यस्ता छन् ‘स्वच्छ’ भट्टराईका भ्रष्ट ‘कीर्तिमान’

२० मंसिर २०६९, बुधबार १०:१६ मा प्रकाशित

रामहरि पाण्डे / काठमाडौं, २० मंसिर । डा. बाबुराम भट्टराई ‘सामान्य प्रधानमन्त्री’ होइनन् । उनी आफ्नो १५ महिने कार्यकालमा अनेकन रेकर्ड राख्न सफल भएका छन् । उनले राखेका रेकर्डले एमाओवादीका उपाध्यक्षसमेत रहेका भट्टराई ‘सामान्य प्रधानमन्त्री’ नभएको पुष्टि गर्छ । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै आमनेपालीको उनीमाथि निकै ठूलो विश्वास थियो– नेपाली इतिहासले लामो समयपछि सक्षम नेतृत्व पाएको भन्दै । अझ आमनेपालीको तुलनामा गोरखाका बासिन्दाले धेरै विश्वास गरेका थिए । आफ्नो जीवनको अनेकन मोडहरूमा रेकर्ड नै रेकर्ड राख्न सफल भएका व्यक्ति प्रधानमन्त्री भएपछि रेकर्डको सूची बढाउनेमा ढुक्क थिए, सर्वसाधारण । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै उनले भनेका थिए, ‘म अरूजस्तो प्रधानमन्त्री होइन, शान्ति र संविधान निर्माण कार्यलाई टुङ्ग्याई समुन्नत नेपाल निर्माण गरिछाड्नेछु, यो मेरो पहिलो वाचा भयो ।’ तर, उनको पहिलो वाचाले अझै पूर्णता पाउन सकेको छैन । यद्यपि भट्टराईले आफ्नो कीर्तिमानीको सूचीलाई भने निकै लामो बनाएका छन् । प्रधानमन्त्री भट्टराईले बनाएको सूचीलाई पछ्याउने नेपाली नेता पछिल्ला दिनमा सायदै जन्मने छैन र उनीबाहेक आज देखिएको पनि छैन ।
गत वर्षको ११ भदौमा प्रधानमन्त्री नियुक्त भएलगत्तै भट्टराईले नेपालमै बनेको ‘मुस्ताङ म्याक्स’ (सुविधाविहीन) गाडी चढे । प्रधानमन्त्रीजस्तो व्यक्तिले सुविधाविहीन गाडी चढ्छन् भने पक्कै जनहितमा काम गर्छन् भन्ने ‘भ्रम’ नेपाली जनतामा पैदा पनि भयो । त्यसले जनतामा उनीमाथि झन् धेरै विश्वास जाग्यो । यहीँबाट सुरु भयो, भट्टराईको कीर्तिमानी सूचीमा नयाँ–नयाँ बुँदाहरू थपिने कार्य ।
अपवादमा बाहेक भट्टराईभन्दा अघिल्ला प्रधानमन्त्रीले विदेशबाट पार्टपुर्जा ल्याएर नेपालमै जोडजाम गरी बनाएको गाडी चढेका थिएनन् । भट्टराईले पुराना सबै प्रधानमन्त्रीलाई उछिन्दै नेपालमै बनेको गाडी चढेर पहिलो सूची यहीँनिर थपे । तर, सायद उनको आँखाका कमजोरीका कारण हुनसक्छ आफ्नो अघिपछि करोड मूल्य पर्ने गाडी गुडेको देखेनन् ।
प्रधानमन्त्री भट्टराईले सबैभन्दा ठूलो मन्त्रिमण्डल बनाएर नेपालको इतिहास ब्रेक गरे । उनको मन्त्रिमण्डलको सदस्यसङ्ख्या ४९ थियो । त्यसअघि काङ्ग्रेस नेता शेरबहादुर देउवाले ४८ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । देउवाले बनाएको भन्दा एकजना बढी मन्त्री थपी भट्टराईले आफ्नो रेकर्ड कायम गरे । भ्रमणका नाममा पनि सबैभन्दा धेरै राष्ट्रिय ढिकुटी उनैले रित्याए । प्रधानमन्त्री कार्यालयका अनुसार भट्टराई नेतृत्वको सरकारले भ्रमणमा मात्र अर्बभन्दा बढी रकम सकेको छ ।
पैसाका मामिला उनले आफूलाई सधैं पछाडि राखे पनि अघि बढाए, ‘विश्वकै सबैभन्दा प्रथम विवादास्पद ‘प्रथम पत्नी’ हिसिला यमीलाई । पैसा भनेपछि हुरुक्कै हुने यमीबाट गोप्य रूपमा करोडौँ रकम उठाउने काम भएको छ । यहाँ पनि भट्टराई रेकर्डको सूची विस्तार गर्ने कार्यमा सफल भए । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीपत्नी यमीले उद्योगी तथा ठेकेदार, दुई नम्बरी धन्दाको कारोबारमा लागेकाहरूलाई बालुवाटारमै बोलाएर तपाईंले यति सहयोग गर्ने भए गर्नुस् नत्र… भन्ने गरेकी छिन् ।
प्रधानमन्त्री भट्टराईले ससुराली खलकपट्टिका प्रायः सबैलाई ‘माल’ कमाउने स्थानमा सरकारी नोकरी लगाए भने आफ्नी भाइबुहारीलाई अर्बौंको आर्थिक कारोबार हुने गरिबी निवारण कोषमा नियुक्ति दिलाए । मुलुकको सामान्य खर्च बढाएर विकास खर्च घटाउने कार्यमा पनि उनी पूर्ण रूपमा सफल भए । निजामती प्रशासन, सेना, प्रहरी आदि निकायमा आफूअनुकूल व्यक्तिलाई प्रमुख बनाए । द्वन्द्वकालमा भारतको सत्तोसराप गर्ने भट्टराई प्रधानमन्त्री भएपछि तिनैको गुणगानमा लागे ।
प्रधानमन्त्री भट्टर्राइले मन्त्रालयका मन्त्रीहरू फेरेर पनि इतिहासमा आफ्नो रेकर्ड थपे । उनले श्रम मन्त्रालयका तीन÷तीनजना मन्त्री फेरे भने एकजनालाई त अपदस्त पनि गरे । भट्टराईको अपदस्तमा परिन् नेपाल सद्भावना पार्टी आनन्दीदेवीकी अध्यक्ष रहेकी सरिता गिरी । गिरीले प्रधानमन्त्रीले आफूले भनेको व्यक्तिलाई श्रम विभागबाट सरुवा गरेको भन्दै मन्त्री पदबाटै बर्खास्त गरेका हुन् । त्यस्तै हत्याको अभियोग लागेका प्रभु शाह, सूर्यमान दोङजस्ता व्यक्तिलाई उनले मन्त्री बनाए ।
भट्टराईले सबैभन्दा लामो समय र धेरै मन्त्रालयका मन्त्री बनाउने काममा पनि अरूलाई उछिने । उनले नौवटा मन्त्रालयको जिम्मेवारी एक्लै सम्हालिरहेका छन् । तर, आफूले सम्हालेका सहरी विकासबाहेक अन्य मन्त्रालयमा उनले एकचोटि पाइलासमेत टेकेका छैनन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ती मन्त्रालयबाट आउने फाइलमा हस्ताक्षर धस्काउनमै भट्टराई सीमित छन् । गत १४ जेठयता प्रधानमन्त्री कार्यालयसँगै ऊर्जा, कानुन, न्याय, संविधानसभा तथा सङ्घीय मामिला, कृषि विकास, युवा तथा खेलकुद, रक्षा, वाण्ँिज्य तथा आपूर्ति, सहरी विकास र सामान्य प्रशासन प्रधानमन्त्री डा. भट्टराईकै मातहत छन् । त्यसअघि ती मन्त्रालयमा एमाले, काङ्ग्रेसका मन्त्री थिए । उनीहरूले नयाँ संविधानसभाको पुनः निर्वाचन गर्ने सरकारको निणर््ँयप्रति असहमति जनाउँदै मन्त्री पदबाट राजीनामा दिएपछि ती मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गरिएको छैन । स्रोतका अनुसार उनले ती मन्त्रालयको फाइल पत्नी यमीलाई नै हेर्न दिने गरेका छन् । पत्नी यमीकै सिफारिसअनुसार मन्त्रालयको फाइलमा हस्ताक्षर गर्ने गरिएको छ । यसअघि पर्यटन, भौतिक, भूमिसुधारजस्ता महत्वपूर्ण मन्त्रालय चलाइसकेको र मन्त्रालयको काम–कारबाहीका विषयमा दक्षता रहेको भन्दै प्रधानमन्त्री भट्टराईले अन्य मन्त्रालयको फाइल हेर्ने जिम्मा पत्नी यमीलाई दिएको उनको निजी सचिवालयका एक अधिकारी बताउँछन् ।
संविधानसभाबाट नयाँ संविधान नबनाई विघटन गराएको रेकर्ड पनि भट्टराईले राखेका छन् । मूल्यवृद्धि पनि उनकै पालामा अत्यधिक बढ्यो, इन्धनको हाहाकार भयो । राहतको नाममा धेरै जनताले सास्तीबाहेक अरू केही पाउन सकेको देखिँदैन । प्रधानमन्त्री भट्टराईकै पालामा विमान तथा सवारीसाधन दुर्घटनामा परेर धेरैले ज्यान गुमाए । त्यस्तै उनी प्रधानमन्त्री बनेको महिना दिन नपुग्दै भूकम्प पनि गयो, यी घटना भने संयोग मात्र पर्न गए ।
यसैगरी भट्टराईले नै उपत्यकाका साँघुरो सडक विस्तार गरेर नमुना काम गरे । चर्को विरोधका बाबजुद गरिएको यस कार्यलाई प्रशंसा नै गरिएको छ । त्यस्तै सर्वसाधारणले सीधै प्रधानमन्त्रीसँग कुरा गर्न सक्ने अवस्थाको सिर्जना गरिएको छ । यद्यपि यसअघि राणा प्रधानमन्त्रीले टुँडिखेलमा जनतालाई बोलाई उनीहरूको गुनासो सुन्ने व्यवस्था गरिएको पाइन्छ । प्रधानमन्त्री भट्टराईले जनताको घरमा एक रात बिताउने कार्यको थालनी गरेर आफ्नो कीर्तिमानमा नयाँ–नयाँ बुँदा थप्दै गएका छन् ।
प्रधानमन्त्री भट्टराईका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले वर्तमान सरकारबाट नेपालको इतिहासमै सबैभन्दा राम्रो काम गरेको दाबी गरेका छन् । उनको भनाइ छ, ‘प्रधानमन्त्रीबाट भएको राम्रा काम देखेर उहाँको खुट्टा तान्ने काम भएको छ । तर, प्रधानमन्त्री आफ्नो उद्देश्यमा प्रतिबद्ध हुनुहुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो