सार्वजनिक सेवा डिजिटल सिस्टममार्फत् घर-घरमै पुर्‍याउँछाैँ : समीक्षा बाँस्कोटा

२२ बैशाख २०७९, बिहीबार १८:२७ मा प्रकाशित

‘राजनीतिमा भएको फोहोर र राजधानीमा भएको फोहोर सफा गर्न’ भन्दै युवा नेतृ समीक्षा बाँस्कोटा काठमाडौं महानगरपालिकाको मेयरमा चुनावी मैदानमा छिन् । उनी महानगरवासीको घरघरमा पुगेर मत मागिरहेकी छिन् । मतदाताले आफ्ना एजेन्डा मन पराएको र मत दिएर विजयी गराउने भनेकोमा उनी उत्साहित छिन् । २०७४ सालमा प्रदेश सभा निर्वाचनमा पनि उनी प्रतिस्पर्धी थिइन् ।

बौद्धिक नेतृको पहिचानसमेत बनाएकी उनै बाँस्कोटासँग मेयर बने काठमाडौं महानगरपालिकालाई कस्तो बनाउनुहुन्छ भनेर प्रश्न गरेका छौँ । यिनै प्रश्नको सेरोफेरोमा रहेर गरेको कुराकानी :

तपाईंले चाहेको काठमाडौं महानगर कस्तो हो ? 
पहिलो त भ्रष्टाचार नियन्त्रित काठमाडौं महानगरपालिका चाहेकी हुँ । सुशासन र जनमुखी सेवा प्रवाह भएको महानगरपालिका बनाउन चाहेकी हुँ ।

भ्रष्टाचार नियन्त्रण गर्न पूरै महानगरपालिका र यहाँका सबै वडालाई ‘डिजिटलाइज’ गरेर ‘सिस्टम’ले काम गर्ने हो । यही सिस्टमबाट हामी सार्वजनिक सेवा घरघरमा प्रवाह गर्ने पक्षमा छौँ । नागरिकलाई आवश्यक सबै सेवा घरघरमै व्यवस्था गर्छौं । यसले भ्रष्टाचार नियन्त्रण मात्र होइन, सुशासन कायम गर्छ । सेवा प्रवाह पनि चुस्तदुरुस्त हुन्छ ।

डिजिटल प्रणालीबाट प्रवाह गर्न चाहेका सेवाहरू के–के हुन् ?
वडामा ढड्डा पल्टाउने पुरानो शैली जुन अहिले पनि छ नि, त्यसलाई पूरै ‘डिजिटलाइज’ गर्ने हो । नागरिकता, जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्तालगायतको सिफारिसका लागि सेवाग्राहीले अनलाइनबाट ‘अपलोड’ गर्न र त्यसको प्रमाणीकरण अनलाइनबाटै हुने व्यवस्था गर्ने हो ।

डिजिटल कपी चाहिने भए इमेलबाट प्राप्त हुने र त्यसलाई प्रिन्ट गरेर प्रयोग गर्न सक्ने बनाउन चाहन्छौँ । यसो हुँदा समय वचत हुन्छ । भ्रष्टाचार नियन्त्रण गर्न टेवा पुग्छ ।

काठमाडौंमा यातायात सेवा पूरै अस्तव्यस्त छ । व्यवस्थित बनाउन तपाईंको एजेन्डा के छ ?
यसका लागि पहिलो त सुलभ र व्यवस्थित सार्वजनिक विद्युतीय यातायात सेवा सुरु गर्नुपर्छ भन्ने हाम्रो एजेन्डा छ । साना, मझौला र ठूला सबै सवारी साधनलाई छाता सङ्गठनमा ल्याएर द्रुत गतिका र मझौला बसलाई चलाउने, जुन चाहिँ सुलभ पनि होस्, व्यवस्थित पनि होस् र अपाङ्गतामैत्री पनि होस् ।

बिस्तारै यी सवारीसाधनलाई विद्युतीय यातायातमा रुपान्तरण गर्दै लाने भन्ने हो । र, जताजतै अस्तव्यस्त पार्किङ छ । बहु तले भवन बनाएर पार्किङ व्यवस्थित गर्छौं ।

अनि, यससँगै हामी काठमाडौंमा नेवाः कला र संस्कृतिको पुनर्जागरण गर्ने पक्षमा छौँ । यो त जीवन्त सांस्कृतिक संग्राहलय बन्न योग्य सहर पनि हो । यहाँका नेवाः संस्कृति र कलाको संरक्षण गर्न चाहन्छौँ ।

यहाँका मुख्य नदी बागमती, विष्णुमती लगायतलाई संरक्षण र सफा पार्छौं । प्राकृतिक बहावमा छोड्छौँं । नदी आसपासको क्षेत्रमा वृक्षारोपण गर्छौं ।

काठमाडौंलाई सफा र व्यवस्थित राख्ने पनि हाम्रो एजेन्डा छ । अहिले फोहोर व्यवस्थापन समयमा हुन सकिरहेको छैन । धँुलो र धुवाँको प्रदूषण उस्तै छ । सुन्दा सानो कुरा जस्तो लागे पनि काठमाडौंमा दशकौंदेखिको समस्या फोहोर व्यवस्थापन हो । प्रदूषणको हो ।

तपाईले जिते पाँच वर्षमै त यी काम पूरा होलान जस्तो छैन नी ? 
नसकिने के नै छ र ? सिस्टम डिजिटलाइज गर्न पाँच वर्ष पर्खिनै पर्दैन । १–२ वर्षमै सम्भव छ । नदी सफाइको सन्दर्भमा एउटा कुरा जोड्छु । भारतको केरलामा ७० दिनमा सात सय जना लागेर त्यहाँको ‘मृत’ नदीलाई पुनस्र्थापना गरे । यहाँ सातामा एक दिन बागमती सफा गर्छु भनेर केही हुँदैन । त्यसको मूल सफा गर्नुप¥यो । यस्तो इच्छाशक्ति भएको व्यक्ति महानगरको प्रमुख पदमा पुगेको अवस्थामा जे–जे प्रतिज्ञापत्रमा उल्लेख छ, पूरा नगर्ने भन्ने हुँदैन ।

हामीले भनेका छौँ ५० वटा सार्वजनिक शौचालय काठमाडौंमा एक वर्षभित्रमा बनाउँछौँ । हामीले ठ्याक्कै पाँच वर्षभित्र गर्न सकिने एजेन्डा मात्रै तय गरेका छौं ।

यहाँको सार्वजनिक शिक्षा र स्वास्थ्य सेवा पनि उस्तै छ । यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
हाम्रो सङ्घीय शिक्षा नीतिमै परिवर्तन आवश्यक छ । यो शिक्षा नीति व्यापारीलाई पोस्ने र सामुदायिक विद्यालयलाई मास्ने खालको छ । विवेकशील साझा पार्टीले उठाएको एजेन्डा भनेको शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व हुनुपर्‍यो भन्ने हो । शिक्षा निःशुल्क तर गुणस्तरीय हुनुप¥यो । निःशुल्क भन्दैमा जिर्ण हुनु भएन ।

बुढानीलकण्ठ शैलीका स्कुलहरू देशभर बन्नु पर्यो भन्ने हो । र, काठमाडौं महानगरमा करिब ९२ जना सामुदायिक विद्यालय छन् । दूरी नजिक भएका विद्यालयलाई गाभ्ने, भौतिक संरचना एकै ठाउँमा ल्याएर नमुना विद्यालय बनाउने र न्यून आय अथवा विपन्न आय भएका वर्गको मात्र पहुँच भएको सामुदायिक विद्यालयको शिक्षकहरूलाई तालिमप्राप्त बनाउने र हरेक अभिभावकको रोजाइ सामुदायिक विद्यालयको शिक्षा हुने बनाउँछौं ।

हामी ‘सार्वजनिक–साझदोरी’ मोडलमा काम गर्न सक्छौँ । शिक्षाविद्हरूसँग बसेर नवीन र समयानुकूल सामुदायिक शिक्षाको सवालमा काम गर्न भन्ने हो । विद्यार्थीको दलगत संगठनलाई बढ्वा दिँदैनौँ । विद्यालय व्यवस्थापन समितिमा दलगत भागबन्डा तोड्छौँ । शिक्षालाई दलहरूले प्रमुख एजेन्डा चाहिँ बनाउनुपर्छ तर शिक्षामा राजनीतिक गर्नुहुँदैन भन्ने पक्षमा छौँ ।

यहाँको सम्पदा संरक्षणमा तपाईंको केही योजना छ ? 
स्थानीय गुठीलाई परिचालन गरेर सम्पदाहरूको संरक्षण थाल्ने हो । हाम्रा ढुङ्गे धारा, हिटीलगायत संरक्षणविहीन छन् । यहाँका ढुङ्गा ढुङ्गामा हाम्रो कला छ । त्यसलाई कसरी पुनर्जागरण गरेर अर्को पुस्तामा पुस्तान्तरण गर्न सकिन्छ भन्ने मुख्य कुरा हो ।

नेवाः संस्कृति, सम्पदा, कलाको संरक्षण गर्ने हाम्रो नीति छ । यहाँ बौद्ध विहार, मठ मन्दिर छन् । तर, कतिपय जिर्ण अवस्थामा छन् । यिनीहरूको संरक्षण र थप विकास गरेर ‘ब्रान्डिङ’ गर्न चाहन्छौँ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बहुपदीय प्रणालीमा सहमति भएसँगै गैरआवासीय नेपाली संघ(एनआरएनए)मा पहिलो कार्यकारी अध्यक्ष भएका हुन् कुल आचार्य। एनआरएनएको इतिहासमै पहिलोपटक बनेको यो

मुलुकमा सङ्घीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएका नागेश कोइराला राजनीतिक वृत्तमा मात्र नभई

आगामी सङ्‍घीय र प्रदेश संसद्को निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुनेमा शंका उत्पन्‍न हुनेगरी शीर्ष नेताहरूले नै अभिव्यक्ति दिइरहेका छन् । स्थानीय

नयाँ दिल्ली । भारतमा फेरि कोभिड संक्रमित बढेका छन् । तीन महिनामा पहिलो पटक ठूलो संख्यामा संक्रमित थपिएका हुन् ।