सिटौलाले भेटे नारायणकाजीको ‘झटारो’, ‘काजी’लाई रोके प्रचण्डले

२७ मंसिर २०६९, बुधबार ००:५४ मा प्रकाशित

काठमाडौं, २७ मंसिर । एमाओवादी उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले काङ्गे्रसका मनोनीत महामन्त्री झापाका कृष्ण सिटौलालाई नराम्रोसँग झपारेको समाचार प्राप्त भएको छ । गत २० गते बुधबार देशमा विदेशी भूमिका बढेको र राष्ट्रपति र प्रधानमन्त्रीले समेत परराष्ट्र मन्त्रालयद्वारा जारी आचारसंहिता उल्लङ्घन गरेको विषयमा गम्भीर असन्तुष्टि प्रकट गर्दै नेता श्रेष्ठले आफू निराश हुन थालेको बताउनुभएको थियो । श्रेष्ठले देशका नेताहरूको कार्यव्यवहारले आफूलाई निराश तुल्याएको बताउँदै कतिपय समयमा राजनीतिबाट नै सन्न्यास लिऊँ कि भन्नेसम्मको भावना मनमा पैदा हुने गरेको अभिव्यक्ति दिनुभएको थियो । राष्ट्रपति र प्रधानमन्त्रीले विदेशी कूटनीतिक नियोगका प्रतिनिधि तथा तिनीसम्बद्ध व्यक्तिहरूलाई अनधिकृत रूपमा बारम्बार भेटी वार्ता गर्ने गरेको र कतिपय संवेदनशील बैठकहरूमा समेत अवाञ्छित व्यक्तिहरूलाई प्रवेश दिने गरेको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रपति तथा प्रधानमन्त्रीप्रति साङ्केतिक तर कडा रूपमा असन्तोष प्रकट गर्नुभएको थियो । श्रेष्ठका अभिव्यक्तिहरूलाई सञ्चारमाध्यमहरूले उच्च महत्वकासाथ गत साताको बिहीबार प्रकाशन तथा प्रसारण पनि गरे । त्यसरी सञ्चारमाध्यममा उपप्रधानमन्त्रीको भनाइ सार्वजनिक भएपछि अरू जो–जसले जस्तो महसुस गरेका भए पनि झापाका कृष्ण सिटौलाले चाहिँ निकै नै गम्भीर रूपमा लिएका रहेछन् । नारायणकाजी श्रेष्ठको अभिव्यक्तिले देशको वर्तमान अवस्था चित्रण गरेकोमा नभई सिटौलाको आपत्ति राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिष्ठामा क्षति पु¥याएकोमा थियो ।
गत बिहीबार (मङ्सिर २१) दलहरूबीच सहमति जुटाउन बसेको चार दलको बैठकमा सिटौलाले नारायणकाजी श्रेष्ठलाई सम्बोधन गर्दै ‘तपाईंले त्यसरी राष्ट्रपति र प्रधानमन्त्रीको मानमर्दन हुने किसिमको अभिव्यक्ति दिन नहुने’ भने । सिटौलाको कुरा सुन्नेबित्तिकै नारायणकाजी बम्किए, ‘के राष्ट्रिय स्वाभिमान कायम राख्नुपर्छ, कूटनीतिक मर्यादामा सबै बस्नुपर्छ र विदेशीको अवाञ्छित गतिविधिमा नियन्त्रण गरिनुपर्छ भन्दा राष्ट्रपति र प्रधानमन्त्रीको अपमान हुन्छ ? यस्ता कुरा नगर्नुस् सिटौलाजी, हामीले कूटनीतिक मर्यादा सबैतर्फबाट पालना हुनुपर्छ भनी आचारसंहिता जारी गरेका छौँ, तपाईंहरूजस्ता मानिसका कारण त्यसको पालनामा समस्या पैदा भइरहेको छ ।’ यसरी उपप्रधानमन्त्री श्रेष्ठ सिटौलाविरुद्ध कड्किदै गएपछि बैठकमा उपस्थित प्रचण्ड–बाबुराम चुपचाप बसे । तर, एमाले नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालले भने श्रेष्ठका कुरा सही हुन् भन्दै उहाँको प्रशंसा गरेका थिए । स्थिति आफ्नो प्रतिकूल देखिएपछि सिटौला पनि वादविवादमा उत्रिएनन्, अँध्यारो अनुहारमा सिटौला चुपचाप बसे । नारायणकाजी श्रेष्ठले आफ्नो अभिव्यक्तिको कोर्स पूरा गरेपछि मात्र बैठक विषयमा प्रवेश गरेको खनालनिकट सूत्रले जनाएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ सरकार छाड्ने निष्कर्षमा पुगेको, तर प्रचण्डले रोकेका कारणले मात्र उहाँले छोड्न नसकेको बुझिएको छ । प्रचण्डका निकटवर्तीहरूले जनाएअनुसार बाबुरामको कार्यशैलीबाट दिक्क भएका श्रेष्ठले धेरै पहिलेदेखि नै पदत्यागको इच्छा प्रकट गर्नुभएको थियो । तर, ‘राम्रो सन्देश नजाने’ भन्दै प्रचण्डले श्रेष्ठलाई रोक्नुभएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

लमजुङ।नेपाली कांग्रेस गण्डकी प्रदेशकाे जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

आजको प्रमुख समाचार