरेका छन् । प्रचण्डले चाहिँ वास्तविक कारण नबताएर संविधानका विवादित मुद्दाहरूमा सहमति भए कोइरालालाई प्रधानमन्त्री बनाउन सकिने धारणा सार्वजनिक गर्नुभएको छ । विवादित विषयमा सहमति बन्नुपर्ने सर्त तेस्र्याउनु भनेको पनि सुशील कोइरालालाई प्रधानमन्त्री बन्न नदिनु नै हो, किनभने तत्काल संविधानका विवादित विषयमा सहमति बन्न सक्ने कुनै सम्भावना देखिएको छैन । प्रचण्ड आफ्नो पार्टीको आगामी माघ २० गते सुरु हुने महाधिवेशनसम्म बाबुराम भट्टराईलाई प्रधानमन्त्रीमै कायम राख्न चाहनुहुन्छ र त्यसो गर्दा महाधिवेशनमा आफू सर्वसम्मत ढङ्गले अध्यक्ष निर्वाचित हुने विश्वासमा उहाँ हुनुहुन्छ । महाधिवेशनपश्चात् प्रधानमन्त्रीका रूपमा आफैँलाई प्रस्तुत गर्ने योजना प्रचण्डले बनाउनुभएको छ । अहिलेसम्म प्रचण्डले आफू प्रधानमन्त्री बन्न चाहेको सार्वजनिक अभिव्यक्ति दिनुभएको छैन, तर एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पटकपटकको भेटमा उहाँले आफैँ प्रधानमन्त्री बन्न चाहेको खुलस्त ढङ्गले बताउनुभएको छ । सुशील कोइराला ०६२ मङ्सिर ७ गते भारतको राजधानी नयाँदिल्लामा भएको १२बु“दे सम्झौतामा सामेल नभएको र सम्झौताको भावनाबारे कोइराला जानकार नभएको तर्क प्रचण्डले प्रस्तुत गर्ने गर्नुभएको छ । १२बुँदे सम्झौतामा सामेल नभएकालाई प्रधानमन्त्री बनाउन नसकिने व्यहोरा संविधानमा अङ्कित नभएको र त्यसो भन्नु राजनीतिक रूपमा पनि उचित नहुने भएकोले उच्च राजनीतिक तहमा भएका बैठकहरूमा प्रचण्डले त्यस्तो तर्क प्रस्तुत गर्नुभएको छैन । प्रचण्डबाट जे–जस्ता तर्क प्रस्तुत गरिएका भए पनि मूल कुरा उहाँ बाबुराम भट्टराईपछि आफैँ प्रधानमन्त्री बन्न चाहनुहुन्छ र उहाँ आफूबाहेक जोसुकैलाई प्रधानमन्त्रीमा प्रस्ताव गरे पनि स्वीकार गर्न तयार हुनुहुन्न । गिरिजाप्रसाद कोइरालालाई पदको प्रलोभन दिएर काम पट्याउन सफल भएकोले सुशीललाई पनि त्यसैगरी प्रयोग गर्न सकिने आशा प्रचण्डले गर्नुभएको थियो । गिरिजाप्रसादको निधनपश्चात् भएका कैयन् गुप्त बैठकहरूमा प्रचण्डले सुशीललाई अनेकौँ प्रलोभन दिने पनि गर्नुभएको हो । तर, देश र प्रजातन्त्रको सवालमा कुनै किसिमको सम्झौता नगर्न सुशील कोइराला दृढ रहनुभएको र जे गरे पनि गिरिजाप्रसादलाई झैं सुशीललाई उपयोग गर्न नसकिने देखिएपछि प्रचण्डले सार्वजनिक रूपमा समेत सुशीलको आलोचना गर्दै आउनुभएको छ । सुशीललाई होच्याउन प्रचण्डले बारम्बार गिरिजाप्रसादको अभाव खट्किएको भन्दै विलौना गर्ने पनि गर्नुभएको छ । सुशील कोइरालाले राष्ट्रको पक्षमा लिँदै आउनुभएको अडान पनि प्रचण्डलाई जायज लागेको छैन र प्रचण्डले विदेशीहरूसँग सुशील प्रधानमन्त्री हुँदा विदेशी मित्रराष्ट्रहरूलाई समेत अप्ठ्यारो पर्ने धारणा राख्ने गर्नुभएको छ । प्रचण्डको यस्तो आरोपलाई सुशीलले खण्डन गर्ने गर्नुभएको छैन र उहाँले विदेशी मित्रहरूको विश्वास आर्जन गर्ने कुनै प्रयास पनि गर्नुभएको छैन । जसका कारण सुशील कोइरालाले विदेशी मित्रहरूको समर्थन र सद्भाव हासिल गर्न सक्नुभएको छैन । अर्कोतर्फ प्रचण्ड आगामी वैशाखमा निर्वाचन गराउन चाहनुहुन्न, वैशाखमा चुनाव भए आफ्नो पार्टीले नराम्रो पराजय भोग्नुपर्ने विश्लेषण प्रचण्डको छ । कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठन भएमा उक्त सरकारले जसरी भए पनि वैशाखमा निर्वाचन गराइछाड्ने भन्ने चिन्ता पनि प्रचण्डमा देखिन्छ । आफ्नो साख गिरेको, विश्वसनीयतता घटेको र पार्टी विभाजन पनि भएको हुँदा वैशाखमा चुनाव गराउनु एमाओवादीका लागि दुर्भाग्यपूर्ण हुने प्रचण्डको ठम्याइ छ । सुशील कोइरालालाई अहिले प्रधानमन्त्री बनाउनु भनेकै वैशाखमा चुनाव गराउनु हो भन्ने बुझेकोले प्रचण्ड आगामी वैशाखमा चुनाव हुन नदिन पनि सुशीललाई प्रधानमन्त्री बन्न दिन नहुने ठान्नुहुन्छ । त्यसैले प्रचण्डले सुशील कोइरालालाई सरकारको नेतृत्व नदिने आफ्नो इच्छासँग विदेशी मित्रहरूलाई पनि जोड्नुभएको छ र कुनै पनि हालतमा उहाँलाई प्रधानमन्त्री हुन नदिन दृढसङ्कल्पित हुनुहुन्छ । त्यसैले आगामी माघमा हुने आफ्नो पार्टीको महाधिवेशनसम्म जसरी भए पनि बाबुराम नेतृत्वको सरकारलाई निरन्तरता दिने र त्यसपछि आफैँ प्रधानमन्त्री बन्ने खेल सुरु गर्ने योजनाका साथ प्रचण्ड क्रियाशील हुनुहुन्छ । आफ्नो यस अभियानमा एमाले नेता माधवकुमार नेपालको साथ रहने विश्वास प्रचण्डमा छ । नेपालसँगको वार्तालापका क्रममा प्रचण्डले सहमतीय सरकारको नेतृत्व या त माधव नेपालले गर्नुपर्ने होइन भने आफैँले पाउनुपर्ने धारणा राख्ने गर्नुभएको छ । माधव नेपालले केपी ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्दा पनि प्रचण्डले ठाडै अस्वीकार गर्नुभएको बताइन्छ । त्यसैले महाधिवेशनपछि सहमतीय प्रधानमन्त्री बन्न प्रचण्ड आफैैं सक्रिय हुने सम्भावना छ । कदाचित आफू प्रधानमन्त्री बन्न नसकेमा दमन ढुंगाना या आफूअनुकूलको त्यस्तै कोहीलाई सरकारको नेतृत्व दिने सोच प्रचण्डले बनाउनुभएको छ । त्यसैले सुशील कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठन हुने सम्भावना टाढिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

तेह्रथुम । माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

आजको प्रमुख समाचार