पछिल्लो समय–सीमाभित्र दलहरु सहमतिमा पुग्नेमा राष्ट्रपति विश्वस्त, अन्योल भने कायम नै

१५ मंसिर २०६९, शुक्रबार ०८:११ मा प्रकाशित

काठमाडौं, १५ मंसिर । राष्ट्रपति रामवरण यादवले सहमतिको प्रधानमन्त्री छान्न दलहरुलाई अर्को सात दिनको समयसीमा तोकेका छन् । यसअघि तोकिएको सातदिने अवधि सकिएलगत्तै दलहरुसँग छलफल गरेर उनले नया समय–सीमा तोकेका हुन् । यसपटकको समय–सीमा निकै महत्वपूर्ण रहेकोले यसभित्र जसरी पनि सहमति गरिसक्ने दलका नेताहरुको भनाई छ ।
राष्ट्रपतिले यसपटक पनि अन्तरिम संविधानको धारा ३८ (१) अर्थात् राजनीतिक सहमतिमा प्रधानमन्त्री चयन गर्ने प्रावधानअन्तर्गत दलहरुलाई आह्वान गरेका छन् । बिहिबार साँझ शितल निवासमा राष्ट्रपतिसँग छलफलमा सहभागी भएका सत्तारुढ गठबन्धनका एक नेता तथा मन्त्री राजेन्द्र महतो भन्छन्, ‘पछिल्लोपटक थपिएको म्यादमा जसरी पनि सहमति जुटाउनै पर्छ, किनकि बैशाखमा निर्वाचन गर्नैपर्ने हुन्छ, समयमा सहमति नगरे त्यसमा बाधा पर्छ भनेर सबै नेताहरुले भनेका छन् ।’
प्हिले तोकिएको समयसीमा त्यत्तिकै गुज्रिएपछि फेरि अवधि थपिदिन दलहरुले नै राष्ट्रपतिलाई आग्रह गरेका थिए भने राष्ट्रपतिले सहमति जुटाउन गरेको आग्रहलाई पनि दलहरुले आ–आफ्नै प्रकारले व्याख्या गरेका थिए । एकीकृत नेकपा माओवादीले सो आह्वानलाई असंवैधानिक बताएको थिइो भने विपक्षी कांग्रेस र एमालेले त्यसको स्वागत गरेका थिए । यसरी दुई थरी भनाइमा च्यापिएका राष्ट्रपतिले अब यसपछि के गर्छन् त ? उनका प्रेस सल्लाहकार राजेन्द्र दाहाल भन्छन्, ‘अबचाहिँ सहमति हुन्छ नै भन्नेमा विश्वस्त भएर राष्ट्रपतिले गर्नुभएको हो । त्यसैले राजनीतिक दलहरु सहमतिमा पुग्छन्, एउटा प्रधानमन्त्री दिन्छन् भन्नेमा यसपटक राष्ट्रपति विश्वस्त हुनुहुन्छ ।’ तर, सहमतिका लागि औपचारिक आह्वान गरेर गत सतादेखि अघिसेरका राष्ट्रपतिलाई उम्मेदवार तोक्न दलहरुको विफलताले अप्ठ्यारोमा परेको कतिपय विश्लेषकहरुले ठानेका छन् ।
प्रधानमन्त्रीको साझा उम्मेदवार चयन नहुन्जेल राष्ट्रपतिले आह्वान गर्ने प्रक्रिया अनन्तकालसम्म थपिरहन कानूनले केही नभने पनि व्यवहारिक रुपमा भने मिल्ने देखिन्न । दलहरुको रवैयाका आधारमा त अर्को एक सातामा पनि उनीहरु सहमतिमा पुग्ने सम्भावना कम नै देखिएको छ, यस्तोमा राष्ट्रपति कसरी विश्वस्त बन्न पुगेका हुन्, जिज्ञासा उत्पन्न भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय