राष्ट्रपति अन्योलमा, करण सिंहको भूमिका पर्दाभित्रै सीमित

१७ मंसिर २०६९, आईतवार ०८:०३ मा प्रकाशित

काठमाडौं, १७ मंसिर । थपिएको सात दिनभित्र राजनीतिक दलहरुले राष्ट्रिय सहमतिको सरकार गठनबारे ठोस सहमति नजुटाए दलहरुसँगै आफू पनि विफल हुने चिन्ता राष्ट्रपति रामवरण यादवले व्यक्त गरेका छन् । सुरुदेखि नै प्रधानमन्त्री डा. बाबुराम भट्टराईप्रति राष्ट्रपति लचिलो देखिएका भनी कतिपय कांग्रेसजनहरुबाट लाग्दैआएको आरोप पुष्टि हुने अन्दाजमा उनले ‘सम्भव भएसम्म यही सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिन’ आग्रहसमेत गरे । पोखरामा शनिबार आयोजित राष्ट्रिय एड्स सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति यादवले अगाडि भने– ‘भट्टराई नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिनसके सुनमा सुगन्ध हुन्छ, त्यो सम्भव नभए अर्को सरकार गठनमा दलहरुबीच आगामी बिहिबारसम्ममा सहमति होस् ।’
उल्झिँदो राजनीतिक सहमतिको प्रसङ्ग कोट्याउने क्रममा उनले बैशाखमा निर्वाचन गराउने सरकारको निर्णय स्मरण गराउँदै दलहरुलाई थपिएको सात दिनभित्र सहमतिको सरकार गठन गर्ने विषयमा उत्पन्न मतभेदहरुको अन्त्य गर्न जोड दिए । उनले आफ्नो काम सबैलाई आग्रह गर्ने, स्मरण गराउने मात्र भएको स्पष्ट पार्दै निर्णय गर्ने काम त दलहरुकै भएको उल्लेख गरे र आगामी बिहिबारसम्ममा दलका नेताहरुले यो काम सम्पन्न गर्नेमा आफू विश्वस्त रहेको बताए । तर, राष्ट्रपतिले यसरी विश्वास व्यक्त गरे पनि पहिलो पटक सहमतिको आह्वान गरेयताका दश दिनमा दलहरु जम्मा एक पटक मात्र औपचारिक छलफलमा बसेका छन् । त्यसपछि सहमतीय सरकारका विकल्पबारे विभिन्न मतहरु अगाडि सारिए पनि दलहरुबीच सहमतिको संकेत भने मिलेको छैन । र, महत्वपूर्ण कुरा त यो छ कि दलहरु फेरि पनि सहमतिमा नपुगेको खण्डमा त्यसपछि के कदम चाल्ने भन्नेमा राष्ट्रपति यादव पूर्णतः अन्योलमा छन् । एकप्रकारले उनी आफूमाथिको विश्वास, सम्मान र आस्था गुम्न सक्ने खतरा महसुस गरेर बिचलित बन्न पुगेका छन् ।

यसैबीच भारतको सत्ताधारी कांग्रेस आईका एक प्रभावशाली नेता करण सिँहले नेपाल भ्रमण गरी दलका प्रमुख नेतृत्वहरुसँग भेटघाट गरेका छन् । भारतका नेता सिँहसँग भेट गरेका नेपाली कांग्रेसका सभापति सुशील कोइरालाका अनुसार उनले राजनीतिक सहमति र चुनावमै जोड दिएका छन् । नेपालीसँग बैबाहिक सम्बन्धसमेत गाँसेका करण सिँह ०६२÷६३ को आन्दोलन उत्कर्षमा पुगेको बेला पनि तत्कालीन राजा र गठबन्धन दलका नेताहरुलाई भेट्न विशेष दूतका रुपमा नेपाल आएका थिए । यसपटक उनलाई औपचारिक रुपमा विशेष दूत भने भनिएको छैन । तथापि, विशुद्ध धार्मिक या व्यक्तिगत भ्रमण भनाउने प्रयास गरिए पनि करण सिँहको नेपाल आगमन राजनीतिबाट अछुत रहेको विश्वास भने कसैले गरेका छैनन् । नेपालको अन्योलपूर्ण राजनीतिक अवस्थालाई सङ्ल्याउन उनले ठोस रुपमा के काम गरे भन्ने कुरा सम्भवतः उनी भारत फर्किसकेपछि मात्र थाहा लाग्नेछ । मूलतः सातादिनभित्र राजनीतिक दलहरुले दर्शाउने व्यवहार या नेपालको राजनीतिमा देखिने परिणतिबाट नै सिँहको आगमन कति राजनीतिक या गैरराजनीतिक भनी छुट्टिने विश्लेषकहरुको टिप्पणी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार