एक्जिममा ४७ करोड घोटला

२२ मंसिर २०६९, शुक्रबार १३:३७ मा प्रकाशित

काठमाडौं, २२ मंसिर । थापाथलीस्थित ८४ वर्षीय जोगी रत्नदेवी घिमिरेले विगत सात वर्षअघिदेखि नजिकै रहेको एक्जिम बहुउद्देश्यीय सहकारीमा पैसा जम्मा गर्दै आएकी थिइन् । मागेर जम्मा भएको पैसा विश्वासीलो संस्था भनेर जम्मा गर्दै जाँदा हाल सात लाख जम्मा भएको थियो । तर, संस्थाका सञ्चालक निक्षेपकर्ताको रकम लिएर फरार भएपछि यतिबेला उनी चिन्तित बनेकी छन् ।
थापाथलीस्थित एक मन्दिरमा बस्दै आएकी सन्यासी एक सय आठ बंगलामुखी बैरागी दासको ६ लाख रुपियाँ पनि लिएर सो सहकारीका सञ्चालक फरार भएका छन् । ‘चिहान किन्नु पर्छ,’ दासले भनिन्, ‘चिहान किन्नकै लागि जम्मा गरेको रकम लिएर फरार भए ।’ अब भगवान्को भरोसा रहेको उनी बताउँछिन । करिब १७ सय सेयर सदस्य रहेको यस संस्थामा ४७ करोड निक्षेप रहेको थियो ।
‘निक्षेप फिर्ता नपाएको गुनासो डिभिजन सहकारी कार्यालयमा गरिरहेका छाँै,’ पीडित सदस्य विनोद शाहीले भने, ‘डिभिजन कार्यालयले चिठी पठाउने काम मात्र गर्‍यो ।’ परिवारका सदस्य सबैको नाममा गरी करिब ३४ लाख निक्षेप रहेको उनको दाबी छ । ‘९ महिनाअघि ४० हजारको चेक साट्न खोज्दा नसाटेपछि मलाई शंका लागेको थियो,’ उनले भने, ‘हाल संस्थाका सञ्चालक नै फरार भए ।’ सदस्यको रकम लगानी गरेको क्षेत्र देखाउन आग्रह गरेको भए पनि कुनै ठाउँमा लगानी नरहेको पाइएको उनले बताए । त्यस्तै पूर्णलक्ष्मी श्रेष्ठले सुन बेचेर राखेका थिए । १४ प्रतिशत ब्याज दिने सर्तमा २३ कात्तिक ०६७ देखि २२ कात्तिक ०६९ सम्ममा उनले दुई लाख निक्षेप जम्मा गरेका थिए । त्यस्तै, १४ प्रतिशत ब्याज दिने सर्तमा ०६८ असोज २४ गते देखि ०७० असोज २४ सम्मका लागि एक लाख जम्मा गरेको उनले बताइन् ।
‘चिनजान भएको र ब्याज पनि राम्रै पाइने आशामा पैसा राखियो अहिले यस्तो अवस्था भयो,’ उनले भनिन् । यस्तै अर्का निक्षेपकर्ता रन्जन श्रेष्ठको पाँच लाख रहेको छ । ‘हामी हनुमान ढोकादेखि राष्ट्रपति कार्यलयसमेत पुग्यौँ ।’ रन्जनले भने, ‘अहिलेसम्म राज्यबाट कुनै पहल भएको छैन ।’ संस्थामा समस्या सुरु भएको समयदेखि नै नियामक निकाय र राष्ट्रिय सहकारी संघसमेतमा निवेदन दिइएको थियो तर त्यसको उनीहरूले बेवास्ता गरेको उनीहरूको आरोप छ । डिभिजनमा आएको निवेदनअनुसार प्रहरीलाई पक्राउ गर्न चिठी पठाइसकेको डिभिजन सहकारी कार्यालय काठमाडौंका सहकारी अधिकृत कृष्णप्रसाद शर्माले बताए । संस्थाबारेमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको शर्माले जानकारी दिए ।
यस सहकारीका अध्यक्ष रामप्रसाद हाडा हुन् । उनी क्रिस्टल फाइनान्सका महाप्रबन्धकसमेत रहेका छन् । उनकी श्रीमती निर्मला हाडा पाटन बहुउद्देश्यीय सहकारीका अध्यक्ष रहेकी छिन् । उनी जिल्ला सहकारी संघ ललितपुरको सञ्चालक सदस्यसमेत हुन् । संस्थाको नाममा चार करोड रुपियाँ उनकै श्रीमती अध्यक्ष रहेको पाटन बहुउद्देश्यीयमा ऋणका रूपमा राखेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

आजको प्रमुख समाचार