हुर्कंदो केटाकेटी छोडेर बिदेसिनुको पीडा

१२ मंसिर २०६९, मंगलवार १९:३२ मा प्रकाशित

सरिता अर्याल / केही समयअघि मलाई नवलपरासीतिर घुम्ने मौका मिल्यो । त्यहाँ मैले वैदेशिक रोजगारीमा गएर साउदी रियादबाट फर्किएकी पुष्पा उपाध्यायलाई भेट्ने मौका पाएँ । उनको जीवनकथा सुनेपछि यो लेखोटको जन्म हुन पुग्यो ।
एक छोरा र एक छोरीकी आमा पुष्पा एकल महिला हुन् । श्रीमान् बितेपछि अनपढ पुष्पालाई घर चलाउन धौ–धौ परिरहेको थियो । एउटा गतिलो बास पनि थिएन । विदेश जान पाए त घर बनाउन सकिन्थ्यो कि भन्ने उनको मनमा पनि आयो । स्थानीय एजेन्सीले नै पासपोर्टसमेत बनाइदिने र आफ्नो खर्च नपर्ने भएकोले १३ वर्षको छोरा र पन्ध्र वर्षकी छोरीलाई आमाको जिम्मा लगाएर पुष्पा पनि इन्डियाको बाटो हुँदै रियाद पुगेकी रहिछन् । उनी रियाद पुगेको दुई महिना पनि नभई पुष्पाकी आमा बित्नुभएछ । अब छोराछोरीको बिचल्ली त भयो तर पासपोर्ट नै बुझाएर काम गरिरहेकी पुष्पालाई मालिकहरूले फर्किन दिएनन् ।
उनी दुई वर्ष रियादमा बसिन् । उनी बसेको घरमालिक पनि राम्रै थिए रे । दुई वर्षमा उनले जम्मा दुई लाख साठी हजार कमाएको भए तापनि फोनफान, आफ्नो व्यक्तिगत खर्च र छोराछोरीलाई बेलाबेलामा पठाएको खर्चले गर्दा उनी फर्कंदा एकमुष्ट एक लाख बीस हजार लिएर नेपाल आइन् । आउनासाथ त्यो पैसाले सानो जग्गाको टुक्रा किनिन् । अब समस्या थियो घर कसरी बनाउने ? पुस्तैनी अंश नपाएकी पुष्पाका देवर–जेठाजुले उनलाई घर बनाउन सहयोग गर्ने भए । उनको खुसीको सीमा थिएन ।
तर, उनको अनुहारमा देखिने त्यो खुसीका लहर धेरै दिन टिक्न सकेन । हुर्कंदो उमेरमा छोडेर गएको छोरा कुलतमा फसिसकेको रहेछ । आमाले दुःख गरेर पठाएको पैसाको दुरुपयोग गरेर ऊ त लागुऔषध सेवन गर्ने युवक पो बनिसकेको रहेछ । आँखाबाट आँसु झार्दै पुष्पाले भनिन्, ‘जसको भविष्य राम्रो होस् भन्दै म बिदेसिएकी थिएँ, छोरी त अरूको घर जाने जात घर त छोराकै लागि हो भन्दै म बिदेसिशएकी थिएँ, तर मेरो त्यो दुईवर्षे विदेश बसाइले मेरो त सर्वश्व नै भयो । कुलतमा लागेका साथीहरूले जे गर भन्छन् त्यही गर्दै ऊ चोर पनि बन्यो र प्रहरीथाना पनि पुग्यो । स्थानीय नेतृत्व गर्ने दिदीबहिनीहरूलाई गुहारेर थानाबाट कतिपल्ट छुटाएर पनि ल्याएँ । प्रहरीचौकीमा पुगेको छोरालाई छुटाइदेऊ न भनेर म कतिपालि भन्न जानु ? उसको भने अहिले पनि घर आउने–जाने कुनै ठेगान छैन । सुधारगृहमा राख्न पनि पैसा लाग्ने रहेछ । जुन तिर्न सक्ने मेरो आर्थिक हैसियत नै छैन । बुढेसकालको सहारा छोरा छ भनेको मेरो गलत निर्णयले मैले छोरा नै गुमाएँ । हुर्कंदो उमेरमा पुगेको छोरालाई मैले विदेश नगएर यहीँ बसेर ध्यान दिएकी भए छोरो बिग्रने थिएन होला । क्षणिक रूपमा कमाएको एक लाख के काम लाग्यो र मेरा लागि, मेरो त सर्वश्व नै गुम्यो । मैले त्यो बेला आमा–छोराका लागि घर बनाउने सपना देखँे तर त्यसबेलाको सपनाअनुसार मेरो छोरालाई यो बन्दै गरेको घरको अहिले कुनै मतलब नै रहेन । श्रीमान्ले छोडेर गए पनि छोरा छ भन्ने थियो, तर अहिलेको अवस्था हेर्दा छोरा भए–नभएको बराबर भएको छ मेरा लागि ।’
पुष्पा रुँदै आफ्ना विलौनाहरू सुनाइरहेकी थिइन् । ओहो ! पुष्पाको आँखाबाट बगेको आँसु रोक्न सक्ने शब्द त्यहाँ कसैसित थिएन । हामी सबै मूकदर्शक भएर पुष्पाको आँसु हेरिरहेका थियौँ । पुष्पाले रुँदै मसित थप भनिन्, ‘दिदी, कुनै संस्थाले मेरो छोरालाई सुधारगृहमा राखेर सुधारिदिन्छ कि मलाई सहयोग गरिदिनुस्न । मेरो सबै कुरा पत्रिकामा दिए त कसै न कसैको मन पग्लिन्छ कि मप्रति । मेरो एक मात्र सहारा मेरो छोरालाई सुधारिदिन सहयोग गर्ने व्यक्ति मेरा लागि भगवान् नै हुने छ । कुनै पनि नेपाली दिदीबहिनी आफ्नो परिवार छोडेर बिदेसिनुअगाडि एकपल्ट मेरोबारेमा जान्नुन् र विदेश जानुभन्दा यहीँ नै पशुपालन आदिजस्ता व्यवसाय गरे हुन्छ । मजस्ता अनपढ दिदीबहिनीले केही पैसा कमाउन बिदेसिनाले यहाँ सब बर्बाद भएर रुनु पनि नपरोस् ।’

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। ५२ वर्षकी अमेरिकी महिलाले ११ पटक ९ जना फरक फरक पुरुषसँग बिहे गरिसकेकी छिन् । अब उनी फेरि बिहे

काठमाडौं। कुनै पनि पुरुष मन नपरेको भन्दै ३३ वर्षकी मोडल क्रिस ग्यालेराले गएको सेप्टेम्बरमा आफैंसँग बिहे गरेकी थिइन् । तर,

काठमाडौं । अहिलेको व्यवसायिक संसारमा भाडामा नपाइने चिज के पो छ र ? विभिन्न कामका लागि चाहिने औजार, उपकरणहरु भाडामा

समलिंगी जोडीहरूलाई देखेर धेरैपटक मानिसहरु छक पर्ने गरेका छन् । तर कसैले श्रीमान्–श्रीमतीलाई नै आमाछोरीजस्तो सोच्छ भने त्योभन्दा अनौठो के

आजको प्रमुख समाचार