पक्राउ पर्दिनँ भनेकै दिन भीमबहादुर दाइ गिरफ्तार :: राधेश्याम अधिकारी

२७ मंसिर २०६९, बुधबार ००:४१ मा प्रकाशित

स्वर्गीय भीमबहादुर तामाङलाई मैले कानुन पेसाका मेरा गुरु दमननाथ ढुंगानामार्फत उहाँकै घरमा चिनेको हुँ । उहाँहरू दुईबीच प्रगाढ दोस्ती थियो । म आफ्नो कामले दमनजीकोमा गइरहने र भीमबहादुर दाइ पनि त्यहाँ आइरहने भएकोले बारम्बार भेटघाट हुन थाल्यो । उमेरमा मभन्दा धेरै सिनियर भए पनि यसरी उहाँसँग मेरो मित्रता हुन पुग्यो ।

त्यतिबेला आङ्दोर्जे लामाले चलाउनुभएको पत्रिका ‘राजधानी’मा भीमबहादुर दाइ र पुरुषोत्तम बस्नेतलगायतले सघाउनुहुन्थ्यो, म पनि त्यसमा लेख्न थालेँ । त्यही बेला भारत प्रवासबाट बीपी स्वदेश आउनुभयो । बीपी र भीमबहादुर दाइबीच विशिष्ट सम्बन्ध थियो । सुशीला भाउजूसँग पनि अत्यन्त आत्मीय एवम् पारिवारिक सम्बन्ध थियो उहाँको । महिलालाई असाध्यै सम्मान गर्ने व्यक्ति हुनुहुन्थ्यो भीमबहादुर दाइ । उहा“ले बीपीपछि असाध्यै मान्ने अर्को व्यक्ति हुनुहुन्थ्यो सरोज कोइराला । सरोजको परिवारसँग पनि त्यत्तिकै आत्मीय सम्बन्ध थियो उहाँको । आफ्नो निजी घर–परिवारका विषयमा भने भीमबहादुर दाइले मसँग कहिल्यै कुरा गर्नुभएन र मैले पनि खोतलेर कुरा गरिनँ । तथापि उहाँका छोरा दीपक कहिलेकाहीँ मकहाँ आउने भएकाले सामान्य चिनजान थियो, कुराकानी हुन्थ्यो ।
०४६ को आन्दोलन चल्दा उहाँ अन्डरग्राउन्ड भई आन्दोलनमा सक्रिय हुनुहुुन्थ्यो । त्यतिखेर पनि लुकी–लुकी मकहाँ आउनुहुन्थ्यो । १÷२ दिन बिराएर आउँदा खनासमेत मैकहाँ खानुहुन्थ्यो । त्यतिखेर कहिलेकाहीँ उहाँ पिउन पनि रमाइलो मान्नुहुन्थ्यो । तसर्थ एक दिन मैले त्यतिखेर चलेको ‘इ ग्रान्ड अल’ भन्ने ह्विस्की एक क्वाटर उहाँका लागि मगाइदिएँ र ‘दाइ थाकेर आउनुभएको छ, आज अलिकता पिउनुहोस्’ भनेर प्रस्ताव गरेँ । उहाँले थोरै खाएर अरू पछिका लागि बाँकी राख्न खोज्नुभएपछि मैले ‘भोलिको के भरोसा दाइ, आजै त्यति खाइदिनुहोस्’ भनेँ । रक्सी लाग्ला र होस् पुरयाउन नसकेर प्रहरीको फन्दामा परिएला भनेर उहाँले पूरा नपिउन खोज्नुभएको बुझेँ मैले । मेरो आग्रहपछि ‘हो त लौ, म भरत उपे्रतीजस्तो त्यत्तिकै प्रहरीको फन्दामा पर्ने हुँ र ? म त एकदम बाँकटे मारेर हिँड्छु, कसले पक्रन सक्ने ?’ भन्दै उहाँले बाँकी ह्विस्की पनि स्वाट्टै पिउनुभयो । ०४६ साल फागुन ७ गते अलिक हेलचेक्र्याइँ गर्दा भरत उपे्रती समातिएको सन्दर्भ उप्काउँदै भीमबहादुर दाइले त्यसो भन्नुभएको थियो । त्यस दिन मैकहाँ सुत्न आग्रह गर्दागर्दै नमानेर राति नौ बजेतिर उहाँ निस्कनुभयो । भोलिपल्ट त उहाँ कतै भेटिनुभएन, त्यही राति नै पक्राउ पर्नुभएछ । पछि नख्खु जेल गएर भेट्दा उहाँले भन्नुभयो, ‘मूल सडकबाट जाँदा पक्राउ परिएला भनेर राजेन्द्र खरेलको घरतिरको बाटो गएको त खरेललाई ढुकेर बसेका पुलिसहरूले मलाई चिनेर ‘झन् ठूलो माछो फेला परयो’ भन्दै समाते ।’ यसो भन्दै उहाँ हँसाउनुहुन्थ्यो बेलाबेलामा । यस्ता धेरै प्रसङ्ग छन् जसलाई रमाइलोसँग उहाँ सुनाउनुहुन्थ्यो ।
भीमबहादुर तामाङबाट हामीले सिक्ने कुरा धेरै छन् । उहाँ ०६ सालदेखि नै शिक्षक बनिसक्नुभएको रहेछ । ०७ सालको क्रान्तिमा उहाँले भाग लिएजस्तो लाग्दैन मलाई, तर उहाँ ०७ सालको क्रान्तिलाई अभूतपूर्व मान्नुहुन्थ्यो अनि त्यही क्रान्तिले नै मुलुकमा प्रजातन्त्रको जग हालेको दाबी गर्दै सातसाले क्रान्तिको लामो र रोचक व्याख्या गर्नुहुन्थ्यो । उहाँले ०१३ सालमा नेपाली काङ्गे्रसको सदस्यता लिनुभएको रहेछ । पद्मशङ्कर अधिकारी उहाँका एक निकट मित्र भएकाले उनीमार्फत यो थाहा पाएको हुँ मैले । त्यसपछि उहाँले भद्रअवज्ञा आन्दोलनमा भाग लिनुभयो । ०१५ सालको चुनावमा भाग लिनुका साथै सशस्त्र आन्दोलनमा सहभागी भएपछि उहाँ बीपीको आँखामा पर्नुभयो । त्यसपछि त बीपी बाँचुञ्जेल बीपीकै नजिक रहनुभयो भीमबहादुर दाइ ।
सशस्त्र आन्दोलनमा होमिएपछि भीमबहादुर तामाङ कहिले जेल त कहिले निर्वासनमा पर्नुहुन्थ्यो । यी सबै हुँदै ०२९÷३० तिर नेपाल आएलगत्तै पक्राउ पर्नुभयो । ०३३ सालमा बीपी स्वदेश फर्केपछि उहाँ छुट्नुभयो । यो समग्र कालखण्डमा उहाँले दर्शाउनुभएको भूमिका र व्यवहारबाट हामीले सिक्ने कुरा त धेरै छन् । मूल रूपमा कुनै पनि कुराको लोभ गर्नुहुन्न भन्ने उहाँको बुझाइ थियो । अर्थात्, लोभलई सीमित गर्नुपर्छ भन्ने धारणालाई व्यवहारमै उतार्नुभयो उहाँले । उहाँ सरल, साधारण जीवन यापन गर्ने व्यक्ति भन्ने त जगजाहेर छँदै छ । जीवनमा कुनै कुरा सङ्ग्रह गरूँ, पछिका लागि भनेर जागाड गरूँ भन्ने सोच पटक्कै राख्नुहुन्नथ्यो । उहाँ अत्यन्त अध्ययनशील हुनुहुन्थ्यो । बेलाबेलामा मलाई उहाँले यो पुस्तकमा यो छ, योचाहिँ जसरी पनि पढ्नु भनी सुझाव पनि दिनुहुन्थ्यो । पुस्तकमा भएका सारगर्भित कुराहरूको चर्चा गर्न रुचाउनुहुन्थ्यो । दर्शनको कोणबाट भन्नुपर्दा उहाँ अत्यन्त स्पष्ट हुनुहुन्थ्यो, कुनै पनि विषयको जडसम्म पुगेर कुरा गर्न सक्नुहुन्थ्यो । नेपाली काङ्गे्रस के हो, कुन रूपमा यो पार्टी अघि बढ्नुपर्छ भन्ने उहाँमा स्पष्ट दृष्टिकोण थियो । आममान्छेको व्यक्तित्व तथा सर्वाङ्गीण विकास लोकतन्त्रमा मात्र सम्भव छ भन्ने कुराको उहाँ गजबसँग व्याख्या गर्नुहुन्थ्यो । सबभन्दा महत्वपूर्ण कुरा त आज आदिवासी, जनजाति, महिला आदिका मुद्दा राज्यमा केन्द्रीय बहसको विषय बनिरहेको छ । यो मुद्दा स्वयम् जनजाति, आदिवासी, महिलाहरूले कल्पनै नगरेको बेला उहिल्यै बीपीले उठाउनुभएको थियो, तर पार्टीले त्यसलाई अङ्गीकार गरेर मुद्दाको उठान गर्न सकेन भन्दै भीमबहादुर दाइ बेलाबेलामा चिन्ता प्रकट गर्नुहुन्थ्यो । भीमबहादुर दाइका अनुसार त्यसो गर्न सकेको भए आज काङ्गे्रसका अगाडि अन्य दल असान्दर्भिक नै बन्न पुग्ने थिए ।
धेरैले भन्छन् भीमबहादुरलाई पार्टीले उचित सम्मान गरेन । तर, उहाँले यो कहिल्यै मान्नुभएन, आफूलाई पार्टीले उपेक्षा या अनादर गरेको ठान्नुभएन । उहाँको विचारमा मानिसको मनमा बस्न सक्नु नै सम्मान हो । कसले हो लेखेको पनि छ– भीमबहादुरजीले सभापतिमा उठ्दा ‘जय नेपाल’ त धेरै पाउनुभयो तर मतचाहिँ पाउनुभएन । उहाँप्रति श्रद्धा नभएको होइन तर काङ्गे्रसका ‘क्यारिरिष्ट’हरूको पार्टीमा पकडका कारण ‘आस्था र निष्ठा’ले पाखा लाग्नुपरयो । उहाँ त आस्था र निष्ठाको एक जिउँदो–जाग्दो मिसाल हुनुहुन्थ्यो ।
उहाँ अयोग्य या क्षमता नभएको नेता भएर मत नपाएको होइन, उहाँलाई भोट हालेर के पाइन्छ र ? भन्ने सोचका कारण पनि मतदाताले ‘शक्ति’वालाहरूलाई भोट हालेका होलान् । साथीहरूले मलाई कम भोट दिए भनेर कुनै कुण्ठा, तिक्तता उहाँले कहिल्यै व्यक्त गर्नुभएन । सधैं समभावमा रहनुभयो । त्यस्तै अनुकरणीय व्यक्तित्व हो उहाँ । कुनै पनि कुरालाई आत्मनिष्ट नभई वस्तुनिष्ट भावले उहाँ हेर्नुहुन्थ्यो ।
उहाँ शिक्षा, विकास आदि देश र जनताको समृद्धि हुने कुरामा निकै चासो दिनुहुन्थ्यो । अपरतामाकोसी निर्माणका सवालमा अत्यन्त दिलचस्पी राखिरहनुभएको थियो । त्यो बनेपछि तत्काल दुई हजार–पच्चीस सय मेगावाटका प्रोजेक्ट जनस्तरबाटै उक्त क्षेत्रमा थप सुरु हुनेछ भनी उत्साहका साथ सुनाउनुहुन्थ्यो । अहिलेको राजनीतिक समस्याको निकास चुनाव नै हो भन्नेमा उहाँ प्रस्ट हुनुहुन्थ्यो । किनकि, देशको तागत भनेका जनता हुन्, जनताबाट शक्ति नलिई पार्टीहरूले केही गर्न सक्दैनन्, त्यसैका लागि अब जनताबीच गएर नै दलहरूले आ–आफ्नो शक्ति आर्जन गर्ने र त्यसकै भरमा यो मुलुक अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो उहाँ । वर्तमान राजनीतिक परिवेशका सन्दर्भमा काङ्गे्रस मात्र होइन सबै दलले स्वर्गीय भीमबहादुर तामाङको यो सोचलाई गम्भीरताका साथ मनन गरी कार्यान्वयन गर्न सक्दा मुलुकको भलो हुने देख्छु म ।
(वार्तामा आधारित)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। कुनै पनि पुरुष मन नपरेको भन्दै ३३ वर्षकी मोडल क्रिस ग्यालेराले गएको सेप्टेम्बरमा आफैंसँग बिहे गरेकी थिइन् । तर,

काठमाडौं । अहिलेको व्यवसायिक संसारमा भाडामा नपाइने चिज के पो छ र ? विभिन्न कामका लागि चाहिने औजार, उपकरणहरु भाडामा

समलिंगी जोडीहरूलाई देखेर धेरैपटक मानिसहरु छक पर्ने गरेका छन् । तर कसैले श्रीमान्–श्रीमतीलाई नै आमाछोरीजस्तो सोच्छ भने त्योभन्दा अनौठो के

एजेन्सी । बेलायतमा एउटा वैवाहिक कार्यक्रममा जाँदा आफ्नो हात भाँच्चिएपछि एक शिक्षिकाले विवाह विरुद्ध मुद्दा दायर गरेकी छिन् । विवाह

आजको प्रमुख समाचार