सन्धिखर्कमा प्लटिङको अतिक्रमण

२१ मंसिर २०६९, बिहीबार १३:५६ मा प्रकाशित

अर्घाखाँची, २१ मंसिर । बढ्दो जनसङ्ख्या र गाउँबाट बसाइँसराइ गरी सहरमा बसोबास गर्ने क्रम तीव्र रूपमा अघि बढेपछि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको सौन्दर्य दिनप्रतिदिन गुम्दै गएको छ । कथित रूपमा नगरपालिकासमेत भनिने सन्धिर्खकमा रहेका अधिकांश राम्रा र आकर्षक स्थानमा बिनामापदण्ड घर बनेकाले यसको सौन्दर्य गुमेको छ । अचम्मलाग्दो कुरा के छ भने यहाँ विगतमा खराब मानिने स्थानहरू अहिले महत्वपूर्ण बनेका छन् र घडेरीको रूपमा धमाधम बिक्री भइरहेका छन् । ४–५ वर्षअगाडि एक्लै हिँड्न डर लाग्ने गुण्टिखोलामा अहिले सुन्दर भवनहरू निर्माण गरिएको छ र बाँकी जमिनमा पनि प्लटिङ गरी घडेरीहरू बिक्री–वितरणलाई अगाडि बढाइएको छ ।
हुन त आफ्नो जमिनको सदुपयोग गर्ने अधिकार मुलुकी ऐनमा पनि उल्लेख गरिएको छ । तर, सडक र माटोको स्थितिलाई अध्ययन नगरी बिक्री गरिएका घडेरी र त्यसमा निर्माण गरिएका भवनमा भने उज्ज्वल भविष्य देख्न सकिँदैन । माओवादी द्वन्द्वका पालामा सदरमुकाम आक्रमण सँगसँगै सम्पूर्ण नक्सा जलेका कारण सार्वजनिक जग्गाहरूमा पनि मनपरी भइरहेको र जथाभावी ढङ्गबाट घरहरू निर्माण भइरहेको कुरा शान्ति तथा पुनर्निर्माणमन्त्री टोपबहादुर रायमाझीले आफ्नो भाषणमा पटकपटक बोलेका थिए । तर, उनी बोलेको कुरामा यहाँको प्रशासन मौन बनिरहेको छ र भविष्यमा सर्वसाधारणले व्यहोर्नुपर्ने समस्यालाई टुलुटुलु हेरिरहेको छ ।
लुम्बिनी अञ्चलमै सबैभन्दा महँगो दरमा, सन्धिखर्कमा घडेरी बिक्री हुने हुँदा प्लटिङ व्यापार फस्टाउँदै गएको छ । बसपार्क, बागीखोलालगायतका थुप्रै स्थान दिनदिनै साँघुरिँदै गएका छन् । सन्धिखर्क आसपाससम्म एक हातको ८० हजारदेखि सात लाखसम्ममा घडेरी बिक्री भइरहेका छन् । त्यसो त यहाँ निश्चित कुनै दर नराखिएको हुँदा मनपरी पनि भएको छ । प्रायःजसो आफ्ना छोराछोरीलाई बोर्डिङ पढाउन सदरमुकाममा कोठा भाडा लिई बसोबास गरेका महिला, जसको श्रीमान् विदेशमा पैसा कमाइरहेका छन्, उनीहरूले बढी मात्रामा विगतको समयमा घडेरी खरिद गर्ने गरेको र श्रीमान् विदेशबाट आउँदा घडेरीकै कारण धेरै पतिपत्नीको सम्बन्धसमेत बिग्रिएको स्थानीयवासी बताउँछन् । अर्कातर्फ घडेरी बिक्री गरेबापत राम्रो कमिसन पाइने कारण जमिनका मालिकले आफ्नो मान्छेलाई गाउँगाउँमा पठाउने र एउटा ग्राहक पाउनासाथ उसलाई फकाइफुल्याई सदरमुकाम सन्धिखर्कमा ल्याई उसबाट बैना रकम बुझ्ने काम हुने गरेको छ ।
उता, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालयलगायतका कार्यालयबाट सजिलै देखिने र पैदलबाट दुई मिनेटमा पुग्न सकिने हटारीनेटा जाने मोटरबाटो, प्लटिङकै कारण सामान्य वर्षासँगै नष्ट भएको छ । बाटोमुनि लगाइएका जालीहरू र ह्युमपाइपहरू यत्रतत्र छरिएका छन् । जसको कारण हटारीलगायतका बासिन्दाले थप सास्ती व्यहोर्नुपरेको छ । हिउँदको समयमा डोजरद्वारा माटो पुरी बनाइएको प्लटिङ समाप्त त भयो नै, मानिस र यातायातका साधन चल्ने बाटो पनि समाप्त हुनु स्थानीयका लागि समस्या नै देखिन्छ । जथाभावी डोजर सञ्चालन गरी बनाइएका ह्युमपाइपहरू सामान्य वर्षात्ले पनि अलगअलग बनाइदिएको छ भने साथमा जोडिएका घरहरूको पनि गुन्टीखोलामा कन्तबिजोग भएको छ । विडम्बना यहाँको प्रशासनले आफ्नो तलब र सुविधा लिनेबाहेक अरू केही गर्न नसकेको सन्धिखर्कको दृश्यले आफैँ बताउँछ ।
सन्धिखर्क हुँदै बसपार्क, चुत्राबेंसी बजार, पाणिनी बहुमुखी क्याम्पसलगायतको स्थानमा पुग्नका लागि गुन्टीखोला उपयुक्त मानिन्छ, तर वर्षेनी वर्षाको समयमा यो स्थानमा हिँडडुल गर्न कठिनाइ हुनुको साथै यातायातका साधन वारपार गर्न नसकिरहेको अवस्था छ । सन्धिखर्कको मुटु मानिने गुन्टीखोलाको दुर्दशा व्याख्या गरी साध्य छैन । तर, जिल्ला विकास समितिको कार्यालय भने वर्षौंदेखि चुपचाप बसिरहेको छ र स्थानीयले दुःख पाएको टुलुटुलु हेरिरहेको छ । गुन्टीखोलाको समस्यालाई समाधान गर्न र कज्वे निर्माणका लागि गत साल पनि यहाँका स्थानीयवासीले पटकपटक सरोकारवालाहरूसँग हारगुहार मागेकै हुन्, तर सुनिदिने जिल्लामा कोही पनि भएन ।
गुन्टीखोलाको समस्यालाई सामान्य भन्न पक्कै पनि मिल्दैन किनकि बसपार्क, इसारा लाइनलगायतका नानीबाबुहरूलाई बोर्डिङ जान यही बाटो भएर हिँड्नुपर्छ भने ढिकुरा, डिहिडाँडा, गच्छे, सन्धिर्खक बजार, अस्पताल लाइनलगायतका ठाउँबाट पाणिनी बहुमुखी क्याम्पसमा जानका लागि दैनिक रूपमा सयांै विद्यार्थीले यो बाटो ओहोर–दोहोर गर्नुपर्छ । सदरमुकामबाट नयाँ बसपार्क, चुत्राबेंसी बजार, बाँडला, बल्कोट हुँदै गुल्मी, तम्घास, रिडी हुँदै पाल्पा, तानसेन जानका लागि पनि यो सडकखण्ड उपयुक्त मानिन्छ । सन्धिखर्कका महिलाले ६–७ महिना अगाडि गुन्टीखोलाको बीचबाटोमा जम्मा भई रोपाइँजात्रा गरी सरोकारवालाहरूको ध्यानाकर्षण पनि गराएका थिए । तर, अब यो बाटो बन्ला र यात्रुलाई सजिलो होला भन्ने आशा उनीहरूमा सेलाएको छ । हालै घोषण गरिएको नगरपालिकाको मुटु मानिने गुन्टीखोलाजस्तो ठाउँमा वर्षांदेखि यो हालत हुँदा जिल्लामा रहेका सरोकारवालाहरूले आवाज नउठाउनु लाजमर्दो भएको स्थानीयको भनाइ छ । यस्तै द्वन्द्वकालमा सदरमुकाम आक्रमण हुँदा नापीनक्सा जलेको कारण सन्धिखर्कभित्र सार्वजनिक जग्गाहरूसमेत आफ्नो हो भनी खरिद–बिक्री गर्ने गरिएको स्थानीय बूढापाकाहरू बताउँछन् । जसबाट भविष्यमा सन्धिखर्कमा समेत एउटा द्वन्द्वको स्थिति नआउला भन्न सकिँदैन ।
जिल्लामा आएका प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भुर्तेलले पहिलो पत्रकार भेटघाट कार्यक्रममा आफूले सार्वजनिक जग्गा हडप्नेहरूलाई कारबाही गरेरै छाड्ने र करिब एक लाख ६० हजार जनसङ्ख्या रहेको अर्घाखाँचीमा बढीमा पाँच सयजनाले सार्वजनिक जग्गा हडप्दैमा आफू नडराउने अनि काठमाडौंबाट नक्सा मगाएर भए पनि सार्वजनिक जग्गा अलग्याउनेमा प्रमुख जिल्ला अधिकारी भुर्तेलले प्रतिबद्धता जायर गरेको पनि एक महिनाभन्दा बढी भइसक्यो तर उनको प्रतिबद्धता लागू हुने हो वा प्रतिबद्धतामै सीमित रहने हो, हेर्न अझै बाँकी नै रहेको छ ।
– मुक्तिनाथ भुसाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा