मस्कोमा प्राच्य विद्या विषयक तीनदिने सम्मेलन

१६ मंसिर २०६९, शनिबार २२:०७ मा प्रकाशित

कृष्णप्रकाश श्रेष्ठ, मस्को । रूसको राजधानीको केन्द्रमा रहेको प्राच्यविद्या संस्थानको विद्वत्सभाकक्षमा युरी रेरिख (रोरिख) को ११०-सौं जन्मजयन्ती (१६ अगस्त २०१२) को सन्दर्भमा तीनदिने वैज्ञानिक सम्मेलनको आयोजना गरिएको थियो । त्यसमा मास्कोका विभिन्न उच्च शिक्षण संस्थानहरूमा अनुसन्धानरत विद्वान्हरूको मात्र नभई अन्य देशका प्राच्यविदहरूको पनि उपस्थिति रहेको थियो ।
सर्वप्रथम युरी रेरिख (१९०२-१९६०) कै संक्षेपमा परिचय दिनु आवश्यक ठान्दछु । भारतको कुलूमा स्थायी रूपले बसोवास गर्न पुगेका र भारतीयहरूबाट महर्षि भन्ने सम्मान प्राप्त गरेका विश्वप्रसिद्ध रूसी चित्रकारका निकोलाई रेरिखका सुपुत्र हुन् । उनले लण्डन विश्वविद्यालय (सन् १९२०) मा फारसी र संस्कृतको अध्ययन गरेका थिए भने हार्वार्ड विश्वविध्यालयमा पाली र चिनियाँ भाषाको पनि अध्ययन गरे । पेरिस विश्वविद्यालयमा वैज्ञानिक कार्यकर्ता बनेर काम गर्दा (सन् १९२२) तिब्बती, मङ्गोलियाली र इरानी भाषाको पनि अध्ययन गरे । २१ वर्षकै उमेरमा उनले भारतीय वाङ्मयको माष्टर डिग्री प्राप्त गरेका थिए । सन् १९५७ मा सोभियत नेता निकिता ख्रुश्चेभको भारतयात्राको समयमा विश्वविख्यात् प्राच्यविद् बनिसकेका उनले मास्को आउने निम्तो पाएपछि प्राच्यविद्या संस्थानमा वैज्ञानिक कार्यमा संलग्न हुने सम्भावना पाए । मात्र ५८ वर्षकै उमेरमा २१ मेई १९६० मा उनको देहान्त भयो (प्राच्यविद्या संस्थानमा उनको स्मृतिमा रेरिखकक्ष सञ्चालित छ) । त्यतिखेर मास्को पुगेको केही महिना बितिसकेको यस पंक्तिकारले पछि यसै संस्थानमा विद्यावारिधिको लागि अनुसंधान गर्ने सम्भावना पाएको थियो ।

सम्मेलनको पहिलो दिन (२६ नोभेम्बर) बिहान ११ बजे प्राच्यविद्या संस्थानको विद्वत् परिषदको सभा सम्पन्न गरिने कक्षमा सम्मेलनको उद्घाटन भएको थियो । म त्यहाँ पुग्दा सम्मेलनमा संस्थानका निर्देशकको तर्फबाट मन्तव्य प्रस्तुत भइसकेको थियो र भाषाविज्ञान संस्थानकी विदुषी इ.कोमारोभाबाट ‘युरी रेरिख – विख्यात् बहुभाषाविद्’ शीर्षकको कार्यपत्र प्रस्तुत गरिंदै थियो । मलाई त्यतिखेर युरी रेरिखद्वारा तयार पारिएको तर उनको देहान्तपछि मात्र सन् १९८३ देखि १९८७ सम्म झण्डै पाँच वर्ष लगाऐर बेग्लाबेग्लै १४ भागमा प्रकाशित भएको ‘संस्कृत मूलशब्दसहित तिब्बती-रूसी-अंग्रेजी’ शब्दकोश’ को सम्झना भयो । मैले त्यो शब्दकोष प्रकाशित हुनेबित्तिकै किन्दै सङ्कलन गरिराखेको थिएँ र भिक्षु अमृतानन्दबाट नेपालीमा बौद्ध धर्मकोशको लेखनकार्य भइरहेको थाहा पाएर त्यसका लागि सहायक हुन सक्छ भन्ने विचारले उनैलाई उपहार दिएको थिएँ (स्वयम्भू आनन्दकुटीमा त्यो सुरक्षितै होला भन्ने आशा छ) ।

सम्मेलनमा प्रस्तुत विभिन्न विषयका कार्यपत्रहरू निकै ज्ञानबर्धक र गहन चरित्रका थिए भन्ने त तीन दिनमा प्रस्तुत गरिने कार्यपत्रहरूको शर्ीष्ाकबाट नै बोध हुन्छ । सम्मेलनको पहिलो सत्रमै पनि टैगोर (रवीन्द्रनाथ ठाकुर) को काव्यमार् ईश्वर र मान्छे : ईशोपनिषद्’ देखि ‘रूसबारे पत्र’ सम्म’ शीर्षकको कार्यपत्र ए.कोमारोभबाट प्रस्तुत गर्ने क्रममा एउटा कविताको उदाहरण दिंदा मलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ कविताको भावनासित निकै मिल्दोजुल्दो लागेको थियो । भि.भेत्रोग्रादोभाको कार्यपत्रमा आदिवैदिक परम्पराअनुसार वृत्रवध र पुरन्दरको मिथकको व्याख्या ज्यादै रोचक ढङ्गबाट गरिएको थियो भने भी.याकोभ्लेभले ‘पशुपन्छीको बाह्रवर्षे श्रृङ्खलाको मुहान’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । यसै गरी ‘युक्रेनका संग्रहालयहरूमा सुरक्षित थान्का – तिब्बती र चिनियाँ परम्परामा शाक्यमुनि बुद्ध’ (ए.ओग्नेभा), धर्मराजकृत ‘वेदान्त परिभाष्य’ (भि.लिशेन्को), तिब्बतको बौद्ध परम्परामा ‘चित्रण’ को विशेषता’ (भि. देमेनोभा) आदि विषयवस्तुहरूमा कार्यपत्रहरू प्रस्तुत गरिएका थिए । काजाखस्तानका विद्वान् स.माझितोभको ‘आधुनिक विश्वमा केन्द्रीय एशियाका मध्ययुगीन सामग्रीमा सन्निहित सूचनाको महत्व’ र एम.फोमिनद्वारा प्रस्तुत गरिएको ‘मध्ययुगीन आयरल्याण्डका सामग्रीहरूमा भारतको चित्रण’ मा निकै रोचक तथ्यहरूको उल्लेख गरिएको थियो । पहिलोमा भारतबाट काश्मिर हुँदै तिब्बत जाने तथाकथित रेशम मार्गको चर्चा गरिएको थियो भने दोस्रोमा समुद्री यात्राको युगभन्दा पहिले जमीनैजमीन मिश्र हुँदै भारत पुग्ने वा भारतको बारेमा सुन्ने व्यक्तिहरूको वर्णनको आधारमा यूरोपवासीहरूले चित्रण गरेको भारतीय समाज र बीचमा हिमाल पर्वतको श्रृङ्खलाले आधा फ्याँक पारेको मानचित्रमा दक्षिणगामी गङ्गा, सिन्धु, नाइल नदीप्रणाली र उत्तरगामी नदीहरू अङ्कित गरिएको भए तापनि न लङ्काद्वीप अङ्कित थियो, न त चीन नै । यसरी नै आ.लुब्यान्स्कीले तामिल काव्य विधाबारे प्रकाश पारेका थिए भने एस.त्स्वेतकोभाले मीरा बाईका गीतको व्याख्या गरेकी थिइन् । यस प्रकार विभिन्न विषयमा व्यापक प्रकाश पारिनुका साथै कार्यपत्र प्रस्तुतकर्ताहरूले टीकाटिप्पणी र कैयौं प्रश्नहरूको पनि उत्तर दिनुपरेको थियो ।

यसै प्रकारले सम्मेलनको दोस्रो र तेस्रो दिन पनि तिब्बत र भारतवर्षको प्राचीन, धर्म, इतिहास, संस्कृति आदिबारे कार्यपत्रहरू प्रस्तुत गरिएका थिए । नेपाली पाठकको जानकारीका लागि प्रस्तुतकर्ताको नाम कोष्ठभित्र दिएर तीमध्ये केही रोचक कार्यपत्रहरूको मात्र यहाँ नामोल्लेख गर्न चाहन्छु । उदाहरणार्थ, ‘महासंघिकहरूको पदचिन्ह’ (द.झुताएभ), ‘कालचन्त्रचक्रभित्र विष्णुको दशावतारको प्रतीक’ (आ.मेहाक्यान), प्रज्ञापारमिताको मूलस्रोत -आ.भासिल्येभ), संस्कृत स्रोतहरूमा आर्यावर्तसम्बन्धी अवधारणा’ (ए.भिरिश्कोभ), प्राचीन भारतीय दाशैनिक ग्रन्थहरूमा स्वप्नविचार (ए.युदित्स्काया), ‘वास्तुविद्यासम्बन्धी पौराणिक पद्धतिमा ‘भूगर्भशास्त्र’ (ए.त्युलिना), ‘भारतीय शीलाभिलेखहरूमा दानदातव्यको सूत्र’ (दि.लेल्युखिन, ‘प्राचीन भारतीय परम्परागत ठेटरमा प्रहसन’ (एन.लिदोभा), ‘जापानी बौर्द्धधर्ममा ‘साङ्गोकु माप्पो’ सिद्धान्तअन्तर्गत धर्मानुसरण’ (ए.लेपेखोभा), ‘एशियाको सांस्कृतिक एकतामा बुद्धधर्मको भूमिकाबारे युरी रेरिखको धारणा’ (आ.खोख्लोभ) जस्ता विभिन्न कार्यपत्रहरूको विषयवस्तुबाट नै सम्मेलनमा प्राच्यविद्हरूको अध्ययनको वर्तमान स्तरको बारेमा अनुमान लगाउन सकिन्छ । यसरी रूसका विभिन्न नगरहरू र विभिन्न देशमा समेत प्राच्यविद्याको अध्ययनमा संलग्न रूसीभाषाभाषी विद्वान्हरूले आफ्नो अध्ययन र अनुभवको आदान-प्रदान गर्ने र कार्यपत्रहरूको सन्दर्भमा गरिएका टीकाटिप्पणीहरू सुनेर आफ्नो भावी अनुसन्धानमा परिष्कार गर्ने पनि सम्भावना पाउँछन् ।

स्मरण रहोस्, यस्ता कार्यपत्रहरूको आधारमा भविष्यमा ‘भारत-तिब्बत’ श्रृङ्खलाको सङ्कलन समेत प्रकाशमा ल्याइने छ । सन् २००६ देखि २००१० सम्म सम्पन्न भएका यस्ता वार्षिक सम्मेलनहरूमा प्रस्तुत कार्यपत्रहरूमध्ये चयन गरेर भर्खरै मात्र युरी रेरिखको ११०-सौं जन्मजयन्तीप्रति समर्पित संकलन प्रकाशित गरिएको छ । त्यसमा यसै पंक्तिकारको एउटा समेत गरी नेपालविषयक दुर्इवटा कार्यपत्रहरू समावेश गरिएका छन् । यसपल्टको तीनदिने सम्मेलनको पहिलो दिन नै दोस्रो सत्रमा यस पंक्तिकारले ‘नेपालमण्डल अर्थात् काठमाडौं उपत्यकाको आध्यात्मिक रक्षाकवच’ भन्ने शीर्षकको कार्यपत्र प्रस्तुत गरेको थियो (नेपाली पाठकसमक्ष त्यसको सारसंक्षेप पछि प्रस्तुत गरिने छ) ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको