नमच्चिने ‘पिङ’ बन्दै छ ‘सहिद स्मारक लिग’

१५ मंसिर २०६९, शुक्रबार १२:३१ मा प्रकाशित

काठमाडौं, १५ मंसिर । समग्र फुटबलको विकासका लागि मेरुडण्ड मानिएको लिग फुटबल नेपालमा सञ्चालन हुन लागेको झन्डै ६ दशक पुग्न लागेको अवस्था छ । यो समयमा लिग फुटबलले निकै उतारचढाव भोगेकै कारणले अहिलेसम्म ३८ पटकमात्र आयोजनाको सम्भव भएको छ । यस्तो हुनुमा विभिन्न कारण भए पनि लिग फुटबलको प्रभावशालीतालाई भने सबैले आत्मसात् गरेको पाइन्छ । मुलुकको अस्थिर राजनीति र खेलकुदमा हुने राजनीतिक हस्तक्षेप र दबाबका कारणले लिग फुटबल प्रश्नचिह्नको घेरामा परेको कसैबाट छिपेको छैन । यस्तो विषम परिस्थितिमा पनि नेपालजस्तो मुलुकमा लिग फुटबलले निरन्तरता पाउनुलाई सकारात्मक रूपमा लिनुपर्छ । तर, लिग फुटबलको आयोजना र त्यसकोे उद्देश्यप्रति सम्बन्धित निकाय अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को हचुवा प्रवृत्ति भने उदेकलाग्दो छ । एन्फाले लिग फुटबललाई व्यवस्थित र व्यावसायिक बनाउनुभन्दा झारा टार्ने रूपमा आयोजना गर्दै आएको छ । जसले लिग फुटबल फुटबलको मेरुडण्डभन्दा पनि प्रयोगको रूपमा देखिन थालेको छ । जुन फुटबलको विकासका लागि सकारात्मक पाटो मान्न सकिँदैन ।
फुटबल आफैँमा सर्वोकृष्ट खेल हो भन्दा सायदै कसैको दुईमत होला । अझ नेपालमा पनि यो खेलले पाएको माइलेजलाई हेर्दा सर्वोत्कृष्टको सूचीमै देखिएको छ । तर, विडम्बना नेपालको सबैभन्दा लोकप्रिय खेललाई कहिल्यै पनि योजनाबद्ध र दूरदर्शी भएर सम्बन्धित निकायले अगाडि बढाउन नसकेको दृश्य हाम्रोसामु छ । यसको अर्थ प्रयास नगरिएको पक्कै होइन, प्रयास गरिएको छ, तर त्यो समयानुकूल छैन । अन्तर्राष्ट्रियस्तर परिदृश्यमा फुटबलमा देखिने हर्कतहरूलाई आत्मसात् गर्दा अहिले पनि नेपाली फुटबल परम्परावादी नै लाग्छ । जसले गर्दा न अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन हुन सकेका छन् न नेपालले अन्तर्राष्ट्रियस्तरमा तहल्का नै मच्चाउन सकेको छ । यो तीतो सत्यलाई एन्फाले राम्रोसँग बुझे पनि समयको गतिलाई भने पकड्न असफल भएको छ । वैज्ञानिकताभन्दा निकै दूरको आफ्नो लिडेढिँपीलाई मात्र ब्रह्मास्त्रको रूपमा प्रयोग गरिरहेको छ । जुन नेपाली फुटबलको विकास र खेलाडीका लागि ‘भुत्ते खुकुरी’ सावित भएको छ । जसले फुटबललाई अधोगतितर्फ लैजाने पक्का छ । तसर्थ एन्फाले हतार र सनकमा लिग फुटबलको आयोजना गर्नुभन्दा त्यसको वास्तविकतालाई आत्मसात् गर्नु अनिवार्य भइसकेको छ ।
धनको वर्षाले सहिद स्मारक लिग अहिले चर्चित बन्न पुगेको छ । हाल सञ्चालन भइरहेको लिगमा डेढ करोडको पुरस्कार राखिएको छ । जसमा विजेताले ७५ लाख पाउनेछ । १६ क्लबको सहभागिता रहेको यो लिगको उपलब्धिबारे एन्फा मौन छ । पैसाको खोलो बगे पनि नयाँ ‘हिरो’ पाउने कुरामा एन्फा विश्वस्त हुन सकेको छैन । कुरा स्पष्ट छ, यहाँ नेपाली खेलाडीभन्दा विदेशी खेलाडी चम्किने प्रायः निश्चित छ । त्यसैले होला लिगमा प्रतिस्पर्धा गरिरहेका क्लबहरूले नेपाली खेलाडीभन्दा विदेशी खेलाडीलाई बढी महत्व दिएका छन् । एउटा क्लबले पाँचजना विदेशी खेलाडीलाई खेलाउन पाउने एन्फाको नियमअनुसार अहिले क्लबहरू स्वदेशीभन्दा विदेशी खेलाडीतर्फ आकर्षित भएका छन् । लिगमा सर्वोत्कृष्ट प्रदर्शन गर्न क्लबहरूले विदेशी खेलाडीलाई भटाभट भित्र्याउनुले पनि यो कुरालाई पुष्टि गरेको छ । लिगमा पाँचौँ स्थानसम्म हासिल गर्न सके क्लबहरूलाई घाटा नपर्ने भएकोले यो लिगमा विदेशी खेलाडीको भीडभाड मात्र नभई उनीहरूकै दबदबा रहने कुरामा शङ्का गर्न मिल्दैन । यसरी स्वदेशी लिगमा विदेशी खेलाडीको उपस्थितिले लिगको उत्कृष्टतामा चार चाँद लाग्ने भए पनि नेपाली खेलाडीको हरिविजोग हुनेचाहिँ लगभग पक्का छ ।
प्रायः हरेक वर्ष लिगको संरचनामा परिवर्तन गर्दै आएको एन्फाले यसपटक पनि उक्त कुरालाई दोहो¥याएको छ । गत वर्ष मात्रै सुरु गरेको राष्ट्रिय लिगको अवधारणालाई यसपटक ‘सुपर एट’मा रूपान्तरण गरेको छ । जुन यसभन्दा अगाडिको परम्परावादी शैली हो । एन्फाले आफ्नो बचाउका लागि राष्ट्रिय लिगको अवधारणा सोचेबमोजिम नभएको र जिल्लाका क्लबहरू स्तरीय नभएको कारणले यसो गर्नुपरेको बताएको छ । तर, वास्तविकता त्यसो नभई एन्फाको हचुवा र सनकको भरमा लिगको आयोजना गर्नु प्रमुख कारकतत्वभन्दा अतिसयोक्ति नहोला । जुन देशमा भौतिक पूर्वाधारको नाममा दशरथ रंगशालाबाहेक अर्को विकल्प छैन भने त्यस्तो ठाउँमा राष्ट्रिय लिगको अवधारणामा आफैँमा अव्यावहारिक हुन्छ । जसरी पनि गर्ने, जहाँ पनि गर्ने एन्फाको तानाशाही रवैया र अदूरदर्शिताले गर्दा लिगको संरचना व्यवस्थित हुन नसकेको हो । जसले गर्दा लिगको औचित्यमाथि समेत प्रश्नचिह्न खडा गरिदिएको छ भने फुटबल यथास्थितिको मारमा नराम्रोसँग रेटिन पुगेको छ । जुन नेपाली फुटबलका लागि दुर्भाग्य भएको छ । तसर्थ लिगको आयोजना अघि गरिनुपर्ने सामान्य प्रक्रियासमेत एन्फाले पालना नगरेको प्रष्ट रूपमा देखिएको छ ।
कमजोरीबाट पाठ सिक्नुको साटो ‘मेरो गोरुको बाह्रै टक्का’को रणनीतिमा एन्फा अग्रसर भएको छ । बिना भौतिक पूर्वाधार ‘खाए खा नखाए घिच’ भन्ने एन्फाको मानसिकताले गर्दा अहिले नमच्चिने पिङजस्तै बनेको छ सहिद स्मारक लिग । यसरी व्यावसायिकताको नाममा प्रत्येक वर्ष सहिद स्मारक लिग लङ्गडो बन्दै गएको छ । अब प्रश्न उठ्छ– लङ्गडो घोडालाई कहिलेसम्म दौडाउने ? बिनागन्तव्य घोडा दौडाउँदा भोलि त्यो लक्ष्यहीन भएर बीचैमा थला प¥यो भने त्यसको जिम्मेवारी कसले लिने ? एन्फाले लिगको आयोजनालाई नै सर्वोपरी ठानेको छ, तर त्यससँग प्रत्यक्ष सरोकार राख्ने व्यावसायिक कम्पनी, व्यावसायिक फुटबल क्लब र खेलाडीको भविष्यचाहिँ के हुन्छ त ? यसको विचार–विमर्श गर्नु जरुरी भइसकेको छ । एन्फा फुटबलको सम्बन्धित निकाय भए पनि बिनायोजना कसैलाई जोखिममा पार्ने काम गर्नुहँुदैन । तर, यहाँ योजनाबद्ध र दूरदर्शिताका नाममा तानाशाही प्रवृत्ति हावी हुनुले धान रोपे पनि कोदो फल्ने गरेको छ । जुन गणेश थापाले एन्फा सम्हालेपछिको फुटबलको इतिहास पल्टाउँदा स्पष्ट रूपमा थाहा पाउन सकिन्छ ।
गणेश थापाले फुटबलको विकासमा गरेको योगदानलाई कदापि बिर्सन सकिँदैन । यो सत्य हो । यसो भन्दैमा उनले फुटबलमा जे पनि गर्न मिल्छ त ? प्रश्न गम्भीर छ । विगत दुई दशकको अवधिमा थापाले फुटबलको विकासका लागि आकाश–पाताल एक गरे पनि त्योभन्दा बढी माइलेज उनले फुटबलबाट प्राप्त गरिसकेका छन् । वास्तविक रूपमा भन्नुपर्दा थापाको चुलिएको छविको अगाडि नेपाली फुटबल रंगशालाभन्दा बाहिर निस्कन सकेको छैन । यो अवधिमा फुटबलमै लागेर थापा समुद्र बनिसकेका छन् भने फुटबल नदीमै सीमित छ । आखिर किन यत्रो भिन्नता त ? प्रश्न गम्भीर बने पनि थापाको तानाशाही प्रवृत्तिको अगाडि सबै निस्तेज भएको छ । एन्फाका जिम्मेवार पदाधिकारीहरू थापाको वरिपरि पुच्छर हल्लाउन र विदेश भ्रमणका लागि थापाले फ्या“केको हड्डीमा ¥याल चुहाउनैमा व्यस्त छन् । उनीहरू फुटबलको विकासभन्दा पनि थापाकै विकासमा त्वम् शरणम् भनेर रमाइरहेका छन् । एन्फाका पदाधिकारी लुतेरूपमा प्रस्तुत भएपछि थापाले उनीहरूको वाउन्ड्री पनि तोकिदिएका छन् । जसले गर्दा उनीहरूको काम–कर्तव्य थापाको मुख ताक्ने र आफ्नो जीउ कनाउने मात्रमा सीमित भएको छ । जसको फाइदा थापाले प्रचुर रूपमा उठाउ“दै फुटबललाई आफ्नो पकेटको फुटबल बनाउन सफल भएका छन् । फुटबलका सबै विकास र योजना उनको गोजीबाटै बन्ने गरेका छन् । तसर्थ यो लिग पनि थापाकै गोजीबाट निस्किएको अनपेक्षित लिगको रूपमा परिणत भएको छ । जसलाई आवरणमा हाईहाई भन्नेहरू भित्रीरूपमा बाईबाईको संज्ञा दिइरहेका छन

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मेघराज

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले जित हात पारेको छ । शुक्रबार भएको खेलमा मलेसियालाई ६ विकेटले

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको चौंथो खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ

काठमाडौं।सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेल आज शुक्रबारबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना

आजको प्रमुख समाचार