बाँकेमा छ पालिकाको मत परिणाम सार्वजनिक

७ जेष्ठ २०७९, शनिबार ०८:५३ मा प्रकाशित

नेपालगञ्ज । बाँकेका आठ स्थानीय तहमध्ये छ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अझै कोहलपुर नगरपालिका र नरेनापुर गाउँपालिकाको मत परिणाम आउन बाँकी छ । जिल्लाको विभिन्न स्थानीय तहमा नेपाली कांग्रेसले सबैभन्दा बढी पाँच पालिका जितेको छ । एकमा माओवादी केन्द्रले जित हासिल गरेको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा चार पालिका जितेको एमालेले पालिकाको वडामा मात्रै चित्त बुझाउनुपरेको छ ।

बाँकेको राप्तीसोनारी, डुडुवा, बैजनाथ, जानकी गाउपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । खजुरामा माओवादी केन्द्रले जित हासिल गरेको छ । अन्तिम परिणाम घोषित हुन बाँकी कोहलपुर नगरपालिकामा कांग्रेस र नरैनापुरमा जसपा अग्रस्थानमा रहेको छ ।

राप्तीसोनारी गाउँपालिकामा कांग्रेसका तप्त पौडेलले १० हजार ११२ मत ल्याएर अध्यक्षमा र मनिषा सिंह थारुले १० हजार १३४ मत प्राप्त गरी उपाध्यक्षमा विजयी भएका छन् । पौडेलका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पट्टु थारुले नौ हजार २९२ मत प्राप्त गरे भने एमालेका रामदास थारुले नौ हजार १२४ मत प्राप्त गरेका थिए ।

नौ वडा रहेको राप्तीसोनारीमा कांग्रेसले अध्यक्ष–उपाध्यक्षमा मात्र जित हासिल गरेको छ । सो पालिकामा एमालेले पाँच, माओवादी केन्द्रले तीन र राप्रपाले एक वडामा जित निकालेको छ । डुडुवा गाउँपालिकामा कांग्रेसका नरेन्द्र चौधरी र शाहिदा बानो दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । अध्यक्ष चौधरीले छ हजार २७२ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका भण्डारीलाल यादवले पाँच हजार १२५ मत प्राप्त गर्दा एमालेका सरोजकुमारी यादवले तीन हजार ७११ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा शाहिदाले पाँच हजार ८६४ मतले विजयी हुँदा जसपाका तरन्नुम बानोले चार हजार ७५४ मत पाएका थिए भने एमालेका शकिल खानले चार हजार १५८ मत ल्याउँदै तेस्रो स्थान कायम गरेका थिए । छ वडा रहेको सो पालिकामा एमाले दुई, जसपाले तीन र कांगे्रसले एक वडामा जित हासिल गरेको छ ।

नेपालगञ्ज उपमहानगरमा जसपा–कांग्रेस गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रशान्त विष्टले २३ हजार ४६० मत प्राप्त गरी विजयी भएका छन् । उनले एमालेका पशुपति दयाल मिश्रलाई झण्डै दोब्बर मत अन्तरले पछाडि पार्दै जित हासिल गरेका हुन् । मिश्रले ११ हजार ६७५ मत ल्याएका थिए । राप्रपाका नन्दलाल वैश्यले सात हजार ५९५ मत ल्याई तेस्रो स्थानमा पुग्नुभएको छ । नेपालगञ्जलाई राप्रपाको गढको रुपमा परिभाषित गरिएपनि अहिले त्यो वर्चश्व कायम हुन सकेन ।

उपप्रमुखमा गठबन्धनबाट जसपाका कमरुद्दीन राईले १७ हजार ९५० मत ल्याएर विजयी हुँदा एमालेकी शान्तिदेवी ढकालले १० हजार ९१५ मत ल्याएर दोस्रो र राप्रपाकी विन्दु चर्तीमगरले १० हजार १३५ मत प्राप्त गरेका थिए । २३ वडा रहेको नेपालगञ्जमा उपप्रमुखसहित छ वडा जितेर जसपा पहिलो पार्टी, मेयरसहित पाँच वडा जितेर कांग्रेस दोस्रो, पाँच वडा जितेर एमाले तेस्रो, चार वडा जितेर माओवादी केन्द्र चौथो र तीन वडामा जित निकालेर राप्रपा पाँचौँ स्थानमा पुगेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा कुल मतदाता सङ्ख्या ८१ हजार ७९४ रहेको छ । त्यसमा कूल ६१ हजार २०५ मत खसेको थियो ।

बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार डम्बर विक तुफान अध्यक्षमा विजयी भएका छन् । उनले १० हजार ७९० मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका सुमन मल्लले नौ हजार १३७ मत प्राप्त गरेका थिए ।

सो गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसकी उपाध्यक्ष मञ्जु मल्लले १० हजार ३४ मत प्राप्त गरी विजय हासिल गरे । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी तजरुन निशाले आठ हजार ९१ मत प्राप्त गरेका थिए । आठ वडा रहेको खजुरामा माओवादी केन्द्रले चार, कांगे्रस तीन र एमालेले एक वडा जितेको छ ।

जानकी गाउँपालिकामा नेपाली कांग्रेसका छब्बन खाँले छ हजार ६५३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका हिमांशु यादवले चार हजार ७९५ मत ल्याएका थिए । उपाध्यक्षमा नेपाली काँग्रेसकी रामप्यारी यादवले छ हजार ६०९ मत ल्याउँदै विजयी हुँदा उनका निकटतम प्रातिस्पर्धी एमालेकी भूमिसरा धितालले तीन हजार ४५६ मत प्राप्त गरे । धिताल निवर्तमान उपाध्यक्ष हुन्। छ वडा रहेको सो पालिकामा माओवादी केन्द्रले एक, जसपाले दुई, कांग्रेसले तीन वडामा जित हासिल गरेको छ ।

जिल्लाको वैजनाथ गाउँपालिकामा नेपाली कांग्रेसका प्रकाश शाहले १२ हजार १८० मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रातिस्पर्धी एमालेका घननाथ खनालले १० हजार ३८२ मत प्राप्त गरे । माओवादी केन्द्रका दीपेन्द्र शाहले पाँच हजार २१४ मत प्राप्त गरेका थिए ।

वैजनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका निर्मला रोकायले १२ हजार १५२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेकी प्रेमपूर्णा योगीले १० हजार ७३३ मत ल्याएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

आजको प्रमुख समाचार