सिंहदरबारको रुप फेरिने भो

१५ मंसिर २०६९, शुक्रबार १५:१९ मा प्रकाशित

रामहरि पाण्डे, काठमाडौं, १५  मंसिर । सरकारले मुलुक सञ्चालनको सर्वोच्च निकाय सिंहदरबार परिसरको स्वरूप परिवर्तन गर्ने भएको छ । सरकारले चालु आर्थिक वर्षबाटै सिंहदरबारको स्वरूप परिवर्तन गर्ने भन्दै सहरी विकास मन्त्रालयलाई त्यसको जिम्मेवारी दिएको छ ।
सरकारको निर्देशनअनुसार सहरी विकास मन्त्रालयले कार्ययोजना तय गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा फाइल पठाएको स्रोतले बतायो । सो फाइलमा सिंहदरबार परिसरको रूप फेर्न लाग्ने खर्च तथा विभिन्न योजनाका विवरण पेस गरिएको छ । मन्त्रालयका एक सहसचिवले भने, ‘सरकारले सिंहदरबार परिसरलाई अन्तर्राष्ट्रिय स्तरको सुविधा भएको क्षेत्रका रूपमा विकास गर्न चाहेको छ ।’
मन्त्रालयका ती सहसचिवका अनुसार पहिलो चरणमा सिंहदरबारभित्र आइटी पार्क, खाना तथा खाजा घर, शौचालय, पुष्प बगैँचा, पानीको धारा, पोखरी, सडकको दुवैपट्टिको किनारामा फोहोर राख्ने टोकरीलगायत व्यवस्था गरिनेछ । ‘सबैभन्दा पहिले सिंहदरबारलाई प्रदूषणमुक्त क्षेत्रका रूपमा विकास गरिनुपर्छ,’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता जगदीश रेग्मीले भने, ‘त्यसैले सार्वजनिक शौचालय बनाउने कार्यलाई सरकारले पहिलो योजनामा राखेको छ ।’
रेग्मीका अनुसार सार्वजनिक शौचालय निर्माणसँगै सिंहदरबार परिसरका बगँैचाको स्वरूप परिवर्तन गरिनेछ । ‘पुष्पबगैँचाको विकासका लागि निजी क्षेत्रलाई आह्वान गरिनेछ,’ उनले भने । अहिले सिंहदरबार परिसरमा रहेका सबैजसो मन्त्रालयको आºनै बगँैचा छ । तर, ती बगैँचामा फुटेका केही गमला, सयपत्री फूलका ओइलाएका बोट तथा सुकेको दुबो मात्र छन् । ‘कामदार अभावमा मन्त्रालयका पुष्प बगैँचा नाममा मात्र सीमित भएको देखिन्छ,’ सहरी विकास मन्त्रालयका प्रवक्ता सुरेशप्रकाश आचार्यले भने, ‘ती सबै मन्त्रालयका बगैँचाको रेखदेख गर्ने तथा नयाँ–नयाँ फूलको बिरुवा ल्याएर रोपिनेछ ।’ अबको वर्ष दिनभित्र सबै मन्त्रालयका बगैँचामा फूलसँगै अनेक प्रकारका बोट–बिरुवा लगाई रोपिने उनले जानकारी दिए ।
सरकारले परिसरको वातावरण सन्तुलित राख्न एक भव्य पोखरी पनि सिंहदरबारभित्रै बनाउने भएको छ । मन्त्रालयमै काम गर्ने कर्मचारीको श्रमदानबाट बनाइने पोखरीमा प्रत्येक १५ दिन वा एक महिनामा पानी फेरिनेछ । त्यसका लागि पानीको निकास पनि बनाइनेछ । मन्त्रालयको पोखरीनजिक बस्ने कुर्सी तथा छहारी दिने खालका बोट–बिरुवा लगाइनेछ । स्वयं प्रधानमन्त्री डा. बाबुराम भट्टाराई तथा मुख्यसचिव लीलामणि पौडेलको योजनाअनुसार पोखरी बनाउन लागिएको हो ।
सहरी मन्त्रालयका एक कर्मचारीका अनुसार सरकारले सिंहदरबारमा बनाइने पोखरीको नक्सासमेत तयार गरिसकेको छ । तर, कुन स्थानमा पोखरी खन्ने भन्ने टुंगो लागेको छैन । सरकारले यसअघि एक गाउँ एक पोखरीको अवधारणा अघि सार्दै सरकार तथा स्थानीय जनताको सहभागितामा नेपालको प्रत्येक गाविस तथा गाउँमा एउटा पोखरी अनिवार्य बनाइने बताएको थियो ।
सिंहदरबारमा दैनिक सयौँको संख्यामा सर्वसाधारण तथा राजनीतिक दलका नेता–कार्यकर्ता प्रवेश गर्छन् । उनीहरूका लागि यहाँ कुनै सुविधा नभएकाले सिंहदरबारलाई सुविधासम्पन्न क्षेत्र बनाउन लागेको सहरी विकास मन्त्रालयका प्रवक्ता आचार्यले बताए । ‘सिंहदरबारमा न पानी परेका बेला ओत लाग्ने ठाउँ छ, न घाम चर्केको बेलामा छहारी लाग्ने स्थान नै,’ मन्त्रालयका प्रवक्ता आचार्यले थपे, ‘अब यी सबै कुरा व्यवस्थित गरिनेछन् ।’
सिंहदरबारभित्रका सबै मन्त्रालयमा आफ्नै क्यान्टिन छ तर ती क्यान्टिनमा पर्याप्त मात्रामा खानेकुरा पाइँदैन । त्यसैले सस्तोमा खाना तथा खाजा खाने स्थान पनि बनाइनेछ । सरकारले सुविधासम्पन्न क्यान्टिनका लागि सहरी विकास मन्त्रालयको उत्तरपट्टि एक भव्य भवन निर्माण गरिरहेको छ । सहरी विकासका प्रवक्ता आचार्यका अनुसार सो भवनमा क्यान्टिनसहित अन्य विविध सुविधा पनि हुनेछन् ।’
‘बाहिरबाट आएका सेवाग्राहीले पनि मन्त्रालयको शौचालय प्रयोग गर्ने गरेकाले फोहोर भएको भन्दै कर्मचारीले दैनिक गुनासो गर्ने गरेका छन्,’ उनले भने, ‘सार्वजनिक शौचालय बनेपछि त्यो समस्या रहँदैन ।’ प्रवक्ता आचार्यका अनुसार सिंहदरबार परिसरभित्र विभिन्न पाँच स्थानमा सार्वजनिक शौचालय बनाइनेछ र यो कार्य यही चालु आर्थिक वर्षबाटै सुरु हुनेछ ।
बिहानदेखि बेलुकीसम्मै सर्वसाधारणको भिड हुने सिंहदरबारको दक्षिण गेटनजिक सबैभन्दा ठूलो शौचालय बनाइनेछ । त्यहाँ महिला र पुरुषका लागि फरक–फरक शौचालय हुनेछ । त्यस्तै, सवारीचालकका लागि परिसरभित्रको उपयुक्त स्थानमा एक सामान्य शौचालय बनाइनेछ भने बाँकी तीनवटा शौचालय पनि सर्वसाधारणकै लागि परिसरका विभिन्न स्थानमा बनाइनेछ । त्यसरी बनाइने शौचालय सर्वसाधारणको बढी उपस्थिति देखिने स्थानमा हुनेछ । ती शौचालयमा नुहाउने सुविधासमेत हुनेछ ।
सरकारले कति लगानीमा शौचालय निर्माण गर्ने र सिंहदरबारको स्वरूप परिवर्तन गर्न कति खर्च लाग्ने भन्नेबारे कुनै जानकारी दिएको छैन । सहरी विकास मन्त्रालयका प्रवक्ता आचार्यले भने, ‘हामीले सरकारको शासकीय सुधार कार्ययोजना र हाम्रो मन्त्रालयको योजनाअनुसार कार्यक्रम बनाएर पेस गरेका छौँ, त्यो पारित भएर नआएसम्म केही भन्न मिल्दैन ।’
उनले सिंहदरबारमा आकाशेपानी संकलन कार्यलाई पनि अघि बढाइने बताए । उनले भने, ‘आकाशे पानी संकलनको योजना पनि हामीले तयार गरेका छौँ, यो योजनाले सिंहदरबार परिसरमा पानीको समस्याबाट छुट्कारा पाउन सकिन्छ ।’ त्यस्तै, लोडसेडिङको समस्याबाट सिंहदरबारलाई मुक्त गराउन सोलार बत्ती जडान गर्ने योजना पनि सरकारको छ । यद्यपि, अहिले सिंहदरबारमा डाइरेक्ट लाइन जडान गरिएको छ । त्यसले सिंहदरबार परिसरमा २४ घन्टा बत्ती बलिरहन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार