बाबुरामको वक्तव्यले वितण्डा निम्त्याउने

८ मंसिर २०६९, शुक्रबार ०८:१४ मा प्रकाशित

काठमाडौं, ८ मंसिर । यसअघि चुनाव गर्न निर्धारण गरेको मिति मंसिर ७ कटेपछि राष्ट्रपतिले केही कदम चाल्ने बताइएका बेला प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०७० बैशाखमा चुनावका लागि सहमति माग्दै राजनीतिक दलहरुलाई आग्रह गरेर विपक्षी खेमालाई थप रन्थन्याइदिएका छन् । तोकेको तिथिमा चुनाव गर्न नसकेकोमा आत्माआलोचना गर्दै आफूले पद छोडेको घोषणा गर्लान् भन्ने आशमा रहेका विपक्षीलगायत आमतप्कालाई जिल्याउँदै बिहिबार साँझ राष्ट्रका नाममा प्रधानमन्त्रीले गरेको सम्बोधनमा आफूले चाहेअनुरुपको बजेट ल्याउन नपाएकोमा भट्टराईले दुखमनाउ गरे । आफ्ना मुख्य नीति तथा कार्यक्रमको संक्षिप्त सूचि प्रस्तुत गर्दै प्रधानमन्त्रीले विपक्षीहरुको घोर आलोचना गरे । पदबाट पन्छिनुको साटो अझ कुर्सीमा टाँसिइरहने स्पष्ट संकेत उनले सम्बोधनमार्फत् दिए । संविधानसभाको अवसान हुँदैगर्दा गत जेठ १४ गते मध्यरातमा प्रधानमन्त्री भट्टराईले मंसिर ७ मा संविधानसभाको नयाँ चुनावको घोषणा गरेका थिए । आफैले घोषणा गरेको चुनाव गर्न विफल भएकै दिन उनले अर्को समय तोक्दै भने, ‘मेरो नेतृत्वको सरकारले २०७० वैशाखभित्र अर्को निर्वाचन गर्ने उद्देश्यका साथ त्यसका लागि जस्तोसुकै त्याग गर्न तयार छ ।’
लडाकू समायोजन प्रक्रिया अघिबढ्नुलाई शान्तिप्रक्रिया पूरा भएको रुपमा चित्रित गर्दै प्रधानमन्त्री भट्टराईले व्यर्थमा आफ्नो विरोध गरेको भन्दै विपक्षीहरुको चर्को आलोचना गरे । आफूले निकै लचकता अपनाएर सरकारमा सम्मानजनक स्थान दिन खोज्दा पनि विपक्षीहरुले दुत्कार गरेकोमा उनले खेद व्यक्त गरे । आफ्ना कार्यक्रमहरुलाई ‘जनपक्षीय’ भन्दै त्यसमा विपक्षीले अवरोध ल्याएको भन्न समेत उनी चुकेनन् । दायाँबायाँ दुईजना आफ्ना उपप्रधानमन्त्रीहरु राखेर करिव १८ मिनेटसम्म दिएको भाषणमा प्रधानमन्त्रीले राष्ट्रपतिको भने कुनै प्रसंग नै उल्लेख गरेनन् । बरु गत ६ गते राष्ट्रपतिबाट अनुमोदित बजेटको जश आफ्नै पोल्टामा पार्न खोजे । उनले भने, ‘राजनीतक निकासका लागि जुनसुकै त्याग गर्न तयार सरकार हाल प्रतिपक्षमा रहेकाहरुले कुनैबेला ल्याएको बजेटलाई नै कार्यान्वयन गरी समझदारी कायम गर्ने हिसाबले आफ्ना बजेट कार्यक्रम नल्याउने पुरानैलाई निरन्तरता दिने निचोडमा हामी पुग्यौँ । हाम्रो यो उदारता र सदासयताको मूल्यांकन गर्ने प्रयत्न अर्को पक्षबाट गरिएन ।’
प्रधानमन्त्रीको सम्बोधन आउने खबरसँगै कतिपयले बाबुरामले बालुवाटार छोड्ने घोषणा गर्ने अनुमान गरेका भएपनि उनले त्यसबारे केही उच्चारण नै गरेनन् । बरु यसअघि भन्दैआएझैँ आफू सहमतिको बाधक नबन्ने खोक्रो आदर्श दोहोरयाए ।
विपक्षी र सत्तापक्षको आ–आफ्नो अडानबीच ठप्प देखिएको राजनीति राष्ट्रपतिले बजेट अनुमोदन गरेपछि चलायमान देखिएको छ । त्यसै सिलसिलामा आएको प्रधानमन्त्रीको सम्बोधनमा विपक्षीको माग सम्बोधन गर्नेगरी नयाँ कुरा नआएपछि तत्काल राजनीतिक निकास आउनेमा झनै शंका बढेको छ । प्रधानमन्त्री सहमतिका नाममा सहमति भाँड्ने खेलमा लिप्त रहेको रुपमा यस प्रकरणलाई विपक्षीहरुले लिएका छन् । यसबाट विपक्षी दलहरुका सामु आन्दोलनमा जानुको विकल्प नरहेको विश्लेषकहरुको भनाई छ । देश एकप्रकारले मुठभेडमा जाने निश्चित भएको यस सन्दर्भमा बाबुराम भट्टराईकै नेतृत्वमा आगामी बैशाखमा त के आउँदा कुनै पनि बैशाखहरुमा पनि यो मुलुकमा चुनाव हुन नसक्ने दाबी गरेका विपक्षी दलहरुको आन्दोलनले कुन गति र स्वरुप लिने हो र त्यसको प्रतिकार सत्ता पक्ष र उसका कार्यकर्ताबाट कुन रुपमा गरिने हो, यसले भावी राजनीतिको भयावह स्वरुपको अहिले अनुमान गर्न मात्र सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी पार्टीको १३औं महाधिवेशनमा शेरबहादुर देउवाको समूहबाट महामन्त्रीको प्रत्याशी थिए। देउवा सभापतिमा निर्वाचित भए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ कमिटीमा नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक(आईजीपी)

जनकपुरधाम।नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन अनिश्चत बनेको छ । प्रदेश अधिवेशनको उद्घाटन भएको ४ दिन भइसक्दा पनि सबै जिल्लाबाट अधिवेशन

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका

आजको प्रमुख समाचार