सुशील अघि बढेपछि पछि हटे देउवा

१३ मंसिर २०६९, बुधबार ०८:२२ मा प्रकाशित

काठमाडौं, १३ मंसिर । काङ्गे्रस नेता शेरबहादुर देउवाले आफू पार्टीको निर्णय स्वीकार गर्न तयार भएको बताएपछि भावी प्रधानमन्त्रीमा सभापति सुशील कोइरालाको सम्भावना बढेको छ । काङ्गे्रस केन्द्रीय समितिमा कोइराला स्पष्ट बहुमतमा रहनुभएको छ र यो वास्तविकतालाई बुझ्दाबुझ्दै पनि देउवाले पार्टी निर्णय स्वीकार्य हुने बताएपछि कोइराला प्रधानमन्त्री हुने सम्भावना बढेको हो । तत्काल काङ्गे्रस नेतृत्वमा सरकार गठनको सम्भावना नदेखिएकाले पनि देउवाले बखेडा गर्न नचाहेको हुनसक्ने कतिपयको तर्क छ । गत सोमबार साँझ सभापति सुशील कोइरालासँगको भेटवार्ताका क्रममा देउवाले आफू पार्टीको निर्णय मान्न तयार भएको बताउनुभएको थियो । त्यसरी कोइरालासँग पार्टी निर्णय मान्ने बताए पनि देउवाले भित्रभित्रै उपसभापति रामचन्द्र पौडेललाई समर्थन गर्ने पनि बताइरहनुभएको छ । सभापति कोइराला र उपसभापति रामचन्द्र पौडेलबीच द्वन्द्व सिर्जना गराएर प्रधानमन्त्री पद आफ्नो पोल्टामा पार्ने कसरत देउवाले गरिरहनुभएको पनि केहीले ठानेका छन् । देउवासँग वार्तालाप भएको भोलिपल्ट मंगलबार सभापति कोइरालाले उपसभापति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्नुभयो । भेटमा पौडेलले पार्टीका तर्फबाट आफूलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न माग गर्नुभएको थियो । आफू पार्टी र प्रजातन्त्रका निम्ति संसद्मा प्रधानमन्त्रीको उम्मेदवार बनेर सत्रपटकसम्म पराजित हुनुपरेको स्मरण गराउँदै पौडेलले आफूलाई प्रधानमन्त्री घोषणा गर्न माग गर्नुहुँदा सुशील कोइरालाले भने पार्टीको निर्णय नै सर्वोपरी हुने जवाफ दिनुभएको बुझिएको छ । देउवासँगको वार्तालापपछि केही उत्साहित हुनुभएका कोइराला उपसभापति पौडेलको कुराले भने चिन्तित बन्नुभएको छ । उहाँले एमाओवादीको छलकपटलाई बुझेर पार्टीमा सबैले आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने धारणा पनि नेता पौडेलसमक्ष राख्नुभएको थियो । तर, कोइरालाले आफू नै प्रधानमन्त्री बन्नुपर्ने विचार पौडेलसँग प्रकट गर्नुभएन र पौडेललाई प्रधानमन्त्री बनाउने आश्वासन पनि उहाँले दिनुभएन । पार्टीमा छलफल गरी आवश्यक निर्णय लिने जानकारी कोइरालाले पौडेललाई दिनुभएको छ ।
पार्टी केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने भयो भने सभापति सुशील कोइरालाले नै बाजी मार्नुहुने निश्चित मानिन्छ । तर, विगतमा गरेको त्याग र कतिपय अवस्थामा बनेको समझदारीअनुसार अघि बढ्ने या कोइराला प्रधानमन्त्री बन्न नचाहने अवस्थामा भने पौडेल नै प्रधानमन्त्रीको उम्मेदवार बन्नुहुने प्रबल सम्भावना छ । काङ्गे्रसभित्र कतिपय नेताहरूले निष्ठावान नेता भीमबहादुर तामाङलाई प्रधानमन्त्री बनाइनुपर्ने अभिमत पनि जाहेर गरिरहेका छन् । यसै विषयलाई लिएर नेतृत्व तहमा ज्यादा विवाद पैदा भयो भने काङ्गे्रसले तामाङलाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउने सम्भावना पनि प्रबल छ । पूर्वमहामन्त्री कुलबहादुर गुरुङलाई प्रधानमन्त्री बनाइनुपर्छ भन्ने आवाजसमेत उठिरहेको भए पनि त्यसले खासै गति लिन सकेको छैन । माथिल्लो तहका नेताहरूबीच ज्यादा विवाद हुन्छ भने दोस्रो पुस्ताका नेता डा. रामशरण महतलाई प्रधानमन्त्री बनाउनु उपयुक्त हुन्छ भन्ने पनि कतिपयको धारणा छ । तर, डा. महतको पक्षमा अहिले नै वातावरण बनिसकेको अवस्था भने छैन । काङ्गे्रसभित्रको अवस्थालाई नियाल्दा सभापति सुशील कोइराला नै प्रधानमन्त्रीको उम्मेदवार बन्नुहुने सम्भावना बढी छ । त्यसपछि रामचन्द्र पौडेल र भीमबहादुर तामाङको सम्भावना हो । तर, यसअघि तीनपटक प्रधानमन्त्री बनिसक्नुभएका देउवाको भने तत्काल प्रधानमन्त्री बन्ने कुनै सम्भावना देखिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा

आजको प्रमुख समाचार