राष्ट्रपतिसँग बिच्किएका भट्टराई खिर खाएपछि ढुक्क

१३ मंसिर २०६९, बुधबार ०८:२७ मा प्रकाशित

जयप्रकाश त्रिपाठी / काठमाडौं, १३ मंसिर । शितलनिवासमा डा. अमरेशकुमार सिंहको उपस्थितिलाई लिएर गत आइतबार राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हप्काएको खबरले देशव्यापी चर्चा पाएको छ । आइतबार साँझ राष्ट्रपतिसँगको बैठकमा प्रधानमन्त्रीले अमरेश सिंहलाई पनि लिएर जानुभएको र राष्ट्रप्रमुख र सरकारप्रमुखबीचको बैठकमा त्यसरी कसैलाई लिइआउनु उचित नहुने भन्दै राष्ट्रपतिले प्रधानमन्त्रीसँग असन्तुष्टि पोख्नुभएको भनी फेसबुक तथा अन्य विभिन्न माध्यमबाट सोमबार बिहानैदेखि प्रचार हुँदै आएको छ । तर, यस सम्बन्धमा बुझ्दा अर्कै तथ्य फेला परेको छ । प्राप्त जानकारीअनुसार गत शुक्रबारदेखि नै राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएर कुरा गर्न चाहनुभएको थियो, तर प्रधानमन्त्री भने पदत्यागकै कुरा गर्ने होला भन्ने सोच्दै राष्ट्रपतिसँग भेट गर्न आनाकानी गर्दै हुनुहुन्थ्यो । राष्ट्रपतिको सचिवालयले पटकपटक फोन गर्दा पनि प्रधानमन्त्रीबाट राम्रो ‘रेस्पोन्स’ नभएपछि राष्ट्रपति स्वयम्ले प्रधानमन्त्री भट्टराईलाई फोन गर्नुभएको थियो । राष्ट्रपतिले भेट्न बोलाउँदा पनि ‘आफू व्यस्त रहेको र फुर्सद भएपछि आउने’ जवाफ प्रधानमन्त्रीले दिनुभयो । सम्मानित राष्ट्रपति पदको यसरी प्रधानमन्त्रीबाट अपमान भएपछि राष्ट्रपति कार्यालयमा ‘प्रधानमन्त्री कसले भनेको मान्न सक्छन्’ भन्नेबारेमा छलफल भएको बताइन्छ । सो छलफलपश्चात् राष्ट्रपति डा. रामवरण यादव आफैँले डा. अमरेशकुमार सिंहलाई टेलिफोन गरी शीतलनिवासमा बोलाउनुभयो र प्रधानमन्त्रीसँग आफूले भेटवार्ता गर्न चाहेको, तर प्रधानमन्त्रीबाट अमर्यादित र अभद्र व्यवहार भइरहेकोबारे जानकारी गराउँदै प्रधानमन्त्री बाबुराम भट्टराईलाई आफूसमक्ष (शीतलनिवासमा) ल्याइदिन अनुरोध गर्नुभयो । यसरी राष्ट्रपतिबाट आग्रह भएपछि डा. सिंहले तत्कालै प्रधानमन्त्री भट्टराईलाई भेट गर्नुभयो । राष्ट्रपति तथा सरकारप्रमुखबीचको सम्बन्ध कुनै पनि अवस्थामा राम्रो रहनुपर्ने भनी प्रधानमन्त्रीलाई सम्झाउँदै सिंहले राष्ट्रपतिसँग निरन्तर संवाद र सम्पर्कमा रहिरहन सुझाव दिनुभयो । अमरेशकुमार सिंहको आग्रहलाई स्वीकार गर्दै प्रधानमन्त्री बाबुराम भट्टराई आइतबार (मङ्सिर १० गते) साँझ ७ बजेट राष्ट्रपतिनिवास पुग्न सहमत हुनुभएको थियो । त्यसपछि राष्ट्रपतिसँग भेट गर्न प्रधानमन्त्री आउने कुराको जानकारी अमरेशकुमारले राष्ट्रपति डा. यादवलाई टेलिफोनमार्फत दिनुभएको थियो । त्यसक्रममा राष्ट्रपतिले ‘जब तपाईंले बैठक तय गर्नुभएको छ भने तपार्इं पनि शीतलनिवासमै आउनुहोस्’ भनी डा. सिंहलाई आमन्त्रण गर्नुभयो । राष्ट्रपतिको निमन्त्रणालाई स्वीकार गर्दै अमरेश सिंह गत आइतबार साँझ साढे ६ बजे (६ः३०) राष्ट्रपतिनिवास पुग्नुभएको थियो । तर, ७ बजे आइपुग्ने भनिएका प्रधानमन्त्री भने पाँच मिनेट ढिला गरेर त्यहाँ पुग्नुभयो र उहाँहरूबीच ५५ मिनेटसम्म सौहार्दपूर्ण ढङ्गले वार्तालाप भयो । राष्ट्रपतिका तर्फबाट उपलब्ध गराइएको खिर मीठो मानेर खाँदै प्रधानमन्त्री भट्टराईले आफ्नो चित्त दुःखेको गुनासो त्यस अवसरमा गर्नुभयो । राष्ट्रपतिद्वारा गत शुक्रबार सहमतिको सरकार गठनका निम्ति औपचारिक तवरमा सार्वजनिक भएको आह्वानपत्रको व्यहोरामा उल्लिखित कतिपय सन्दर्भप्रति प्रधानमन्त्रीले आपत्ति जनाउनुभएको थियो । खासगरी संविधानको धारा ३६ ‘क’ को उद्वरण गर्नुलाई प्रधानमन्त्रीले ‘कु’को पृष्ठभूमि बनाएको भनेर बुझ्नुभएको थियो । निश्चित समयमा आफूलाई अपमानजनक किसिमले बर्खास्त गरिने हो कि भन्ने आशङ्का प्रधानमन्त्रीको थियो । प्रधानमन्त्री भट्टराईको सन्देह र चिन्ता दूर गर्ने प्रयास गर्दै राष्ट्रपतिले आफूबाट कुनै किसिमको कदम नचालिने, सहमतिको सरकार निर्माणकै लागि मात्र प्रयत्न भइरहने बताउनुभएको थियो । संवादका क्रममा ‘अमरेश मेरा भाइजस्ता हुन्’ भन्दै राष्ट्रपतिले संविधानको धारा ३६ ‘क’ आफ्ना सल्लाहकारहरूले उद्धरण गरिदिएको, कुनै गलत नियतले आफूबाट त्यस्तो नभएको स्पष्टोक्ति पनि प्रधानमन्त्रीलाई दिनुभएको थियो ।
स्मरणीय छ, संविधानको धारा ३६ ‘क’मा राष्ट्रपतिले राष्ट्राध्यक्षको रूपमा कानुनबमोजिम आफ्नो कार्य सम्पादन गर्ने संविधानको संरक्षक र पालनकर्ताको भूमिका विर्वाह गर्नुपर्ने व्यवस्था गरिएको छ । संविधानको संरक्षण गर्ने नाममा राष्ट्रपतिले आफूलाई हटाएर अरू कसैलाई प्रधानमन्त्री बनाइदिने हुन् कि भन्ने चिन्ता प्रधानमन्त्रीमा थियो र अझै छ । राष्ट्रपतिले भेटवार्ताका क्रममा बाबुराम भट्टराई एसियाकै स्थापित नेता भएकोमा प्रशंसा गर्दै ‘गणतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी तपाईंहरूकै हो, दलहरूलाई दबाब दिन मात्र मैले औपचारिक आह्वान गर्नुपरेको हो, तपाईंलाई बर्खास्त गर्नेबारेमा मैले कहिल्यै सोचेको पनि छैन’ भन्नुभएको थियो । राष्ट्रपतिले बर्खास्त गर्नेबारेमा आफूले सोच्दै नसोचेको भनेर पटकपटक दोहो¥याएपछि बाबुरामको अनुहारमा क्रमशः चमक बढ्दै गएको थियो । खिरका साथमा ५५ मिनेट लामो सौहार्दपूर्ण वार्तापश्चात् प्रधानमन्त्री भट्टराई ठीक आठ बजे शीतलनिवासबाट बाहिरिनुभएको थियो । भट्टराई बाहिरिएको आधा घन्टापछि अमरेशकुमार सिंह पनि शीतलनिवासबाट निस्कनुभएको थियो । तर, भोलिपल्ट (गत सोमबार) प्रचारबाजी भने बेग्लै प्रकारले भयो– ‘अमरेशलाई लिएर बाबुराम शीतलनिवास पुगेको र राष्ट्रपतिले यस विषयलाई लिएर त्यहाँ प्रधानमन्त्रीलाई गाली गर्नुभएको ।’ यस किसिमको मिथ्या प्रचार षड्यन्त्रमूलक ढङ्गले भएको ठम्याई राष्ट्रपति र प्रधानमन्त्री कार्यालयको छ र कोबाट यसप्रकारको प्रचार भएको हो भन्नेबारेमा खोजीनिती पनि भइरहेको छ । यस क्रममा केही व्यक्तिहरू शङ्काको घेरामा परेका छन् । तीमध्ये एक काङ्गे्रस महामन्त्रीसमेत रहेका झापाका कृष्ण सिटौला पनि हुन् । जनता र कार्यकर्तामा अलोकप्रिय भए पनि दुई पक्षबीच सेतुको भूमिका निर्वाह गरेर आफ्नो राजनीतिक हैसियत बढाउँदै र जोगाउँदै आएका सिटौला राष्ट्रपति र प्रधानमन्त्रीबीचको सेतु पनि आफैं बन्न चाहन्थे । तर, यसमा अमरेशकुमार सिंह प्रभावी देखिएपछि सिटौलाले नै यस किसिमको प्रचारबाजी गराएको आशङ्का छ । काङ्गे्रस नेतृत्वसँग मित्रराष्ट्र भारतको सम्बन्ध प्रतिकूल तुल्याउन पनि डा. मीनेन्द्र रिजालसँगै सिटौलाको समेत महत्वपूर्ण भूमिका रहने गरेको सङ्केतहरू मिलिरहेका बेला अमरेश प्रकरण रचना भएकोले सिटौला थप शङ्काको घेरामा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

जनकपुरधाम।नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि ताेकिएकाे अधिवेशन पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट