श्रीमान छाडेर गुण्डा खोज्दै ढुकुटीका डन

११ चैत्र २०६८, शनिबार ०४:०३ मा प्रकाशित

काठमाडौं । राष्ट्रबैंकले अबैध ठहर गरेको ढुकुटी कारोबारमा संलग्न अधिकांश महिलाहरू यतिखेर प्रहरी र राजधानीका कुख्यात डनहरूसँग सम्बन्ध गाँसेर आफ्नो अबैध धन्दालाई निरन्तरता दिइरहेको प्रमाण फेला परेको छ। अबैध ढुकुटीबाट पिडित भएका र त्यसबाट हुने ठगिका कारण कयौंको घरबारविहिन र सम्बन्ध विच्छेद भइसकेको छ। त्यसो त ढुकुटी कै कारण एक दर्जनको हाराहारीमा पिडितहरूले आत्महत्या गरिसकेका छन्। ढुकुटीका कारण धेरैको घर झगडा भएपछि घर त्यागेर बसेका र मानसिक तनाबमा रहेका कारण उनीहरूको आत्महत्या गर्ने अबस्था आएको पिडितहरूबाटै खुल्न आएको छ।

आइतबार प्रहरी हिरासतमा नै रहेका बेला एक ढुकुटी पिडित महिला भवानी तामाङले आत्महत्या गरेकी छिन्। कालिमाटी प्रहरी बृतमा नै आत्महत्या गरेकी ती महिलाले सुसाईट नोटमा अरुलाई ढुकुटी नखेल्न आग्रह गदै खेल्ने र खेलाउनेको आफ्नो जस्तै हालत हुने बताएकी थिइन्। भवानीले आत्महत्या गरुन्जेल प्रहरी के हेरेर बसिरहेको थियो? सुरक्षण दिन पक्राउ गरेको भन्ने प्रहरीले किन भनानीलाई सुरक्षण दिन सकेन? यतिखेर गम्भिर प्रश्न उठेको छ। दुई हप्ता अगाडि चावहिल गोपीकृष्ण पछाडि साततले भन्ने ठाँउमा पनि एक केसी थरकी महिलाले सुसाईट नोट लेखेर आत्महत्या गरेकी थिइन्। स्रोतका अनुसार सावित्री राई भन्ने ढुकुटी संचालिकाले ७० लाख रुपैयाँ महँगो ब्याज दिने भन्दै लगेको तर नदिएका कारण आत्महत्या गर्नु परेको सुसाइट नोटमा केसीले लेखेकी थिइन्। ती महिलाले आफ्नो घर बैकमा राखेर ७० लाख झिकेको र बैंकमा ब्याज तिर्न नसक्दा आत्महत्या गरेकी हुन्।

सावित्री राई जस्तै अबैध ढुकुटी संचालन गर्ने र ठगि गरेर फरार हुने महिलाहरूलाई प्रहरीले नै संरक्षण दिने कारणले फेरि आत्महत्याको श्रृंखला बढ्ने संभावना रहेको पिडितहरू बताउँछन्। महानगरिय प्रहरी परिसरका डीएसपी आभूषण तिमिल्सिनाले वीस करोड भन्दा बढि ठगि गरेर फरार रहेकी अन्जना प्रधान, भावना हमाल, सुमित्रा मानन्धर, सुमि कोइराला, मुना श्रेष्ठलगायतका समुहलाई संरक्ष्ँण दिइरहेका छन्। अन्जना र मुना श्रेष्ठलाई त डीएसपी तिमिल्सिनाले कुख्यात डन रमेश बाहुनका विश्वासिला प्रदिप भन्नेलाई सुरक्षार्थ खटाएको स्वयम् मुनाले बताउँदै हिड्ने गरेकी छिन्। यतिबेला डीएसपी तिमिल्सिनासँग नजिकिएकी अन्जनाले सुरुमा प्रकाश महत नाम गरेका व्यक्तिलाई पनि कान्छो बनाएर राखेकी थिइन्। स्वयम्भू सितापाइला बस्ने अन्जनाले उनलाई एकपटक पोखरातिर पनि बोकेर गएकी थिइन्। जोसँग शक्ति र पैसा छ त्यसैलाई च्यापेर हिड्ने अन्जनाले दर्जनौलाई ढुकुटी खेलाएर घरबारविहिन बनाएकी छन्। अन्जनाले ढुकुटीबाट उठाएको अबैध रकमले बालाजुस्थित ढुङ्गे धारामा ६ करोड मुल्य बराबरको पैतिस आना जग्गा किन्न सफल भएकी छिन्। उक्त जग्गाका बारेमा पिडितहरूले खोजि गर्न थालेपछि अन्जनाले डीएसपी तिमिल्सिना र बद्धनगर बस्ने बाबु श्रेष्ठ नाम गरेका जग्गा दलालका नाममा उक्त जग्गा नामसारी गर्ने तयारी गरेको उनी निकट स्रोतले बतायो। स्मरणीय छ, तिनै बाबु श्रेष्ठले डीएसपी तिमिल्सिनालाई बुद्धनगरको विशाल बङगला मिलाएका थिए।

उता राजधानीमा चर्चामा रहेका ढुकुटी खेलाउने महिला डनहरूमा अन्जना प्रधान, गीता खड्की, मञ्जु कार्की, मुना श्रेष्ठ, कल्पना राई, मनिषा खड्का, पद्मतारा तुलाधर, विमला लक्ष्मी शाह, कोपीला केसी, सावित्री राई, नीशा गुरुङ, संगीता श्रेष्ठ, सुमीत्रा मानन्धर, भावना हमाल, गीता राणासहित चार दर्जन बढि महिलाहरू सक्रिय रहेका छन्। यी अबैघ ढुकुटी खेल्ने र खेलाएर ठगि गर्ने महिला डनहरूलाई यतिखेर काठमाडौंका प्रहरी र कुख्यात डनहरूको समेत संरक्षण रहेको तथ्य यस साप्ताहिकले फेला पारेको छ। अबैध ढुकुटी संचालन गर्ने र खेल्ने यी महिला डन खेलाडीहरूका कारण पिडित बनेका महिलाहरूको संख्या बढ्दै गईरहेको छ। स्रोतका अनुसार ढुकुटी सञ्चालिकाहरूको सम्बन्ध वाईसीएलका उच्च नेतादेखि प्रहरीका हाकीमहरूसँग रहँदै आएको छ। घट्टेकुलो बस्ने सुिमत्रा मानन्धरको हैसियत दुई वर्ष अगाडि क्यासेटको व्यापारमा मात्र सिमित थियो। तर ढुकुटी खेल्दै जाँदा सोझासाझालाई करकापमा पारी उनले पाँच करोड भन्दा बढी कमाइसकेकी छिन्। उनका श्रीमान शुरुमा ट्याक्सी ड्राइभर हुन्। ढुकुटी खेल्ने क्रममा कालोपुलतिरका दिनेश खड्कीसँग चिनजान भएपछि सुमित्राले खड्कीलाई व्वाईफ्रेण्ड बनाएकी हुन्। उता दिनेशसँग श्रीमती रीताको सम्बन्ध विग्रिसकेको छ। सुमित्राको बौद्ध, चावहिल र चुच्चेपाटीमा गरी तीन वटा घर छन् भने खड्कीको चल अचल गरी पाँच करोड भन्दा बढी सम्पत्ति रहेको स्रोतको दावी छ। त्यसैगरी तरकारी पसलबाट काम शुरु गरेकी मञ्जु कार्की पनि ढुकुटी खेल्दा खेल्दै करोडपति बनेकी छिन्। कार्कीलाई एक हप्ता अगाडि कमलपोखरी प्रहरी प्रभागले पक्राउ गरि छाडेको थियो। कुनै समय माडवारीको पसलमा काम गर्ने साभित्री राईको चावहिलमा दुई वटा घर छन्। उनी एकाउण्टेन्टलाई सँगै लिएर ढुकुटी खेल्न हिड्ने गर्छिन्। ढुकुटी खेल्ने क्रममै गीता राणाले प्रदिपसिंह ठकुरी नामका व्यक्तिलाई व्वाईफ्रेण्ड बनाएकी छिन्।

शुरुमा गाडीको दलाली गर्ने ठकुरीको रेष्टुरेन्ट र काठमाडौंमा दुईवटा घर छन्। चावहिल साततले नजिक रहेको घर रातारात बेचेर प्रदिपसिंह फरार भएका छन्। दैनिक घरमा हुल बाँधेर पैसा उठाउने समुह आउन थालेपछि प्रदिपसिंह रातारात घरको सामान भ्यानमा राखेर फरार भएका हुन्। प्रदिपसिंहले आफूलाई फिल्मको लगानीकर्ताका रुपमा चिनाउँदै आएका छन्। उनले आफूलाई ब्रेक फेल फिल्मको लगानीकर्ता बताउने गरेका छन् भने यसै फिल्मका अर्का लगानीकर्ता मनोज धिमिरे पनि ढुकुटीको पैसा ठगेर फरार रहेका छन्। स्रोतका अनुसार प्रदिपसिंह र घिमिरेले विस करोड भन्दा बढि ठगेको पिडितहरूबाट खुल्न आएको छ। त्यसैगरी संविधासभामा सुरक्षा हेर्न खटिएका प्रहरी निरिक्षक चिनकपुर गुरुङले पनि अबैध रुपमा ढुकुटीबाट कमाएको अकुत पैसा महंगो ब्याज दरमा लगानी गर्ने गरेका छन्। उनले श्रीमती निशा गुरुङलाई ढुकुटी खेल्न पठाउने गरेको तथा त्यसबाट आएको पैसाले घर सम्पत्ति जोड्ने गरेको स्रोतको दावी छ। पूर्व राजाका नाता पर्ने डिके सिंहलाई पनि प्रतिदिन लाखको एक हजारका दरले महंगो ब्याज दरमा पैसा लगानी गरेको खुल्न आएको छ। निरिक्षक गुरुङले उनको गाडी पनि कब्जा गरेर राखेका छन् भने गुरुङको डरका कारण डिके सिंह फरार रहेका छन्। साँवा भन्दा बढि ब्याज लिइसके पनि उनले अझै पैसा लिन बाँकी छ भनेर सिंहलाई खोजि गरेको स्रोतले बतायो। श्रीमती गुरुङसँग करौडौं सम्पत्ति रहेका कारण आयस्रोत नखुल्ने भएपछि उनले नाटकीय रुपमा देखाउनका लागि एक ब्यूर्टिपार्लर पनि संचालन गरेको बताउने गरेकी छिन्। ढुकुटीबाट आएको अबैध पैसा निशाले एक सहकारीमार्फत लगानी गरि महंगो ब्याज खाने गरेकी छिन्।

निशाले २५ करोडको बराबरको ढुकुटी खेल्ने गरेको बताइन्छ। उनले ढुकुटीबाट जम्मा गरेको केही पैसा संविधानसभामा कार्यरत आफ्ना श्रीमान चिनकुपरलाई उपलब्ध गराई उक्त रकम चिनकपुरले फेरि महंगो ब्याज दरमा लगानी गर्ने गरेका छन्। श्रीमान् श्रीमति दुवै मिलेर यस्तै गरि .ठगि गरेका कारण केही पिडितहरूले महानगरिय प्रहरी आयुक्त कार्यालयमा उजुरी दिएपछि चिनकपुरको झण्डै जागिर गएको थिएन् , स्रोतले भन्यो। त्यसैगरी अबैध ढुकुटी सञ्चालन गर्ने ठग र माफियाको अर्को चर्चित नाम भावना हमाल हो। उनले पनि दर्जनौलाई अबैध ढुकुटी खेलाएर ठगेकी छिन्। बानेश्वर भिमसेनगोलामा साडी र कुर्ताको पसल सञ्चालन गर्दै आएकी भावनाले व्यापार व्यवसाय गर्नको लागि भन्दै महंगो व्याजमा १२ करोड उठाएर फरार भएकी छिन्। तिनै हमालविरद्ध प्रमाणको आधारमा काठमाडौं परिसरमा उजुरी गर्दा पक्राउ परेकी हमालले लेनदेनको मुद्दा भन्दै सात दिनमा उपस्थित हुने र रकम तिर्ने कागज गराएर छाडेपछि उनी अहिलेसम्म फरार छिन्। प्रहरीले लेनदेनको मुद्दा हेर्न मिल्दैन भने किन उजुरी लिन्छ? प्रहरीले पीडितका उजुरीका आधारमा ठगि गर्नेलाई पक्राउ गर्छ भने किन कारबाही गर्दैन? ठगी गर्नेलाई पक्राउ गर्ने र बार्गेनिङ गर्दै छाड्ने प्रहरीको नियत नै खराव भएका कारण पीडितहरू थप मारमा पर्ने गरेका हुन्।

कसरी खेलाइन्छ ढुकुटी?
ढुकुटी खेल्ने क्रममा ठगिन पुगेकी गुरुङ थरकी एक महिलाका अनुसार शुरुमा १५/१६ जना व्यक्तिहरू भेला गरी कतिसम्मको खेल्ने भन्ने टुंगो लगाइन्छ। उनीहरूबीच पाँच करोडसम्म ढुकुटी खेल्ने सहमति भएपछि ‘घोपा’ भनेर पाँच लाख काटिन्छ। त्यसपछि पाँच करोड ढुकुटीमा एक करोड रुपैयाँ पहिलो व्यक्तिले लिन्छ र चार करोड टेण्डर भन्दै छोड्न लगाइन्छ। र, दोस्रो व्यक्तिले चार करोड लिए पनि वकिल लगाएर उसलाई पाँच करोडको कागज गराइन्छ। अन्य व्यक्तिहरू ठगिने क्रम त्यसपछि मात्र शुरु हुन्छ। Source : (Weeklynepal.com)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने शीर्ष नेताहरूबीच सहमति भएको छ । प्रधानमन्त्री निवासमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने