विवादास्पद उद्योगपति खोरमा थुनिएको एकघन्टामै फेरि नर्भिकमा

२५ मंसिर २०६९, सोमबार १४:५५ मा प्रकाशित

काठमाडौं, २५ मंसिर । पैसा र पैसाकै भरमा बनेको पावरले मानिसको जिवनमा कतिसम्म फरक पार्छ भन्ने विवादास्पद उद्योगपति गोविन्दलाल संघाईको व्यवहारले पुष्टि गरेको छ । सरकारी छाप किर्ते अभियोगमा समातिएका संघाई प्रहरीको छिडीमा हुनुपर्नेमा मुलुककै महंगो र अत्याधुनिक अस्पतालमा ‘आराम’ गरिरहेका छन्, तर उनी कुनै पनि रोगको विमारी भएर भने अस्पताल भर्ना भएका होइनन् । पैसाले बनाएको पावर र पैसाकै बलमा उनी नर्भिक अस्पतालको भिआईपी उपचार कक्षमा हिराशतको नाममा ‘आराम’ गरिरहेका हुन् ।
राष्ट्रिय सतर्कता केन्द्रको पत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गोविन्दलाल संघाई भएको कोटेशन फाराम भर्दा आन्तरिक राजश्व कार्यालय काठमाडौं क्षेत्र नं.२ करदाता सेवा केन्द्र नयाँ सडकको पत्र भनि नक्कली कर चुक्ता सम्वन्धि पत्र पेश गरेको सरकारी छाप दस्तखत किर्ते मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले मंसिर १९ गते पक्राउ गरी सामान्य सोधपूछ पछि थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाएकोमा मुटु दुखेको बहानामा संघाईलाई विरअस्पताल, गंगालाल मुटु रोग अस्पताल हुँदै नर्भिक अस्पतालमा लगिएको थियो । त्यसबेला पाँच दिनको म्याद थप गरिए पनि उपचारको बहानामा अस्पताल भर्ना भएकाले कुनै वयान लिन नपाएको र अस्पतालले पनि संघाईको स्वास्थ्य अवस्था ठिक रहेको भन्दै आइतबार डिस्चार्ज गरे लगत्तै प्रहरीले संघाईलाई जिल्ला अदालत काठमाडौंमार्फत थप चार दिनको म्याद थपि हनुमानढोका खोरमा पुरयाएको थियो । तर, फेरि विरामीको बहानाबाजी गर्दै खोरमा थुनिएको एक घन्टा नबित्दै उनलाई पुनः नर्भिक अस्पतालको भिआईपी कक्षमा ‘आराम’ गर्ने व्यवस्था प्रहरीले मिलाइदिएको छ । यसमा ठूलै आर्थिक चलखेल भएको स्रोतको दावी छ । तर, त्यो कस–कसको भागबण्डामा प¥यो त्यो भने अनुसन्धानको विषय बनेको छ ।
‘यदी कारवाहीको दायरामा ल्याउनु नै थिएन भने समात्नै नलगाएको भए हुन्थ्यो,’ एक प्रहरीले भने, ‘ठूलालाई चैन सानामाथि ऐन भनेको यही हो ।’ ती प्रहरीका अनुसार मधेशी दलका प्रभावशाली नेताको दबाबमा किर्ते अभियोग खेपीरहेका संघाईलाई उक्त आरोपबाट समेत उन्मुक्ति दिलाउने प्रपञ्च भइरहेको छ । यद्यपि, यसअघि नै लिइएको प्रारम्भीक वयानका क्रममा भने संघाईले आफ्नो गल्ती स्वीकारी सकेका छन् ।
बैंक, इन्सुरेन्स कम्पनी, सिमेन्ट कारखाना, व्यवसायिक महल सिटी सेन्टर, व्यवसायिक गू्रप त्रिवेणी कम्प्लेक्स, संघाई समुह तथा टेलिफोन प्रदायक कम्पनी यूनाइटेड टेलिकम लिमिटेडमा समेत पक्राउ परेका संघाइको ठूलो लगानी रहेको र केही कम्पनीको उनी आफैँ सञ्चालक हुन् । नेपाल डेरीले आह्वान गरेको पलाष्टिक क्रेटको टेण्डर हाल्न विवादास्पद उद्योगी गोविन्दलाल संघाईले कर किलीयरेन्स पत्र नक्कली बनाएको अभियोगमा पक्राउ परेका हुन् । उनका विभिन्न व्यवसायीक कम्पनीले विल विजकीकरणमा पनि ठूलै घोटला गरेको अभियोग लागिरहेको छ । आन्तरिक राजस्व विभागले संघाईका कम्पनीले कर छलेको अभियोगमा अनुसन्धान गरिरहँदा उनी कर चुक्ता प्रकरणमा तानिएका हुन्, सम्भवत उनले गरेको भ्याट छली प्रकरण पनि यसैसँग जोडीएर आएको खण्डमा तील नै पहाड बन्ने अवस्थाको सिर्जना नहोला भन्न सकिन्न ।
पैसा र पावर हुनेहरुले गम्भीर अभियोग लाग्दा समेत हिराशतको नाममा उपचारको वहानामा अस्पतालमा ‘आराम’ गर्न व्यवस्था मिलाइदिने नीतिले प्रहरी कहाँबाट र कसको इशारामा चल्ने गरेको छ भन्ने पुष्टि हुन्छ । यसअघि फूलवारी रिसोर्टका मालिक तथा अर्का उद्योगपति पियूष बहादुर अमात्य, चर्चीत उद्योगपति विनोद चौधरीका ससुरा विएल शर्मा पनि यसरी नै कानुनी फन्दामा पर्दा अस्पतालमै ‘आराम’ गर्न पाएका थिए । अभियोग उपर अनुसन्धान गर्दा हिराशतमा बस्नु पर्नेमा विरामीको नाटक गर्दै अस्पतालको डिलक्स कक्षमा ‘आराम’ गर्ने माथिका नाम त प्रतिनिधि उदाहरण मात्र हो, त्यस बाहेक पनि कयौं अभियुक्तहरु राजधानीका थुप्रै अस्पतालमा उपचारको बहानाबाजीमा ‘आराम’ गर्ने गरेको पाइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

आजको प्रमुख समाचार