महिमा लोडशेडिङको (लेखनाथ थापा)

११ चैत्र २०६८, शनिबार १६:५२ मा प्रकाशित

लोडसेडिङले सबैलाई दिक्क पारेका बेलामा तलाई मात्र केको खुसी भन्नु होला। मलाई त खुसी नै लागिरहेको छ । किनकि आजसम्म दिनमा आठ घण्टा मात्र न हो । जावो आठ घण्टा बिजुली देख्नल नपाउँदा के भो र । जावो आठ घण्टा नाथे दैनिक नित्यकर्म गर्दा गर्दै बिताउन सकिन्छ । बाँकी सोह्र घण्टा बिजुलीसँग उठबस गर्न पाइएकै छ । मानिसहरु त्यत्तिकै आत्तिएका छन्, कुरा काटेका छन्, काटेका छन् । पोहोरसाल दिनमा सोह्र घण्टा अँध्यारो खेपेको बिर्सनु भो ? यसपाली अहिलेसम्म मात्र आधा याने आठ घण्टा । पुरा र आधाको फरक हिसाव गर्ने हो भने सिधै आधा फाइदा । पछि लोडसेडिङ बढ्जाने कुरा आफ्नै ठाउँमा छ ।

हिजोअस्ति कुन दिन हो मन्त्रीजी प्रष्ट्याउँदै हुनुहुन्थ्यो; लोडसेडिङ अझ बढ्छ भनेर । बढ्दाबढ्दै अठार घण्टा पुग्‌छ रे । यो सुन्दा त मन त्यसै फुरुंग भएर आउँछ । आहा ! आजभोली कत्ति रमाइलो । एकैछिनमा फेरी मन कुँडिएर आउँछ । अठार घण्टा लोडसेडिङ भयो भने ? हुन्छ, नहुने कुरै छैन । मन्त्रीले भनेका कुरा नपत्याए कसका कुरा पत्याउने । तव त बिजुली नानीसँग भेटै नहुने भो । बिहान उठेदेखि राती नसुतेसम्म लोडसेडिङ । अनि कसरी भेट होला त, सपनामा ?

मन्त्रीजी दिक्क हुनुभारछ । जति लोडशेडिङ गरेपनि हुनेखानेका घरमा सँधै उज्यालो । यो वर्गले इन्भर्टर राखेर झन धेरै विद्युत खपत गर्दा रहेछन् । हुँदा खानेहरुलाई झन सास्ती भा छ । मन्त्रीजीले नयाँ उपाय निकाल्नु भो इन्भर्टरको आयात नै किन बन्द नगर्ने । तर आयात बन्द गरेको एक बर्ष भैसक्यो । हुनेखानेहरुका घरमा कहिल्यै अँध्यारो छिरेन । इन्भर्टरको आयात बन्द गर्ने उपायले काम नगरेको हो त भनेर पत्रकारले सोधनी गर्दा वहाँ भन्दै हुनुहुन्थ्यो हामीले हिउँदमा लोडशडिङ गर्दाका बखतमा मात्र इन्भर्टरको आयात बन्द गरेका हौं; बर्षा याममा होइन । धूर्तहरुले वर्षायाममा इन्भर्टरको आयात गरी हिउँदमा बिक्री गर्दारहेछन् त के गर्ने ।

एकताका एउटा यस्ता मन्त्री आउनु भो । अलिक दिन लोडशेडिङ बन्द गराउनु भो । लोडशेडिङ होइन कि बढी भन्दा बढी विद्युत खपत गर्न उपभोक्ताहरुलाई सल्लाहा पो दिनुभो । भरसक सबैले हिटरमा खाना पकाई खेरजाने विद्युत खपत गर्नुपर्छ भन्दै ग्यास र मटितेल भन्दा हिटरमा खाना पकाउँदा सस्तो पर्छ भन्न पनि भ्याउनु भो । त्यसबेला विद्युत प्राधिकरणाले पनि मन्त्रीजीकै भाषामा खोक्यो । तर दुःखको कुरो मन्त्रीजी धेरैदिन टिक्नु भएन । फेरी लोडशेडिङ शुरु भैगो । धेरैलाई बुझ्न गाह्रो भयो । कहिले नपुग्ने कहिले धेरै हुने यो लोड भन्ने चीज कस्तो विचित्रको हुँदोरहेछ । तर मेरो सोझो दिमागले पछि आफैं चित्त बुझायो । विद्युतको लोड भनेको चाहिए अनुसार बढाउन र घटाउन सकिने प्रचुर लचकता भएको इलास्टिक वस्तु रहेछ क्यार ।

तर जे होस लोडशेडिङले नेपाललाई एउटा छुट्टै पहिचान दिएको छ । अरु उज्यालो मनपराउँछन् । हामी नेपालीहरु अन्धकार प्रेमी भएकाछौं । सुनको भाउले नयाँ कीर्तिमान कायम गरे झैं लोडशेडिङको मामलामा नेपालले पनि विश्वए किर्तिमान कायम नगर्ला भन्न सकिन्न । यस मामलामा हाम्रा मन्त्रीहरु पनि सचेत छन् । जो मन्त्री आएपनि भरसक लोडशेडिङ कसरी बडाउन सकिन्छ भन्ने विषयमा रातोदिन कसरत गरेकै हुन्छन् । आफ्नो पालामा विश्वभ किर्तिमान कायम गर्न गराउन कसलाई पो रहर हुन्न र । चौबीसमा चौविस नभएपनि कम्तिमा अठार घण्टा लोडशेडिङको समयावधि पुर्यााउने हाम्रो लक्ष्य हो । तर पोहोर परार सालमा पनि यो लक्ष्य हाँसिल गर्न सकिएन । सोह्र घण्टासम्म पुगेर फर्किनु पर्यो् । यो साल के होला भन्न सकिएन तर अर्को साल सम्ममा पक्कैपनि अठार घण्टाको लोडशेडिङ गर्ने लक्ष्यमा कसो नपुगिएला ?
हरेक कुरालाई सकारात्मक सोचबाट हेर्नु पर्दछ । लोडशेडिङ जतिसुकै बढेपनि यसका सकारात्मक पक्षहरु प्रसस्तै छन् । यसबाट धेरै फाइदा पनि लिन सकिन्छ । अथवा यसलाई यसरी भनौं कि नेपालले सालबसाली रुपमा लोडशेडिङबाट धेरै फाइदा लिइरहेको छ । कसरी भन्नुहोला । ल सुन्नुहोस-

लोडशेडिङका कारणले उद्योग कलकारखाना कम चल्ने वा बन्द हुनेहुँदा कामदारहरुको कार्यबोझ घट्छ । कम काम गरेनि तलब पाकिहाल्छ । मालिक वर्गलाई पनि प्रसस्त फुर्सत हुन्छ । मनोरन्जन, खेलकुद, घुमफिर जे जे गरेपनि भो । सन २०११ लाई पर्यटन वर्ष मनाउन हामीहरुलाई फुर्सत पनि त चाहिएको छ । फेरी कल कारखाना बन्द भएपछि प्रदुषण कम हुन्छ नै । प्रदुषण कम हुनु भनेको कार्वन उत्सर्जन कम हुनु हो । यसैपनि नेपालले अन्य विकसित मुलुक भन्दा कम कार्वन उत्सर्जन गरी बायुमण्डल स्वच्छ राख्न मा योगदान पुर्यािएको छ र यसवापत डलर प्राप्त गर्ने गरेको छ । अझ देशका उद्योगधन्दा सबै बन्द हुनेहो भने त कार्वन उत्सर्जन शून्य हुनेछ । यो शून्यताका आधारमा देशले झन् ठूलो धनराशि भित्र्याउन सक्नेछ । के यो हाम्रोलागि खुसीको विषय होइन र ?

जे कुरालाई पनि कम खर्च गरे बचत धेरै हुन्छ । यो सर्वमान्य सिद्धान्त हो । यस अनुसार लोडशेडिङ गरी कम खर्च गर्दा विद्युत धेरै बचत हुन्छ । यसरी बचत गरी राखेमा आवश्यक पर्दा चाहिएजति खर्च गर्न पाइन्छ । पत्याउनु भएन ? प्राविधिक कुरा जेसुकै होस् । तर सोझो हिसाव गर्दा विद्युत प्राधिकरणले लोडशेडिङबाट धेरै विद्युत बचत गर्नेगरेको छ । तिहारमा हेर्नुहोस् त । नेपाल अधिराज्यभरी एकैपटक झिलिमिली बिजुली बल्छ । फारुतिनु गर्दै, बचत गर्दै, गर्जो टार्दै गर्ने विद्युत प्राधिकरणको यो शैली मलाई साह्रै माहान लाग्दछ ।

आफ्नो घर नजिकैको एउटा डान्सबारको आवाजले दिक्क भएर कुलेश्व्रका एक महानुभावले एकदिन रातको एक बजे आफ्नो बन्दुक झिकेर गई त्यस डान्सबारको साइनबोर्डमा दशौं गोली बर्षाएका थिए । पाँचसात वर्ष अघि लोडशेडिङ नहुँदाका बखत आएको एउटा समाचार हो यो । सबैले सुन्नु/पढनु भएकै हुनुपर्छ । तर लोडशेडिङ हुँदा यस्तो सास्ती कसैले बेहोर्नु पर्दैन । रात्रि व्यवसायहरु होटल, रेस्टुँरा, डान्सबार, गजल, दोहोरी सबै बन्द । मसाज पार्लर, डिस्को, क्यासिनो सबै बन्द । न हुल्याहा फटाहाहरुको बिगबिगी । न यातायातको घाइँघुईं । अनि चकमन्न शान्त रात । सहरबासीलाई आनन्दको निन्द्रा । धन्य लोडशेडिङ ।

लोडशेडिङले नयाँ आयोजनाहरु ल्याउन प्रेरित गर्दछ । निर्माणाधिन विद्युत आयोजनाहरु पनि चाँडो सम्पन्न गर्न दवाव सृजना हुन्छ । यसबाट आधिकारी वर्गलाई कुन आयोजना ल्याउँदा कसरलाई कति र आफुलाई कति फाइदा पुग्छ भनेर गृहकार्य गर्न सजिलो हुन्छ । यस्तो दवावका अवसरमा ठेकेदारलाई पनि झटपट लटपट गरी आयोजना हस्तान्तरण गर्न ठूलो सहयोग पुग्दछ ।

आजकाल काठमाडौंमा ट्राफिक जामको उस्तै समस्या भएको छ । लोडशेडिङ हुँदा यो समस्या पनि स्वतः समाधान हुन्छ । नरहे बाँस नबजे बाँसुरी भनेझैं न रातो बत्ति बल्छ न अनावश्य क गाडिहरु रोकिन्छन् । त्यसैगरी लिफ्टहरु बन्द हुन्छन् । मानिसहरु स्वतः भर्‍याङ चड्छन् ओर्लन्छन् । यसले शारीरिक कसरत बड्छ । मानिसहरु निरोगी हुन्छन् । औषधीको आयात घट्छ । व्यापार घाटा कम हुन्छ । देशमा आर्थिक क्रान्ति गर्नुनै छ । जव देशको ब्यापार घाटा कम हुन थाल्छ तव आर्थिक क्रान्तिको श्रीगणेश हुन्छ ।

विद्यार्थीहरुको पढाई बिगार्ने प्रमुख कारक तत्व टिभी नै हो । लोडशेडिङले टिभी नचलेपछि पढाई बिग्रिने कुरै भएन । विद्यार्थीको पढाई सप्रनु भनेको कसैका छोराछोरी नबिग्रनु हो । छोराछोरी नबिग्रनु भनेको आमाबाबुका नगद, गरगहना, हाँडाभाँडा आदि सुरक्षित हुनु हो । विद्यार्थीहरु मात्र किन, हरेक मानिसको बौद्धिक स्तर बढाउन पनि लोडशेडिङले मद्दत पुर्यााउँछ । कसरी भन्नुहोला । जव हातको रिमोटले काम गर्दैन तब उ फुर्सत हुन्छ । फुर्सत भएपछि केहिन केही गर्न अग्रसर हुन्छ । मइनबत्ती बालेरै भएपनि पढ्न लेख्नउ कोशिस गर्दछ । पढन लेख्नछ नसके उ सोचमग्न हुन्छ । जव मानिसलाई सोचने फुर्सद हुन्छ तव उसको बौद्धिक विकास हुन्छ हुन्छ । अब भन्नुहोस् त के लोडशेडिङ गर्नु खराव काम हो ?

बहुउपयोगी, बहुजन हिताय, धन्य लोडशेडिङ !
सबैले गुणगान गाउनै पर्ने, धन्य लोडशेडिङ !

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो